धेरै खानबाट यसरी जोगिनुहोस्

मुखमा बर्गर र फ्राइज्‌ले छोपिएका व्यक्तिको अनुहार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा सन् १९८०को दशकबाट मानिसहरूको खान्की बढ्न थालेको बताइन्छ
    • Author, सेरा बेल
    • Role, बीबीसी विश्व सेवा, ग्लोबल हेल्थ
  • Published
  • पढ्ने समय: ४ मिनेट

विगत ५० वर्षयता विश्वका कतिपय भूभागमा मानिसहरूको खान्की बढ्दो क्रममा छ। सँगै बढिरहेको छ - मोटोपनाको दर पनि।

औद्योगिक खानेकुरा देख्दा हाम्रो मुख रसाउँछ। तर पनि हामी कसरी अत्यधिक खानबाट बचेर स्वस्थ रहन सक्छौँ?

बाहिरका खानेकुराले मानिसहरूको खान्की बढाएको ज्वलन्त उदाहरण अमेरिका हो। अमेरिकामा खासगरी सन् १९८०को दशकयता मानिसहरूले घर बाहिर खानेक्रम बढ्यो अनि परिकार बेच्ने व्यवसायहरूबीचको प्रतिस्पर्धाले पनि मानिसहरूको खान्की बढायो।

"यदि एउटा पास्ता पाइने ठाउँमा थोरै मात्र पास्ता दिइयो भने अर्कोले त्योभन्दा धेरै दिन थाल्यो। अनि मानिसहरू पनि धेरै पाइने ठाउँमै जान थाले," न्यूयोर्क विश्वविद्यालयकी डा. लिस योङले फुड चेन कार्यक्रमसँग भनेकी छन्।

"खानेकुरा पनि निकै नै सस्तो थियो। खानेकुरा सस्तो भएपछि तपाईँलाई थप खाना दिएर अतिरिक्त शुल्क लिँदा दुवैका लागि फाइदाजनक हुन्छ। तपाईँलाई पनि छुट पाएजस्तो लाग्छ र उनीहरूले पनि थप पैसा पाउँछन्," उनी भन्छिन्।

साओ पाउलो विश्व विद्यालयकी डा. मार्ले अल्भारेङ्ग यस्तो प्रचलन ब्रजिलजस्ता विकासशील देशहरूमा पनि सिको गरिएको बताउँछिन्।

"प्याकेटका र प्रशोधित खानेकुराका हकमा धेरैजसो यस्तो हुन्छ। तर चामल, गेडागुडी, पिठो जस्ता हाम्रा परम्परागत खानेकुराका हकमा यस्तो छुट हुँदैन," उनी भन्छिन्।

डा. योङ यस्तो हुनुलाई खानेकुराको अमेरिकीकरण भन्छिन्।

"म्याक डोनल्ड, एक खाले क्यान्डी बार जस्ता अमेरिकी किसिमका खानेकुराहरू अरू देशमा पनि पुग्न थाले अनि तिनका आकार पनि बढ्न थाले। जब तपाईँ उच्च प्रशोधित खानेकुरा खानुहुन्छ तपाईँको खान्कीमा अतिरिक्त ५०० क्यालरी थपिन्छ।"

धेरै मात्राले तपाईँको खान्की बढाउँछ?

चाउचाउ खाँदै महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सानो प्लेटमा खाँदा कम खाना खाइने ठान्ने गरिएको थियो

एउटा अध्ययनले खानेकुराको मात्रा धेरै दिइएको अवस्थामा मानिसहरूले धेरै नै खाने पत्ता लगाएको हामीले कुरा गरेका एक जना मनोविद्‌ले बताएका छन्। एउटा विश्लेषणले दोबर खानेकुरा दिइएको अवस्थामा मानिसहरूले ३५ प्रतिशत धेरै खाने देखाएको छ।

"यो प्लेटमा दिइएको सबै कुरा खानेसँग सम्बन्धित विषय होइन। तर खानेकुराको मात्रा धेरै दिइएको अवस्थामा मानिसहरूले धेरै परिमाणमा खान्छन्," अस्ट्रेलियाको सिड्नीस्थित न्यू साउथ वेल्स विश्वविद्यालयकी प्राध्यापक लेनी भार्टेनीयन बताउँछन्।

तर पेटको भर नहुने भएका कारण कति मात्रा चाहिँ खानका लागि ठिक्क हो भन्ने पत्ता लगाउने काम सबैभन्दा कठिन रहेको प्राध्यापक भार्तेनीयन बताउँछन्। अनि हामी जब अनिश्चित हुन्छौँ हामीले हेर्ने भनेको खानेकुराको परिमाण मात्र हो।

"हामी प्रायजसो खास भोक लागेको र टन्न अघाएको अवस्थामा नभई बीचको अवस्थामा हुन्छौँ। यो अवस्थामा हामीलाई प्राप्त हुने विभिन्न सङ्केतहरू पहिचान गर्न सक्दैनौँ," प्राध्यापक भार्तेनीयन भन्छन्।

साना प्लेटको प्रयोग पनि उपाय हो?

साना प्लेटहरूको प्रयोग गर्दा धेरै खाने अवस्थाको समाधान हुने ठानिएको थियो। उति नै खाने कुरा पनि साना प्लेटमा राख्दा धेरै जस्तो देखिने र त्यसले धेरै खाएको जस्तो भ्रम मानिसहरूमा पर्न सक्ने ठानिएको थियो।

यो उपायले मानिसहरूले कम खाने ठानिए पनि यस पछाडि अनुसन्धानको प्रमाण छैन।

"मानिसहरूको खानाको परिमाणसँग खाने प्लेटको कुनै सम्बन्ध छैन। थप खाना उपलब्ध छ कि छैन भन्ने कुराले मात्रै महत्त्व राख्छ," खाना र तौलको मनोविज्ञानबारे विज्ञ प्राध्यापक भार्टेनियन बताउँछन्।

यसको अर्थ खाना राखिएको भाँडो टेबलको छेउमा अथवा हामीले भेट्ने ठाउँमा छ भने मानिसहरूले प्लेट जतिसुकै सानो भए पनि थपि थपि खान्छन्।

मानिसहरूले गर्नुपर्ने एउटा काम चाहिँ खाना पस्किएर बाँकीलाई नदेखिने ठाउँमा थन्क्याएरै राख्नु हो। "टाढै राख्नुहोस्। त्यसकारण त्यो हामीले भेट्ने ठाउँमा हुँदैन," प्राध्यापक भन्छन्।

खानेकुराको मात्रा कसरी नियन्त्रण गर्ने?

प्लेटमा राखिएका खानेकुरा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विज्ञहरूले मानिसहरू आफ्नो खान्कीबारे थप सजग हुनुपर्ने बताएका छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसहरूले आफ्नो भोकलाई सुनेर आफूले के खाइरहेको छु भन्नेमा धेरै सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्।

"मानिसहरूले आफ्नो प्लेटमा के छ भन्ने कुरामा खासै ध्यान दिँदैनन्। मानिसहरू भोकलाई बुझ्दैनन्। उनीहरू आफू अघाए नअघाएकोमा पनि ध्यान दिँदैनन्," न्यूयोर्क विश्वविद्यालयकी डा. लिस योङ भन्छिन्।

मानिसहरूले ध्यान दिनुपर्ने अर्को कुरा खानाको मात्रा तलमाथि गरिने कुरा पनि हो। खासगरी धेरै खानेकुरा थप्ने अवसर हुँदा अझै बढी ध्यान दिनुपर्छ।

"मेरो सुझावचाहिँ ध्यान दिनुहोस् भन्ने हो। मात्रा हेर्नुहोस्, त्यसको आधार हेर्नुहोस्। उद्योगहरूले प्रचार र सबै कुराका लागि के गरिरहेका छन् भन्ने बुझ्ने प्रयास गर्नुहोस्," खानेकुराको बानिबेहोराबारे विज्ञ डा. मार्ले अल्भारेङ्ग बताउँछिन्।

खाजा कसरी खाने?

"तपाईँले एउटा सिङ्गै स्याउ वा फलफूलको टुक्रा जस्तो प्याकेटमा नभएको खानेकुरा खाँदा त्यसको मात्राले धेरै फरक पार्दैन। किनभने त्यो खानेकुरा स्वास्थ्यवर्द्धक हुन्छ," डा. योङ भन्छिन्।

तर लेबल लगाइएका खानेकुरा खाँदै हुनुहुन्छ भने त्यो कति खानु उचित हुन्छ भनेर त्यसैमा लेखिएको हुन्छ। अनि प्याकेटबाट निकालेर तपाईँले त्यो कस्तो देखिन्छ र तपाईँले वास्तवमा के खानुहुन्छ भन्ने हेर्न पनि सक्नु हुन्छ।

"मानिसहरू, 'म बिहानको खानामा सानो एक बटुका सिरिअल मात्रै खान्छु' भन्छन्। तर उनीहरूलाई कति खानुहुन्छ भनेर एउटा भाँडोमा खन्याउन लगाउने र त्यसपछि प्याकेटमा खानाका लागि सिफारिस उचित मात्रा हेर्ने हो भने उनीहरूले सिफारिसभन्दा तीन गुणा बढी खाइरहेका हुनसक्छन्," उनी भन्छिन्।

"सिफारिस गरिए अनुसार उचित मात्रा मात्रै खन्याएर खाने गर्नुहोस्। त्यसले तपाईँलाई राम्रो गर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।