आधा शरीर हिउँमा पुरिएर बाँचेका शेर्पाको फेरिएको जीवनको गोरेटो

सगरमाथा आधार शिविरमा हिमपहिरोपछि उद्धारमा खटेका आरोहण दलका सदस्यहरू
तस्बिरको क्याप्शन, सगरमाथाको सबैभन्दा सुरक्षित ठाउँमा १० वर्षअघिको विपद्ले पर्वतारोहण जगत्‌लाई स्तब्ध तुल्याइदिएको थियो
    • Author, फणीन्द्र दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: १५ मिनेट

सन् २०१५ को एप्रिल महिनामा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गएको भीषण हिमपहिरोपछि सोलुखुम्बुका देण्डी शेर्पाले पर्वतारोहण पेसा नै छाडिदिए।

आरोहण दलमा 'हेड कुक' का रूपमा काम गर्ने उनले त्यो दिन सुरक्षित मानिने आधार शिविरमा बसिरहेको समयमा आफ्ना दुई आफन्त गुमाएका थिए।

उनी सम्झन्छन्, "भूकम्पले हल्लाउन छाड्दा हाम्रो आधा शरीर हिउँभित्र रहेछ। चिनेका दाइहरूले आएर हामीलाई उद्धार गरेर उनीहरूको शिविरमा लगेछन् भनेर मैले बेलुका मात्रै थाह पाएँ। खुट्टामा जुत्ता पनि थिएन, हामी टिसर्ट मात्र लगाएको अवस्थामा रहेछौँ। तर जुनजुन साथीभाइहरू भागेछन्, उनीहरू झन् ठूलो दुर्घटनामा परे।"

उनलाई लाग्छ, सगरमाथामा ज्यान गुमाउन सयौँ अरू कारण र ठाउँहरू छन्। तर हिमाल नउक्लिँदै आधार शिविरमा भोगेको त्यो दुर्लभ विपद्को पीडाले उनी र उनको परिवारलाई अझै पछ्याइरहेको छ।

नेपालमा झन्डै ९,००० मानिसहरूको ज्यान लिएको र करिब २२,००० जनालाई घाइते बनाएको ७.६ म्याग्निट्यूडको भूकम्पका कारण सगरमाथामा गएको हिमपहिरोले एकै दिनमा हालसम्मकै सर्वाधिक ठूलोमध्येको मानवीय क्षति गराएको थियो।

त्यसपछि सो वर्ष इतिहासमा नै पहिलो पटक नेपाल र चीन दुवैतर्फबाट वसन्त याममा सगरमाथा आरोहण बन्द गरिएको थियो।

होस आउँदाको त्यो क्षण

देण्डी शेर्पा
तस्बिरको क्याप्शन, देण्डी शेर्पाले उक्त विपद्‌मा आफ्ना दुई नातेदार गुमाए भने उनी स्वयं घाइते भए

आफ्नो समूहमा रहेका विदेशी आरोहीहरू पहिलो र दोस्रो शिविरमा पुगिसकेकाले त्यो दिन देण्डी शेर्पाले चिकित्सक र व्यवस्थापकलाई मात्र बिहानको खाना खुवाउनु परेको थियो।

त्यसपछि उनी आफूचाहिँ नजिकै रहेको नेपाली भान्छामा खाना खान गएका थिए। त्यहाँ हाँसखेल चल्दै थियो तर क्षणभरमै वातावरण रोदनमा परिणत भयो।

"एक्कासि भूकम्पले हल्लायो। त्यसपछि हामी बाहिर निस्कियौँ। हामी घोप्टो परेर बस्यौँ। बाहिर निस्कन पाएको छैन, गर्ल्यामगुर्लुम्म छोपिहाल्यो। हामीले केही पनि देख्न पाएनौँ।"

देण्डीसँगै भान्सामा काम गर्ने उनका भाइ पेम्बा र उनका काका जाङ्ग्बुले उक्त हिमपहिरोमा ज्यान गुमाए।

भारतको मैसूरस्थित गुम्बामा पढाइ छाडेर नेपाल फर्किएका पेम्बा रोजगारीका लागि पहिलो पटक आरोहण दलसँगै त्यो साल आधार शिविरमा गएका थिए।

त्यतिखेर ५३ वर्षका जाङ्ग्बु भने झन्डै २० वर्षदेखि सहायक कुकको काम गर्दै आएका थिए।

"केही साथीहरू क्याम्प २ गएर सामान पुर्‍याएर टेन्टमा आराम गरिरहेका थिए। त्यो अवस्थामा सुतेको मान्छे सुतेको सुत्यै भएछन्। मलाई मेरो भाइ त्यही बेला बितेको भन्ने थाहा भयो। काकालाई टाउकोमा चोट लागेको थियो। उहाँको केही दिनपछि काठमाण्डूमा अस्पतालमा ज्यान गयो।"

"काम गरेर पैसा कमाएर विवाह गर्छु भन्ने सोच मेरो भाइको थियो। तर पहिलो वर्षमा नै त्यो चकनाचुर भयो।"

भूकम्प गएको भोलिपल्ट सगरमाथा आधार शिविरबाट हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाण्डू ल्याइएका देण्डीलाई टाउकोमा चार टाँका लगाउनुपरेको थियो।

सन् २०१५ मा आधार शिविरमा आरोहीहरूको समूह
तस्बिरको क्याप्शन, सन् २०१५ मा आधार शिविरमा भएको मानवीय क्षति एकै दिनमा विश्वको सर्वोच्च शिखरमा भएको हालसम्मकै ठूलो हो

दुई महिनाकी छोरीसहित सुत्केरी श्रीमती छाडेर आधार शिविर हिँडेका देण्डी अस्पतालबाट त्यो साँझ घर फर्कदा रुवाबासी चलेको थियो।

उनी भन्छन्, "परिवारलाई भेट्दा सुरुमा केही कुराकानी भएन। उसले (श्रीमतीले) मलाई देख्नेबित्तिकै लगभग आधा घण्टा जति रुवाबासी चल्यो। भोलीपल्ट बिहानै म लुक्ला गएँ र त्यहाँबाट भाइको शव लिएर गाउँ गएपछि सबै जना शोकमा डुब्यौँ।"

भाइको अन्तिम संस्कार सकिएको एक हप्ता पनि नपुग्दै काठमाण्डूको अस्पतालमा उपचार गराइरहेका उनका काकाको मृत्युले परिवारमा अर्को वज्रपात थप्यो।

लाक्पा शेर्पा
BBC
पुमोरीमा घरभन्दा ठूलो बरफको डरलाग्दो ढिक्का भाँचिएको मैले देखे। आँधीजस्तो भएर एकैचोटि बेस क्याम्पमा खसेपछि आधा बेस क्याम्पलाई नै उडाएको थियो
लाक्पा शेर्पा
पर्वतारोही तथा म्यानेजिङ डाइरेक्टर एट के एक्सपिडिसन्स

जब घरभन्दा ठूलो बरफ खस्यो

हिमपहिरोपछि बेस क्याम्पको दृश्य

दुई माइल क्षेत्रफलमा फैलिएको सगरमाथा आधार शिविर पर्वतारोहण सिजनमा सगरमाथा, ल्होत्से र नुप्त्से सहितका हिमाल चढ्न आउने संसारभरका आरोहीहरू जम्मा हुने 'टेन्ट सहर'मा परिणत हुने गर्छ।

दश वर्षअघि एप्रिल २५ मा विनाशकारी भूकम्प गएको समयमा त्यहाँ झन्डै दुई हजार मानिसहरू रहेको ठानिन्छ।

सात पटक सगरमाथाको सफल आरोहण गरिसकेका लाक्पा शेर्पा हिमपहिरो आएको बेला सेभन समिट ट्रेकिङमा आबद्ध थिए।

उनी आफ्नो समूहसँग आरोहणको योजना बनाउन व्यस्त थिए। त्यही बेला भूकम्प गयो।

"एउटा गाइड भएको नाताले हल्लाएको थाहा हुनेबित्तिकै क्याम्पभित्र बस्नुहुन्न भन्ने लाग्यो। बाहिर निस्कँदा पुमोरीको त्यो डरलाग्दो, घरभन्दा ठूलो बरफको ढिक्का भाँचिएको मैले देखे। त्यो खसेर ड्याम्म बेस क्याम्पमा बज्रिएको हो।"

त्यसपछि अँध्यारो छाएको उल्लेख गर्दै उनले थपे, "बरफका ढिक्काहरू आँधीजस्तो भएर एकैचोटि बेस क्याम्पमा खसेपछि आधा बेस क्याम्पलाई नै उडाएको थियो। जोजति पनि टेन्टभित्र थिए, ती सबैलाई टेन्टसहित उडायो।"

दुवै हातमा आइसपिक लिएका र पहेँलो आरोही पोसाकमा लाक्पा शेर्पा
तस्बिरको क्याप्शन, लाक्पा शेर्पा घरभन्दा ठूलो बरफको ढिक्का भाँचिएर खसेको आफूले देखेको बताउँछन्

आफ्नो शिविर खुम्बु आइसफल नजिकैको माथिल्लो भागमा रहेकाले सुरक्षित रहेको भन्दै उनले अर्को दिशामा अवस्थित पुमोरी नजिकैका शिविर हिमपहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको बताए।

उनले भने, "कोही आरोहीहरू क्याम्पमा सुतिरहँदा टेन्टसहित उडाइदिएको थियो। बरफको कारणले चोट लागेपछि बाहिरबाट घाउ नदेखिए पनि आन्तरिक रक्तस्राव हुने रहेछ। बचाउँदा बचाउँदै पनि ज्यान गएको देख्नुपर्‍यो। त्यो ज्यादै दुःखद क्षण थियो।"

भूकम्पले आधार शिविरलाई निरन्तर हल्लाइरहेपछि त्यहाँ रहेकाहरूको सातो गयो।

लाक्पा भन्छन्, "त्यहाँ सुरक्षाको पनि केही उपाय थिएन। सुरुमा आफू कसरी बाँच्ने भन्ने कुरा भयो। जब परिस्थिति अलिकति शान्त भयो, अनि मात्रै हामी उद्धारमा सक्रिय भएको हो।"

"त्यो बेला म तीनचार जनाको टोली लिएर खुम्बु आइसफलतिर कुदेको थिएँ। शरीरको अरू भाग हिउँले छोपेर टाउको मात्र बाहिर भएकाहरूलाई हामीले उद्धार गर्‍यौँ र बचाएर ल्यायौँ। सबै जना त्रसित थियौँ। नेपालको अरू भागमा के भएको थियो, हामीलाई थाहा थिएन।"

भूकम्प गएको भोलिपल्ट आधार शिविरबाट घाइतेहरूको उद्धार गरिएको थियो
तस्बिरको क्याप्शन, सगरमाथा आधार शिविरमा हिमपहिरोमा परेर ७० जनाभन्दा बढी घाइते भएको तथ्याङ्क छ

गर्भवती श्रीमती छाडेर सगरमाथा गएका लाक्पा भने सगरमाथा आधार शिविरबाट दुई दिनपछि काठमाण्डू आइपुगे।

राजधानी काठमाण्डूमा निरन्तर परकम्पहरू गइरहँदा केही महिनापछि उनका छोरा जन्मिए। उनी यो साल दश वर्ष पुग्दै छन्।

एकपछि अर्को भयानक विपद्

दर्जनौँ आरोहीहरूलाई त्यस बेला झन्डै १९ हजार फिटमा अवस्थित पहिलो शिविरबाट उद्धार गरिएको थियो
तस्बिरको क्याप्शन, दर्जनौँ आरोहीहरूलाई त्यस बेला झन्डै १९ हजार फिटमा अवस्थित पहिलो शिविरबाट उद्धार गरिएको थियो

सन् २०१४ मा पनि सगरमाथामा भीषण हिमपहिरो जाँदा १६ जना नेपाली शेर्पा गाइडहरूको खुम्बु आइसफलमा मृत्यु भएको थियो।

त्यसको अर्को साल सगरमाथाको सबैभन्दा सुरक्षित ठाउँमा भूकम्पसँगै आएको हिमपहिरोले कम्तीमा २२ जनाको ज्यान लिएपछि उक्त घटनाले संसारलाई नै स्तब्ध तुल्याइदियो।

नेपालमा पर्वतारोहणमा लागेका धेरैले उक्त दिनलाई कालो दिनका रूपमा लिन्छन्।

त्यस दिन सगरमाथाको माथितिर चढ्दै गरेका कति आरोहीहरूलाई तल आधार शिविरमा भएको क्षतिबारे घण्टौँसम्म थाहा नै भएन।

जो ब्राडश
Jo Bradshaw
हामीले खुम्बु आइसफलको पश्चिमपट्टिको भित्तामा शक्तिशाली हावाको विस्फोटन महसुस गर्‍यौँ। दुवै तिरबाट हिमपहिरो गयो। हामीलाई लाग्यो अब सबै सकियो र हामी मर्ने भयौँ
जो ब्राडश
सातै महादेशका अग्ला हिमाल चढेकी आरोही, यूके

अघिल्लो महिनामात्रै संसारका सातवटै महादेशका अग्ला हिमालहरूको सफलतापूर्वक आरोहण गरेकी ब्रिटिश आरोही तथा पर्वतारोहण दलकी नेता जो ब्राडश भूकम्प गएको बेला ३६० एक्सपिडिशनमार्फत् आफ्ना साथी रोल्फ ओस्ट्रासँगै सगरमाथाको पहिलो शिविरमा पुगेकी थिइन्। दुवै जना टेन्टभित्र सामानहरू मिलाउँदै कुराकानी गर्दै थिए।

भुकम्पले एक्कासि हल्लाउन थालेपछि दुवै जनाले नराम्रो घटना हुन लागेको महसुस गरे अनि शान्त भए।

उनले भनिन्, "हामीले चारैतिरबाट गर्जन सुन्यौँ, जुन सगरमाथा वा अन्य हिमालमा खस्ने साधारण हिमपहिरोको जस्तो थिएन। हामीले हामीपछाडिको हिमनदी खसेको जस्तो महसुस गर्‍यौँ। मलाई हाम्रो मुनितिर गहिरो हिउँको खोँच बनिरहेको जस्तो लाग्यो। हामी टेन्टबाट तुरुन्तै बाहिर निस्क्यौँ। त्यसपछि हल्लाउन सुरु भयो।"

जो ब्राडश आरोहीको पोशाकमा
तस्बिरको क्याप्शन, भूकम्पको अर्को साल जो ब्राडश सगरमाथाको चुचुरोमा पुगेकी थिइन्

उनीहरू हिउँमा पुरिएनन्। तर त्यो बेला भुकम्पभन्दा अरू नै कुनै विपद् परेको जस्तो उनीहरूलाई लाग्यो।

यो वर्ष याला पिकको आरोहणका लागि नेपाल आएकी उनले लाङटाङ क्षेत्रबाट भनिन्, "हामीले खुम्बु आइसफलको पश्चिमपट्टिको भित्तामा शक्तिशाली हावाको विस्फोटन महसुस गर्‍यौँ। दुवैतिरबाट हिमपहिरो गयो। हामीलाई लाग्यो, अब सबै सकियो र हामी मर्ने भयौँ। मलाई थाहा छैन, कति लामो समयसम्म हल्लाइरह्यो। तर त्यो बेला कहिल्यै नरोकिएको जस्तो महसुस भइरहेको थियो।"

"सम्भवतः ३० सेकेन्डसम्म हल्लायो। त्यसपछि सबै शान्त भयो। हामीलाई त्यो बेला भूकम्प गएकोजस्तो लागेन। मलाई हिमनदीले निक्कै ठूलो धार परिवर्तन गरेको जस्तो लागेको थियो।"

त्यसको ४८ घण्टापछि क्याम्प एकबाट हेलिकोप्टरमार्फत् उनीहरूको उद्धार गरिएको थियो। त्यस बेला आधार शिविरमा आफूहरू बस्ने ठाउँनजिकै तीन जना शेर्पाहरूको ज्यान गएको उल्लेख गरेकी ब्राडशले लेखेकी छन्, "अरू समूहहरूले अझै धेरै क्षति व्यहोर्नुपर्‍यो। त्यो बेला सबै जनाले आफ्‍नो मुटुको एउटा टुक्रा गुमाउनुपरेको थियो।"

सगरमाथा आरोहणको तथ्याङ्क

काबुबाहिरको परिस्थिति

भूकम्प जानु केहि दिनअघि हेलिकोप्टरबाट लिइएको आधार शिविरको तस्बिर
तस्बिरको क्याप्शन, भूकम्प जानु केही दिनअघि हेलिकोप्टरबाट लिइएको आधार शिविरको तस्बिर

चौध पटक सगरमाथाको सफल आरोहण गरिसकेका चर्चित अमेरिकी पर्वतारोही तथा आरोहण दलका नेता ग्यारेट म्याडिशन आफ्नो टोलीसहित त्यसबेला झन्डै २१ हजार फिटमा अवस्थित सगरमाथाको दोस्रो शिविर नजिकै पुगेका थिए।

उनी भन्छन्, "त्यसपछि हाम्रो चारैतिरबाट आवाज आयो। बरफ भाँच्चिएको जस्तो लाग्यो। त्यो दिन धेरै बादल लागेको थियो। त्यही भएर हामीले खासै देख्न पाएनौँ।"

उनीहरू दोस्रो शिविर पुग्न सफल भए तर त्यहाँ पुगेपछि रेडिओमा आधार शिविरमा सम्पर्क गर्दा आफ्नो क्याम्पमा क्षति पुगेको र हिम पहिरोमा परेकी आफ्नो समूहकी चिकित्सक इभ गिरावोङको अवस्था गम्भीर रहेको उनीहरूले थाहा पाए। केही घण्टापछि नै इभको मृत्यु भयो।

हिमालमा ग्यारेट र उनको साथी
तस्बिरको क्याप्शन, भूकम्पको समयमा ग्यारेट र उनको टोली दोस्रो शिविर नजिकै पुगेको थियो

उक्त दुखद घटना थाहा पाउँदाको क्षण आफूहरूका लागि निक्कै कठिन भएको ग्यारेट बताउँछन्।

"नजिकको साथी गुमाएका थियौँ तर हामीले गर्नसक्ने केही पनि थिएन किनभने आधार शिविर र क्याम्प एकको बीचमा पर्ने खुम्बु आइसफलको मार्गलाई भुकम्पले भत्काइदिएको थियो र बरफको ढिक्काले डोरी र सिँढीहरूलाई टुटाइदिएको थियो। हामी तल जानसक्ने अवस्था थिएन।"

त्यो बेला दोस्रो शिविरमा खानेकुरा पनि कम हुँदै गएको थियो। मौसममा सुधार आएसँगै दुई दिनपछि उनको टोली क्याम्प एकमा फर्कियो जहाँबाट उनीहरूलाई हेलिकोप्टरले उद्धार गरेको थियो।

उक्त विपद्ले आफूलाई प्रकृतिमा कति कुरा आफ्नो नियन्त्रणबाहिर रहेको कुरा सिकाएको भन्दै उनले भने, "हामी खतराबाट जोगिनका लागि सकेसम्म प्रयास गर्छौँ। तर ठूलो भूकम्पजस्तो परिस्थितिमा हामी गलत समयमा गलत ठाउँमा नहुने परिस्थितिका लागि भाग्यले पनि साथ दिनुपर्छ।"

नेपाल पर्वतारोहण सङ्घका तत्कालीन अध्यक्ष आङ छिरिङ शेर्पा भूकम्प गएको पहिलो दिन सगरमाथामा भएको क्षतिको आकलन नै गर्न नसकिएको बताउँछन्।

उनले भने, 'त्यो साँझ चीनबाट हामीले नेपालतर्फ आधारशिविरमा ठूलो क्षति भएको खबर पायौँ। भोलिपल्ट बिहान ५ बजे नै विमानस्थल पुगेर हामीले घाइतेहरूलाई प्राथमिकतामा राखेर हेलिकोप्टरहरूबाट उद्धार गर्‍यौँ।"

"सबै ७१ जना घाइतेलाई हामीले सगरमाथाको आधार शिविरबाट भोलीपल्ट ४ घण्टाभित्रै राजधानी ल्याइपुर्‍याएका थियौँ। म बिहान पाँच बजेदेखि रातिसम्म एक महिनाभन्दा बढी विमानस्थलमा खटिएर हिमाली क्षेत्रमा उद्धार र सहयोगको समन्वय गरेको थिएँ।"

समरमाथामा भर्याङ्गको पुलबाट खरपास पार गर्दै आरोहीहरू
तस्बिरको क्याप्शन, यो वर्ष सगरमाथा चढ्नका लागि सोमबारसम्म ३८७ जना आरोहीले अनुमति लिएका छन् भने ५७ करोड रुपियाँ भन्दा बढी रोएल्टी सङ्कलन भएको छ

अनि, देण्डीले गन्तव्य फेरे

भूकम्पपछि ६ सदस्यीय परिवारको सम्पूर्ण जिम्मेवारी देण्डीको काँधमा आइपर्‍यो। उक्त शेर्पा परिवारले बिमा बापत नौ-नौ लाख रुपियाँ पायो तर सरकारबाट अतिरिक्त सहयोग नपाएको देण्डी सुनाउँछन्।

बरु अमेरिकाको एउटा परोपकारी संस्थाले पाँच वर्षसम्म प्रत्येक साल ३ हजार डलर उनको परिवारलाई दिएको थियो।

सन् २०१५ को भूकम्पले आधार शिविर समेत सुरक्षित नरहेको सन्देश गयो।

विगतमा सगरमाथाको दोस्रो शिविरसम्म पुगेका देण्डीलाई उनको परिवारले त्यहाँ पुन: नजान दबाब दिन थाल्यो।

तर आफूसँग तत्कालका लागि विकल्प नभएको भन्दै उनी आबद्ध कम्पनीले अनुरोध गरेपछि देण्डीले हार्न सकेनन्। सन् २०१६ मा उनी सगरमाथा आधार शिविरमा भान्छे बनेर अन्तिम पटक गए।

उनी भन्छन्, "त्यो बेला मलाई जान मन नै थिएन। म शोकमा नै थिए। तर त्यत्रो वर्ष काम गरेको कम्पनीले अनुरोध गरिरहेपछि किन छाड्नु भनेर म गए। वेस क्याम्पमा दुई महिना बस्दा मलाई धेरै कठिन भयो। राति सपनामा काका र भाइहरू देख्ने अनि सुत्न नसकिने भयो। त्यो पीडाले गर्दा कति रात मैले त्यहाँ रोएरै बिताए।"

देण्डी शेर्पा
Dendi Sherpa
आरोहणदलको हिस्सा हुँदा दुई महिनामा नै चारलाखसम्म कमाइ हुन्थ्यो। तर परिवारले जे जति छ त्यसैमा गरौँला भनेपछि मैलै पर्वतारोहण छाडिदिएँ। अहिले म ट्रेकिङ व्यवसायमा आबद्ध छु
देण्डी शेर्पा
सगरमाथा हिमपहिरोका घाइते एवं आरोहण दलका पूर्वभान्से

त्यसयता उनले हिमालमा जान छाडिदिए र ट्रेकिङ्ग पेशा अँगालिरहेका छन्।

"आरोहणदलको हिस्साहुँदा राम्रो पैसा आउँथ्यो। २ महिनामा नै चार लाखसम्म पनि कमाई हुन्थ्यो। तर त्यसपछि परिवारलाई कसरी धान्ने भने पीर सुरुमा भयो। तर परिवारले जे जति छ त्यसैमा गरौँला, तिमीलाई गाह्रो हुन्छ भने छाडिदेउ भनेपछि मलाई निर्णय लिन सजिलो भयो।"

अहिले पनि कहिले काँही सगरमाथा आधार शिविर जान चाहने ग्राहकहरू उनीसँग ठोकिन्छन्। तर सकेसम्म आफूले अरू कसैलाई पठाउने गरेको र आफू नै जानु परेपनि दुर्घटना भएको ठाउँभन्दा परै बस्ने गरेको उनले सुनाए।

लाक्पाको चम्किएको भाग्य

सगरमाथा चढदै लाक्पा शेर्पा
तस्बिरको क्याप्शन, सन् २०१६ मा एउटा डकुमेन्ट्री परियोजना अन्तर्गत सगरमाथा र आसपासका हिमालहरूको विभिन्न उच्च बिन्दुहरूबाट आरोहीहरूको निशुल्क उद्धार गर्ने काममा लाक्पा जोडिए

भूकम्पको अर्को साल, लाक्पा शेर्पाले एउटा यस्तो अवसर पाए, त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेन।

सन् २०१६ मा एउटा डकुमेन्ट्री परियोजना अन्तर्गत सगरमाथा र आसपासका हिमालहरूको विभिन्न उच्च बिन्दुहरूबाट आरोहीहरूको निःशुल्क उद्धार गर्ने काममा उनी पनि सामेल भए।

त्यो साल उनको टोलीले सगरमाथाको सबैभन्दा कठिन क्षेत्र मानिने साउथ फेसमा ७,२०० मिटर उचाइमा डोरीको सहायता बिना गएका स्लोभाक आरोहीहरूको उद्धार गरेको थियो।

"त्यो बेला प्रख्यात आरोही मिङ्मा डेभिड शेर्पा र मसहित हामी पाँच जना शेर्पा क्याम्प २ सम्म हेलिकोप्टरमा गयौँ। त्यो बेला हामीले लगभग १२ सय मिटर डोरी ४ घण्टामा टाँगेर त्यो एल्पाइनिस्टहरू ल्याएका हौँ। जसको संसारभरि चर्चा भयो।"

सन् २०२२ मा लाक्पाको टोलीले ८२ सय मिटर उचाईबाट एक जना आरोहीको सुरक्षित उद्धार गर्दाको क्षण
तस्बिरको क्याप्शन, सन् २०२२ मा लाक्पाको टोलीले ८२ सय मिटर उचाईबाट एक जना आरोहीको सुरक्षित उद्धार गर्दाको क्षण

लाक्पाको समूहले सगरमाथाको 'बाल्कोनी' भनिने ८,४६४ मिटर क्षेत्रबाट पनि त्यो साल सफलतापूर्वक उद्धार गरेको थियो।

भूकम्प यता चार पटक सगरमाथा र पाकिस्तानस्थित के टू हिमालको समेत सफल आरोहण गरेका लाक्पाले सन् २०२१ यता आफ्नै 'एट के एक्सपिडिसन्स' स्थापना गरेर आरोहीहरूलाई हिमालमा पुर्‍याउने काम गर्दै आएका छन्।

यो साल सगरमाथामा उनको कम्पनीसँग ५५ जना विदेशी जाँदैछन् जसलाई ८० जना शेर्पाहरूले सहयोग गर्नेछन्। उनकै कम्पनीले क्याम्प २ देखि सगरमाथा र ल्होत्सेको चुचुरोसम्म डोरी टाँग्दैछ।

उनी भन्छन्, "भूकम्प र हिमपहिरोको घटनालाई म ठूलो सन्देशका रूपमा पनि लिन्छु। त्यसले मेरो सहनशीलता बढायो। त्यो भन्दा अघि त्यत्रो अनुभव थिएन। तर त्यसपछि प्राविधिक क्षमता र तालिम चाहिने रहेछ भन्ने लाग्यो। मैले धेरै तालिमहरू पनि गरेँ।"

उनले थपे, "मौसम पनि महत्त्वपूर्ण हुन्छ। ठूला हिमालहरू चढ्दा चुचुरोमा पुग्नु एउटा विकल्प हो। तर त्यहाँबाट सुरक्षित तल ओर्लनु बाध्यात्मक हुन पुग्छ। कहिले काहीँ हिमालको टुप्पो नजिकै पुग्दा पनि तपाईँले आरोहण त्याग गर्नुपर्ने निर्णय लिनुपर्छ। कुन बेला त्यस्तो निर्णय लिने तपाईँलाई थाहा हुनुपर्छ।"

सगरमाथामा उठ्ने सुरक्षाका प्रश्न

ठूलो तयारी र मोटो रकम खर्च गरेर गरिने विश्वको सर्वोच्च हिमालको आरोहण सधैँ जोखिमपूर्ण हुने गर्छ। सास नै फेर्न गाह्रो हुने अग्लो हिमाली भूगोलमा हिमपहिरो लगायत प्राकृतिक विपद्बाहेक लेक लाग्ने, बेहोस हुने, हिउँको खाल्डोमा खस्ने जस्ता कैयौँ कारणले आरोहीहरूले ज्यान गुमाउने गरेका छन्।

एउटा आँकडाका अनुसार सन् १९२२ देखि २०२४ सम्म ७, २६९ आरोहीले १२ हजार ८८४ पटक सगरमाथाको आरोहण गरेका छन्। त्यस क्रममा ३३५ जनाको ज्यान गएको द हिमालयन डेटाबेसलाई उद्धृत गर्दै सगरमाथा आरोहणका विभिन्न तथ्याङ्कको अभिलेखकर्ता तथा पर्वतारोही एलन अर्नेटले जनाएका छन्।

भूकम्प यताको १० वर्षको अवधिमा नेपालहुँदै सगरमाथाको आरोहण गर्नेमध्ये कम्तिमा ५६ जनाको मृत्यु भएको सगरमाथा आरोहणको अभिलेख राख्ने द हिमालयन डेटाबेसमा उल्लेख गरिएको छ।

सगरमाथाको नक्सा

सन् २०२३ मा नेपालतर्फबाट सगरमाथा आरोहण गर्नेहरूका लागि अहिलेसम्मकै घातक वर्ष बन्न पुग्यो। त्यो साल एक सिजनमा १८ जनाको ज्यान गएको थियो।

यस्ता दुर्घटना बढेको समयमा सगरमाथामा आरोहीको लर्को लाग्ने गरेका तर पर्वतारोहणलाई सुरक्षित तुल्याउन पर्याप्त कदमहरू नचालिएको भनेर प्रश्न पनि उठ्ने गर्छ।

ग्यारेट म्याडिसन
Madison Mountaineering
सगरमाथा जानुभन्दा अघि ६,००० मिटर र ७,००० मिटर अग्ला हिमाल आरोहण गरेको अनुभव चाहिने व्यवस्था लागु गर्नु उपयुक्त हुन्छ
ग्यारेट म्याडिसन
पर्वतारोही तथा संस्थापक म्याडिसन माउन्टेनेरिङ, अमेरिका

पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मी नेपाल सरकारले सुरक्षित पर्यटनलाई प्राथमिकतामा राखेको र अघिल्लो वर्षबाट उद्धारलाई प्राथमिकतामा राख्ने गरि आधारशिविरमा नै अनुगमन संयन्त्र स्थापित गरेको बताउँछन्।

उनले भने, "सगरमाथा भनेको 'डेथ जोन' हो भन्ने त्यहाँ जाने सबैलाई थाहा नै हुन्छ। उहाँहरूले जोखिम मोल्नुहुन्छ। त्यहाँ स्वभावैले हिमपहिरो र अरू विपद्हरू आइरहने हुनाले मानवीय क्षति हुन्छ। हामीले सुरक्षा सावधानी अपनाउनुपर्ने र गर्न हुने र नहुने कामबारे आरोहण दलहरूलाई ब्रिफिङ गरेका हुन्छौँ।"

सगरमाथा आरोहणलाई सुरक्षित बनाउने उपाय

सगरमाथामा आरोहीको लस्करको तस्बिर प्रकाशमा आएपछि कतिपयले आरोहीको भीड व्यवस्थापन गर्नुपर्ने बताएका थिए
तस्बिरको क्याप्शन, सगरमाथामा आरोहीको लस्करको तस्बिर प्रकाशमा आएपछि कतिपयले आरोहीको भीड व्यवस्थापन गर्नुपर्ने बताएका थिए

यसै वर्ष नेपाल सरकारले पर्वतारोहण सम्बन्धी नियमावलीलाई संशोधन गरेको छ जस अन्तर्गत अब सगरमाथामा जाँदा प्रत्येक दुईआरोहीका साथमा एक जना गाइड लैजानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

सन् २००९ यता ८० भन्दा बढी आरोहीलाई सगरमाथाको चुचुरोमा पुर्‍याएका अमेरिकाको सियाटलस्थित म्याडिसन माउन्टेनेरिङका संस्थापक ग्यारेट म्याडिसेन सगरमाथालाई सुरक्षित तुल्याउन नेपालले अझ केही कदम चाल्नुपर्ने ठान्छन्।

उनले भने, "मलाई लाग्छ सगरमाथा जानुभन्दा अघि ६,००० मिटर र ७,००० मिटर अग्ला हिमाल आरोहण गरेको अनुभव चाहिने व्यवस्था लागु गर्नु ज्यादै उपयुक्त हुन्छ। त्यसो भयो भने आरोहीहरू सगरमाथामा अनुभवी, क्षमतावान् र आफैँ पनि आत्मनिर्भर हुनसक्छन्।"

tourismdepartment
सगरमाथा भनेको 'डेथ जोन' हो भन्ने त्यहाँ जाने सबैलाई थाह नै हुन्छ। हामीले सुरक्षा सावधानी अपनाउनुपर्ने र गर्न हुने र नहुने कामबारे आरोहण दलहरूलाई ब्रिफिङ गरेका हुन्छौँ।
नारायणप्रसाद रेग्मी
महानिर्देशक पर्यटन विभाग

तर पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मी कानुनले कुनै त्यस्तो सीमा नतोकेको बताउँछन्।

"सगरमाथा चढ्न जान्छु भन्ने स्वदेशी वा विदेशी महानुभावहरूलाई हामीले इजाजत दिने हो। चढ्ने बेलामा मौसम सधैँ खुल्दैन निश्चित समयमा खुल्छ। त्यही ठाउँमा सबैजना चढ्ने भएकाले लस्कर देखिएको मात्रै हो। भनेजस्तो भीड पनि छैन।"

लाक्पा शेर्पा
तस्बिरको क्याप्शन, यो साल लाक्पाको कम्पनीले क्याम्प २ बाट सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने जिम्मा पाएको छ

नयाँ नियमले अर्को वर्षबाट वसन्त याममा सगरमाथाको आरोहण गर्दा विदेशीहरूले तिर्नुपर्ने शुल्कलाई ३६ प्रतिशतले बढाएर १५, ००० डलर पुर्‍याएको छ।

सरकारले उचाइमा खटिने आरोही र आधार शिविरमा खटिनेहरूलाई केही भई हाले उनीहरूले प्राप्त गर्ने बिमा रकम पनि बढाएको छ।

सन् २०२५ मा सगरमाथा आरोहण

सगरमाथामा विदेशीको तुलनामा दुई गुणा बढी शेर्पाहरूले हालसम्म ज्यान गुमाएका छन्। नेपाल पर्वतारोहण सङ्घले हिमालमा ज्यान गुमाएकाहरूको बालबच्चाको शिक्षामा सहयोग गर्दै आएको छ।

महासङ्घका महसचिव मोहन लम्सालले भन्छन्, "आरोहीहरू त्यत्रो आफ्नो ज्यानको जोखिम लिएर हिमाल चढ्नुहुन्छ। परिवारले बिमा रकम मात्रै पाउने हो। हामीले एउटा कल्याण कोष बनाऊँ ताकी उहाँहरूलाई केही भइहाल्यो भने सरकार वा पर्वतारोहण सङ्घले परिवारलाई हेर्छ भनेर ढुक्क हुने अवस्था होस् भनेर माग राखिराखेका छौँ। तर नेपालमा कहिले हुने, के हुने भन्ने कुराको ठोस निर्णय केही हुँदैन।"

मोहन लम्साल
BBC
हामीले एउटा कल्याण कोष बनाऊँ ताकि उहाँहरूलाई केही भइहाल्यो भने सरकार वा पर्वतारोहण सङ्घले परिवारलाई हेर्छ भनेर ढुक्क हुने अवस्था होस् भनेर माग गरिराखेका छौँ।
मोहन लम्साल
महासचिव, नेपाल पर्वतारोहण सङ्घ

सगरमाथालाई बिश्राम दिनुपर्ने बहस

सगरमाथाका प्रथम आरोही एडमन्ड हिलरी बीबीसीको स्टुडियोमा माइक अगाडि
तस्बिरको क्याप्शन, २२ वर्षअघि एडमन्ड हिलरीले सगरमाथालाई आराम दिनुपर्ने बताएका थिए

अहिले विश्वको सर्वोच्च शिखरको आरोहण वार्षिक रूपमा करोडौँ डलर कारोबार हुने एउटा उद्योग बनेको छ। १० वर्षमा नेपाल सरकारले सगरमाथाको रोयल्टी बापत मात्रै साढे चार अर्ब भन्दा बढी आम्दानी गरेको छ। सगरमाथामा बढेको घुइँचोलाई लिएर आवाज उठ्न थालेको वर्षौँ भइसक्यो।

सन् २००३ मा प्रथम आरोही एडमन्ड हिलरीले विश्वको सर्वोच्च शिखरलाई आराम दिनुपर्ने धारणा नै राखेका थिए।

६० वर्ष यता नेपालको पर्वतारोहण पर्यटनका क्षेत्रमा काम गरिरहेका विश्व पर्वतारोहण महासङ्घका वरिष्ठ उपाध्यक्ष आङ छिरिङ शेर्पा आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यस्ता धारणाको प्रतिवाद गरेको बताउँछन्।

उनले भने, "हिमाल आरोहण गर्न परम्परागत र व्यावसायिक गरी दुई आरोहीहरू आउने गर्छन्। परम्परागत आरोहीहरू आउँदा उनीहरूले किचन ब्वाई मात्रै लिन्छन्, अरू शेर्पाहरू खासै लिँदैनन्। तर व्यवसायीक आरोही १५ जनाको समूह आयो भने १० गुणा ज्यादा रोजगारी दिन्छ। हाम्रोमा यो हात मुख जोर्ने माध्यम हो। मैले विरोध नगरिदिनुस् भनेपछि त्यो बेला अलिकति मत्थर भएको हो।"

सगरमाथामा आरोहणका लागि जानुअघि आरोहीहरू आधार शिविरमा पूजा गर्दै
तस्बिरको क्याप्शन, सगरमाथामा आरोहणका लागि जानुअघि आरोहीहरूले आधार शिविरमा पूजा गर्छन्

आङ छिरिङ शेर्पाले थपे, "एडमन्ड हिलरी मेरो गड फादर जस्तै हो। म पर्वतारोहण सङ्घको अध्यक्ष भएकाले मैले नेपालको हितमा पनि बोल्नुपर्‍यो। त्यो बेला उहाँसँग पनि ठूलो तर्क वितर्क गर्नुपरेको थियो।।"

सगरमाथालाई आराम दिनुपर्ने माग अहिले केही सुस्ताएको भएपनि ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको अनुमति दिनुअघि आरोही र एक्सपिडिशन कम्पनी दुवैको योग्यतालाई जाँच गरिनुपर्ने आवाज नेपालमा निरन्तर उठ्ने गरेको छ।

आङ छिरिङ शेर्पा
BBC
व्यावसायिक आरोही १५ जनाको समूह आयो भने १० गुणाभन्दा ज्यादा रोजगारी दिन्छ। मैले विरोध नगरिदिनू भनेपछि विश्राम दिनुपर्ने आवाज अलिकति मत्थर भएको हो
आङ छिरिङ शेर्पा
वरिष्ठ उपाध्यक्ष, विश्व पर्वतारोहण महासङ्घ

६ वर्षअघि गठित एउटा सरकारी सुझाव समितिले नेपालको कुनै ६५ सय मिटर अग्लो हिमाल चढेको र उच्च पर्वतारोहणको तालिम लिएको अनुभव भएकालाई मात्रै सगरमाथा चढ्न अनुमति दिन सरकारलाई सिफारिस गरेको थियो।

साथै एक दिनमा १५० भन्दा बढीलाई हिमाल आरोहण नगराउन पनि सुझाव दिइएको थियो। ती सुझाव अझै कार्यान्वयन भएका छैनन्।

देण्डी र लाक्पाले आफ्ना छोराका लागि देखेको सपना

आरोहण कम्पनी सञ्चालकहरू पछिल्ला वर्षमा नयाँ पुस्ताका शेर्पाहरू हिमाल छाडेर अन्य पेसामा आकर्षित हुन थालेका बताउँछन्। यसले गर्दा भविष्यमा दक्ष कामदार पाउन गाह्रो हुने चिन्ताले उनीहरूलाई सताउन थालेको छ।

८ के एक्सपिडिसिन्सका लाक्पा आफ्ना छोराले कम्तीमा एक पटक सगरमाथा आरोहण गरेको हेर्न चाहन्छन्। उनले भने, "सगरमाथा हाम्रो लागि भगवान् हो। मेरो कामलाई निरन्तरता दिनका लागि पनि उसले एक पटक सगरमाथा चढेको अनुभव हासिल गर्नुपर्छ।"

सगरमाथामा विभिन्न कीर्तिमान राख्ने होडबाजीले पनि दुर्घटनाहरू बढाएका ठान्ने देण्डी ९ कक्षामा पढ्ने आफ्ना छोराले अलग्गै बाटो रोज्ने बताउँछन्।

"मेरो कहानी मेरो छोरालाई थाहा छ। हिमाल होइन, उसको अरु-अरु नै योजना छ। कि डाक्टर कि पाइलट बन्छु भन्छ। हेरौँ, कतिको सफल हुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।