उस्तै ट्याटु खोपेका सहकर्मी जसले बिस्तारै आफूहरू दिदीबहिनी भएको चाल पाए

काशान्ड्रा म्याडिशन (बायाँ) र जुलिया टिनेटी
तस्बिरको क्याप्शन, पहिलो पटक भेट्दा काशान्ड्रा म्याडिशन (बायाँ) र जुलिया टिनेटी (दायाँ) लाई आफूहरू दिदीबहिनी भएको पत्तै थिएन
    • Author, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

काशान्ड्रा म्याडिशन र जुलिया टिनेटीबीच धेरै कुराहरू समान थिए। एउटै बारमा काम गर्ने क्रममा भेटघाट भएसँगै चाँडै उनीहरू घनिष्ठ साथी बने। तर त्यति बेला उनीहरूलाई आफूहरू वास्तवमा कति निकट छौँ भन्ने थाहै थिएन।

म्याडिशन र टिनेटी दुवै सन् १९९० को दशकमा अमेरिकाको कनेक्टिकटमा हुर्किए। बाल्यकालमा उनीहरू एकअर्कालाई चिन्दैनथे, तर उनीहरू करिब १५ मिनेटको दूरीमा मात्र बस्थे। यी दुवैलाई धर्मपुत्रीका रूपमा अपनाइएको थियो।

सानो छँदा म्याडिशन सधैँ आफूलाई जन्म दिने आमाबारे सोच्थिन् र कुनै दिन भेट्न चाहन्थिन्। आफ्नो मुस्कान वा आँखा आमाबाट विरासतमा पाए/नपाएकोबारे उनको मनमा जिज्ञासा थियो। उनलाई आफूलाई जन्म दिने परिवार क्यारेबिअनको डोमिनिकन रिपब्लिकका हुन् भन्ने थाहा थियो।

"उनीहरू अति, अति, अति गरिब थिए र मलाई पाल्न सक्ने अवस्था भएकाले मलाई धर्मसन्तानका रूपमा अरूलाई नै दिने निर्णय गरेका थिए," म्याडिशन भन्छिन्।

ठूलो भएपछि उनले आफ्नो जैविक परिवार खोज्ने प्रयास नगरेकी होइनन्, तर जन्मदर्ताको प्रमाणपत्र नभएकाले उनका सबै प्रयासहरू विफल भए।

म्याडिशन (बायाँ) र टिनेटी (दायाँ) को सानो छँदाको तस्बिर
तस्बिरको क्याप्शन, म्याडिशन (बायाँ) र टिनेटी (दायाँ) लाई सानै छँदा डोमिनिकन रिपब्लिकबाट धर्मसन्तानका रूपमा ल्याइएको थियो

आफ्नो सांस्कृतिक पहिचानको सम्झनाका लागि १९ वर्षको उमेरमा म्याडिशनले आफ्नो हातमा डोमिनिकन रिपब्लिकको झण्डाको ट्याटु बनाइन्। "डोमिनिकन हुनु मेरो लागि गर्वको कुरा हो," उनी भन्छिन्।

त्यसको पाँच वर्षपछि म्याडिशनले वेट्रेसका रूपमा एउटा बारमा काम सुरु गरिन्। त्यहीँ उनले सहकर्मी टिनेटीलाई भेटिन्। टिनेटीले म्याडिशनको हातमा खोपिएको ट्याटु ख्याल गरिन्।

रोचक कुरा चाहिँ टिनेटीले पनि डोमिनिकन रिपब्लिकको झण्डाको ट्याटु खोपाएकी थिइन्, तर त्यो हातमा नभई उनको ढाडमा थियो। उनले २२ वर्षको छँदा आफू जन्मिएको स्थानको सम्झनाका रूपमा त्यो ट्याटु बनाएकी थिइन्।

यी दुईले एकअर्कालाई धर्मसन्तानका रूपमा ग्रहण गरिएको कुरा चाँडै नै थाहा पाए।

"हो, मलाई धर्मसन्तानका रूपमा त्यहाँबाट ल्याइएको हो.... मैले यस्तै केही भनेँ," टिनेटी भन्छिन्, "अनि उनले... 'पख पख...मलाई पनि त्यहीँबाट ल्याइएको हो' भनिन्। त्यो सुनेर मलाई अचम्म लाग्यो।"

त्यसपछि उनीहरूले मानिसहरूलाई सोध्न थाले, "'के हामी उस्तै देखिन्छौँ ?' अनि उनीहरूले पनि 'हो, तिमीहरू दुवै उस्तै देखिन्छौ' भन्न थाले," टिनेटी सम्झिन्छिन्।

रमाइलो रमाइलोमै मानिसहरूलाई उनीहरूले आफूहरू दिदीबहिनी भएको बताउन थाले। म्याडिशन त अझ उस्तै देखिन मिल्दोजुल्दो लुगा लगाउन समेत भन्थिन्।

पहिलोपटक बुवालाई भेट्ने क्रममा अँगालो मार्दै टिनेटी र पृष्ठभूमिमा अन्य
तस्बिरको क्याप्शन, यी दिदीबहिनीलाई भेट्न पूरै परिवार विमानस्थल आउँदा भावनात्मक माहोल बनेको थियो

त्यो सब मजाक मजाकमा भयो। तर एक समय उनीहरूलाई आफूहरू सायद आफन्त हुन सक्ने विचार आयो। त्यसपछि उनीहरूले आफ्ना धर्मसन्तानसम्बन्धी कागजातहरू केलाउने निर्णय गरे। तर त्यसमा कतै पनि उनीहरू दिदीबहिनी भएको सङ्केत थिएन। कागजातका अनुसार उनीहरूको जन्म फरकफरक ठाउँमा भएको थियो र जन्म दिने आमाहरूको थर पनि एउटै थिएन।

त्यसको केही समयपछि दुवैले नयाँ जागिर पाए र अलगअलग ठाउँमा बस्न थाले। टिनेटी कनेक्टिकटमै बसिन् भने म्याडिशन भर्जिनिया सरिन्। उनीहरू सम्पर्कमा त थिए, तर दूरीले गर्दा पहिलेको तुलनामा दूरी बढ्यो।

त्यसको धेरै वर्षपछि म्याडिशनले क्रिसमस उपहारका रूपमा एउटा आनुवंशिक परीक्षण (जिनेटिक टेस्टिङ) गर्ने किट प्राप्त गरिन्। त्यसको माध्यमबाट उनले आफ्नो एक जना 'कजन' फेला पारिन्, जसले उनलाई उनको जन्म दिने आमा सन् २०१५ मै बितिसकेको खबर दिइन्। त्यो समाचारले उनलाई अत्यन्त दुःखी बनायो, तर ती 'कजन'ले उनलाई परिवारका धेरै अन्य सदस्यहरू र यहाँसम्म कि जन्म दिने बाबु पत्ता लगाउन समेत मद्दत गरिन्।

ती 'कजन'ले उनलाई म्याडिशन सानी छँदा उनका जन्म दिने आमाबाबुले निकै कठिन परिस्थितिको सामना गर्नु परेको बताइन्।

साथै उनले म्याडिशनलाई जन्म दिने बुबा एड्रिआनो लुना कोलाडोसँग फोनमा कुरा गर्ने व्यवस्था समेत मिलाइन्। उनले म्याडिशनलाई आफूले धर्मसन्तानका रूपमा दिनुपरेको अवस्थाबारे सुनाए। उनका अनुसार उनको परिवार यति गरिब थियो कि उनीहरू भुइँमै यत्तिकै सुत्दथे।

म्याडिशन आमाको गर्भमै हुँदा उनका जेठा दाजु गम्भीर रूपमा बिरामी भएका थिए र त्यस कठिन अवस्थामा परिवारलाई बचाउने अन्तिम उपाय ठानेर उनका बुबाले म्याडिशनलाई धर्मसन्तानका रूपमा दिने निर्णय गरेका थिए।

त्यसपछि म्याडिशनले छिट्टै डोमिनिकन रिपब्लिक जाने योजना बनाउन थालिन्।

उनलाई स्वागत गर्न उनी जन्मिएको परिवारका सबैजना विमानस्थलमा जुटेका थिए। उनीहरू सबैले उनको तस्बिर अङ्कित टिसर्ट लगाएका थिए।

म्याडिशन हाम्फालेर आफ्नो बुबालाई अँगालो मार्न पुगिन् अनी उनीहरू दुवै एकअर्कालाई अँगालेर रोए।

त्यो यात्रा आफैँमा अत्यन्त सुन्दर थियो, त्यसमाथि घर फर्किएसँगै कथामा अर्को अप्रत्याशित मोड आयो।

मौली नामकी एक महिला म्याडिशनको सम्पर्कमा आइन्। उनी टिनेटीकी बाल्यकालकी सबैभन्दा मिल्ने साथी थिइन्। तिनका आमाबाबु धर्मसन्तान ग्रहण गर्न अमेरिकाबाट डोमिनिकन रिपब्लिकसम्म पुगेका थिए।

मौलीलाई आफू म्याडिशनको जैविक दिदीबहिनी भएको विश्वास थियो। किनकि दुवैको जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम एउटै थियो। तर डीएनए परीक्षणले उनीहरू दिदीबहिनी नभई टाढाका आफन्त मात्र भएको देखायो। साथै जन्मदर्तामा उल्लेखित नाम गलत रहेको पनि थाहा भयो।

तथापि मौलीसँग म्याडिशनलाई जन्म दिने आमाको एउटा तस्बिर थियो। ती महिला टिनेटीसँग दुरुस्तै मिल्दोजुल्दो देखिने भन्दै उनले म्याडिशन र टिनेटी वास्तवमै दिदीबहिनी भएकोमा जोड दिइन्।

जैविक पितासँग म्याडिशन र टिनेटी अनि साथमा म्याडिशनकी सानी छोरी
तस्बिरको क्याप्शन, जैविक पितासँग म्याडिशन र टिनेटी अनि साथमा म्याडिशनकी सानी छोरी

त्यसपछि म्याडिशनले आफ्ना जैविक बुबालाई भिडिओ कल गरेर अर्को शिशुलाई धर्मसन्तानका रूपमा दिए नदिएको सोधिन्।

"उहाँ कसैले उहाँको सास नै खोसिदिए जस्तो देखिनुभयो," म्याडिशन भन्छिन्, "अनि उहाँले 'हो, मैले दिएको थिएँ' भन्नुभयो। अनि मैले भनेँ, 'हे भगवान्! तपाईँले यो कुरा मलाई कहिल्यै बताउनुभएन।"

यो नयाँ खुलासापछि म्याडिशनले समय खेर फाल्न चाहिनन्। सक्दो चाँडो उनले आनुवंशिक परीक्षण (जिनेटिक टेस्टिङ) गर्ने अर्को किट ल्याइन् र आठ घण्टाको यात्रा गर्दै टिनेटी बस्ने ठाउँमा पुगिन्।

परीक्षणको नतिजा आउन साढे दुई साता लाग्यो। त्यो प्रतीक्षा दुवैका लागि अत्यन्त पीडादायी थियो र नतिजाको प्रतीक्षामा उनीहरूले काममा ध्यान केन्द्रित गर्न पनि सकेनन्।

अन्ततः जसै नतिजा आयो, टिनेटीले उक्त सन्देश खोलिन्। त्यहाँ स्पष्टसँग लेखिएको थियो– उनी र म्याडिशन साख्खै दिदीबहिनी थिए।

"साँच्चै भन्नुपर्दा, यो दिमाग खराब हुने जस्तो अचम्मकै कुरा थियो," टिनेटी भन्छिन्, "हामी दिदीबहिनी रहेछौँ, तर यतिञ्जेलसम्म हामीलाई थाहै थिएन।"

आफूहरू दिदीबहिनी भएको थाहा पाएर म्याडिशन रोइन्। उनले आफ्ना बुबालाई खबर गरिन्। उनी पनि अत्यन्त खुशी भए। उनी सकेसम्म चाँडो टिनेटीलाई भेट्न चाहन्थे।

त्यसपछि दुवै दिदीबहिनीले सँगै डोमिनिकन रिपब्लिक जाने योजना बनाए।

उनीहरू त्यहाँ पुग्दा पुन: सम्पूर्ण परिवार विमानस्थलमा उनीहरूको प्रतीक्षामा जुटेको थियो। यसपटक उनीहरूले दिदीबहिनी दुवैको तस्बिर भएको टीसर्ट लगाएका थिए।

उनीहरूका बुबा टिनेटीको नजिकै आए अनि उनलाई बलियोसँग अँगालो हालेर भने, "मेरी छोरी।"

म्याडिशन र टिनेटीको तस्बिर छापिएको तस्बिर
तस्बिरको क्याप्शन, म्याडिशन र टिनेटीलाई स्वागत गर्दा परिवारजनले "तिम्रो परिवारमा स्वागत छ" लेखिएको टीसर्ट लगाएका थिए

उनीहरूले दिदीबहिनीका रूपमा सँगै गरेको यो पहिलो यात्रा खुशी र नाचगानले भरिएको थियो।

आफ्ना छोरीहरूसँग पुनर्मिलन हुनु भगवानले दिएको सबैभन्दा ठूलो उपहार भएको कोलाडो बताउँछन्।

"म धेरै अनि वास्तवमै खुशी छु। उनीहरू मलाई भेट्न आउँदा मेरो मन खुशीले भरिन्छ। हामी उनीहरूलाई माया र स्नेहका साथ स्वागत गर्छौँ," उनी भन्छन्, "यो एउटा सुन्दर कथा हो। सबैले यस्तो कथा सुनाउने अवसर पाउँदैनन्।"

बीबीसी वर्ल्ड सर्भिसको 'आउटलुक' कार्यक्रमको एउटा श्रृङ्खलामा आधारित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।