ब्रिटेन राजतन्त्रः राजा चार्ल्सको राज्याभिषेकमा प्रयोग हुने जीर्ण अवस्थाको कुर्सीको मर्मतसम्भार

Coronation chair
तस्बिरको क्याप्शन, संरक्षणविज्ञ क्रिस्टा ब्लेस्लीले राज्याभिषेक कुर्सीलाई एकदमै जीर्ण र कमजोर बताएकी छन्
    • Author, सन कख्लान
    • Role, शाही सम्वाददाता
  • Published

ब्रिटेनमा गद्दीनसिन शासकहरूको राज्याभिषेकमा प्रयोग हुँदै आएको मध्ययुगीन कुर्सीको जोडतोडका साथ मर्मतसम्भार गरिँदैछ। त्यसलाई राजा चार्ल्स तृतीयको ताजपोसी समारोहसम्ममा त्यस्तो मर्मत कार्य सम्पन्न गरिसक्नुपर्ने छ।

राज्याभिषेक समारोह आयोजना हुने लन्डनस्थित एउटा प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा काम गरिरहेका संरक्षणविज्ञहरूले बलियो काठले बनेको त्यो ७०० वर्ष पुरानो परम्परागत राज आसन "एकदमै जीर्ण अवस्थामा" रहेको बताएका छन्।

मर्मतसम्भारको काम खासगरी उक्त कुर्सीलाई राम्ररी सफा गर्ने र त्यसमा लगाइएको मोलम्बाका पत्रहरूलाई मिलाउनका लागि भइरहेको छ।

मे ६ तारिखमा लन्डनमा हुने राज्याभिषेक समारोहका लागि भइरहेको तयारीको एउटा हिस्सा यो कुर्सीको मर्मतसम्भार पनि हो।

Coronation chair
तस्बिरको क्याप्शन, आफ्ना पूर्वजले जस्तै राजा चार्ल्स तृतीय पनि राज्याभिषेकका बेला वेस्टमिन्स्टर एबीमा यही कुर्सीमा बसेर राजमुकुट पहिरिने छन्

उक्त ऐतिहासिक कुर्सी शताब्दीऔँदेखि नै ब्रिटेनका शासकहरूको ताजपोसी समारोहका मुख्य आकर्षणको विषय रहँदै आएको छ। कुर्सीको मर्मतमा संलग्न क्रिस्टा ब्लेस्ली भन्छिन्, "यो कलाको एक अनुपम नमुना हो।"

"शासकहरूको ताजपोसीमा प्रयोग गर्नका निम्ति बनाइएको यो कुर्सी अहिलेसम्म त्यस्तो प्रयोजनका लागि प्रयोग हुँदै आएको सबैभन्दा पुरानो साधन हो।"

त्यो कुर्सी सन् १२७२ देखि १३०७ सम्म शासन गरेका राजा एडवर्ड प्रथमले बनाउन लगाएका थिए र त्यसबेलादेखि त्यसको प्रयोग प्रत्येक ताजपोसी समारोहमा हुँदै आएको छ।

तर संरक्षणविज्ञ ब्लेस्ली भन्छिन् "सङ्ग्रहालयमा जतनका साथ राखिने सजावटको वस्तु नभएकोले यो पहिलेको जस्तो सग्लो अवस्थामा छैन।"

इस्वी १८औँ र १९ औँ शताब्दीताका यसलाई हेर्न आएका पर्यटक र विद्यार्थीहरूले यसमा कोरकार गरेका पाइएको छ।

Coronation chair
तस्बिरको क्याप्शन, ऐतिहासिक कुर्सीको पिठ्युँमा कोरेर लेखिएका अक्षरहरू

त्यसमा कोरिएको एउटा वाक्यमा "सन् १८०० को ५-६ जुलाईको रात पी एबटल यो कुर्सीमा सुतेका थिए" लेखिएको छ र आउँदो मे महिनामा हुने समारोहमा राजा चार्ल्सले यसको प्रयोग गर्नेछन्।

त्यसैगरी सन् १९१४ मा भएको बम हमलामा यो कुर्सीमा क्षति पुगेको थियो जुन घटनाका लागि महिलाहरूको मताधिकारका निम्ति आन्दोलन गरेका 'सफ्राजेट्स्' भनिने आन्दोलनकारीहरूलाई दोष दिने गरिन्छ।

उक्त राज आसनको मर्मतमा संरक्षणकर्ता ब्लेस्लीले अहिले नै चार महिना बिताइसकेकी छन्।

उनी भन्छिन्, "कोठाको आर्द्रतामा थोरै मात्र परिवर्तन भएमा पनि यसको काठमा परिवर्तन देखिन पुग्छ त्यसपछि यसमा चढाइएको मोलम्बाको तहमा पनि परिवर्तन आउँछ र त्यो उप्किन थाल्छ। त्यसता केही पत्रमा यो महिना फेरि टाँसिदिन्छु। त्यसपछि अबको दुई महिनामा त्यसलाई फेरि टाँस्नुपर्ला भन्ने मलाई लागेको छ।"

मध्ययुगीन कलाको यस्तो विशिष्ट नमुनाको मर्मत कार्य गर्न पाउँदा उनी आफूलाई गर्व लागेको बताउँछिन्।

सुरुमा यो कुर्सी सुनको मोलम्बा र रङ्गिन काँचले ढाकिएको थियो। त्यसमा जातजातका चरा, रूखबिरूवाका पात र लहरा, जनावरहरू, धार्मिक सन्तहरू र एकजना राजाको समेत आकृतिहरू बनाइएका थिए।

यो कुर्सी त्यसबेला 'स्टोन अफ स्कोन' भनिने राज्यारोहणका निम्ति विशेष मानिएको एक प्राचीन ढुङ्गाको चारपाटे आसनलाई सुरक्षित राख्नका निम्ति बनाउन लगाइएको थियो।

राज्यको प्रतीकका रूपमा रहेको त्यो ढुङ्गे आसन एडवर्ड प्रथमले त्यसबेलाको स्कटल्यान्ड देशबाट कब्जामा लिएर ल्याएका थिए।

अहिले भने स्कटल्यान्डकै राजधानी शहर इडिनबरामा राखिएको उक्त ढुङ्गा राजा चार्ल्सको राज्यारोहणका लागि त्यहाँबाट इङ्गल्यान्डको राजधानी लन्डनस्थित वेस्टमिन्स्टर एबीमा ल्याइने भएको छ।

Coronation of Queen Elizabeth
तस्बिरको क्याप्शन, सन् १९५३ को राज्याभिषेक समारोहमा कुर्सीमा आसीन महारानी एलिजाबेथ द्वितीया

राज्याभिषेक वा ताजपोसी समारोहहरूमा अध्ययन अनुसन्धान गरेका किङ्ग्स कलेज लन्डनका डा. जोर्ज ग्रस भन्छन् पछिल्ला केही त्यस्ता समारोहमा अडेस लगाउने भाग अग्लो भएको उक्त गोथिक शैलीको कुर्सीलाई केहीले पनि नढाकी त्यसै प्रयोग गर्ने गरिएको थियो। तर ट्यूडर स्टुअर्ट युगको बेलामा उक्त कुर्सीलाई भव्य सुनौलो कपडाले ढाक्ने गरिन्थ्यो।

ब्रिटेनमा नयाँ शासकको ताजपोसीमा धार्मिक तत्त्व बलियोसँग जोडिएको हुन्छ र डा. ग्रस भन्छन्- यो राज्याभिषेक कुर्सीले आफ्नै धार्मिक पवित्रताको स्थान समेत प्राप्त गरिसकेको छ। यसबाट विशेष "धार्मिक रश्मि उत्सर्जन भइरहने" ठानिन्छ र यस कारणले गर्दा पनि यसलाई "गहिरो धार्मिक शक्ति भएको वस्तु" मानिने उनी बताउँछन्।

यस पटकको राज्याभिषेक समारोह सन् १९५३ को दाँजोमा केही छोटो अवधिको र बढी समावेशी चरित्रको हुने अनुमान गरिएको छ।

त्यसबेला महारानी एलिजाबेथको ताजपोसीका बेला ८,००० जना पाहुना बोलाइएकोमा यसपालि भने करिब २,००० जनालाई मात्र समावेश गराइने अनुमान गरिएकोछ।

क्विन कन्सोर्टका रूपमा राजा चार्ल्सकी पत्नी कमिलालाई पनि ताजपोसी गराइने भएको छ। तर उनको मुकुटमा विवादास्पद कोहिनुर हिरा भने जडान नगरिने विवरणहरू सार्वजनिक भएका छन्।

ताजपोसी समारोहमा को को सहभागी हुनेछन् भन्ने थाहा भइसकेको छैन। तर मानिसहरूको चासो राजा चार्ल्सका कान्छा छोरा र बुहारी राजकुमार ह्यारी र मेगन डचिस अफ ससिक्सलाई सहभागी गराइन्छ कि गराइँदैन भन्नेमा रहेको छ।

राज्याभिषेक वा ताजपोसी समारोहका सम्भावित कार्यक्रम यस्ता हुनेछन्:

शनिवार ६ मेः वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोह; राज्याभिषेक बग्गी लस्कर यात्रा; बकिङ्घम राजदरबारको बाल्कनीमा राजपरिवारको उपस्थिति र जनतालाई अभिवादन।

आइतवार ७ मेः विन्डसर काशलमा साङ्गीतिक कार्यक्रम र झिलिमिली बत्ती र आतसबाजी प्रदर्शन; राज्याभिषेकको खुसीयालीमा सडक पार्टी र परिकार महोत्सव

सोमवार ८ मेः थप सार्वजनिक छुट्टी; र स्थानीय परोपकारी गतिविधिहरूमा योगदान दिन मानिसहरूलाई प्रेरित गर्न बीग हेल्पआउट नामको ठूलो प्रवर्द्धन कार्यक्रम