निजी क्षेत्रमा अत्यासलाग्दो क्षति, कानुन व्यवस्था बहालीको आशमा व्यवसायी

आगजनीमा परेको हिल्टन होटलबाट धुवाँ निस्किरहेको दृश्य
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

जेन जी आन्दोलनमा ठूलो मानवीय क्षति भएको भोलिपल्ट हिंसात्मक प्रदर्शन, आगजनी तथा तोडफोडका कारण देशभरि निजी क्षेत्रको दशौँ अर्ब रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको व्यवसायीहरूले बताएका छन्।

क्षतिको यकिन विवरण सङ्कलनको काम भर्खर सुरु भएको र स्पष्ट चित्र आउन केही दिन लाग्ने उनीहरूले बताएका छन्।

व्यवसायीका अगुवाहरूले चाँडोभन्दा चाँडो शान्ति सुरक्षा पुनर्बहाली तथा जिल्लाजिल्लामा निर्बाध ढुवानी तथा व्यवसायका निम्ति सेनाले सहयोग गर्नुपर्ने बताएका छन्।

कहाँकहाँ के भयो

व्यवसायीका शोरूम, होटल, व्यवसाय, सुपरस्टोर, निजी आवासलगायत विभिन्न ठाउँहरूमा व्यापक तोडफोड, आगजनी र लुटपाट भएका विवरणहरू आएका छन्।

काठमाण्डूमा करिब एक वर्ष गाडि सञ्चालनमा आएको पाँचतारे हिल्टन होटल मङ्गलवार जलेर ध्वस्त भयो। त्यो एउटा घटनामा मात्रै ८ अर्ब रुपैयाँसम्मको क्षति भएको हुन सक्ने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए।

मङ्गलवार अपराह्ण त्यहाँ हुलले आगजनी तथा तोडफोड गरेको थियो। त्यसको केही सय मिटर उत्तरमा रहेको भाटभटेनी सुपरस्टोर पनि केही क्षणमै आगोमा झोसियो।

व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा भएको भाटभटेनी सुपरस्टोरका देशभरि रहेका एक दर्जनभन्दा बढी शाखामा पूर्ण वा आंशिक क्षति भएको देखिएको छ।

ती स्टोरहरूमा अर्बौँ रुपैयाँको सम्पत्ति क्षति भएको अनुमान गरिएको छ।

आगजनी भएर ध्वस्त भएको भाटभटेनी सुपरस्टोर
तस्बिरको क्याप्शन, भाटभटेनी सुपरस्टोरको काठमाण्डूको नक्सालस्थित शाखा र अन्य विभिन्न स्टोर क्षतिग्रस्त भएका छन्

थापाथलीस्थित सेन्ट्रल बिज्नेस पार्कमा रहेको कान्तिपुर मिडिया ग्रूप ध्वस्त भएको छ भने सोही क्षेत्रमा रहेका गाडीका शोरूमहरू पनि ध्वस्त भएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको काठमाण्डूको चन्द्रागिरि तथा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेका केबलकारका बेस स्टेशनहरू क्षतिग्रस्त भएका, पूर्व अध्यक्ष शेखर गोल्छाका घर तथा कार्यालय, उद्योगी विनोद चौधरीका घर तथा शोरूमसहित थुप्रै व्यवसायीहरूलाई क्षति पुगेको महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले बताएका छन्।

व्यवसायीहरू कैलाश सिरोहिया र उपेन्द्र महतोका व्यवसाय तथा आवासमा धेरै क्षति पुगेको छ।

काठमाण्डूबाहिर विराटनगर, पोखरा र चितवनमा समेत धेरै ठाउँमा निजी व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको विवरण आएको छ।

"अहिले हामी दुईवटा काम गरिरहेका छौँ। सर्भे फारम पठाएर यकिन क्षति विवरण सङ्कलनको काम भर्खरै सुरु गरेका छौँ। अनि निर्बाध ढुवानी तथा बजारमा सामानको अभाव नहोस् भन्नाका लागि सुरक्षाको प्रत्याभूतिका निम्ति (सेनालाई) आग्रह गरेका छौँ," अवस्थीले भने।

शान्ति सुरक्षा कायम गर्न आग्रह

पोखरा लेकसाइडमा आगजनी गरिएको एक होटल र त्यसको अगाडि दुई विदेशी पर्यटक
तस्बिरको क्याप्शन, पोखरामा होटलहरूमा पनि आगजनी भएको छ

शान्ति सुरक्षा बहाल गरेर निजी क्षेत्रलाई विश्वासमा लिन व्यवसायीहरूले आग्रह गरेका छन्।

"सरकारले अनि सेनाले निजी क्षेत्रसँग समन्वय गर्नु पर्ने कुराहरू छन्। किनभने युवाहरूको माग सम्बोधन गर्न पनि निजी क्षेत्रको सहभागिता आवश्यक हुन्छ। श्रम, रोजगारी तथा आर्थिक समृद्धिको कुराका निम्ति निजी क्षेत्र आवश्यक हुन्छ," महासङ्घका उपाध्यक्ष वैद्यले भने।

हजारौँ कैदीबन्दीहरू जेलबाट निस्किएका विवरणहरू रहेकाले जिल्ला जिल्लामा पनि शान्ति सुरक्षाको विषय महत्त्वपूर्ण भएको उनले औँल्याए।

"हामीले हाम्रा अध्यक्षलाई यस विषयमा सेनापतिसँग कुराकानी गर्न अनि केन्द्र तथा जिल्लाहरूका सुरक्षा समितिमा निजी क्षेत्रको सहभागिता रहनुपर्छ भनेका छौँ," वैद्यले भने।

जिल्ला सुरक्षा समन्वय परिषद्हरूमा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू राखेर भन्सार नाका खुलाउन सहजीकरण, सामानको ढुवानी तथा आपूर्ति र व्यवसाय सञ्चालनका लागि सघाउन आग्रह गरिएको अवस्थीले बताए।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि अनिश्चय हटाउनका लागि सकेसम्म चाँडो अन्तरिम सरकार बन्नुपर्ने धारणा राखे।

"धेरै नै क्षति भएको छ जसबारे हामी सोधपुछ गरिरहेका छौँ। कम्तीमा अन्तरिम सरकार भइदिए अनि यो अनिश्चय चाँडै नै हटिदिए हुने थियो," पाण्डेले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।