उत्तर कोरियाका महिला फुटबलरहरू उपाधिका लागि दक्षिण कोरियामा

    • Author, युना कू
    • Role, बीबीसी न्यूज कोरियन
  • Published
  • पढ्ने समय: ५ मिनेट

दक्षिण कोरियाको राजधानी सोलको दक्षिणमा रहेको सुवोनस्थित फुटबल रङ्गशालामा बुधवार भारी वर्षा र हावाहुरी आए पनि ५ हजारभन्दा बढी दर्शकहरूलाई त्यहाँ आउन रोकेन।

बर्सादीमा बेरिएका उनीहरूले दर्शक दीर्घामा बसेर हुटिङ गरे, उनीहरूको स्वर पूरै गुन्जिएको थियो किनभने उनीहरू उत्तर कोरिया र दक्षिण कोरियाबीचको एउटा दुर्लभ खेल हेर्दै थिए।

त्यहाँ त्यो भन्दा पनि अनौठो कुरा थियो। सयौँ दक्षिण कोरियालीहरू "नेगोह्याङ" को नारा लगाउँदै हुटिङ गरिरहेका थिए जुन उत्तर कोरियाली क्लबको नाम हो। त्यहाँ उनीहरूलाई स्थानीय गैरसरकारी संस्थाहरूले ल्याएका थिए जसले दुवै पक्षका लागि उत्साहपूर्ण माहोल बनोस् भन्ने चाहन्थे।

उत्तर कोरियालीहरूको सहभागितालाई सुरुमा शङ्काको रूपमा हेरिएको थियो। दुई देशबीच हालैका वर्षहरूमा उत्तर कोरियाली नेता किम जङ अनले बलिस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि र परमाणु उद्देश्यलाई निरन्तरता दिएपछि सम्बन्ध बिग्रिएको छ। सन् २०२३ मा उनले प्योङयाङको दक्षिणसँगको पुनः एकीकरणको लामो समयदेखिको लक्ष्यलाई औपचारिक रूपमा त्यागे र त्यसपछि दक्षिण कोरियालाई 'शत्रुतापूर्ण राज्य' घोषणा गरे।

तर टोली अपेक्षित रूपमा आइपुग्यो। उनीहरू सन् २०१८ पछि सीमा पार गरेर दक्षिण कोरियामा यात्रा गर्ने पहिला खेलाडीहरू हुन्। नेगोह्याङ महिला फुटबल क्लबले एसियाली महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा जितसहित साथ पुनरागमन गर्‍यो।

उनीहरूले दक्षिण कोरियाको सुवोन एफसी विमिन २-१ ले हराए। उनीहरूले शनिवार फाइनलमा जापानको टोकियो भेर्डी बेलेजाको सामना गर्नेछन्।

फुटबल समर्थक र उत्तर कोरियाको कीर्तिमानलाई पछ्याउनेहरूका लागि यो नतिजा कुनै आश्चर्यका रूपमा आएको होइन।

उत्तर कोरियाले लामो समयदेखि महिला फुटबलमा राम्रो नाम कमाएको छ। यो फिफा वरियतामा ११ औँ स्थानमा छ जुन जापानपछि दोस्रो स्थानमा रहेको एसियाली टोली हो।

सन् २०१२ मा प्योङयाङमा स्थापना भएको नाएगोह्याङले सन् २०२२ मा उत्तर कोरियाली लिगको उपाधि जितेको थियो। टोलीमा राष्ट्रिय टोलीका धेरै खेलाडीहरू छन् र अहिले महिला राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षकद्वारा व्यवस्थापन गरिएको छ।

"उत्तर कोरियाले युवा फुटबल प्रतिभा पत्ता लगाउने र तालिम दिने काम गरिरहेको छ," सोलस्थित डङ्गुक विश्वविद्यालयकी नर्थ कोरियन स्टडिजकी प्राध्यापक किम योङ-ह्यूनले भनिन्।

आफ्ना बुवाजस्तै खेलमा गहिरो रुची भएका उत्तर कोरियाली नेता किम जङ अनले सन् २०११ मा सत्ता सम्हाले लगत्तै उत्तर कोरियालाई "खेलकुदको महाशक्ति" बनाउने प्रतिबद्धता जनाएका थिए।

सन् २०१३ मा राजधानीको रुङ्ग्ना टापुमा बनाइएको प्योङयाङ इन्टरन्याश्नल फुटबल स्कुल फुटबल खेलाडीहरूका लागि उद्गमस्थल मानिन्छ।

"सन् १९९० को दशकमा जब म उत्तर कोरियामा प्रशिक्षण लिइरहेको थिएँ, युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न विद्यालयहरूमा पहिला नै स्थापित प्रणाली थियो," सन् २००० को दशकमा उत्तर कोरियाबाट भागेका पूर्व उत्तर कोरियाली राष्ट्रिय बक्सर किम साङ-युनले भने।

"खेल विद्यालयहरूमा प्रतिभा भएका विद्यार्थीहरू सामान्यतया प्राथमिक वा मध्य विद्यालयबाट छनौट र प्रशिक्षित हुन्थे।"

सत्तामा रहेका परिवारले धनी जीवन बिताए पनि उत्तर कोरिया अझै पनि विश्वको सबैभन्दा गरिब देशमध्ये एक हो। औसत व्यक्तिले राज्य-नियन्त्रित अर्थव्यवस्थामा धेरै कमाउन सङ्घर्ष गर्छ र राम्रो जीवनको लागि अन्यत्र जानु एउटा जोखिमयुक्त विकल्प हो। पक्राउ परेमा तिनीहरू जेल वा श्रम शिविरमा राखिन सक्छन्।

तैपनि महिला फुटबलमा माथिबाट तलको जोडले फल दिएको विश्लेषकहरू बताउँछन्। चाहे त्यो विश्व मञ्चमा सधैँ जितको खोजीमा रहेको शासनका लागि प्रचारको रूपमा नै किन नहोस्।

खेलाडीहरूका लागि सफलताले उनीहरूको सामाजिक हैसियतमा सुधार ल्याउने अवसर बिरलै दिन्छ।

कतिपय अवस्थामा चर्चित खेलाडीहरूलाई विलासी कार, अपार्टमेन्ट र सत्तारूढ वर्कर्स पार्टीको सदस्यता समेत प्रदान गरिरहेको छ।

उत्तर कोरियाबाट भागेका र पूर्व खेलाडी रहेका हान सोल-सङले महिलाको सफलताले देशमा धेरैको ध्यान खिचेको र यसले यो खेललाई निकै लोकप्रिय बनाएको बताए।

उत्तर कोरियाको महिला फुटबलले यसअघि नै लोभलाग्दो रेकर्ड बनाइसकेको छ। सन् २०२४ को फिफा यू-२० महिला विश्वकप, सन् २०२५ को फिफा यू-१७ महिला विश्वकप र सन् २०२६ एएफसी यू-१७ महिला एसियन कपमा जित हासिल गरेको छ। यो पुरुषहरूको प्रदर्शनभन्दा धेरै राम्रो हो।

"उत्तर कोरियाका पुरुष खेलाडीहरूको सबैभन्दा ठूलो कमजोरी भनेको उनीहरूको शारीरिक बनावट सानो छ," नर्थ कोरियन खेल पढेका हियो जोङ-पिल भन्छन्।

"शारीरिक अवस्थाको सन्दर्भमा पश्चिमा एथलीटहरूसँग प्रतिस्पर्धा गर्न, उनीहरूलाई व्यापक व्यवस्थापनको आवश्यकता पर्छ। त्यसमा धेरै मासु र पर्याप्त पोषण पर्छ, तर धेरैजसो त्यो गर्न सम्भव छैन।"

हानले उत्तर कोरियाली महिलाहरू भने अर्को तर्फ "एकदमै कडा र दबाव बहन गर्नसक्ने" रहेको बताए। उनीहरूलाई एकदमै कडा परिश्रम गर्नसक्ने र दैनिक जीवन कठिन हुने देशमा छाक टार्न सक्ने रूपमा उनीहरूलाई लिइन्छ।

उनले सतर्क भएर आफू "लैङ्गिक रूपमा विभेद गरेको" सुनिन नचाहने तर उत्तर कोरियाली महिला खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलमा जीत हासिल गर्ने अवसर रहेको आफूलाई लागेको उनले बताए।

विश्वव्यापी रूपमा महिला खेलहरू त्यति प्रतिस्पर्धी नभएको र प्योङयाङले खेल विकासलाई प्राथमिकता दिने निर्णय गरेका कारण आफूलाई त्यस्तो लागेको उनले बताए।

केही मानिसहरू सन् १९८० को दशकको अन्त्यतिर यसको सुरुवात भएको ठान्छन् जब फिफाले महिलाहरूका लागि विश्वकप सुरु गर्न सहमति जनाएको थियो। "सायद कोही किम जङ-इल कहाँ गएर उनलाई यसको प्रयोग गर्न सकिने बताए," एउटा वृत्तचित्रका लागि पाँच वर्षसम्म उत्तर कोरियाली टोलीलाई पछ्याइरहेकी फिल्ममेकर ब्रिगिट वेखले सन् २०२४ मा बीबीसी स्पोर्टलाई भनेकी थिइन्।

"उत्तर कोरियाजस्तो अर्थतन्त्र, विज्ञान, मानवअधिकार र बाँकी सबैमा उत्कृष्ट नभएको देशमा माथिबाट तलसम्म उनीहरूले तालिममा मात्रै ध्यान दिँदा यस्तो हुन सक्छ।"

यो थाहा पाउन असम्भव छ कि उत्तर कोरियाका सामान्य मानिसहरूले बुधवारको जितलाई के ठान्छन् वा इनटरनेट र सञ्चार नभएका कारण कतिले त्यो खेल हेर्न पाए।

तर दक्षिण कोरियालीले युनिफिकेसन मन्त्रालयको सौजन्यमा भने शनिवार पनि खेल हेर्नेछन् र खेलाडीलाई उत्साहित गर्नेछन्। यद्यपि आर्थिक सहायता गर्ने मन्त्रालयको निर्णयको भने आलोचना भएको छ।

मैदानबाहिर केही त्यस्ता व्यक्तिहरू छन् जो खेलकुदले दुई कोरियाली देशहरूबीच राम्रो सम्बन्धका लागि बाटो खोल्न सक्ने ठान्दछन्।

त्यस्तो सोच्ने मध्येका एक ९१ वर्षीया चोए जोङ-डे हुन्। उनी कोरियाली युद्धका बेला १६ वर्षको छँदा आफ्नी आमा र चार दाजुभाइदिदीबहिनीसँग छुटिएका थिए। त्यसयता उनलाई आफ्नो परिवारबारे केही थाहा छैन।

"मलाई यी उत्तर कोरियाली खेलाडीहरू आफ्ना नातिनीहरूजस्तै लाग्छन्," उनले भने।

"के थाहा? ती मध्ये कोही मेरै भतिजी वा भान्जीहरू वा आफन्त हुनसक्छन्। मलाई उनीहरूले राम्रो खेलुन् भन्ने आशा लागेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।