विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

एसम अल हदारी, फरिद मोन्द्रागोन र रोजर मिलाको कम्पोजिट तस्बिर

तस्बिर स्रोत, Getty Images

    • Author, जोन्टी कोल्मन
    • Role, बीबीसी स्पोर्ट संवाददाता
  • Published
  • पढ्ने समय: ३ मिनेट

विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेर भएका केवल सात जनाले खेलेका छन्। यसपालि फिफा विश्वकप हुँदा उक्त सूचीमा कम्तीमा पाँच खेलाडी थपिने सम्भावना छ।

अहिलेसम्म आयोजित विश्वकप खेल्ने सबैभन्दा 'पाका' खेलाडी इजिप्टका एसाम एल हदारी हुन्। विश्वकप २०१८ मा आफ्नो नाममा कीर्तिमान रहने गरी खेल्दा उनी ४५ वर्ष १६१ दिनका थिए।

समूह चरणमा साउदी अरबविरुद्धको खेलमा सहभागी हुँदा गोलरक्षक एल हदारीले त्यसअघिको रेकर्डलाई दुई वर्षभन्दा बढीले भङ्ग गरेका थिए। उक्त खेलमा इजिप्ट साउदी अरबसँग २-१ ले पराजित भएको थियो।

शीर्ष स्थानमा रहेका पाका खेलाडीहरू सबै जना ३९.५ वर्षभन्दा बढी उमेरका छन्।

एल हदारी, फारिद मोन्द्रागोन, रोजर मिला र प्याट जेनिङ्स मात्रै ४१ वर्ष हुँदा कम्तीमा एक पटक विश्वकपमा सहभागी भएका थिए।

यसपालि को?

यसपालि विश्वकपमा सहभागी हुने टोलीहरूमा परेका खेलाडीहरूमध्ये स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन सबैभन्दा पाका हुन्। उनी ४३ वर्षका भए। स्कटल्यान्ड २८ वर्षपछि विश्वकपमा पुगेको हो।

गोर्डनले यसपालि खेल्ने अवसर पाए भने उनी विश्वकपको इतिहासमै दोस्रो पाका खेलाडी हुने छन्।

पोर्चुगलका ४१ वर्षे कप्तान क्रिस्टियानो रोनाल्डोले यसपालि छैटौँ पटक विश्वकप खेल्न लागेका छन्। आर्जेन्टिनाका मेस्सी र उनी दुवै जनाले छ विश्वकप खेलेर नयाँ कीर्तिमान बनाउने छन्। रोनाल्डो उमेरका आधारमा ज्येष्ठ खेलाडीहरूको सूचीमा पर्ने छन्।

यसपालि खेल्ने अवसर पाए पनि जापानका ३९ वर्षीय डिफेन्डर युतो नागातोमो पनि यो प्रतियोगिताका पाका खेलाडीमध्ये एक हुने छन्।

बोस्निया-हर्ट्सगोभिनाका स्ट्राइकर एडिन जेको, जर्मनीका गोलरक्षक मानुएल नोयर र क्रोएशियाका मिड्फील्डर लूक मोड्रिच तीनै जना ४० वर्ष नाघिसके। उनीहरूले यसपालि विश्वकपमा खेल्ने ठानिएको छ।

पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको केप भर्डका गोलरक्षक भोजिन्य प्रतियोगिता आरम्भ हुनुअघि ४० वर्ष लाग्ने छन्। प्रतियोगितामा खेल्ने अवसर पाए भने उनी पनि पाका खेलाडीहरूको सूचीमा पर्ने छन्।

अहिलेसम्म विश्वकप खेलेका १० पाका खेलाडी

गोलरक्षकको पोसाकमा इजिप्टका एसम एल हदारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१८ विश्वकपमा साउदी अरबविरुद्ध खेल्दा इजिप्टका गोलरक्षक एसम एल हदारी आफ्नो १५९औँ अनि अन्तिम अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए

१. एसम एल हदारी - इजिप्ट र साउदी अरब (२५ जुन, २०१८) - ४५ वर्ष १६१ दिन

२. फारिद मोन्द्रागोन - कोलम्बिया र जापान (२४ जुन, २०१४) - ४३ वर्ष ३ दिन

३. रोजर मिला - क्यामरून र रुस (२८ जुन, १९९४) - ४२ वर्ष, ३९ दिन

४. प्याट जेनिङ्स - नोर्दर्न आयरल्यान्ड र ब्रजिल (१२ जुन, १९८६) - ४१ वर्ष, ० दिन

५. पीटर शिल्टन - इङ्ग्ल्यान्ड र इटली (७ जुलाई, १९९०) - ४० वर्ष, २९२ दिन

६. डिनो जोफ - इटली र जर्मनी (११ जुलाई, १९८२) - ४० वर्ष, १३३ दिन

७. अली बूम्निजेल - ट्यूनिशिया र युक्रेन (२३ जुन, २००६) - ४० वर्ष, ७१ दिन

8. जिम लेटन - स्कटल्यान्ड र मोरको (२३ जुन, १९९८) - ३९ वर्ष, ३३४ दिन

९. डेभिड जेम्स - इङ्ग्ल्यान्ड र जर्मनी (२७ जुन, २०१०) - ३९ वर्ष, ३३० दिन

१०. एटिबा हचिन्सन - क्यानडा र मोरको (१ डिसेम्बर, २०२२) - ३९ वर्ष, २९६ दिन

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।