भेनेजुएलामा ट्रम्पले नोबेल विजेता मचाडोको साटो मदुरोकै उपराष्ट्रपतिलाई रोज्नुका कारण

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेस
तस्बिरको क्याप्शन, डेल्सी रोड्रिगेसले अपदस्थ राष्ट्रपति निकोलास मदुरोकी उपप्रमुख भएर काम गरेकी थिइन्
    • Author, पोल एडम्स
    • Role, कूटनीतिक संवाददाता
  • Published
  • पढ्ने समय: ६ मिनेट

गत साता कराकासमा भएको नाटकीय घटनापछि धेरै प्रश्नहरू घुमिरहेका छन्। ती धेरैमध्ये एउटा प्रश्न अहिले देशको नेतृत्व गरिरहेकी चस्माधारी एक महिलामा केन्द्रित छ, जसलाई अमेरिकी अधिकारीहरूले भेनेजुएलाको "अन्तरिम अधिकारी" भनिरहेका छन्।

डेल्सी किन?

भूतपूर्व मार्क्सवादी छापामारकी छोरी तथा अपदस्थ तानाशाह निकोलास मदुरोकी उपप्रमुख डेल्सी रोड्रिगेसको बारेमा त्यस्तो के कुरा छ, जसले ट्रम्प प्रशासनको ध्यान तानेको छ?

सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता तथा विपक्षी नेत्री मारिआ कोरिना मचाडोको विपक्षी अभियानले सन् २०२४ को राष्ट्रपति चुनाव जितेको व्यापक विश्वास गरिन्छ। तर किन वाशिङ्टनले उनको बदलामा एक घोषित "चाभिस्टा" क्रान्तिकारीलाई शक्तिमा राख्ने निर्णय लियो?

भेनेजुएलाका लागि अमेरिकाका एक पूर्वराजदूतका अनुसार यसको जबाफ सरल छ।

"उनीहरूले लोकतन्त्रको बदलामा स्थिरता रोजेका छन्," सन् २००२ देखि २००४ सम्म कराकासमा जर्ज डब्ल्यू बुशको राजदूतका रूपमा काम गरेका चार्ल्स शपिरो भन्छन्, "उनीहरूले तानाशाहबिनाको तानाशाही शासन कायम राखेका छन्। त्यसका अनुयायीहरू त्यहाँ अझै पनि छन्। मलाई लाग्छ कि निकै जोखिमपूर्ण छ।"

तर पूर्ण रूपमा सत्ता परिवर्तन गरेर मचाडोको विपक्षी आन्दोलनलाई समर्थन गर्ने विकल्पका अन्य खतराहरू पनि थिए।

विपक्षी कार्यकर्ता र मदुरोलाई मतदान गरेका सम्भवतः ३० प्रतिशत मानिसहरूबीच भिडन्तको जोखिम थियो।

ट्रम्पको प्रतिक्रिया

नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडो
तस्बिरको क्याप्शन, नोबेल शान्ति पुरस्कार विजेता मारिआ कोरिना मचाडो भेनेजुएलाकी विपक्षी नेत्री हुन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार बिहान आफ्नो नाटकीय पत्रकार सम्मेलनमा रोड्रिगेसलाई "दयालु" को रूपमा चित्रित गरेनन्, भेनेजुएलाभित्र नोबेल शान्ति पुरस्कार विजेता मचाडो "सम्मानित नभएको" भनेर धेरै पर्यवेक्षकहरूलाई चकित मात्र पारिदिए।

मदुरोलाई अमेरिकाले कब्जामा लिएपछि निकै आक्रामक प्रारम्भिक प्रतिक्रिया जनाएयता रोड्रिगेसले वास्तवमै मेलमिलापको नीति अपनाएकी छिन्। उनले ज्यानुअरी ४ तारिखमा "अमेरिकी सरकारलाई सहकार्यका मुद्दामा सँगै काम गर्न आमन्त्रित" गरिन्।

ट्रम्प नेत्री मचाडोलाई बिहीवार ह्वाइट हाउसमा स्वागत गर्दै छन्। अमेरिकी फक्स न्यूजलाई ज्यानुअरी ५ तारिखमा दिएको अन्तर्वार्तामा प्रफुल्ल मुद्रामा प्रस्तुत भएकी उनले आफूलाई प्राप्त नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपतिलाई हस्तान्तरण गर्न सक्ने बताएकी थिइन्। उक्त पुरस्कारका निम्ति ट्रम्पले खुला रूपमा पहल गरेका थिए।

मदुरोलाई अपदस्थ गरेकामा ट्रम्पलाई धन्यवाद दिएको दुई दिनपछि मचाडोले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएससँगको कुराकानीमा रोड्रिगेसलाई कसैले विश्वास नगर्ने बताउँदै अब आफ्नो गठबन्धनले भेनेजुएलाको "पूर्ण" नेतृत्व गर्नुपर्ने बताएकी थिइन।

ट्रम्पले मचाडोको आधिकारिकता खारेज गरिदिएको विषयले पनि केही विज्ञहरूलाई चकित तुल्याएको छ।

"राष्ट्रपति ट्रम्पले मारिआ कोरिना मचाडोलाई अयोग्य घोषित गरेको सुनेर म निकै छक्क परेँ," कराकासस्थित अमेरिकी दूतावासका भूतपूर्व नियोग उपप्रमुख केभिन ह्वाइटेकर भन्छन्, "उनको अभियान चुनावमा व्यापक रूपमा निर्वाचित भएको थियो... र यसैले मचाडोलाई अयोग्य ठहर्‍याउनु वास्तवमा त्यो सम्पूर्ण आन्दोलनलाई अयोग्य घोषित गर्नु हो।"

'हिंसात्मक अराजकता'को त्रास

अमेरिकी नियन्त्रणमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो
तस्बिरको क्याप्शन, निकोलास मदुरोलाई अमेरिकाले नियन्त्रणमा राखेको छ

जुन गति र सहजताका साथ मदुरोलाई हटाइयो र रोड्रिगेसलाई नियुक्त गरियो, केही पर्यवेक्षकहरूले रोड्रिगेज नै उक्त योजनामा संलग्न हुन सक्ने अनुमान गरेका छन्।

"मलाई लाग्छ, महत्त्वपूर्ण कुरा के हो भने हामी मदुरोको पछि लाग्यौँ तर उपराष्ट्रपति भने बाँचिन्," सीआईएका पूर्वअधिकारी लिन्ड्से मोरन भन्छन्, "स्पष्ट कुरा के हो भने त्यस प्रकरणमा अमेरिकाका निम्ति उच्च स्रोतहरू थिए। मेरो तत्कालको अनुमानमा उपराष्ट्रपति आफैँ थिइनन् भने ती उच्च स्रोतहरू उनकै कार्यालयका थिए।"

तर कराकास बस्ने इन्टर्न्याश्नल क्राइसिस ग्रूप (आईसीजी) का वरिष्ठ विश्लेषक फिल गन्सन उक्त ठम्याइ 'कन्स्पिरसी थिअरी' (षड्यन्त्रको सिद्धान्त)को नजिक नरहेको बताउँछन् किनकि भेनेजुएलाका रक्षामन्त्री जेनरल भ्लादिमिर पाड्रिनो लोपेज र कट्टरपन्थी आन्तरिक मन्त्री ड्योस्डाडो कबेयोसँग अझै पनि ठूलो शक्ति छ।

"उनले अझैँ पनि बन्दुकमा नियन्त्रण राख्नेहरूका अगाडि आफूलाई आन्तरिक रूपमा प्रतिरक्षाविहीन राखेर किन मदुरोलाई धोका दिन्छिन्," गन्सन भन्छन्।

बरु मचाडोलाई शक्तिमा ल्याउँदा खतरनाक स्तरको अस्थिरता हुन सक्ने चेतावनीपछि रोड्रिगेसलाई समर्थन गर्ने निर्णय लिइएको हुन सक्छ।

अक्टोबरमा आईसीजीको एउटा प्रतिवेदनले "वाशिङ्टन शासन परिवर्तनमा सावधान रहनुपर्ने" चेतावनी दिएको थियो।

"मदुरोपछिको कुनै पनि परिदृश्यमा हिंसाको जोखिमलाई अवमूल्यन गर्नहुँदैन," प्रतिवेदनमा सुरक्षा बलका विभिन्न तत्त्वहरूले नयाँ शासकविरुद्ध छापामार युद्ध सुरु गर्न सक्ने बताइएको थियो।

"हामीले प्रशासनका मानिसहरूलाई यसले काम गर्दैन भनेर चेतावनी दिइरहेका थियौँ," गन्सन भन्छन् "त्यहाँ हिंसात्मक अराजकता हुने छ, यो तिम्रो गल्ती हुने छ र त्यसको जिम्मेवारी लिनु पर्ने छ।"

सोमवार, वाल स्ट्रीट जर्नलले एउटा गोप्य अमेरिकी गुप्तचर मूल्याङ्कनबारे प्रकाशित गरेको रिपोर्टमा त्यही निष्कर्ष थियो र त्यसले रोड्रिगेससहित मदुरो शासनका सदस्यहरू अस्थायी सरकारको नेतृत्व गर्ने सबल अवस्थामा रहेको ठम्याएको थियो।

ह्वाइट हाउसले उक्त समाचारबारे सार्वजनिक रूपमा टिप्पणी गरेको छैन, तर निकट भविष्यका लागि रोड्रिगेससँग काम गर्ने योजना बनाएको कुरा स्पष्ट पारेको छ।

वाशिङ्ग्टनस्थित अमेरिकी कार्यक्रम सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टर्न्याश्नल स्टडिजका सहायक फेलो हेन्री जिएमर यसले ट्रम्प प्रशासनको कठोर यथार्थवादलाई दर्साएको बताउँछन्।

"चुनौतीहरू भर्खर सुरु भएका छन्," उनी भन्छन्।

गन्सनका बुझाइमा मदुरोलाई पक्राउ गर्नु सजिलो पक्ष थियो। तर भेनेजुएलाको बृहत् पुनर्निर्माण, तेल, लागुऔषध र प्रजातन्त्रको लक्ष्य... फलदायी हुन धेरै समय लाग्ने छ।

यद्यपि, अहिलेका लागि रोड्रिगेस त्यस्तो व्यक्तिजस्तो देखिन्छिन्, जोसँग ट्रम्प प्रशासनले सहकार्य गर्न सक्ने महसुस गरेको छ।

"उनी एक आर्थिक सुधारक हुन्," गन्सन भन्छन्, "उनी आर्थिक उदारीकरणको आवश्यकताबारे सचेत छन् र विदेशी पुँजी भित्र्याउने अवधारणाविरुद्ध छैनन्।"

अबको अमेरिकी योजना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ज्यानुअरी ३ मा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा अमेरिकी सैन्य कारबाही गरेको पुष्टि गरेका थिए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरी ३ मा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा अमेरिकी सैन्य कारबाही सुरु भएको पुष्टि गरेका छन्।

अमेरिकी तेल कम्पनीहरूलाई स्वागतका निम्ति अनुकूल वातावरण बनाउन वाशिङ्टनको इच्छाअनुसार काम गर्न रोड्रिगेसलाई गाह्रो नहुन सक्छ भन्नेमा जिएमर सहमत छन्। अमेरिकी प्रतिबन्धहरू क्रमिक रूपमा हटाउनका निम्ति उनी लागुपदार्थविरुद्ध व्यापक सहकार्य गर्नुका साथै क्यूबा, चीन र रुससँग भेनेजुएलाको सम्बन्ध कम गर्ने अमेरिकी चाहना रोड्रिगेसका निम्ति असहज नहुन सक्छ।

"मलाई लाग्छ त्यस सन्दर्भमा उनले काम गर्न सक्छिन्," जिएमर भन्छन् "तर यदि अमेरिकाले लोकतान्त्रिक सङ्क्रमणको दिशातर्फ ठोस प्रगतिको माग गर्दा त्यो धेरै गाह्रो हुन्छ।"

अहिले भने यो वाशिङ्टनको प्राथमिकताहरू सूचीमा माथि देखिँदैन।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले बुधवार पत्रकारहरूलाई सम्बोधन गर्दै भेनेजुएलाका लागि तीन चरणको योजनाबारे जानकारी दिए। त्यसको सुरुवात देशको स्थिरता र अमेरिकी निगरानीमा ३ देखि ५ करोड ब्यारल तेलको बजारीकरणबाट हुने उनले बताए।

उक्त योजनाले "मेलमिलाप प्रक्रिया"को अगुवाइ गर्ने मन्त्री रुबिओको भनाइ छ। त्यसमा विपक्षी शक्तिहरूका लागि आममाफी, राजनीतिक बन्दीहरूको रिहाइ र नागरिक समाजको पुनर्निर्माण पनि समावेश छन्।

"तेस्रो चरण, पक्कै पनि सङ्क्रमणकालीन हुने छ," उनको भनाइ थियो।

भेनेजुएलाको संविधानको धारा २३३ मा राष्ट्रपति "स्थायी रूपमा सेवा गर्न उपलब्ध नभएको" ३० दिनभित्र नयाँ चुनाव गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था मदुरो न्यूयोर्कको जेलमा सुनुवाइको पर्खाइमा रहेको अवस्थामै लागू हुन्छ।

तर राष्ट्रपति ट्रम्पले सोमवार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा चुनाव कहिले हुने भन्ने अझै स्पष्ट नदेखिएको बताए। "हामीले पहिले देशको समस्या सुल्झाउनुपर्छ," उनले भने, "चुनाव गराउन सकिँदैन।"

गन्सनका अनुसार पनि छोटो अवधिमै सत्ता परिवर्तनतर्फ नजाने वाशिङ्टनको निर्णय तर्कसङ्गत नै देखिन्छ तर अझै पनि दीर्घकालीन सम्भाव्यताबारे योजना नहुनु निराशाजनक छ।

"ट्रम्पले यसबाट केही पाएका हुन सक्छन् तर भेनेजुएलावासीले छैनन्," उनी भन्छन्, "भेनेजुएलाका सर्वसाधारणहरू सदाझैँ दुःखमै छन्"

भेनेजुएलाका भ्रष्टचारले ग्रस्त तथा निष्क्रिय पेट्रोलिअम उद्योगमा पुनः लगानी गर्ने सम्भाव्यताका विषयमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय तेल कम्पनीहरूसँग कुरा गरिरहँदा गन्सन भने वास्तविकता अझै जटिल हुन सक्ने ठान्छन्।

"सरकार अवैध हो र त्यहाँ विधिको शासन छैन भने त्यहाँ आवश्यक हजारौँ अर्ब डलर लिएर कोही पनि जानेवाला छैन," उनी भन्छन्।

सन् २०१३ मा निधन भएका भेनेजुएलाका निरङ्कुश शासक ह्यूगो चाभेजले त्यसको केही समयअघि मदुरोलाई आफ्ना उत्तराधिकारी तोक्दा पनि सामान्य प्रजातान्त्रिक प्रक्रिया छलिएको भन्दै आलोचना भएको थियो।

पूर्वराजदूत शपिरोले शक्तिमा डेल्सी रोड्रिगेसको उदय पनि त्यससँग मिल्दोजुल्दो देखेका छन्।

"यो ट्रम्पको छनोट हो," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।