बाङ्ग्लादेश टी२० विश्वकप खेल्न 'भारत नजाने', नेपाललाई केही फरक पर्छ?

बाङ्ग्लादेशी राष्ट्रिय क्रिकेट टोलीका केही खेलाडीहरू
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

बाङ्ग्लादेश सरकारले आफ्नो राष्ट्रिय क्रिकेट टोलीले भारतमा गएर टी२० विश्वकप नखेल्ने निर्णय गरेको छ।

बाङ्ग्लादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुलले त्यहाँको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आशिफ नजरुलसँगको भेट पछि आफ्नो टोली भारत नपठाउने निर्णय गरेको जनाएको हो।

बीबीसी न्यूज बाङ्ग्लाका अनुसार सल्लाहकार आशिफले भनेका छन्, " हामीले आईसीसीबाट न्याय पाउन सकेका छैनौँ। आईसीसीले हाम्रो सुरक्षासम्बन्धी चासोलाई गम्भीर रूपमा विचार गरी श्रीलङ्कामा खेल्ने हाम्रो अनुरोध स्वीकार गर्ने छ भन्ने हामी आशा गर्दछौँ।"

बीसीबी अध्यक्ष बुलबुलले भने, "हामी फेरि आईसीसीसँग सम्पर्क गर्ने छौँ। हामी भारतमा खेल्न चाहँदैनौँ। श्रीलङ्कामै खेल्न चाहन्छौँ।"

आईसीसीको निर्णय

बीसीबीले भारतीय भूमि सुरक्षित नभएको भन्दै आफ्ना खेलहरू अर्को आयोजक राष्ट्र श्रीलङ्कामा गर्न गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्वीकार गरेपछि पनि बाङ्ग्लादेशले आफ्नो अडान कायम राखेको हो।

आईसीसीले भारतमा खेल्ने वा नखेल्ने निर्णय गर्न बीसीबीलाई बिहीवारसम्मको समय दिएको थियो।

आईसीसीले बुधवार बसेको बोर्डको निर्णय सुनाउँदै भनेको थियो, "प्रतियोगिता सुरु हुन लागेका बेला परिवर्तन गर्नु सम्भव छैन। अनि कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको अवस्थामा कार्यक्रम परिवर्तन गर्दा भविष्यका आईसीसी प्रतियोगिताहरूको मर्यादामा असर पार्ने नजिर स्थापित हुन सक्ने छ।"

उसले भारतीय भूमिमा खेल्न बाङ्ग्लादेश सुरक्षित हुने नहुने विषयमा भित्रैसम्म पुगेर अनुसन्धान गरेको र त्यसमा बाङ्ग्लादेशी खेलाडी, अधिकारीहरू, मिडिया र दर्शकलाई कुनै पनि सुरक्षा चुनौती नहुने निष्कर्ष निकालेको पनि जनाएको छ।

भारतसँग समस्या रहेको अर्को देश पाकिस्तानको भने लीग चरणको सबै खेल श्रीलङ्कामा छ।

पछिल्लो समय भारतको चर्चित फ्रेन्चाइज क्रिकेट लीग आईपीएलमा कोलकाता नाइट राइडर्समा आबद्ध बाङ्ग्लादेशी खेलाडीलाई टोलीबाट हटाएपछि दुई छिमेकीबीचको तनाव सतहमा देखिएको थियो।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईको निर्देशनमा कोलकाताले ९.२ करोड भारतीय रुपैँयामा अनुबन्धित भएका बाङ्ग्लादेशी बायाँहाते पेसबलर मुस्तफिजुर रहमानलाई टोलीबाट मुक्त गरिदिएको थियो।

नेपाललाई के असर?

श्रीलङ्का ए टोलीसँगको अभ्यास खेलमा नेपाली कप्तान रोहित पौडेल
तस्बिरको क्याप्शन, टी२० विश्वकपअघि अभ्यासका लागि हाल नेपाली टोली श्रीलङ्कामा छ

हरेक दुई वर्षमा हुने २० ओभरको विश्वकप यही फेब्रुअरी ७ देखि सुरु हुँदै छ।

प्रतियोगिताको पूर्वनिर्धारित तालिकाअनुसार समूह 'सी'मा रहेको बाङ्ग्लादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटली र फेब्रुअरी १४ मा इङ्ल्यान्डसँग कोलकाताको इडेन गार्डनमा खेल्नुपर्ने थियो।

त्यस्तै समूह चरणको अन्तिम खेल भने फेब्रुअरी १७ मा मुम्बईको वाङखडे रङ्गशालामा नेपालसँग खेल्ने तालिका छ।

विश्वकपको समुह 'सी'मा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएकोले बाङ्ग्लादेशको सहभागितालाई नेपाली क्रिकेटप्रेमीहरूले पनि निकै चासोका साथ हेरिरहेका छन्।

बाङ्ग्लादेशले नखेल्दा उक्त समूहमा चार टोलीमात्र रहने र चारै टोलीले बराबर २ अङ्क थप पाउने समाचारहरू पनि आएका थिए। यसो हुँदा नेपालको पनि कम्तीमा २ अङ्क सुरक्षित हुने थियो।

यसबीचमा बाङ्ग्लादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउनेबारे आईसीसीले निर्णय गरिसकेको भन्ने समाचार पनि बाहिरिएका छन्।यद्यपि आईसीसी स्वयंले यसबारे केही बोलेको छैन।

समाचारहरूका अनुसार बाङ्ग्लादेशले खेल्न अस्वीकार गरेमा त्यसको स्थानमा अरू टीमलाई खेलाउनेबारे आईसीसी बोर्डमा मतदान हुँदा बहुमतले उच्च वरीयतामा रहेको अर्को टीम खेलाउने पक्षमा राय दिएका थिए।

युरोपेली छनोट प्रतिस्पर्धामा असफल भएको स्कटल्यान्ड विश्व वरीयताको १४ औँ स्थानमा छ।

बाङ्ग्लादेशभन्दा स्कटल्यान्ड नेपाललको लागि अलिकति सहज हुने अनुमान गरिएको छ।

आईसीसी विश्वकप लीग २ मा नेपाल र स्कटल्यान्डबीच नियमित भेट हुँदै आएको छ। पछिल्लो पटक स्कटल्यान्डको ग्लास्गोमा भएको टी२० खेलमा नेपालले एक खेलमा स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो।

बाङ्ग्लादेशसँग भने यसअघिका दुईवटै विश्वकपमा नेपाल पराजित भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।