झलनाथ खनालसँग विशेष कुराकानी - 'मर्नुपरे परिवारसँगै जलेर मर्छु भनेर जिद्दी गरेपछि सुरक्षाकर्मीहरू जलिरहेकी मेरी श्रीमतीको उद्धार गर्न गए'

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, पृष्ठभूमिमा किताबहरू राखिएको दराज

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर
Published
पढ्ने समय: २ मिनेट

जेन जी आन्दोलनका क्रममा मङ्गलवार बिहान पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको काठमाण्डूस्थित निवासमा भएका आक्रमण र आगजनीका घटनामा जलेर गम्भीर घाइते भएकी उनकी पत्नी रविलक्ष्मी चित्रकारको चिन्ताजनक अवस्थामा उपचार भइरहेको बताएका छन्।

अहिले आफू सेनाको कुनै ब्यारेकमा भएको जानकारी दिँदै खनालले बीबीसी न्यूज नेपालीकी रमा पराजुलीसँग कुराकानी गरेका छन्।

झलनाथ खनालले भने :

म, श्रीमती र छोरा घरमा थियौँ। केही बेरमै सैनिकहरू आएर मलाई घरमाथि आक्रमण हुन सक्छ सुरक्षित ठाउँमा जाऔँ भन्न थाले।

मैले भ्रष्टाचार गरेको छैन, कसैलाई केही गरेको छैन, हाम्रो घरमाथि कसैले आक्रमण गर्दैनन्, जलाउन्नन् भनेँ - श्रीमती र छोरालाई।

म तल गएर कुरा बुझेर आउँछु भनेर तल झरेँ। मलाई एकातिर लिएर गए।

मेरो घरमा आगो लगाउन थालेको थाहा पाएँ। छोरा र श्रीमती कहाँ छन् भनेर सोधेँ।

त्यसपछि 'जलेरै मर्न परे परिवारसँगै म पनि जलेर मर्छु, मेरा श्रीमती र छोरालाई मात्र जलेर मर्न दिन्नँ' भनेर जिद्दी गरेपछि सुरक्षाकर्मी मेरो घरतिर उनीहरूको उद्धारका लागि गए।

दनदनी आगो लागेको रहेछ। सुरक्षाकर्मीले छिमेकीको घरको माथिल्लो तलाबाट मेरो घरभित्र पस्दा बेहोस भएर जलिरहेकी श्रीमतीलाई बाहिर निकालेर अस्पताल लगेछन्।

अहिले उनी अस्पतालमा भेन्टिलेटरमा छिन्।

म यता ब्यारेकमा बसेको छु।

उनीसँग प्रत्यक्ष कुराकानी हुन सकेको छैन, डाक्टरहरूमार्फत् कुराकानी भइरहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुन्नुहोस् -झलनाथ खनालसँगको अन्तर्वार्ता

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।