तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्ट
- Author, ज्याक बर्गस
- Published
- पढ्ने समय: ४ मिनेट
फ्रान्समा विद्यालयका समस्या र बढ्दो महँगीविरुद्ध शनिवार भएको प्रदर्शनका क्रममा देशभर हिंसात्मक घटना भएका विवरणहरू आएका छन्।
अनुमानित ५ लाख ५० हजार मानिस सडकमा उत्रिएको प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन्। सरकारले प्रदर्शनका क्रममा भएको घटनालाई 'हिंसामा वृद्धि भएको' भनी अर्थ्याएको छ।
राजधानी प्यारिसमा साँझसम्मै प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच व्यापक झडप भएको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
विरोध प्रदर्शनहरू दङ्गा र लुटपाटमा परिणत भएपछि जलेका कारहरू र फुटेका सिसाका टुक्राहरू त्यहाँका सडकमा छरपस्ट अवस्थामा देखिन्छन्।
प्यारिससहित देशका अन्य क्षेत्रका भवनहरूमा आगजनी गरिएको छ। लिमोज सहरको नगरपालिका भवनमा लागेको ठूलो आगोका कारण छानाको केही भाग भत्किएको छ।
देशका विभिन्न सहरमा लुटपाटका घटना पनि भएका छन्।
त्यस्तै, नगरपालिकाका भवन र व्यापारिक प्रतिष्ठानहरूलाई लक्षित गरी व्यापक तोडफोड भएका विवरणहरू आएका छन्।
प्रदर्शनका क्रममा भएको हिंसामा १५० जना प्रहरी घाइते भएका अधिकारीहरूले बताएका छन्।
प्यारिसमा दिउँसो भएको मुख्य प्रदर्शन भने अधिकांश समय शान्तिपूर्ण थियो।
बीबीसीसँग कुरा गर्दै युवाको एक समूहले आफूहरूले शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने बताएको थियो।
"हामी केवल परिवर्तन ल्याउने प्रयासका छौँ, तर केही पनि अघि बढिरहेको छैन।"
तर दिन ढल्दै जाँदा केही समूहले सडक र सवारीसाधनमा आगजनी गरेका थिए।
पसलहरूमा लुटपाट भएको थियो भने आगलागीका कारण कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। केही समूहबीच झडप भएको पनि देखिएको थियो।
मध्य प्यारिसमा दङ्गा नियन्त्रण प्रहरीले प्रदर्शनकारीहरूको एउटा समूहलाई तितरबितर पार्ने क्रममा केहीलाई लाठी प्रहार गरेको पनि देखिएको थियो।
लियोँका मेयर ग्रेगोरी डुसेले सहरको पर्यटक सूचना केन्द्रमा आगजनी हुनुलाई 'दुःखद घटना' भनेका छन्। बीएफएमटीभीसँग कुरा गर्दै उनले भने, "यो अत्यन्तै प्रतिष्ठित र प्रसिद्ध ऐतिहासिक भवन हो। यसमा आगजनी हुँदा हामीलाई निकै दुःख लागेको छ।"
स्थानीय प्रहरीले 'शत्रुतापूर्ण व्यवहार गर्ने व्यक्तिहरू' ले अग्नि नियन्त्रकहरूलाई आगो निभाउन अवरोध पुर्याएको जनाएको छ।
त्यस्तै, दक्षिणपूर्वी सहर सेन्ट-एटिएनमा ग्रिनेड विस्फोट हुँदा एक युवकको हात गुमेको मेयर रेगिस जुआनिकोले सामाजिक सञ्जालमार्फत बताएका छन्।
"यस्तो दुःखद घटना कहिल्यै हुनु हुँदैनथ्यो," उनले भनेका छन्।
फ्रान्सको आन्तरिक मामिला मन्त्रालयका अनुसार राजधानी प्यारिसका केही भागसहित कतिपय सहरमा मुख छोपेका व्यक्तिहरूले 'लक्षित रूपमा हिंसात्मक गतिविधि' गरेका हुन्।
ग्रेनोबल, अभिन्योँ, पो, मोँपेलिए र भालेन्सलगायत फ्रान्सका विभिन्न सहरमा पनि भवनहरूमा क्षति पुगेको विवरण छ।
प्यारिसमा कपडा तथा खाद्यान्न पसलहरूमा लुटपाट भएको हो।
बीबीसी भेरिफाइले पुष्टि गरेको एउटा भिडिओमा ग्रेनोबल सहरको केन्द्रमा रहेको साँघुरो सडकमा पर्यटक बोक्ने रेल चलाउँदै मुख छोपेका व्यक्तिहरू दङ्गा नियन्त्रण प्रहरीतर्फ अघि बढेको देखिन्छ।
फ्रान्समा १५ देखि १८ वर्ष उमेरका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालयहरूमा कर्मचारी अभाव र जीर्ण भौतिक संरचनाको विरोधमा पछिल्ला केही सातादेखि लाखौँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्।
शनिवारको प्रदर्शनमा ट्रेड युनियनका सदस्य र अन्य समूह पनि सहभागी भएपछि प्रदर्शनकारीको सङ्ख्या थप बढेको थियो।
बढ्दो जीवनयापन खर्चको विरोधमा सन् २०१८ देखि एक वर्षभन्दा लामो समयसम्म आन्दोलन गरेका 'येलो भेस्ट' आन्दोलनका सदस्यहरू पनि प्रदर्शनमा सहभागी थिए। उक्त आन्दोलन फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेका विरोध प्रदर्शनमध्ये एक मानिन्छ।
प्रदर्शनकारीका माग सम्बोधन गर्न सरकारले केही प्रयास गरेको देखिन्छ। शिक्षामन्त्री एडुआर गेफ्रेले अक्टोबर ८ मा एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा थप ३ हजार शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।
यद्यपि, प्रदर्शन नरोकिएको बरु झन् चर्किएको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।