‘ग्राहकहरू मलाई नपत्याएर फोटोग्राफर बोलाउनुहोस् त भन्छन्’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘ग्राहकहरू मलाई नपत्याएर फोटोग्राफर बोलाउनुहोस् त भन्छन्’
Published

सत्तरी वर्षीया मैया श्रेष्ठको फोटोग्राफीमा लगाव छ। सानैदेखि त होइन तर बिहे भएपछि फोटो खिच्ने रुचि जागेको उनी बताउँछिन्।

“ग्राहकहरूले मलाई नपत्याएर फोटोग्राफर बोलाउनुहोस् त भन्छन्। म नै हो फोटोग्राफर भनेपछि अचम्म परेर मलाई हेर्छन्," श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई बताइन्।

फोटोग्राफरसँग बिहे भएका कारण फोटो खिच्ने सिप सिक्न उनलाई धेरै समय लागेन।

करिब १० वर्षदेखि उनले स्टुडियोमा विभिन्न साइजका फोटो खिच्दै आएकी छन्।

विभिन्न औपचारिक फारममा आवश्यक पर्ने पासपोर्ट साइजका फोटो खिच्नु उनको मुख्य काम हो।

श्रीमान्‌ले खोलेको स्टुडियोमा उनलाई सघाउँदै गर्दा आफूले फोटोग्राफीसम्बन्धी धेरै कुरा सिकेको उनी बताउँछिन्। 

“डिजिटल क्यामेरा आएपछि मलाई छोराले फोटो खिच्न र कम्प्युटर चलाउन सिकाइदियो, मैले छिटै जानिहालेँ," उनले थपिन्।

काठमाण्डूको कमलादीमा बसोबास गर्ने उनका चार छोराछोरी छन्।

श्रीमान् मङ्गलमोहन श्रेष्ठले कामबाट अवकाश लिइसकेका छन्।

अहिले काठमाण्डूको न्यूरोडमा एउटा फोटो स्टुडियो उनी एक्लैले चलाइरहेकी छन्। 

मैया श्रेष्ठसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।