चीनमा शक्तिशाली आँधीपछि २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारियो

    • Author, रोबर्ट ग्रिनल
  • Published
  • पढ्ने समय: ३ मिनेट

चीनमा एक साताभित्रै आएको दोस्रो शक्तिशाली आँधीका कारण त्यसको बाटोमा पर्ने ठाउँहरूबाट करिब २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

'टाइफून बाभी' सबैभन्दा फराकिलो ठाउँमा १,००० किलोमिटरसम्म फैलिएको छ जुन झण्डै फ्रान्सको चौडाइ बराबर हो।

पहिलोपटक यो आँधी शनिवार साँझ तटीय सहर ताइझोउमा बज्रियो र त्यसपछि दोस्रो पटक मध्यरातमा वेन्झोउमा बज्रिएको थियो।

एकपछि अर्को गर्दै दुर्गम जापानी टापुहरूमा धक्का दिने क्रममा यस समुद्री आँधीले ताइवानमा भारी वर्षा निम्त्याएको थियो। बाभी ताइवानको उत्तरी छेउ हुँदै अघि बढेको थियो।

यसअघि उक्त आँधीले फिलिपिन्समा गएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो।

यो कमजोर हुँदै चरम उष्णदेशीय आँधीमा परिणत भए तापनि यसको वर्षा 'ब्यान्ड'भित्र ठूलो मात्रामा हुने आर्द्रता कारणले यसले अझै पनि जोखिम निम्त्याउने विश्लेषण भएका छन्।

असर

उत्तर-पश्चिमतर्फ सर्दै जाने क्रममा सो समुद्री आँधीको वेग बिस्तारै कम हुने अपेक्षा गरिएको छ।

उक्त आँधीको मुख्य हिस्सा आइतवार बिहान जजियाङ प्रान्तको हाङझोउ सहरमा पुगेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

मौसम पूर्वानुमानकर्ताहरूले उक्त आँधी सोमवार पूर्वी एन्होय र मङ्गलवार शाङ्दोङ प्रायद्वीपबाट उत्तरी 'यलो सी'मा सर्ने बताएका छन्।

जजियाङमा १७ लाखभन्दा धेरै र अन्य छिमेकी प्रान्तहरूमा हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जजियाङमा विद्यालय, कार्यालय र बाह्य गतिविधिहरू गर्न रोक लगाइएको छ भने ४०० उडान र दर्जनौँ रेल सेवाहरू रद्द गरिएको छ।

आँधीको बाटो नजिकको करिब १ करोड मानिसहरू बसोबास गर्ने वेन्झोउ सहरमा अधिकारीहरूले लाखौँ मानिसहरूलाई सुरक्षित ठाउँमा सारेका छन्।

"हामी छानाको टायल र रूखका हाँगाहरू खसेको सुन्न सक्छौँ," उक्त सहरका एक बासिन्दा ली लियाङसिङले रोएटर्ससँग भने, "हामी साँच्चै डरायौँ।"

बेइजिङले "जोखिमबाट बच्न"का लागि १ लाख मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने आदेश दिएको अधिकारीहरूले बताएका छन्।

'सुपर टाइफून'का रुपमा सुरु

बाभी एक 'सुपर टाइफून'को रूपमा सुरु भएर गत सोमवार गुआम र उत्तरी मारियाना टापुहरूमा प्रतिघण्टा २९० किलोमिटर प्रतिघण्टाको वेगमा ठोक्किएको थियो।

प्रशान्त महासागर हुँदै आफ्नो बाटोमा अघि बढ्ने क्रममा यसले प्रतिघण्टा १४४ किलोमिटरको गतिमा हावा पैदा गरेको थियो। त्यसपछि देशका मुख्य टापुहरू र जापानको रियुक्यु टापुहरूको समूह रहेको क्षेत्र हुँदै साकिशिमा टापुहरूमा ठोक्कियो। जहाँ कम्तीमा पाँच जना घाइते भए र हजारौँ मानिसहरू बिजुलीविहीन भएका थिए।

ताइवानमा त्यसको सिधा मार नपरे तापनि हजारौँको सङ्ख्यामा मानिसहरू आफ्नो घर छोड्न बाध्य हुनुका साथै भारी वर्षा पछि पहिरोको खतरा सामना गरेका थिए।

हालसम्म कुनै पनि देशमा यसबाट मानिसहरूको मृत्यु भएको खबर आएको छैन।

ताइवानी अधिकारीहरूले बाभीले १ मिटरसम्मको वर्षा गराउन सक्ने चेतावनी दिएका थिए।

दर्जनौँ उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूले यस क्षेत्रभरि पठनपाठन स्थगित गरेका छन्। स्थानीय बासिन्दाहरूले खानेकुरा घरमा भण्डारण सुरू गर्दा सुपरमार्केटहरू रित्तिँदै गरेका देखिन्छन्।

दक्षिणी चीनका केही भागहरू अझै पनि गत साताको सुरुमा आएको मेसाक समुद्री आँधीले सिर्जना गरेको विनाशबाट पीडित छन्।

मेसाकले सिर्जना गरेको विपद्‍मा परेर कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

ठूलो सङ्ख्यामा जनावरहरूको मृत्यु हुँदा कृषि क्षेत्र समेत ठूलो मारमा पर्‍यो। यसले मध्य हुबे प्रान्तमा दुई दुर्लभ आँधीबेहरी पनि निम्त्याएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।