भेनेजुएलामाथि आक्रमण र मदुरो पक्राउको विरोधमा नेपालका कम्युनिस्ट नेताहरू

उक्त घटनाको विरोधमा काठ्माण्डूमा पनि विरोध प्रदर्शनहरू भएका छन्
तस्बिरको क्याप्शन, उक्त घटनाको विरोधमा काठ्माण्डूमा पनि विरोध प्रदर्शनहरू भएका छन्
Published
पढ्ने समय: ४ मिनेट

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई पक्राउ गरी अमेरिकाले हिरासतमा राखेका विषयमा नेपालका नेताहरूले विरोध जनाएका छन्।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेताहरूले भेनेजुएलामाथि आक्रमण गर्ने अमेरिकी कदमको भर्त्सना गरेका हुन्।

भेनेजुएलामा अमेरिकी हस्तक्षेप र राष्ट्रपति मदुरो पक्राउको विरोधमा काठमाण्डूमा विरोध प्रदर्शन समेत भएको छ।

महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकै आइतवार साँझ संयुक्त विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको थियो।

पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाल तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले छुट्टाछुट्टै विज्ञप्तिमार्फत् अमेरिकी कदमले भेनेजुएलाको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण पनि गराएका छन्।

"संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको राष्ट्रप्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत् नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको बडापत्रको ठाडो उल्लङ्घन हो," नेकपा एमालेका महासचिव पोखरेलले फेसबुकमा पोस्ट गरेका छन्।

भेनेजुएलाका राष्ट्रपति पक्राउको विरोधमा अमेरिकी सहरमा भएका प्रदर्शन
तस्बिरको क्याप्शन, भेनेजुएलाका राष्ट्रपति पक्राउको विरोधमा अमेरिकी सहरमा पनि प्रदर्शन भएका छन्

"यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन। भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ," पोखरेलले थप भनेका छन्।

एमालेका अर्का नेता सूर्य थापाले पनि मदुरो दम्पतीको ससम्मान स्वदेश फिर्तीको माग गरेका छन्। तर नेकपा एमालेले संस्थागत रूपमा भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।

निकोलस मदुरोलाई पक्राउ गरिँदै

अर्को कम्युनिस्ट शक्ति नेपाली कम्युनिस्ट पार्टीले पनि औपचारिक प्रतिक्रिया सार्वजनिक नगरे पनि उक्त दलका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमविरुद्ध आवाज उठाउन आह्वान गरेका छन्।

"म नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण न्यायप्रेमी नेपाली जनताको तर्फबाट यो अमेरिकी आक्रमणको फेरि पनि घोर निन्दा र भर्त्सना गर्दै भेनेजुएलाका जनताको विरोध र प्रतिरोधप्रति दह्रो ऐक्यबद्धता प्रकट गर्दछु," खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

खनालले आफ्नो दलका तर्फबाट पनि मदुरो दम्पतीको सकुशल रिहाइको माग गर्दै संयुक्त राष्ट्रसङ्घ सहितका अन्तर्राष्ट्रिय समुदायसँग अमेरिकी "आक्रमणका विरुद्ध कडा कानुनी कारबाही गर्न र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्न" आह्वान गरेका छन्।

भेनेजुएला ठूलो तेल भण्डार भएको देश भएका कारण त्यसलाई कब्जा गर्न अमेरिकाले मदुरोलाई पक्राउ गरेको खनालको आरोप छ।

अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सार्वभौम राष्ट्रहरूले भेनेजुएलामाथिको आक्रमणबारे विरोध जनाउनुपर्ने बताएका छन्।

"संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नाङ्गो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्रसङ्घले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लङ्घन हो," भट्टराईले फेसबुकमा लेखेका छन्।

"यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो 'जसको लाठी उसको भैँसी' प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयङ्कर अनिष्ट आउन सक्छ।"

डोनल्ड ट्रम्प

भट्टराई संरक्षक रहेको दल प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि भेनेजुएलामाथि भएको आक्रमणविरुद्ध आवाज उठाउन नेपाल सरकारलाई आग्रह गरेको छ।

"सार्वजनिक अन्तर्राष्ट्रिय कानुन विरुद्धको यो कदमविरुद्ध आवाज उठाउन नेपाल सरकारलाई आग्रह गर्दै प्रलोपा भेनेजुएलाका सार्वभौमसत्तासम्पन्न आमजनतासँग दृढ ऐक्यबद्धता व्यक्त गर्दछ, जसलाई बाह्य दबाब र हस्तक्षेपबिना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने पूर्ण अधिकार छ," पार्टीको अध्यक्षमण्डलकी अध्यक्ष ओजस्वी भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष रश्मिराज नेपालीले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको कडा शब्दमा विरोध जनाएका छन्।

कम्युनिस्ट दलहरू समर्थित तीन वटा युवा सङ्गठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै भेनेजुएला आक्रमणको निन्दा गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।