इरान युद्ध 'छिट्टै अन्त्य हुने' ट्रम्पको दाबी, इजरेल र लेबननबीच युद्धविराम

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध छिट्टै अन्त्य हुने बताएका छन्।
नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, "यो निकै छिट्टै नै अन्त्य हुनु पर्छ।"
उनले यसबारे थप व्याख्या नगरे पनि युद्ध राम्रोसँग अघि बढिरहेको बताए। ट्रम्पले रकेटहरू खसालिदिएको भन्दै अमेरिकी सेनाको पनि प्रशंसा गरेका छन्।
गत सप्ताहान्तमा अमेरिका र इरानबीच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो। यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्।
ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको बताएको छ।
इजरेल-लेबनन युद्धविराम
इजरेल र लेबननबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ। अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले लेबननसँग "ऐतिहासिक सम्झौताका लागि" यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन्।
इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ। उक्त लडाकु समूहले लेबननको भूमिमा आक्रमण रोक्ने र इजरेली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ।

तस्बिर स्रोत, Reuters
इजरेली प्रधानमन्त्री नेतन्याहूले आफ्नो देशको फौज दक्षिणी लेबननको १० किलोमिटरभित्र "सुरक्षा क्षेत्र"मा सीमित हुने बताएका छन्। यो अडानलाई हिज्बुल्लाहले माग विपरीत भनेको छ।
अमेरिकी विदेश मन्त्रालयले सम्झौता अनुसार लेबनन सरकारले हिज्बुल्लाबाट इजरेलमा आक्रमण रोक्न "अर्थपूर्ण कदम चाल्नुपर्ने" हुन्छ।
उसले लेबननको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको अधिकार लेबननकै सुरक्षा निकायलाई मात्र हुनुपर्ने भनेको छ।
युद्धविराम कार्यान्वयनमा आए लगत्तै इजरेल डिफेन्स फोर्सेस आईडीएफले एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा ३८० वटा हिज्बुल्लाहका निशानामा आक्रमण गरिएको जनाएको छ। आफ्नो आक्रमणको निशानामा रकेट प्रक्षेपण गर्ने स्थान, मुख्यालय र हिज्बुल्लाहका सदस्यहरू परेको इजरेलले जनाएको छ।
लेबननको सेनाले ग्रामीण क्षेत्रहरूमा अझै इजरेली आक्रमण जारी रहेको भन्दै युद्धविराम उल्लङ्घन भएको बताएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हिज्बुल्लाहलाई पनि युद्धविराम पालना गर्न आह्वान गरेका छन्। उनले आफूले इजरेल र लेबननका नेताहरूलाई ह्वाइट हाउसमा बोलाएको बताएका छन्। तर अब थप के हुन्छ भन्नेबारे खुल्न बाँकी छ।
तेलको मूल्य घट्यो

तस्बिर स्रोत, Getty Images
इजरेल र लेबननबीचको युद्धविराम कार्यान्वयनमा आएसँगै एशियाली बजारमा शुक्रवार तेलको मूल्य घटेको छ।
तेलको मूल्यमा विश्वकै मानक मानिने 'ब्रेन्ट'को कच्चा तेलको मूल्य झन्डै एक प्रतिशतले घटेर ९८.५० अमेरिकी डलरमा कारोबार भएको छ।
अमेरिकाले व्यापार गर्ने तेलको मूल्य पनि घटेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























