आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ

मोडल मराइका आफूले कैयौँ सेवा सुविधा निःशुल्क प्राप्त गर्ने गरेको बताउँछिन्
तस्बिरको क्याप्शन, मोडल मराइका आफूले कैयौँ सेवा सुविधा निःशुल्क प्राप्त गर्ने गरेको बताउँछिन्
Published

केप टाउनकी फेशन मोडल मराइका आफूले प्राय निःशुल्क पेय, खाना अनि कार्यक्रमका टिकट पाउने गरेको बताउँछिन्।

तर किन? त्यसको कारण उनी कस्तो देखिन्छिन् भन्ने कुरासँग सम्बन्धित रहेको मराइकाको भनाइ छ।

''सायद केही मानिसहरूले यो उचित हो भन्ने सोच्दैनन् होला,'' लामो खैरो कपाल, अग्लो कद अनि पातली ती मोडलले बीबीसीको बिजनेस डेली रेडिओ कार्यक्रमसँग भनिन्।

''तर तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै देखिनुहुन्छ र त्यसमा तपाईँ गर्व गर्नुहुन्छ अनि त्यो बनोट कायम राख्नका लागि मिहिनेत गर्नुहुन्छ भने तपाईँलाई यी सबै निःशुल्क अनुभव अनि सुविधाहरू प्रस्ताव गरिन्छ … मलाई लाग्छ की तपाईँले त्यो स्वीकार गर्नुपर्छ र त्यसको आनन्द लिनुपर्छ,'' उनले व्याख्या गरिन्।

कैयौँ अध्ययनले आकर्षक मानिसहरूका लागि जीवन सहज अनि फाइदाजनक रहेको पुष्टि गरेसँगै तपाईँ हामीले स्वीकार गरे पनि, नगरे पनि सौन्दर्य प्रतिको पूर्वाग्रह हलिउड, सामाजिक सञ्जाल अनि विज्ञापन भन्दा निकै परसम्म फैलिएको छ।

तर राम्रा देखिने मानिसहरूको अवस्था कतिसम्म राम्रो छ त?

सामाजिक सञ्जालको शक्ति

सामाजिक सञ्जालमा प्रवर्द्धन गर्नका लागि 'राम्रा देखिने' मानिसहरूलाई ब्रान्डहरूले निःशुल्क सामग्री उपलब्ध गराउने गर्छन्
तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा प्रवर्द्धन गर्नका लागि 'राम्रा देखिने' मानिसहरूलाई ब्रान्डहरूले निःशुल्क सामग्री उपलब्ध गराउने गर्छन्

संसारभरका मानिसहरूले सामाजिक सञ्जालमा यसै विषयमा छलफल गरिरहेका छन्। एक जना महिलाले त आफ्नो योग्यता माग गरिए भन्दा कम रहे पनि आकर्षक भएकै कारण जागिरका लागि अन्तर्वार्तामा बोलाइएको आफूले ठानेको बताइन्।

सामाजिक सञ्जालले दुवै पुरुष अनि महिलालाई उनीहरूको आकर्षक बनावटकै आधारमा घरबाट बाहिर ननिस्किएर जीवन निर्वाह गर्न सक्षम बनाएको छ।

''आकर्षक सुविधाहरू साँच्चै बढेका छन्। र यसको मुख्य कारक इन्स्टाग्राम हो,'' मराइका भन्छिन्। ब्रान्डहरूले परम्परागत सञ्चारमाध्यम नपच्छ्याउने युवाहरू समक्ष पुग्नका लागि एक अर्कासँग प्रतिस्पर्धा गर्छन्।

''कुनै निश्चित ब्रान्डले तपाइलाई निकै धेरै निःशुल्क सामाग्री पठाउन सक्छ। र तपाइले गर्नुपर्ने भनेको इन्स्टाग्राममा सेयर गरेर त्यो ब्रान्ड प्रति प्रभाव बढाउनुपर्छ,'' उनले थपिन्।

रेस्टुराँ उद्घाटन लगायतका विभिन्न कार्यक्रमहरूमा आफूलाई निमन्त्रण गरिने मराइका बताउँछिन्।

''तपाइको काम भनेको त्यहाँ पुग्नु र आनन्द लिनु हो। यो उनीहरू (आयोजक)का लागि राम्रो हुन जान्छ किनकि उनीहरूको रेस्टुराँमा राम्रा केटीहरू रमाइरहेको तस्बिर कैद हुन्छ।''

व्यक्तिगत तवरमा मराइका उपहार र आफूमा केन्द्रित मानिसहरूको ध्यानमा आफू रमाउने गरेको बताउँछिन्।

''मोडल अनि आकर्षक भएका कारण यी सबै निःशुल्क अनुभव अनि अवसर प्राप्त गर्नु निकै गज्जब लाग्छ। किनभने प्रमुख सहरमा बस्दा तपाइले धेरै कुराका लागि खर्च जुटाउनुपर्ने हुन्छ।''

राम्रा देखिने व्यक्तिहरूको अवस्था कति राम्रो हुन्छ त?

एक जना अर्थशास्त्रीका अनुसार राम्रा मानिने पुरुषहरूले आकर्षक महिलाहरू भन्दा बढी कमाउँछन्
तस्बिरको क्याप्शन, एक जना अर्थशास्त्रीका अनुसार राम्रा मानिने पुरुषहरूले आकर्षक महिलाहरू भन्दा बढी कमाउँछन्

डयानियल हामरमेश युनिभर्सिटी अफ टेक्ससका श्रम सम्बन्धी विषयका अर्थशास्त्री हुन्। उनले ''बिउटी बाएस'' अर्थात् सौन्दर्यका कारण हुने विभेदबारे वर्षौँ देखि अध्ययन गरीरहेका छन्।

आकर्षक मानिने मानिसहरूले बढी तलब पाउने, उनीहरूलाई ब्याङ्कहरूबाट ऋण प्राप्त गर्न सहज हुने र राम्रो रोजगारीको प्रस्ताव अनि लाभ प्राप्त गर्ने उनी बताउँछन्।

''हामीले राम्रा मान्ने व्यक्तिले राम्रै काम गरिरहेका हुन्छन् र उनीहरूले गरेको कामबाट प्रतिफल पनि राम्रो पाउँछन्,'' हामरमेश भन्छन्।

'बिउटी बाएस' नसोचिएका रोजगारीमा समेत कायम रहेको जानकारहरू बताउँछन्
तस्बिरको क्याप्शन, 'बिउटी बाएस' नसोचिएका रोजगारीमा समेत कायम रहेको जानकारहरू बताउँछन्

''राम्रो देखिने कुराले धेरै प्रभाव नपार्ने ठानिने विश्वविद्यालयमा अध्यापनको कुरामा पनि राम्रा हुनुले फरक पार्छ। केही अध्ययनहरूले राम्रा देखिने अर्थशास्त्रीहरूले बढी कमाइ गर्ने देखाएको छ।''

राम्रो देखिने कारिन्दाले आफ्नो जीवनकालमा २३०,००० डलर (प्रति घण्टाको बेतन २० डलर रहेको अनुमानमा आधारित) बढी आम्दानी गर्ने उनले अड्कल गरेका छन्।

उदाहरणका लागि यदि यो नमुना हेज फन्ड म्यानेजर वा इन्भेस्टमेन्ट ब्याङ्करको हकमा लागु गर्ने हो भने राम्रो देखिने र औसत देखिने मानिसहरूबीचको बेतनको खाडल निकै ठूलो हुने थियो।

उनले राम्रो देखिने मानिसहरूमा पनि लिङ्गका आधारमा पारिश्रमिकमा अन्तर रहेको स्वीकार गरे। राम्रा देखिने पुरुषले आकर्षक महिलाको तुलनामा बढी कमाइ गर्ने हामरमेशले पाए। खासै राम्रा नदेखिने पुरुषले आकर्षक महिला समकक्षीको तुलनामा १० प्रतिशत कम पारिश्रमिक पाउने भए पनि महिलाको हकमा भने त्यस्तो भिन्नता झन्डै पाँच प्रतिशत रहेको उनले पाएका छन्।

हामरमेशका अनुसार व्यक्तित्व, बौद्धिकता, शिक्षा, उमेर, लिङ्ग अनि जातले पनि पारिश्रमिकमा फरक पार्नसक्छ तर सौन्दर्यको विषय भने यी सबै कुराहरू भन्दा फरक रहेको उनको तर्क छ।

राम्रो देखिनुको परिभाषा के हो?

मोडल

सौन्दर्यलाई परिभाषित गर्न निकै कठिन रहेको धेरैले बताउने गरेको भए पनि हामरमेश त्यस्तो भनाइप्रति सहमत छैनन्।

उनका अनुसार को ''राम्रो देखिन्छ'' र को ''कम राम्रो देखिन्छ'' भन्ने विषयमा धेरै मानिसहरूले एउटै धारणा बनाउन सक्छन्।

''यदि तपाइ र म सँगै बाटोमा गएर १० जनालाई हेर्‍यौँ र त्यसमा एक वा दुई जना निकै राम्रा देखिने व्यक्ति देख्यौ भने राम्रा देखिने मानिसबारे हामी लगभग सहमत हुनेछौँ,'' उनले भने। सौन्दर्यमा आधारित रहेर हुने विभेदमा जातको प्रभाव नरहने पनि उनको तर्क छ।

''विभिन्न जातजातिमा हाम्रो सौन्दर्य प्रतिको दृष्टिकोण आज उल्लेखनीय रूपमा समान छ। राम्रो देखिने अफ्रिकी महिलालाई विश्वका सबैले राम्रो देखिने नै मान्छन्। एशियाली वा काकेसियन महिलाको हकमा पनि त्यही कुरा नै लागु हुन्छ।''

सुन्दर मुहार अनि 'फ्याट फोबिया'

फिलर

'बोटक्स' र 'लीप फिलर्स' जस्ता कस्मेटिक विधि अनुहारका विशेषता बढाउनका लागि बढ्दो रूपमा लोकप्रिय तरिका बन्दै गएका छन्। तर उक्त विधिले कुनै व्यक्तिलाई राम्रो बनाउने कुरामा हामरमेशभने सहमत छैनन्।

''यी कुराहरूले सहयोग गर्ने मानिसहरूले सोच्छन्। उनीहरूले राम्रो लुगा र कस्मेटिक सामग्री किन्ने अनि राम्रो कपाल बनाउन सक्छन्। तर साङ्घाइमा महिलाहरूबारे गरिएको एक अध्ययनले भने सौन्दर्यका लागि बढी खर्च गर्नेहरू कम खर्च गर्नेहरूको तुलनामा निकै कम राम्रा रहेको रूपमा हेरिने गरेको पाएको छ।''

सौन्दर्य र जागिरको कुरा गर्दा मोटा व्यक्तिहरूप्रति गरिने विभेद व्यापक रहेको लेखक एमिली लोरेन डिक बताउँछिन्।

धेरैजसो देशहरूका श्रम कानुनहरूले जाति, लिङ्ग, अपाङ्गता र उमेर जस्ता विषयहरूमा आधारित कुनै पनि भेदभावलाई निषेध गरेको भए पनि शारीरिक आकर्षणको कुरामा कुनै पनि किसिमको नीति नभएको उनी ठान्छिन्। कार्यस्थल नीतिहरूमा परिवर्तनको आवश्यकता अनि अव्यक्त रूपमा हुनसक्ने विभेदबारे तालिम हुनुपर्ने विषयमा एमिलीले पैरवी गर्दै आएकी छिन्।

''फ्याट फोबिया जुन मोटो शरीरको डर वा त्यस प्रतिको घृणा हो त्यो विभेद हो,'' उनी भन्छिन्।

''जब दास प्रथा सुरु भयो श्वेत महिलाहरूलाई अश्वेत महिलाहरूबाट आफूलाई भिन्न देखाउने तरिकाको आवश्यकता पर्‍यो र पातलो शरीर त्यसको उत्तर बन्न पुग्यो,'' ती क्यानडेली लेखक भन्छिन्।

उनका अनुसार विज्ञापन र चलचित्रहरूमा मोटो शरीर भएका व्यक्तिहरूलाई ''नरुचाइने अनि बुद्धि नभएको'' मानिसका रूपमा चित्रित गरिन्छ र त्यस्तो चित्रणले उनीहरूलाई खिसी अनि उत्पीडनको सिकार बनाउन सक्छ।

"मोटा व्यक्तिहरूले पातलो शरीर भएका कर्मचारीहरू जत्तिकै कमाउने सम्भावना कम हुन्छ र यो उनीहरूबारेको धारणा र योग्यता नै त्यति नै रहेको कुरासँग जोडिएको छ," उनी भन्छिन्।

यूकेको शेफिल्ड हालेम युनिभर्सीटीले गरेको एउटा पछिल्लो अध्ययनले पनि उनको कुरालाई वैज्ञानिक रूपमा बल दिए जस्तो देखिन्छ।

अध्ययनमा कर्मचारीहरूलाई लगभग उस्तै विवरण सहितका 'बायो डेटा' उपलब्ध गराइएको थियो। पहिलो पटक उपलब्ध गराइएका व्यक्तिगत विवरणमा मोटो शरीर भएका मानिसहरूको तस्बिर थियो भने दोस्रो पटक दिइएकोमा पातलो शरीर भएका मानिसहरूको तस्बिर।

नतिजा हेर्दा पातला मानिसहरू प्रति स्पष्ट झुकाव देखिन्थ्यो।

विश्व स्वास्थ्य सङ्गठनले विश्वभर औषतभन्दा मोटा व्यक्तिहरूको सङ्ख्या एक अर्ब नाघेको अनुमान गर्दै गर्दा अहिलेको समय तौल र सौन्दर्यबारे हाम्रा अचेतन पूर्वाग्रहलाई चुनौती दिने उपयुक्त समय रहेको देखिन्छ।

'पुस ब्याक'

मारिक
तस्बिरको क्याप्शन, मारिक

सौन्दर्यको आधारमा गरिने विभेद नयाँ कुरा होइन।

र यसले हलिउडका चर्चित हस्तिहरूदेखि हामी जस्ता सामान्य मानिसलाई वर्षौँ देखि प्रभावित पारेको छ।

तर राम्रा देखिने मानिसहरू प्रति समाजको विरोध देखिन थालेको र फेसन उद्योगमै अपेक्षाहरू पनि परिवर्तन भइरहेको मराइका बताउँछिन्।

"आजभोलि मानिसहरूको आफ्नै कथा भएका मोडल, कलाकार वा अभिनेता प्रति बढी रुचि छ। व्यक्तित्व निकै महत्त्वपूर्ण भएको छ।"

बीबीसी विश्व सेवाको बिजनेस डेली रेडियो कार्यक्रममा आधारित