पाकिस्तानको हिमालमा ४ पर्वतारोहीको शव भेटियो, बाँकी ६ जनाको अवस्था अज्ञात

ब्रोड पीकमा पर्वतारोहीहरू र तिनका टेन्ट
तस्बिरको क्याप्शन, फाइल तस्बिर
Published
पढ्ने समय: ५ मिनेट

पाकिस्तानको गिल्गिट-बाल्टिस्तानका पर्यटनमन्त्रीले 'ब्रोड पीक'मा हराइरहेका १० पर्वतारोहीहरूमध्ये चार जनाको शव फेला परेको पुष्टि गरेका छन्।

बिहीवार हिउँपहिरो गएपछि ख्यातिप्राप्त पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीका सबै जना सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका थिए।

उक्त टोलीमा नेपालमा जन्मेका तथा भूतपूर्व ब्रिटिश 'रोयल मरीन' समेत रहेका पुर्जाबाहेक अरू पाँच नेपाली र विभिन्न देशका नागरिकहरू थिए। तीमध्ये एक ओमानी महिला आरोही पनि थिइन्।

गिल्गिट-बाल्टिस्तानका पर्यटनमन्त्रीका अनुसार दुई जनाको शवको पहिचान भइसकेको छ भने बाँकी दुई जनाको पहिचान गर्ने प्रक्रिया चलिरहेको छ।

शुक्रवारको खोज तथा उद्धारको काम स्थगित भएको र त्यो शनिवारबाट पुन: सुरु हुने गिल्गिट-बाल्टिस्तानका गृहसचिव फैजल इशान पीरजादाले बताएका छन्।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृङ्खलामा अवस्थित ब्रोड पीकमा बिहीवार दिउँसो हिउँपहिरो गएको हो।

कसरी हुँदै छ खोजी

ब्रोड पीक हिमाल

पाकिस्तानी अल्पाइन क्लबका महासचिव आयाज शिग्रीका अनुसार ड्रोनहरू र स्थलगत टोलीको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो। पाकिस्तानी सेनाले पनि दुइटा हेलिकप्टरहरू पठाएर उद्धारकार्यमा सहयोग गरेको थियो।

यसअघि शिग्रीले पर्वतारोहीहरूका चारवटा 'ट्र्याकर' सक्रिय रहेको पत्ता लागेको तर ती पर्वतारोहीको अवस्था भने थाहा नभएको बताएका थिए। पर्वतारोहीहरूले महत्त्वपूर्ण हिमाल आरोहण गर्दा जीपीएस ट्र्याकिङ उपकरण बोक्ने गरेका छन्।

उनका अनुसार ट्र्याकरहरू रहेको ठाउँ पत्ता लागेको भए पनि तिनमा कुनै हलचल देखिएको थिएन।

यसअघि स्थानीय अधिकारीहरूले ६,००० मिटरदेखि ७,००० मिटरसम्मको उचाइमा केही ट्र्याकरहरू भएको पत्ता लागेको बीबीसी उर्दूलाई बताएका थिए।

शिग्रीका अनुसार ती ट्र्याकरहरू चार घण्टाजति अक्सिजन लिएर जानुपर्ने ठाउँमा थिए।

यसअघि पाकिस्तानी अल्पाइन क्लबले हराइरहेका पर्वतारोहीहरूलाई उद्धार गर्न सकिने आशा व्यक्त गरेको थियो।

नेपालको पर्यटन विभागले एउटा विज्ञप्ति जारी गर्दै हराइरहेका पर्वतारोहीहरूको उद्धारकार्यमा पाकिस्तान सरकारसँग समन्वय गर्न इस्लामाबादस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको जनाएको छ।

अनुकूल मौसमको प्रतीक्षा

"हामी सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ र मौसम अनुकूल भएमा हेलिकप्टरमार्फत् उद्धारकार्य सञ्चालन गर्ने प्रक्रिया मिलाइरहेका छौँ," 'अल्पाइन क्लब अफ पाकिस्तान'का उपाध्यक्ष करार हैद्रीले बीबीसीसँग बिहान भनेका थिए।

पाकिस्तानी सेनाले खोजी तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन उद्धारकर्मीहरू र थप उपकरणहरूसहित दुइटा हेलिकप्टर पठाएको अल्पाइन क्लबले जनाएको छ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्रबहादुर लामाले शुक्रवार बिहान बीबीसी नेपालीलाई बताएअनुसार उद्धारकार्यमा नेपाली पर्वतारोहण सङ्घले पाकिस्तानी अल्पाइन क्लबसँग समन्वय गरेको छ।

"केटूमा रहेका हाम्रा केही शेर्पा साथीहरू उद्धारका लागि त्यसतर्फ जाँदै छन्," यसअघि उनले भनेका थिए।

टोलीमा को-को थिए

सगरमाथाको शिखरमा निर्मल पुर्जा
तस्बिरको क्याप्शन, अहिले सम्पर्कविहीन टोली निर्मल पुर्जाको नेतृत्वमा ब्रोड पीकमा पर्वतारोहण गर्न गएको बताइएको छ

अल्पाइन क्लबले सम्पर्कविहीन भएका पुर्जा र अन्य नौ पर्वतारोहीको नाम सार्वजनिक गरेको छ।

यो समूहको नेतृत्व गरेका पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल करिब ६.५ महिनामै आरोहण गरेर चर्चामा आएका थिए।

  • निर्मल पुर्जा 'निम्स दाइ'
  • नादिरा अहमद अब्दुल्लाह अ हार्थी - ओमान
  • सोहेल साखी - पाकिस्तान
  • वाङ जोङ - चीन
  • मेलोरी गाइस - अमेरिका
  • पुरबहादुर गुरुङ 'युक्त' - नेपाल
  • किलिपेम्बा शेर्पा 'किलु'- नेपाल
  • निमा शेर्पा - नेपाल
  • नवाङ थिन्डु शेर्पा - नेपाल
  • ग्यालु शेर्पा - नेपाल

ब्रोड पीकबारे हामीलाई के थाहा छ

अन्तरिक्षबाट खिचिएको ब्रोड पीकको तस्बिर
तस्बिरको क्याप्शन, अन्तरिक्षबाट खिचिएको ब्रोड पीकको तस्बिर

ब्रोड पीकलाई विश्वको बाह्रौँ अग्लो हिमाल हो। यसको चुचुरो समुद्र सतहबाट ८,०५१ मिटरको उचाइमा छ।

काराकोरम पर्वतशृङ्खलामा रहेका केटू र ब्रोड पीक झन्डै आठ किलोमिटरको दूरीमा अवस्थित छन्।

ब्रोड पीक पर्वतारोहणका लागि निकै चुनौतीपूर्ण हिमाल मानिन्छ।

सन् १९५७ मा ब्रोड पीकको पहिलो सफल आरोहण भएको अभिलेखले देखाउँछ। त्यसयता उक्त हिमाल चढ्ने प्रयास धेरैले गरेका छन्। त्यस क्रममा दर्जनौँ मानिसहरूले ज्यान गुमाएका छन्।

यो हिमाल चढ्न प्रयोग गरिँदै आएको मोहोडा अस्वाभाविक रूपमा लामो भएकाले यसलाई 'ब्रोड पीक' भनिएको हो। यो झन्डै दुई किलोमिटर लामो छ।

निर्मल पुर्जाले सन् २०१९ मा ब्रोड पीकसहित "डेथ जोन" भएका १४ हिमालको आरोहण साढे छ महिनाभित्र गरेका थिए।

सन् २०२२ मा ब्रोड पीकको नाममा नेटफ्लिक्समा एउटा चलचित्र पनि बनेको थियो। त्यसको कथावस्तुमा एक पोलिश पर्वतारोहीले हिउँदमा पहिलो पटक यो हिमाल चढ्न गरेको प्रयास थियो।

सुरुमा ब्रोड पीक चढ्ने निर्मल पुर्जाको 'योजना थिएन'

ब्रोड पीकको पर्वतारोहण अभियान सुरु गर्नुअघि सोमवार सामाजिक सञ्जालको प्ल्याट्फर्म 'एक्स'मा निर्मल पुर्जाले एउटा पोस्ट गरेको देखिन्छ। त्यसमा उनले सुरुमा ब्रोड पीक आरोहण गर्ने आफ्नो योजना नरहेको उल्लेख गरेका छन्।

"सुरुमा जी-टू मात्र आरोहण गर्ने योजना थियो," उनले लेखेका छन्।

तर पाकिस्तानको भ्रमण थाल्नुअघि उनलाई फेरि ब्रोड पीक चढे आफू "बिनाअक्सिजन विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल दुई पटक आरोहण गर्ने पहिलो व्यक्ति" बन्न केबल चोयू हिमाल मात्र बाँकी रहन्छ भन्ने लाग्यो।

"यो पूर्वनिर्धारित योजना थिएन," पुर्जाले लेखेका छन्। "तर अवसरहरू चिच्याएर आउँदैनन्, तिनले सुस्तरी ती व्यक्तिहरूलाई सङ्केत गर्छन् जो पहिलेदेखि नै चुपचाप काम गरिरहेका हुन्छन्।"

"ब्रोड पीक, म सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नुबाहेक म अरू केही माग्दिनँ। म कुनै पनि हिमाललाई सामान्य रूपमा लिन्नँ," उनले लेखेका छन्।

पुर्जा सन् २००३ मा ब्रिटिश सेनामा प्रवेश गरेका थिए र सन् २००९ मा 'रोयल मरीन' बनेका थिए।

सन् २०१२ मा सगरमाथा आधारशिविरको पदयात्राबाट उनको पर्वतारोहण यात्रा सुरु भएको थियो।

त्यस क्रममा पूर्वनिर्धारित योजनानुसार "आधार शिविरबाट फर्कने सोच परिवर्तन गर्दै" उनले सगरमाथा आरोहण गर्ने निधो गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।