'सङ्गीतले शल्यक्रियाका बेला बिरामीलाई सजिलो बनाउँछ र छिटो सञ्चो बनाउँछ': अध्ययन

दिल्लीस्थित एक अस्पतालमा सर्जरी भइरहेका बिरामीको कानमा हेडफोन लगाएर सङ्गीत सुनाइँदै
तस्बिरको क्याप्शन, दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया भइरहेका बिरामीको कानमा हेडफोन लगाएर सङ्गीत सुनाइँदै
    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता
  • Published
  • पढ्ने समय: ६ मिनेट

भारतको राजधानी दिल्लीमा एक बिरामी एक अपरेशन थिएटरको चर्को प्रकाशमा पल्टिरहेकी छन् र डाक्टरहरू उनको पित्ताशय काटेर फ्याँक्ने तयारी गरिरहेका छन्।

उनलाई 'जेनरल एनेस्थेसिया' दिइएको छ: औषधीको मिश्रणले उनलाई बेहोस बनाएको छ। उनी हलचल नगरी स्थिर अवस्थामा छन्, गहिरो निद्रा छ, कुनै कुरा सम्झन नसक्ने तथा दुखाइ थाहा नपाउने अवस्था छ र उनको मांसपेशीमा पनि अस्थायी असर परेको अवस्था छ।

तै पनि मनिटरहरूबाट आइरहेको निरन्तरको हूँ... आवाज र शल्यक्रिया गर्ने चिकित्सकहरूको कामको व्यस्तताबीच उनको कानमा हेडफोन लगाइएको छ र त्यसमा बाँसुरीको मधुरो धुन बजिरहेको छ।

औषधिले उनको मस्तिष्कको धेरैजसो भागलाई शान्त बनाइदिएको भए पनि सुन्ने भाग भने आंशिक रूपमा सक्रिय छ।

जब उनी औषधीको असर सकिएर ब्युँझिनेछिन्, उनको होस अलि छिटो फर्किने छ किनभने उनलाई बेहोस बनाउने प्रोपोफोल तथा दुखाइ कम गराउने ओपिओइड जस्तो औषधीको तुलनात्मक रूपमा कम मात्रा मात्र आवश्यक परेको थियो।

दिल्लीको मौलाना आजाद मेडिकल कलेज र लोक नायक अस्पतालको नयाँ 'पीअर रिभ्यूड' (समकक्षीहरूले समीक्षा गरेको) अध्ययनले त्यस्तै देखाएको छ।

'म्युजिक एन्ड मेडिसिन' जर्नलमा छापिएको एक अध्ययनमा सङ्गीतका कारण बिरामीलाई बेहोस बनाउने औषधीको मात्रा पनि कम चाहिने र शल्यक्रियापछि सञ्चो हुने प्रक्रिया पनि तीव्र बनाउने केही बलिया प्रमाणहरू पेस भएको छ।

सर्जरीपछि बिरामीहरू छर्लङ्ग मस्तिष्क र दुखाइबिना ब्युँझिन पाउनु सबभन्दा राम्रो अवस्था हो

यो अध्ययन खासगरी 'ल्यापरोस्कोपिक कोलेसीस्टेक्टोमी' भनिने छालामा प्वालहरू पारेर पित्तथैली निकाल्नुपर्ने अवस्थाका बिरामीको अध्ययनमा केन्द्रित छ।

यो शल्यक्रियाको प्रक्रिया छोटो छ - धेरैजसो एक घण्टा भन्दा कममा सकिन्छ र छिटो सञ्चो होस् भन्ने अपेक्षा राखिन्छ।

किन अनुसन्धानकर्ताहरू सङ्गीततर्फ मोडिए भन्ने जान्न आधुनिक 'एनेस्थेसिया' को अभ्यास जानेपछि सहयोग पुग्छ।

"हाम्रो उद्देश्य शल्यक्रियापछि बिरामीलाई सकेसम्म छिटो अस्पतालबाट बिदा गरौँ भन्ने हो," अध्ययनमा एनेस्थेसियाबारे वरिष्ठ विज्ञ तथा म्युजिक थेरापिस्ट डा. फराह हुसेन भन्छिन्।

"बिरामीहरू छर्लङ्ग मस्तिष्क, सतर्क र दुखाइबिना ब्युँझिनु पर्छ। दुखाइ व्यवस्थापन राम्रो हुने हो भने तनावको प्रतिक्रिया कम हुन पुग्छ।"

त्यस्तो अवस्था प्राप्त गर्न पाँच वा छ वटा औषधिको मिश्रण आवश्यक पर्छ जसले बिरामीलाई निदाउनमा सहयोग गर्छ, दुखाइलाई रोक्छ र मांसपेशीलाई आराम दिन्छ।

'ल्यापरोस्कोपिक' तरिकाले पित्ताशय निकाल्ने प्रक्रियामा 'एनेस्थसियोलोजिस्ट' ले अहिले धेरैजसो यो औषधिको मिश्रणको साथमा क्षेत्रीय "ब्लक" पनि दिन्छन् - त्यो भनेको अल्ट्रासाउन्ड निर्देशित सुई हो जसले पेटको भित्तामा नशाहरूलाई शून्य बनाइदिन्छ।

बिरामीलाई सङ्गीत सुनाउँदा कस्तो असर पर्छ भनेर अध्ययन गरिएको थियो

मौलाना आजाद मेडिकल कलेजकी पूर्व सिनिअर रेजिडेन्ट तथा प्रमुख अनुसन्धानकर्ता डा. तान्वी गोयल भन्छिन्, "जेनरल एनेस्थिया र 'ब्लक्स' तरिका यही हो, हामीले यो दशकौँदेखि गर्दै आइरहेका छौँ।"

तर शरीरले शल्यक्रियालाई सजिलोसँग लिँदैन। 'एनेस्थेसिया' लिएर बिरामी बेहोस भए पनि शरीरले प्रतिक्रिया जनाउँछ- मुटुको चाल बढ्छ, होर्मोनहरूको मात्रा बढ्छ र रक्तचाप पनि बढ्छ।

यसरी बढ्ने कुराहरू घटाउने र व्यवस्थापन गर्ने आधुनिक शल्य चिकित्साको प्रमुख उद्देश्यमध्ये एक हो।

डा. हुसेन बताउँछिन्- तनावपूर्ण प्रतिक्रियाले सञ्चो हुने प्रक्रिया ढिलो बनाउन सक्छ, सुजन बढाउन सक्छ र त्यसैकारण यसको सावधानीयुक्त व्यवस्थापन असाध्यै महत्त्वपूर्ण छ।

तनाव त शरीरमा छुरा लाग्नु पहिले नै सुरु हुन्छ- सुरुमा श्वास नलीमा श्वास ट्यूब घुसाउने बेला देखि नै।

यो गर्नका लागि एनेस्थेसियोलोजिस्टले ल्यारिन्जोस्कोपको प्रयोग गर्छन् अनि घाँटीको तलपट्टि जिब्रो र नरम तन्तुबीच हुँदै स्वरनलीमार्फत् ट्र्याकियामा ट्यूब घुसार्छन्। यो जेनरल एनेस्थेसिया दिँदा गरिने नियमित काम हो जसले गर्दा हावा जाने पाइप खुला रहन्छ र बिरामीहरू बेहोस रहँदा उनीहरूको श्वासप्रश्वासमा समस्या आउँदैन।

"ल्यारिन्जोस्कोपी र इन्ट्यूबेशन चाहिँ जेनरल एनेस्थेसिया दिँदाका बखतका सबभन्दा तनावपूर्ण कार्य मानिन्छन् भन्छिन् मौलाना आजाद मेडिकल कलेजमा एनेस्थेसिया एन्ड इन्टेन्सिभ केयरका निर्देशक प्रोफेसर डा. सोनिया वाधवान। उनी यो अध्ययनको सुपरभाइजर पनि हुन्।

"बिरामी बेहोस रहन्छ र केही पनि सम्झन्न तर पनि उसको शरीरले मुटुको चाल, रक्तचाप र तनाव होर्मोनमा आउने परिवर्तनले उत्पन्न गर्ने तनावप्रति प्रतिक्रिया जनाउँछ।"

यसका लागि विभिन्न औषधि विकास गरिएका छन्।

पुराना इथर मास्क हराएका छन्।

तिनका ठाउँमा नशाबाट दिइने औषधी आएका छन्। तिनमा प्रोपोफोल मुख्य हो। माइकल ज्याक्सनको मृत्युका कारण यो कुख्यात भएको भए पनि अपरेटिङ थिएटरमा भने राम्रो 'रिकभरी' का लागि यसको खूब महत्त्व हुन्छ।

"प्रोपोफोलले १२ सेकेन्डभित्रै काम गर्छ," भन्छिन् डा. गोयल।

"हामी ल्यापरोस्कोपिक कोलेक्सीसटेक्टोमी जस्ता छोटो समय लाग्ने शल्यक्रियाका लागि त्यसैलाई रुचाउँछौँ जसले सुँघ्ने औषधीहरूको भन्दा कम 'ह्याङ्गओभर' गराउँछन्।"

अनुसन्धानकर्ताको टीमले सङ्गीतले प्रोपोफोल र फेन्टानिलको प्रयोग गर्नुपर्ने मात्रा घटाउँछ कि घटाउँदैन भन्ने जान्न चाहेको थियो।

थोरै औषधी प्रयोग गर्नु भनेको सर्जरीपछि छिटो ब्युँझनु हो छिटै विभिन्न महत्त्वपूर्ण सङ्केतहरू मिल्नु हो र 'साइड इफेक्ट' पनि कम हुनु हो।

त्यसैले उनीहरूले एउटा अध्ययन 'डिजाइन' गरे। त्यो नमुना आयोजनामा आठ जना बिरामी थिए। त्यसपछि ५६ जना २० देखि ४५ वर्षका वयस्कहरूबीच ११ महिना लामो परीक्षण गरियो। तिनलाई दुई समूहमा बाँडियो। सबैले पाँचवटा औषधी लिएका थिए। एउटा बान्ता नआओस् भनेर दिने, एउटा निन्द्रा लगाइदिने, अर्को फेन्टानील प्रोपोफोल र मांसपेशी रिल्याक्सेन्ट। दुवै समूहले बाहिरको हल्ला नआउने किसिमका हेडफोन लगाएका थिए।

डा. हुसेन भन्छिन्, "हामीले बिरामीलाई दुई आनन्द दिने सङ्गीतमध्ये रोज्न भनेका थियौँ एउटा थियो बाँसुरी र अर्को पियानो। बेहोस मस्तिष्कमा पनि कुनै क्षेत्र सक्रिय रहन्छ। सङ्गीत नसम्झिए पनि त्यसप्रतिको चेतनाले फाइदाकारी प्रभाव देखाउँछ।"

परिणाम आश्चर्यजनक थिए।

सङ्गीत सुनाइएका बिरामीहरूमा प्रोपोफोल र फेन्टानीलको मात्रा कम दिए पुग्ने पाइयो।

उनीहरूले सञ्चो हुने प्रक्रिया सजिलो भएको पाए। उनीहरूमा तनावको होर्मोन अर्थात् कोर्टिसोलको मात्रा कम थियो र शल्यक्रियाका बेला रक्तचापमाथिको नियन्त्रण राम्रो थियो।

"एनेस्थेसिया दिएका बेला पनि सुन्ने क्षमता उस्तै रहन्छ," अनुसन्धानकर्ताहरू लेख्छन्, "मस्तिष्कको आन्तरिक स्थितिलाई सङ्गीतले सहयोग गर्न सक्छ।"

निश्चित रूपमा सङ्गीतले 'आन्तरिक मानसिक उथलपुथल 'लाई शान्त गर्ने जस्तो देखिन्छ। "सुन्ने मार्ग त्यतिबेला पनि सक्रिय रहन्छ जब तपाई बेहोस हुनुभएको हुन्छ। तपाईँ कुन सङ्गीत भन्ने नसम्झन पनि सक्नुहुन्छ तर मस्तिष्कले त्यसलाई चिनेकै हुन्छ।"

'एनेस्थेसिया' दिएपछि पनि मस्तिष्क पूर्ण रूपमा शून्य हुँदो रहेनछ भन्ने कुराले वैज्ञानिकहरू अचम्ममा पर्ने गरेका छन्। "इन्ट्रा अपरेटिभ अवेरनेस" का कारण अपरेशन भइरहेका बेलाका कुराकानीका अंशहरू सम्झिने पनि हुने गरेको छ।

बेहोस अवस्थामा रहेको भए पनि सर्जरीका बेला हुने तनावपूर्ण अनुभवलाई यदि मस्तिष्कले सम्झन सक्छ भने त्यसले सुमधुर सङ्गीत जस्तो सकारात्मक र आनन्द दिने अवस्थाको अनुभव पनि गर्न सक्छ होला।

डा. हुसेन "कसरी बेहोस अवस्थामा रहेको मस्तिष्कले सङ्गीत जस्तो गैरऔषधीय हस्तक्षेपप्रति कस्तो प्रतिक्रिया दिन्छ भन्ने पत्ता लगाउने कार्यको सुरुवातमा छौँ ," भन्छिन् । यो अपरेशन कक्षलाई मानवीय बनाउने तरिका पनि हो।

चिकित्सा क्षेत्रका लागि सङ्गीत थेरापी नयाँ कुरा होइन। यो मनोरोग र मस्तिष्काघातपछिको उपचार तथा अन्तिम अवस्थाको उपचार (प्यालिएटिभ केयर)मा प्रयोग गरिँदै आएको छ। तर असाध्यै प्राविधिक र मशिनको बाहुल्य हुने एनेस्थेसियाको क्षेत्रमा यसको प्रयोगको प्रवेश हुनु भनेको ठूलै परिवर्तन हो।

यदि यो सरल हस्तक्षेपले थोरै भए पनि औषधि प्रयोग घटाउन र छिटो सञ्चो हुन सक्छ भने यसले अस्पतालहरूलाई शल्यक्रियापछिको स्वास्थ्यका बारेमा सोच्ने तरिका बदल्न सक्छ।

अनुसन्धान टोलीले अर्को अध्ययनका लागि तयारी गरिरहेको छ: सङ्गीतको सहायता सहितको निद्रा लगाउने कार्य। पहिलेको अध्ययनको आधारमा एउटा तथ्य चाहिँ अहिले स्थापित छ- शरीर स्थिर भएर लडिरहेका बेला र मस्तिष्क सुतिरहेका बेला पनि केही मधुर धुनले बिरामीलाई उपचारपछि सञ्चो बनाउने कार्यमा मद्दत गर्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।