तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तेहरानले 'बन्द' भनेको होर्मुज जलमार्गबाट जहाजहरू पार भइरहेको अमेरिकी दाबी
- Author, रोबर्ट ग्रिनल र ट्याबी विल्सन
- Published
- पढ्ने समय: ३ मिनेट
इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाए पनि संयुक्त राज्य अमेरिकाले यो मार्गबाट जहाजहरू आवतजावत गरिरहेको बताएको छ।
मध्यपूर्वमा अमेरिकी फौज हेर्ने यूएस सेन्ट्रल कमाण्ड (सेन्टकम)ले यो जलमार्ग इरानको नियन्त्रण नरहेको बताएको हो। उसले नियमपूर्वक पार गर्न चाहने सबै जहाजका लागि होर्मुज जलमार्ग खुला रहने दाबी गरेको छ।
सेन्टकमले इरानले अनावश्यक आक्रोश देखाएको आरोप समेत लगाएको छ। यसअघि तेहरानले होर्मुज जलमार्ग भएर गइरहेका पानीजहाजमा हमला गरेपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेको थियो।
इरानको इइस्लामिक रेभलुशनरी गार्ड कोर (आईआरीसी) ले अर्को सूचना जारी नभएसम्मका लागि उक्त जलमार्ग बन्द गरिएको जनाएको थियो।
त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले नियम मिचेर पानीजहाजले आफ्नो प्रणाली बन्द गरेपछि र स्वीकृत मार्गबाट मोडेपछि आक्रमण गरिएको जनाएका छन्।
सेन्टकमले आईआरीसीले साइप्रसको झण्डायुक्त पानीजहाजलाई "सिधा आक्रमण" गरेपछि "यसै साता तेस्रो चरणको आक्रमण" सुरु गरिएको बताएको थियो।
सेन्टकमले अमेरिकी हमलाहरू १४० वटा इरानी सैन्य निशानामा केन्द्रित रहेको बताउँदै तिनमा मिसाइल र ड्रोन साइटहरू, सञ्चार नेटवर्कहरू र तटीय निगरानी स्थानहरू समावेश रहेको जनाइएको छ।
आईआरजिसीले कतार, कुवेत, जोर्डन र बाहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरेको बताएको छ।
आईआरजीसीले ओमानका बन्दरगाहहरूमा रहेका प्लेटफर्महरूमा समेत आक्रमण गर्दै ती अमेरिकी नौसेनालाई सहयोग गर्न प्रयोग गरिएको जनाएको छ।
युएईका हवाई प्रतिरक्षा प्रणालीले आफूतर्फ आइरहेका क्षेप्यास्त्र र ड्रोनहरूको जवाफ दिइरहेको बताइएको छ।
यस साताको सुरुमा तीन व्यावसायिक ट्याङ्करहरूमा आक्रमण भएको घटनापछि विकसित घटनाक्रममाझ दुवै देशका तर्फबाट हमलाहरू भएका छन्।
अमेरिका के भन्छ?
सेन्टकमका अनुसार इन्जिन कक्षमा उल्लेख्य क्षति भएको कारण एमभी जीएफएस ग्यालेक्सी "आफ्नो यात्रा जारी राख्न असमर्थ" रहेको छ। एक गैर सैनिक चालक दलका सदस्य बेपत्ता भएको बताइएको छ।
यूकेको मरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)ले सैन्य अधिकारीहरूले चालक दललाई पानीजहाज छोड्न बाध्य पारेको र लाइफबोटमा रहेको जानकारी गराएको जनाएको छ।
"व्यापारिक पानीजहाजहरूमा यसअघि भएका आक्रमणका लागि जिम्मेवार ठहर्याइएपछि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर प्रदान गरिए तापनि फेरि त्यसमा चुकेको छ," सेन्टकमले एक्समा साझा गरिएको एक विज्ञप्तिमा लेखेको छ।
उक्त विज्ञप्ति शेअर गर्दै अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले लेखेका छन्: "इरानले खराब छनौट गर्यो। अब उनीहरूले बेहोर्छन्।"
इरानी चेतावनी
स्वीकृति नभएको मार्गमा यात्रा गर्ने प्रयास गरिरहेको पानीजहाजमा आइतबार सबेरै क्रूज मिसाइल प्रहार गरेपछि इरानले अर्को सूचना नभएसम्मका लागि होर्मुज जलमार्ग बन्द गरेको इरानका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारी सञ्चारमाध्यमहरूमा आएका विज्ञप्तिमा आईआरजीसीले बारम्बार दिइएका निर्देशनहरू बेवास्ता भएपछि पानीजहाजलाई "चेतावनीयुक्त प्रहार गरेर रोकिएको" जनाइएको छ।
आफ्नो बन्दका कारण कुनै पनि अमेरिकी "आक्रमण" भए त्यसलाई "गम्भीरता"का साथ जवाफ दिइने र यस क्षेत्रमा नयाँ अखडाहरूलाई लक्षित गरिने चेतावनी पनि तेहरानले दिएको छ।
गत साताको सुरुमा ओमानी जलमार्ग हुँदै अमेरिकाले सिफारिस गरेको बाटो पार गर्ने प्रयास गर्दा तीन व्यावसायिक ट्याङ्करहरूमाथि आक्रमण गरिएको थियो।
इरानले बारम्बार बताउने गरेको एक मात्र "सुरक्षित" मार्ग उसको जल क्षेत्र भएर जाने छुट्टै मार्ग हुने बताउँदै आएको छ।
घटनाक्रम
इरानी अधिकारीहरूका अनुसार उक्त घटनापछि भएका शृङ्खलाबद्ध अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु भएको र ११५ जना घाइते भएका छन्। इरानले बदलामा खाडीमा रहेका अमेरिकी साझेदारहरूमाथि आक्रमण गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी आक्रमणपछि युद्धविराम समाप्त भएको घोषणा गरेपछि दुवै पक्षबाट हमलाहरू बढेका थिए। इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
यद्यपि, ट्रम्पले वार्ता अझै जारी रहने भन्दै मध्यस्थकर्ताहरूले प्रक्रियालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको बताएका छन्।
अमेरिकी सञ्चारमाध्यममा आएका खबरहरू अनुसार इरानले ट्याङ्करहरूमाथिका आक्रमणमा गल्ती भएको बताउँदै एक गलत मनसाय भएको एक आन्तरिक समूहलाई त्यसको दोष दिएको अमेरिकी अधिकारीहरूलाई जबाफ दिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।