नेपाली कांग्रेस विभाजनको डिलमा कि एकताको सँघारमा

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेपाली कांग्रेसका सभापतिले पार्टीलाई एकजुट बनाउन भन्दै छलफल र कुराकानी गरिरहेका बेला संस्थापनइतर पक्षका अलग गतिविधिहरू जारी छन्।
उनीहरूको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा नेता रमेश लेखकले सभापति गगन थापालाई गरेको आह्वान अर्थपूर्ण रहेको जानकारहरू बताउँछन्।
उनले गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले लचकता देखाएर पार्टी एकता गरेको सन्दर्भ सुनाउँदै थापाबाट दुईथरी अपेक्षा गरेको बताए।
बृहत् एकताको निम्ति सभापति हदैसम्म लचिलो हुनुपर्ने बताउँदै नेता लेखकले पूर्वसभापति शेरबहादुर देउवा र उनको परिवारको योगदानलाई ध्यान दिन आग्रह गरेका छन्।
उक्त कार्यक्रममा सहभागी युवा नेता कुन्दनराज काफ्लेले त्यसको केही घण्टापछि फेसबुकमा तीव्र संस्थापन पक्ष र विशेष महाधिवेशनबारे कडा टिप्पणी गरेका छन्।
इमान्दार कार्यकर्तालाई भ्रममा पारेर हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशन नियोजित रूपमा गरेको र नाटकीय रूपमा नेतृत्व छानिएको भन्दै उनले लेखेका छन्, "यो एउटा नियोजित मात्रै नभएर प्रायोजित विषय थियो भन्ने अहिले पुष्टि हुँदै गएको छ।"
उक्त घटनाले पार्टीलाई कमजोर बनाएको, निर्वाचनमा हार बेहोर्नुपरेको, पार्टीलाई विभाजित गराएको, सबै जिल्ला र निकायमा फुट ल्याएको अनि पार्टीको जरासम्मै जहर फिँजाएको उनको आरोप छ।
संस्थापनको शङ्का : 'शक्ति सञ्चय गर्ने स्वार्थ'

तस्बिर स्रोत, Reuters
संस्थापनइतर खेमाका नेताहरूको बढ्दो सक्रियताले कांग्रेसमा एकता टाढिँदै गएको कतिपयको बुझाइ पाइन्छ।
"होइन, त्यस्तो दु:खद स्थिति हुँदैन," कांग्रेस महामन्त्री प्रदीप पौडेल भन्छन्, "कुनै न कुनै ढङ्गबाट समेटिने मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ।"
त्यसको निम्ति विशेष महाधिवेशन र पार्टी विधानभित्र रहेर समाधान खोज्न सभापति गगन थापा सक्रिय रहेको बताइएको छ।
महामन्त्री पौडेल पनि विधानको परिधिभित्रै रहेर एकताको पहल गर्न सकिने ठान्छन्।
"संवाद जारी छ," उनले भने, "जजसलाई जे जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ, त्यसअनुसार सबैलाई समेटेर अगाडि जाने एकमात्र उपाय हो।"
संस्थापन पक्षले इतर खेमाका कतिपय नेताहरूलाई केन्द्रीय समितिमा मनोनीत गर्ने क्रम सुरु गरिसकेको छ।
वैशाख २८ गते सभापति थापाले केन्द्रीय समितिमा मनोनीत गरेका १९ जनामा देउवा र शेखर कोइरालासँग निकट नेताहरू छन्।
नेता कोइरालाले भोलिपल्ट सामाजिक सञ्जालमार्फत सभापति थापाको कदमप्रति असन्तुष्टि जनाएका छन्। "मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ," उनले लेखेका छन्।
संस्थापनइतर खेमाका नेताहरूले १५ औँ महाधिवेशन गर्न अलग र संयुक्त संरचना बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
कोइराला भने १४औँ महाधिवेशनको केन्द्रीय समितिलाई समायोजन गर्नुपर्ने पक्षमा रहेको बताइन्छ। त्यसो गर्दा विधानको सीमा र पूर्वाभ्यासविपरीत हुने र सभापति थापा नै अल्पमतमा पर्ने जोखिम रहने संस्थापन पक्षको तर्क छ।
कोइरालाले त्यसैलाई ध्यान दिएर सभापतिको बहुमत हुने गरी कार्यसम्पादन समिति बनाउन सकिने सुझाव दिएको बताइएको छ।
तर महामन्त्री पौडेलले दुईथरी समितिलाई मिलाउने प्रस्ताव शक्तिसञ्चय गर्ने स्वार्थजस्तो देखिएको बताए।
पार्टी एक नरहने निष्कर्ष हो?

तस्बिर स्रोत, NurPhoto via Getty Images
शेखर कोइरालाले बृहत्तर एकतामा ठेस पुगेको भनेको मनोनयनमा पर्नेमा उनीसँग निकट पूर्वसहमहामन्त्री जीवन परियार पनि छन्।
परियारले सर्वोच्च अदालतको फैसलापछि एकतालाई बल पुर्याउन सकिन्छ भन्ने ठानेर आफूले मनोनयनको प्रस्ताव स्वीकार गरेको जानकारी दिए।
"अदालतले विशेष महाधिवेशनको नेतृत्वलाई आधिकारिक भनिसकेपछि पनि पार्टीलाई एकताबद्ध बनाएरै जानुपर्छ भनेर छलफलहरू निरन्तर चलिरहेकै थियो," नेता परियारले भने, "त्यसबीच सभापति पक्षबाट पटकपटक मनोनयनको प्रस्ताव आएपछि एकतालाई बल पुर्याउन सकिने लागेर मैले व्यक्तिगत रूपमा प्रस्ताव स्वीकार गरेको हुँ।"
कोइरालादेखि देउवासम्मका विश्वासपात्र नेताहरूलाई तान्ने रणनीतिलाई कतिपयले एकता प्रयासको नाममा इतर खेमालाई कमजोर बनाउने प्रयासको रूपमा बुझेको पाइन्छ।
संस्थापनइतर खेमाको कर्णालीमा भएको भेलाका सहभागीहरूले पनि एकताको निम्ति पहल गर्नुपर्ने र जिल्लाजिल्लामा विभाजन ननिम्त्याउन आग्रह गरेका विवरणहरू आएका थिए।
के अब इतर खेमाका कतिपय नेताहरू अब पार्टी एक नरहने निष्कर्षसहित संस्थापन पक्षमा लाग्न थालेका हुन्?
"त्यसो होइन, पार्टी विभाजन हुन्छ भन्ने मेरो निष्कर्ष होइन, अझै पनि छैन," नेता परियारले भने, "सभापतिले पार्टी एक ढिक्का बनाउने प्रयास गरिरहनुभएको छ र अझै पनि गर्नुपर्छ।"
पारिवारिक विरासत बोकेकालाई प्राथमिकता?
शेखर कोइराला इतर खेमाका कार्यक्रमहरूमा पनि सहभागी भएका छैनन्। त्यसैले अन्ततः उनी पनि विशेष महाधिवेशनकै पक्षमा उभिने आकलन गरेको पाइन्छ।
कोइरालाले सभापति थापालाई आफ्नो समर्थ रहे पनि विशेष महाधिवेशनमा सिङ्गो पार्टीलाई लग्न विफल भएको सन्दर्भ सुनाएको बताइन्छ।
त्यसैले अन्ततः विरासत बोकेका राजनीतिक परिवारलाई तान्ने रणनीतिमा संस्थापन पक्ष लागेको सङ्केतपछि सुदूरपश्चिमबाट नेता लेखकले देउवाको सम्मानको सन्दर्भ उठाएको कतिपयको बुझाइ पाइन्छ।
अघिल्ला महाधिवेशनमा देउवासँग चुनाव लड्दा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिको पक्षमा रहेका विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट उपसभापति बने र सुजाता कोइराला अहिले मनोनीत भइसकेकी छन्।
के कतिपयले आकलन गरेजस्तै निश्चित विरासत बोकेका नेतालाई तानेर इतर खेमालाई कमजोर तुल्याउने रणनीतिमा संस्थापन लागेको हो?
"कुनै एउटा पक्ष वा नेतालाई मात्र नभई सबैलाई समेटेर सँगै लग्ने, जुटाउने नै हाम्रो प्रयास हो," महामन्त्री प्रदीप पौडेल भन्छन्, "तर वैधानिक व्यवस्था नाघेर विशेष महाधिवेशनको म्यान्डेटभन्दा बाहिर जान सम्भव नै नभएपछि उत्पन्न हुने परिस्थिति हाम्रो काबुमा हुँदैन।"
यससँगै समानान्तर गतिविधि बढ्दो देखिन्छ। कतिपयले नयाँ दल गठनपछि बल्ल सम्मानजनक एकताको वातावरण बन्ने आकलन संस्थापनइतर पक्षको हुन सक्ने ठानेका छन्।
"नयाँ पार्टी बन्छ भन्ने मलाई विश्वास छैन," नेता परियार भन्छन्, "एकताको निम्ति दबाव सिर्जना गर्ने उद्देश्य हुन सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















