तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सोलद्वारा उत्तर कोरियासँग प्राविधिक रूपमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न वार्ता प्रस्ताव
- Author, आलिक्स फिलिप्स
- Published
- पढ्ने समय: ३ मिनेट
दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो उत्तरी छिमेकीसँग दुई देशबीच प्राविधिक रूपमा अझै जारी रहेको युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने विषयमा वार्ताको प्रस्ताव गरेका छन्।
ली जे-म्यङले डीएमजेड अर्थात् 'असैनिकीकृत क्षेत्र'का रूपमा चिनिने दुई देशबीचको वास्तविक सीमामा तनाव बढ्न नदिन 'बहुतहको सुरक्षा प्रणाली' सुझाएका छन्। त्यसक्रममा उनले प्योङयाङको परमाणु महत्त्वाकाङ्क्षा रोक्ने व्यावहारिक उपायहरूबारे छलफल गर्ने प्रस्ताव पनि अघि सारेका छन्।
उत्तर कोरियाले परमाणु अस्त्र बोक्न सक्ने क्षमताका बलिस्टिक क्षेप्यास्त्रहरूको निरन्तर परीक्षण गर्दै आएको छ। त्यसलाई सोल र अर्को निकट छिमेकी जापानले धम्की दिने र आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयासका रूपमा हेर्ने गरेका छन्।
सन् १९५३ मा युद्धविराम सम्झौता भएयता कोरियाली प्रायद्वीपका यी दुई देशबीचको द्वन्द्व व्यावहारिक रूपमा यथावत् अवस्थामा छ।
यद्यपि, त्यसपछिका दशकमा डीएमजेड क्षेत्रमा झडप र तनावका घटनाहरू भएका छन्।
साथै फोहोर र प्रचार-प्रसार सामग्री बोकेका बलुनहरू खसाल्नेजस्ता उक्साहटपूर्ण कार्यहरूको आरोप-प्रत्यारोप पनि दुवै पक्षबाट हुने गरेको छ।
सम्बन्ध सुधार्ने प्रयास
आफ्ना पूर्ववर्ती यून सुक यउलमाथि सैनिक शासन घोषणा गर्ने प्रयास गरेको आरोपमा महाभियोग लागेपछि ली गत वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका हुन्।
उनले यूनको कार्यकालमा चिसिएको उत्तर कोरिया र उसको सहयोगी चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन्।
जापानी शासनबाट सो प्रायद्वीप स्वतन्त्र भएको सम्झनामा मनाइने 'मुक्ति दिवस' को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने: "आउनुहोस्, एक-अर्कालाई धम्की दिने मनसाय त्यागौँ र यस युद्धमा प्रत्यक्ष रूपमा संलग्न पक्षका रूपमा लामो समयदेखि जारी युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ।"
लीले दुई राष्ट्रहरू "शान्तिपूर्ण सहअस्तित्व र आपसी विकासका लागि आमनेसामने भएर बस्ने" आशा व्यक्त गरे।
उनले उक्त प्रक्रिया "उत्तर कोरियाको परमाणु क्षमताको विस्तार रोक्ने प्रभावकारी उपायहरू" माथि छलफल गर्ने मञ्चको रूपमा काम गर्न समेत सक्ने बताए।
प्योङयाङसँग कति अस्त्र छन्?
सन् २०२२ मा उत्तर कोरियाले आफूलाई परमाणु शक्ति राष्ट्र घोषणा गर्दै आफ्ना ती अस्त्रहरू कहिल्यै नत्याग्ने बतायो। अनुमानहरू आधारमा प्योङयाङसँग यस्ता दर्जनौँ अस्त्र छन्।
लीले यसअघि प्योङयाङले वार्षिक १५ देखि २० वटा थप परमाणु युद्ध शीर्षहरू उत्पादन गरिरहेको बताएका थिए।
साथै उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच तिनको उत्पादन रोक्ने सम्झौता भएमा आफूले त्यसलाई समर्थन गर्ने बीबीसीलाई गत वर्ष बताएका थिए।
सोलले पूर्ण परमाणु निःशस्त्रीकरणका लागि निरन्तर जोड दिइरहँदा उनले यसलाई एउटा "यथार्थपरक" लक्ष्य भनेका थिए।
ट्रम्प किमलाई भेट्ने एक मात्र पश्चिमी नेता हुन्। उक्त भेटघाट अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा भएको थियो।
पुनः ह्वाइट हाउस फर्किएपछि ट्रम्पले अन्य क्षेत्रहरूमा ध्यान केन्द्रित गरे तापनि गत अगस्टमा उनले "उपयुक्त समय" मा किमलाई फेरि भेट्ने आशा व्यक्त गरेका थिए।
उत्तर कोरिया के भन्छ?
उत्तर कोरियाले लीको प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। उत्तर कोरियाको एक सरकारी समाचार संस्थाले किमले देशको 'मुक्ति दिवस' को अवसरमा पुष्पहार अर्पण र 'सम्मान गारद' निरीक्षण गरी मनाएको समाचार लेखेको छ।
प्योङयाङले यसअघि लीका वार्ता वा सहकार्यसम्बन्धी प्रस्तावहरू अस्वीकार गर्दै आएको छ।
उसले दक्षिण कोरियाका लागि अमेरिकाले आणविक शक्तिबाट चल्ने पनडुब्बीहरू निर्माण गर्ने सम्झौताको आलोचना गरेको थियो। वासिङ्टन र सोलबीच हुने संयुक्त सैन्य अभ्यासको पनि प्योङयाङले निन्दा गर्दै आएको छ।
गत मङ्गलवार समेत शक्ति प्रदर्शन वा तनाव बढाउने क्रमको निरन्तरताका रूपमा उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो।
यो यस वर्षको त्यस्तो एघारौँ शङ्कास्पद परीक्षण हो। त्यो अमेरिका-दक्षिण कोरियाको निर्धारित संयुक्त सैन्य अभ्यासको केही दिनअघि मात्र भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।