इरान युद्धले भारतमा यसरी महँगो बनाउन सक्छ पानी र बिअर

तस्बिर स्रोत, Getty Images
- Author, शेरिलन मोलन
- पढ्ने समय: ५ मिनेट
कतिपय भूभागमा तापक्रम ४५ सेल्सिअस नाघ्ने गरेको भारतमा मानिसहरूले गर्मीको तयारी थालिसकेका छन्। तर भारतको ६ अर्ब डलरबराबरको बोतलको पानी व्यवसाय कच्चा पदार्थमा देखिएको अभावका कारण अप्ठेरोमा परिरहेको छ।
अघिल्लो महिना अग्रणी कम्पनी 'बिस्लेरी'ले ११ प्रतिशतले मूल्य बढायो। उसले १२ वटा एक लिटरका बोतलको बाकसको मूल्य २४ रुपैयाँले बढाउने निर्णय गरेको थियो। त्यसबाहेक 'बेइली' र 'क्लिअर प्रिमिअम वाटर'जस्ता कम्पनीले पनि मूल्यवृद्धि गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।
डेटा फर इन्डिया नामक संस्थाको एउटा अध्ययनअनुसार सहरका १५ प्रतिशत घरधुरी र ग्रामीण क्षेत्रका ६ प्रतिशत घरधुरी पिउने पानीका लागि बोतलमा प्याकेजिङ गरिने पानीमा निर्भर छन्। विशेष गरी ग्रामीण क्षेत्रमा बोतलका पिउने पानीमा निर्भर हुनु महङ्गो विकल्प हो।
तर भारतका धेरै ठाउँहरूमा सफा पानीसम्मको पहुँचमा चुनौतीहरू देखिएका छन्। पानीको अभाव, पानीको मूलमा हुने प्रदुषण र पूर्वाधारका अभावजस्ता समस्या त्यहाँ देखिने गर्छन्।
ब्र्यान्ड र बोतल निर्माताहरूले इरान र त्यसवरपर जारी युद्ध लम्बिएको खण्डमा धेरै भारतीयहरूका पहुँचबाहिर पुग्ने गरी बोतलका पानी महङ्गो बन्न सक्ने चेतावनी दिएका छन्।
विश्वको तेल र तरल प्राकृतिक ग्यासको झन्डै २० प्रतिशत हिस्सा साँघुरो स्ट्रेट अफ होर्मुजको हिस्सा हुँदै ढुवानी गर्ने गरिन्छ, जुन अहिले इरानले पूर्ण रुपमा बन्द गरिदिएको छ। उक्त जलमार्गको अवरोधले विश्वव्यापी रुपमा नै इन्धनको मूल्य आकाशिएको छ।
आफ्नो घरेलु माग सम्बोधन गर्न भारी मात्रमा तेल र ग्यासको आयातमा निर्भर रहेको भारतले उक्त दबाव महसुस गरिरहेको छ।
पिउने पानीको मूल्य किन अझै बढ्न सक्छ?
महाराष्ट्र बोटल्ड वाटर म्यान्युफ्याक्चरर्स असोसिएशनका अध्यक्ष विजयसिंह डुबलले कच्चा तेलको मूल्य आकासिएकाले प्लास्टिकका बोतलहरूमा बिक्री गरिने पानीको मूल्य बढेको बताए। यसै हप्ताको सुरुमा एक ब्यारल ब्रेन्ट कच्चा तेलको मूल्य ११९ डलर पुगेको थियो, जुन अमेरिका र इजरेलले इरानविरूद्ध युद्ध सुरु गरेयताकै सर्वाधिक मूल्यको नजिक हो।
कच्चा तेल पोलिएथलीन टेरेफ्थलीट (पीईटी- पेट) रेजिनका पेलेटहरू बनाउन प्रयोग गरिन्छ। ती दानाहरूलाई तताएर साँचोको प्रयोग गरी 'पेट' प्रिफर्महरू तयार गरिन्छ। प्लास्टिकका टेस्टट्यूबजस्ता देखिने यी प्रिफर्महरू विभिन्न ब्र्यान्ड र बोतल उत्पादकहरूलाई बिक्री गरिन्छ।उनीहरूले आफूले चाहेको आकार र शैलीको बोतल बनाउने गर्छन्।
डुबल भन्छन्, "प्रिफर्मको मूल्य प्रतिकेजी ११५ रुपैयाँबाट बढेर झन्डै १८० रुपैयाँ प्रतिकेजी पुगेको छ। प्रिफर्मको आपूर्तिमा पनि सङ्कट देखिएको छ।"
उनका अनुसार महाराष्ट्रका करिब २० प्रतिशत बोतल उत्पादन प्लान्टहरू अस्थायी रूपमा बन्द भएका छन्।

तस्बिर स्रोत, Getty Images
कतिपय कम्पनीहरूले मूल्यवृद्धि गरेका छन्। तर डुबलका अनुसार धेरै ब्र्यान्ड र विक्रेताहरूले अतिरिक्त लागत आफैँ बेहोरिरहेका छन्, जसले उपभोक्ताहरूलाई जोगाइरहेको छ।
"तर थप लागत आफूले स्वयं बेहोर्नु कम्पनीहरूका लागि दिगो हुँदैन। यदि अवस्था थप बिग्रियो भने उपभोक्ताहरूले त्यसको मार बेहोर्नुपर्ने हुन्छ," उनले भने।
उनले कच्चा पदार्थको अभाव सबैभन्दा खराब समयमा भएको बताए। उनका अनुसार अत्यधिक गर्मी हुने एप्रिल र मे महिनामा भारतमा बोतलका पानी र मदिरारहित पेय पदार्थको माग उच्च हुने गर्छ।
भारतमा 'पेट प्रिफर्म'हरूको सबैभन्दा ठूलो आपूर्तिकर्तामध्ये एक केम्को प्लास्टिक इन्डस्ट्रिजका निर्देशक वैभव सरोगीले प्रिफर्महरूको मूल्यवृद्धिले पानी उद्योगलाई मात्र नभएर समग्र प्याकेजिङ उद्योगलाई प्रभावित तुल्याउने बताए।
सन् २०२४ मा भारतको 'पेट' प्याकेजिङ बजारको आकार १.५ अर्ब डलर थियो र २०३३ सम्म त्यो बढेर २.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
बोतलमा बिक्री गरिने पानी र पेय पदार्थका अतिरिक्त यस्तो प्याकेजिङको प्रयोग सौन्दर्य प्रशाधन, औषधि तथा रेस्टुराँ र खानेकुरा डेलिभरीजस्ता क्षेत्रमा व्यापक रूपमा हुने गरेको छ। ग्राहकहरूका लागि यस्तो प्याकेजिङ सजिलो र सस्तो विकल्प रहँदै आएको छ।
बिअरमा कस्तो असर?
सिसाको बोतल बनाउने कम्पनीहरू पनि जारी युद्धको असर झेलिरहेका छन्।
गत महिनामा, हाइनकन र कार्ल्स्बर्गजस्ता ठूला ब्रुअरीहरूको प्रतिनिधित्व गर्ने ब्रूअर्स असोसिएशन अफ इन्डियाले रोएटर्स समाचारसंस्थालाई भने अनुसार सिसाका बोतलको मूल्य झन्डै २० प्रतिशतले बढेको छ।
उसले आफ्ना सदस्य कम्पनीहरूलाई बिअरको मूल्य १२ देखि १५ प्रतिशतले बढाउनका लागि राज्य सरकारसँग अनुरोध गर्न भनेको छ। भारतमा विभिन्न राज्यहरूले मदिराको मूल्य नियमन गर्छन्।
भारतका मदिरा उत्पादक कम्पनीहरूको एउटा संस्थाले राज्यहरूलाई मूल्यवृद्धिका लागि अनुरोध गर्दै पत्राचार गरेको रोएटर्सको उक्त समाचारमा जनाइएको छ।
भिट्रम ग्लास मुख्यतया औषधि कम्पनीहरू र ब्रुअरीहरूले प्रयोग गर्ने रङ्गीन खालका सिसीहरूको अग्रणी निर्मातामध्ये एक हो।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत विथोब सेठले प्राकृतिक ग्यासको मूल्यमा देखिएको उतारचढावले सिसीहरूको मूल्य पनि बढिरहेको बताए।

तस्बिर स्रोत, Getty Images
काँचका उत्पादकहरूले आफ्नो भट्टी चलाउन प्राकृतिक ग्यास प्रयोग गर्छन्, जसले बालुवा, सोडा, खरानी, चुनढुङ्गा र पुनः प्रयोगमा ल्याइन लागिएको काँचलाई पगालेर तरल काँचको रूपमा परिणत गर्छन्।
त्यसलाई अन्तिममा चाहिएको आकारको सिसीमा परिणत गरिन्छ।
तर युद्ध सुरु भएपछि भारतले प्राकृतिक ग्याससम्बन्धी नियमहरू परिवर्तन गरेको छ। घरेलु प्रयोगलाई प्राथमिकता दिइएको छ भने केही व्यावसायिक उद्योगहरूलाई पनि महत्त्व दिइएको छ।
सेठका अनुसार प्राकृतिक ग्यासको आपूर्ति २० प्रतिशतले घटेकाले सिसी उत्पादकहरूलाई भट्टी चलाउनै गाह्रो परिरहेको छ।
भिट्रम ग्लासजस्ता केही कम्पनीहरूले उक्त सङ्कट टार्न तेलको प्रयोग गरिरहेका छन्। तर कच्चा तेलमा भएको मूल्यवृद्धिले उत्पादन लागत बढाइरहेको छ।
भारत सरकारले इन्धन आपूर्ति स्थिर रहेको दाबी गर्दै आएको छ। तर युद्ध सुरु भएयता देशभरका धेरै रेस्टुराँहरू खाना पकाउने ग्यासको अभावका कारण बन्द भएका छन्।
ऊर्जा अभावले भारतको सेरामिक्स र मल उद्योग पनि प्रभावित भएको छ। हवाई इन्धनमा भएको भारी मूल्यवृद्धिले गर्दा उड्डयन उद्योगमा झन् ठूलो सङ्कट देखिएको बताइन्छ।
सेठ भन्छन्, "स्थिति ज्यादै नाजुक छ। पानी र औषधिजस्ता वस्तु अत्यावश्यक हुन् र आपूर्तिमा थोरै मात्र कमी आउँदा पनि त्यस्को असर ठूलो हुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















