चीनमा जासुसीको आरोपमा ७८ वर्षीय अमेरिकी नागरिकलाई आजीवन कैद सजाय

हङकङ
    • Author, ग्यारेथ इभान्स
    • Role, बीबीसी न्यूज
  • Published

एक चिनियाँ अदालतले ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोप लगाउँदै आजीवन कारावासको सजाय सुनाएको छ।

हङकङका स्थायी बासिन्दा जोन शिङ्-वान लिअङ्लाई सोमवार जेल चलान गरिएको हो।

दक्षिणपूर्वी सहर सुजोस्थित एक अदालतले उनीविरुद्धका आरोपबारे थप जानकारी दिएन।

अदालतद्वारा जारी विज्ञप्तिमा चीनको प्रतिगुप्तचरी निकायको स्थानीय ब्युरोले लिअङ्लाई दुई वर्षअघि नै पक्राउ गरेको जनाइएको छ।

उनलाई “जासुसीको कसुरमा दोषी पाइएको र राजनीतिक अधिकारबाट समेत वञ्चित रहने गरी आजीवन कैद सुनाइएको” चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक इन्टरमिडियट पिपल्स कोर्टको विज्ञप्तिमा उल्लेख छ।

गिरफ्तारीको समयमा लिअङ् कहाँ बस्थे भन्ने कुरा अस्पष्ट थियो।

बेइजिङस्थित अमेरिकी दूतावासका एकजना प्रवक्ताले यस खबरबारे आफूहरू जानकार रहेको बताए।

redline
redline

“विदेश मन्त्रालयका लागि विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन,” उनले भने।

चीनमा बन्द इजलास सामान्य प्रक्रिया हो र त्यहाँ विशेषगरी जासुसीको आरोपजस्ता संवेदनशील घटनाहरूबारे आम मानिसलाई निकै कम जानकारी दिइन्छ।

यद्यपि, विदेशी नागरिकका लागि यति कठोर सजाय तुलनात्मक रूपमा बिरलै दिइन्छ।

आगामी जुलाईदेखि चीनमा नयाँ नियम लागु हुँदै छ जसले चीनको जासुसी सम्बन्धी नियम थप फराकिलो बनाउँछ।

त्यसले चिनियाँ अधिकारीहरूले राष्ट्रिय सुरक्षासँग सम्बन्धित भनिएका तथ्याङ्कहरू हस्तान्तरण गर्न प्रतिबन्ध लगाउँछ।

लिअङ्को कैद सजायले चीन र अमेरिकाबिचको सम्बन्ध झनै तनावपूर्ण बन्न सक्ने देखिन्छ।

यी दुई देशबीचको सम्बन्ध सन् २०१८ मा चीनविरुद्ध व्यापार युद्ध सुरु गरेयता पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा बिग्रिएको थियो।

यी दुई महाशक्तिहरू- ताइवान, दक्षिण चीन सागरमा चिनियाँ सैन्यिकरण र कोभिडको उत्पत्तिलगायत विभिन्न मुद्दाहरूमा विवादरत छन्।

गत फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बलुनलाई खसालेपछि उनीहरूबिचको तनाव झनै चुलिएको थियो।

उक्त बलुनलाई बेइजिङले मौसम निगरानी गर्ने उपकरण भएको दाबी गर्दै आएको छ।