एक महिला दुई व्यक्तिबाट एकैपटक गर्भवती भएको दुर्लभ घटना

पेटमा हात राखेर ओछ्यानमा पल्टिएकी एक गर्भवती महिला
    • Author, स्यान्टियागो भानेगास
    • Role, बीबीसी मुन्डो
  • Published
  • पढ्ने समय: ५ मिनेट

सन् २०१८ मा एक महिला आफ्ना दुईवर्षे जुम्ल्याहा छोराका बुवा को हुन् भनेर निधो गर्न न्याश्नल यूनिभर्सिटी अफ कोलम्बियास्थित ल्याब्रटोरी अफ पप्युलेशन जनेटिक्स पुगिन्।

उक्त प्रयोगशालाले नियमित 'प्याटर्निटी टेस्ट' गर्‍यो र उक्त परीक्षण दोहोर्‍यायो। परिणाम निकै अचम्मलाग्दो भएकाले त्यहाँका विज्ञहरू पूर्णतः निश्चित हुन चाहन्थे। ती बच्चालाई एउटै आमाले जन्म दिएकी भए पनि उनीहरूका बुवा भने भिन्न थिए।

यो निकै दुर्लभ घटना हो। यसलाई 'हेटरोप्याटर्नल सूपर्फिकन्डेशन' भनिन्छ। विश्वभरिको वैज्ञानिक अभिलेखमा अहिलेसम्म यस्ता २० वटा घटना मात्र परेको देखिन्छ।

कोलम्बियाको उक्त विश्वविद्यालयका विज्ञहरूलाई यस्तो घटना सम्भव छ भन्ने सैद्धान्तिक ज्ञान थियो तर उनीहरूले आफैँले प्रत्यक्ष भने देखेका थिएनन्।

आफ्नै प्रयोगशालामा त्यस्तो घटना पुष्टि गर्ने प्रमाण आइपुगेपछि वैज्ञानिकहरूमा त्यसबारे चासो जाग्यो।

कसरी पत्ता लाग्यो

अल्ट्रासाउन्ड गराउन बसेकी एक गर्भवती महिला, नजिकै एउटा मनिटर पनि देखिन्छ

पितृत्व परीक्षणका लागि उक्त प्रयोगशालाका वैज्ञानिकहरू 'माइक्रोस्याटलाइट मार्कर' भनिने प्रविधि प्रयोग गर्छन्।

सामान्य भाषामा भन्नु पर्दा उक्त प्रविधिमा बच्चा, आमा र बुवा भन्ठानिएको व्यक्तिबाट सङ्कलित डीएनएका ससाना टुक्राहरू विश्लेषण गरिन्छ र दाँजिन्छ।

"हामी प्रत्येक व्यक्तिको डीएनए लिएर माइक्रोस्याटलाइट भनिने १५ देखि २२ बिन्दुसम्म जाँच्छौँ अनि तिनलाई एकएक गरी दाँज्छौँ," उक्त प्रयोगशालाका निर्देशक प्रा विलिअम उसाकेनले बीबीसी मुन्डोसँग भने।

तर यो प्रक्रिया त्यति सरल भने छैन।

औँलामा घोचेर रगतको नमुना निकालेपछि वैज्ञानिकहरू एउटा रासायनिक प्रक्रिया गरेर रगतमा अन्य अवयवबाट निकै सानो मात्रामा डीएनए छुट्ट्याउँछन्।

इलेक्ट्रफरेसिस प्रक्रिया र चम्किलो स्क्रीनमाथि पन्जा लगाएका दुई हात

त्यसपछि विशेष खालको उपकरणमा राखेर डीएनएको परिमाण बढाइन्छ।

त्यसबाट प्राप्त हुने तरल पदार्थलाई 'फ्लोरेसन्ट डाइ' अर्थात् विशेष खालको चम्किलो रङ्गसँग मिसाइन्छ। त्यसो गर्दा विश्लेषण गर्न लागिएका १५ देखि २२ वटा माइक्रोस्याटलाइट बिन्दुहरू चिह्नित हुन्छन्।

त्यसपछि प्रत्येक नमुनामा भएका माइक्रोस्याटलाइटहरू पहिचान गर्ने अर्को यन्त्रमा राखिन्छ। त्यसमा इलेक्ट्रफरेसिस भनिने प्रक्रिया सञ्चालन गर्दा माइक्रोस्याटलाइटहरू सङ्ख्यात्मक अनुक्रममा देखा पर्छन्।

ती सङ्ख्यात्मक अनुक्रमका आधारमा विज्ञहरूले डीएनएको नमुना जाँचिएको व्यक्ति र बच्चा बाबुछोरा हुन् कि हैनन् भनेर निर्क्योल गर्छन्।

बच्चाको आधा आनुवंशिक प्रोफाइल आमासँग मिल्छ। बाँकी आधा प्रोफाइल जुन पुरुषसँग मिल्छ त्यो व्यक्ति नै उसको बुवा भएको पुष्टि हुन्छ।

असाधारण परिणाम

ढाड देखाएर उभिएका दुई बालक
तस्बिरको क्याप्शन, परीक्षणका आधारमा वैज्ञानिकहरूले जुम्ल्याहा दाजुभाइका पिता भने भिन्न रहेको निष्कर्ष निकाले

कोलम्बियाका जुम्ल्याहा बालकका सन्दर्भमा वैज्ञानिकहरूले उनीहरूको, उनीहरूकी आमाको र परीक्षणका लागि आएका अनि भन्ठानिएका व्यक्तिको डीएनएमा भएका १७ वटा माइक्रोस्याटलाइटको विश्लेषण गरेका थिए।

परीक्षणका क्रममा ती व्यक्तिको डीएनए जुम्ल्याहामध्येका एक बालकसँग मात्र मिल्यो अर्का बालकसँग मिलेन। यो परिणाम असाधारण थियो।

"म विगत २६ वर्षदेखि यो प्रयोगशालाको निर्देशक छु। अनि यो अहिलेसम्म हामीले देखेको पहिलो र एकमात्र घटना हो," उसाकेन भन्छन्।

"हामीले अरू रिपोर्टहरूमा यस्ता घटना हुने गरेको सुनेका थियौँ, तर विश्वभरि यसको सङ्ख्या निकै कम छ," वंशाणुशास्त्री आन्ड्रिया कासास भन्छिन्। उनी न्याश्नल यूनिभर्सिटी अफ कोलम्बियाको इन्स्टिट्यूट अफ जनेटिक्ससँग आबद्ध अनुसन्धानकर्ता हुन्।

कुनै त्रुटि नभएको निश्चित गर्न प्रयोगशालाका प्राविधिकहरूले दोहोर्‍याएर परीक्षण र विश्लेषण गरे। फेरि पनि परिणाम उही आयो।

किन दुर्लभ

उभिएका दुई पुरुष र एक महिला, उनीहरूले एकअर्काको हात समातेका छन्

संयुक्त राज्य अमेरिकाको बाल्टिमोरस्थित एउटा प्रयोगशालाका वैज्ञानिकहरूले सन् २०१४ मा प्रकाशित गरेको एउटा शोधपत्रका अनुसार ३९,००० वटा पितृत्व परीक्षणको डेटाबेसमा 'हेटरोप्याटर्नल सूपर्फिकन्डेशन'का तीन घटना मात्र पुष्टि भएका थिए।

उसाकिन यस्तो जैविक घटना किन दुर्लभ हुन्छ भनेर बताउँछन्।

"पहिलो, महिलाले दुई जनासँग सम्भोग गर्ने गरेको हुनुपर्‍यो। दोस्रो, उनले निकै छोटो समयावधिमा दुवै जनासँग सम्बन्ध राखेको हुनुपर्‍यो। त्यसबाहेक [एउटै मासिक चक्रमा] उनको शरीरमा एउटाभन्दा बढी डिम्ब बनेको हुनुपर्‍यो।"

"अनि दुइटै डिम्ब [शुक्राणुबाट] निषेचित भएको हुनुपर्‍यो," उसाकेन भन्छन्। "एकपछि अर्को दुर्लभ घटना लगातार हुँदा मात्र यसो हुन सम्भव छ।"

भिन्न पुरुषबाट जन्मिने जुम्ल्याहाहरू कहिल्यै पनि उस्तै देखिँदैनन्।

व्यक्तिगत जीवन

एउटै मासिक चक्रमा महिलाको शरीरमा एउटाभन्दा बढी डिम्ब बनेको छ र एउटा मात्रै निषेचित भएको छ भने बाँकी अरू डिम्बहरू चाँडै छिप्पिन्छन् र मर्छन्।

'सूपर्फिकन्डेशन हुन' अर्को डिम्ब सकुशल हुँदा नै त्यो निषेचित हुनुपर्छ। तर त्यो हतपत हुँदैन। त्यसैले पनि यो सूपर्फिकन्डेशनलाई दुर्लभ मानिन्छ।

यूएस न्याश्नल लाइब्ररी अफ मेडिसिनका अनुसार डिम्ब डिम्बाशयबाट निस्किएको २४ घण्टाभन्दा कम समय मात्र जीवित रहन्छ।

आन्ड्रिया कासासका अनुसार यद्यपि डिम्बहरू एकै समयमा निस्किन्छन् भन्ने छैन।

"कहिलेकाहीँ एउटा डिम्बाशयले एउटा डिम्ब निकाल्छ अनि दुई वा तीन दिनपछि अर्को," उनी भन्छिन्।

उनका अनुसार त्यो हुँदा यसबाट फरकफरक समयमा डिम्ब निषेचन हुने सम्भावना पनि बढ्छ।

अधिकांश मानिसहरूले प्याटर्निटी टेस्ट नगराउने भएकाले पनि हेटरोप्याटर्नल सूपर्फिकन्डेशनका घटनाहरू निकै न्यून सङ्ख्यामा पहिचान भएका छन्।

वैज्ञानिकहरू कस्तो परिस्थितिमा यस खालको गर्भधारण हुन्छ भनेर बुझ्न उत्सुक छन् तर अनुसन्धानसँग सम्बन्धित नैतिक विषयले गर्दा अरूको व्यक्तिगत जीवनबारे सोधखोज गर्न पाइँदैन।

"सम्बन्धित व्यक्तिहरूको गोपनीयता र सम्मानलाई ध्यान दिएर मात्रै प्याटर्निटी टेस्ट गरिन्छ," उसाकेन भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।