नाजी टाइटानिक: ज्यादती, प्रोपागान्डा र विरहको कहानी देखाउने चलचित्र जुन ८० वर्षअघि बनेको थियो

चलचित्रको दृश्य
तस्बिरको क्याप्शन, नाजी शासकहरूले चलचित्रलाई आफ्नो पक्षमा प्रचारको साधन बनाए
    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

टाइटानिक पानीजहाज डुबेको दुःखान्त घटना चलचित्रको एक लोकप्रिय विषयबस्तु हो। सन् १९९७ मा सार्वजनिक भएको लियोनार्डो डी क्याप्रियो र केट विन्सलेट अभिनीत, बहुविधामा ओस्कर पुरस्कार जितेको त्यस चलचित्रलाई कसले बिर्सिन सक्ला र? तर समुद्रमा घटेको त्यो दुःखद घटनाले ८० वर्षअघि नाजीको प्रचार गर्ने एक महँगो चलचित्र निर्माणलाई पनि प्रेरित गर्‍यो जसलाई निकै थोरै मानिसहरूले हेरेका थिए।

र उक्त चलचित्रमा देखाइएको पानीजहाजको नियती पनि टाइटानिकजस्तै दुर्भाग्यपूर्ण रहेको थियो।

सन् १९४२ को सुरुवातमा एसएस क्याप आर्कोना नामक उक्त पानीजहाजका दिनहरू सुखद थिए।

"दक्षिण एट्लान्टिकको रानी" भनिने एक समयको भव्य र विलासी त्यस जहाज, बाल्टिक सागरस्थित जर्मन नौसेनाको आधारमा खिया लागेको अवस्थामा थन्किएर रहेको थियो। त्यसको दुई वर्ष अघिसम्म उक्त जहाजलाई एडोल्फ हिट्लरका नौसेनाले प्रयोग गरेको थियो। जहाजको चमकदमकपूर्ण सामग्रीहरू हटाएर त्यसलाई नाविकहरू बस्ने ब्यारेकमा परिणत गरिएको थियो।

तर, त्यही वर्ष त्यागिएको क्याप आर्कोनालाई चर्चामा ल्याइयो। त्यसको श्रेय आरएमएस टाइटानिकजस्तै देखिने उक्त जहाजको स्वरूपलाई जान्छ जसका कारण त्यसलाई समुद्रको कुख्यात वियोगमाथि बनेको चलचित्रको विषय बनाइयो।

चलचित्रका लागि कुनै कसर छाडिएन

सन् १९१२ मा आफ्नो पहिलो यात्राको क्रममा टाइटानिक पानीजहाज उत्तरी एट्लान्टिकमा डुबेको वर्ष नै त्यस त्रासदीको बारेमा चलचित्रहरू बने र चर्चित भए। त्यसैले टाइटानिक डुब्नु नौलो विषय थिएन।

तर हिटलरका कुख्यात प्रोपागान्डा मन्त्री जोसेफ गबल्सले उक्त घटनाक्रमका बारे एकदम फरक धारणा प्रस्तुत हुने किसिमको पटकथा प्रस्तुत गरे जसमा उक्त जहाज दुर्घटनालाई ब्रिटिश-अमेरिकी लोभको परिणामको रूपमा चित्रण गरिएको थियो।

सन् १९२७ मा एसएस क्याप आर्कोना
तस्बिरको क्याप्शन, सन् १९२७ मा एसएस क्याप आर्कोना

"गबल्स र नाजीहरूले त्यति बेलासम्म सयौँ प्रचारमूलक चलचित्रहरू निर्माण गरिसकेका थिए। तर, यस पटक उनीहरू केही फरक गर्न चाहन्थे," अमेरिकी इतिहासकार तथा क्याप अर्कोनाबारेको पुस्तक 'नाजी टाइटानिक' का लेखक प्राध्यापक रोबर्ट वाट्सनले बीबीसीलाई भने।

"सन् १९४२ मा जर्मनीले युद्धमा थुप्रै कठिनाइहरूको सामना गरिरहेको थियो र गबल्सले प्रचारप्रसारमार्फत ठूलै उपलब्धि हुन्छ भन्ने सोचेका थिए।"

विशेषगरी कासाब्लान्काको सफलताबाट प्रमुख नाजी अधिकारी चकित भएका थिए। सोही वर्ष सार्वजनिक भएको हलिउडको उक्त अत्यन्त सफल रोमान्टिक ड्रामाले शक्तिशाली फासिस्ट विरोधी कथ्यलाई लोकप्रिय बनाएपछि ती जर्मन प्रचारक सक्रिय भए।

टाइटानिक त्रासदीको "नाजीकरण" गरेर गबल्सले ब्रिटेन-अमेरिकाको गठबन्धनलाई चकित तुल्याउने सपना देखे।

"उनले कासाब्लान्कामाथि 'प्रतिक्रिया' जनाउन कुनै कसर छोड्न चाहेनन्। त्यसका लागि टाइटानिकजस्तै देखिने आफ्नै जहाज क्याप आर्कोना प्रयोग गर्ने भए," प्राध्यापक वाट्सन भन्छन्।

"ती दुवै जहाजहरू मूलतः उस्तै थिए। तर क्याप आर्कोनामा धुवाँ निस्कने चिम्नी तीन वटा मात्र थिए, टाइटानिकमा भन्दा एउटा कम। तर चलचित्र छायाङ्कनको लागि त्यसमा एउटा नक्कली चिम्नी थपियो।"

युद्ध सङ्घर्षको बीचमा जारी कठिनाइका बाबजुद गबल्सले चलचित्र निर्माणका लागि ठूलो रकम छुट्टाए।

प्राध्यापक वाट्सनले आफ्नो पुस्तकमा उल्लेख गरे अनुसार टाइटानिकको कुल लागत ४० लाख राइख्समार्क (तत्कालीन जर्मन मुद्रा) थियो। जुन अहिलेको मूल्यमा भन्नुपर्दा करिब १८ करोड डलर हुन आउँछ। त्यस खर्चले यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र बनाउँछ।

सयौँ सिपाहीहरूलाई चलचित्रका सहकलाकार बनाउन युद्धको अग्रपङ्क्तिबाट हटाइएको थियो र चलचित्रमा जिबिला स्मिड्टजस्ता जर्मनीकी सर्वाधिक प्रसिद्ध कलाकारहरूलाई अभिनय गराइएको थियो।

हर्बर्ट सेल्पिन
तस्बिरको क्याप्शन, हर्बर्ट सेल्पिनको रहस्यमय निधन भयो

तर, निर्माण प्रक्रिया अस्तव्यस्त रह्यो। सिपाहीहरूले महिला कलाकारहरूमाथि दुर्व्यवहार गरे र उज्याला छायाङ्कन स्थलहरू बमवारीको निशाना बन्ने डरले परिस्थिति त्रासदीपूर्ण थियो।

त्यहाँ थप गम्भीर घटनाहरू पनि घटे। परियोजनाका निर्देशकका रूपमा नियुक्त हर्बर्ट सेल्पिनले नाजी अधिकारीहरूको साथ गुमाए। छायाङ्कन तालिकामा अधिकारीहरूको हस्तक्षेपको आलोचना गरेपछि उनी पक्राउ परेका थिए र गबल्स आफैँले उनलाई सोधपुछ गरेका थिए।

पछि उनी कारागारमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

कथाको घटनाक्रममा स्वतन्त्रता

यद्यपि, चलचित्र निर्माण भएरै छाड्यो जसको कथाको केन्द्रबिन्दुमा व्यापक दुष्प्रचार थियो। चलचित्रका अनुसार पानीजहाजका एक मात्र जर्मन चालक दलका सदस्यले बरफले प्रभावित उत्तर एट्लान्टिक पार गर्ने क्रममा पानीजहाजको गति सुस्त बनाउने ठूलो प्रयास गरेका भएपनि, टाइटानिकका ब्रिटिश मालिकहरूको वित्तीय लोभका कारण उक्त दुर्घटना हुन पुगेको थियो।चलचित्रको अन्त्यमा, जहाजमा रहेका करिब १५०० यात्रुहरू को मृत्युका सन्दर्भमा जर्मन भाषामा लेखिएको उपसंहार सन्देशमा भनिएको छ - "ब्रिटेनको नाफा कमाउने अन्तहीन भोकको निन्दा।""अझै सूक्ष्म सन्देशका साथ नाजीको प्रचार गर्ने चलचित्रहरू बनेका छन्," जर्मन इतिहासकार आलेक्स फोन लुनेन बताउँछन्।

सन् १९४३ मा बनेको नाजी चलचित्रको पोस्टर
तस्बिरको क्याप्शन, सन् १९४३ मा बनेको नाजी चलचित्रको पोस्टर

"यस टाइटानिक चलचित्रले प्रोपागान्डाले के गर्न सक्छ भन्ने बारे केही नाजीहरूको भ्रम देखाउँछ। उनीहरूले वास्तवमै 'हामीले मानिसहरू भेला पार्‍यौँ भने अझै पनि यो युद्ध जित्न सक्छौँ' भन्ने ठानेका थिए। र पछि त्यो चलचित्र के भयो भन्ने कुरा अझै रोचक छ।"

चलचित्र निर्माणमा निकै जोड दिएका गबल्सले त्यसलाई हेरिसकेपछि कसरी जर्मन चलचित्र घरमा देखाउन प्रतिबन्ध लगाए भन्ने कुरामा फोन लुनेनले प्रकाश पारेका छन्।

चलचित्रमा त्रासदीका दृश्यहरू यति यथार्थपरक थिए कि, हवाई आक्रमणको त्रासमा बाँचिरहेका उनीहरूमाझ ती दृश्यले झनै आतङ्क मच्चाउने गबल्सले ठानेका थिए।

सन् १९४३ को चलचित्र टाइटानिकको एक दृश्य
तस्बिरको क्याप्शन, नाजीकरण गरिएको टाइटानिकमा एक काल्पनिक र बहादुर जर्मन अधिकारी चित्रण गरिएको छ

"त्यस्तै चलचित्रमा टाइटानिकमा सवार काल्पनिक जर्मन अधिकारीले उनीभन्दा उच्च अधिकारीहरू नैतिक रूपमा गलत भन्दै उनीहरूको अवज्ञा गर्नु पनि समस्या बन्यो। यो नाजीहरूले वास्तविक जर्मन अधिकारीहरूलाई चलचित्रमार्फत् दिन चाहेको सन्देश थिएन," फोन लुनेन भन्छन्।

प्राध्यापक वाट्सनले आफ्नो पुस्तकमा, उक्त चलचित्र सुरुमा जर्मन अधीनमा रहेको क्षेत्रमा मात्र सार्वजनिक गरिएको बताएका छन्। सन् १९४९ मा उक्त चलचित्र पुनः नाजीहरूको संग्रहमा फेला पर्नु अघिसम्म जर्मनीभित्र समेत नदेखाइएको पनि उनले उल्लेख गरेका छन्।

"तर यसको राजनीतिक सन्देशका बाबजुद उक्त चलचित्र प्राविधिक दृष्टिकोणबाट उत्कृष्ट छ," प्राध्यापक वाट्सन भन्छन्।

"उदाहरणका लागि सन् १९५८ मा टाइटानिकबारे निर्मित ब्रिटिश चलचित्र' अ नाइट टू रिमेम्बर' मा समेत, सो चलचित्रको गुणस्तर र यथार्थजस्तै देखिने दृश्यका कारण त्यसका दृश्यहरू प्रयोग गरिएका थिए।"

वास्तविक जीवनको दुखान्त

उक्त नाजी चलचित्र विफल भएसँगै क्याप आर्कोनाको चर्चा बिस्तारै भुलिनुपर्ने थियो।

तर उक्त जहाजले इतिहासमा थप कुख्याति कमाउन पुग्यो। पूर्वी मोर्चाबाट अघि बढ्दै गरेको रुसी फौजबाट बचाउन २५,००० भन्दा बढी जर्मन सैनिक र सर्वसाधारणहरूको उद्धारमा प्रयोग भैसकेपछि सन् १९४५ सम्म आइपुग्दा यो पानी जहाज जेलका रूपमा परिणत हुन पुगेको थियो र बाल्टिक समुद्रमा रोकिराखिएको यो जहाजको प्रयोग नाजी अपराध लुकाउने कार्यमा समेत हुन थाल्यो।

मृतहरूको स्मारक
तस्बिरको क्याप्शन, सन् १९४५, मे ३ मा, क्याप अर्कोना र दुई अन्य जहाजहरूमा युद्धको अर्को पक्षले आक्रमण गरेको थियो जसमा धेरैले ज्यान गुमाए

त्यतिबेला त्यो पानीजहाज अन्यत्रका यातना शिविरमा रहेका बन्दीहरूलाई स्थानान्तरण गरिन्थ्यो

प्राध्यापक वाट्सनका अनुसार द्वन्द्वरत दुवै पक्षका दस्ताबेजहरूले आकलन गरे अनुसार मे ३ तारिखमा क्याप आर्कोनामा कम्तीमा ५,००० मनिसहरू थिए जति बेला उक्त जहाजमा ब्रिटिश शाही वायुसेनाका विमानहरूले शृङ्खलाबद्ध हमला गरे। उक्त हमला क्याप आर्कोना र त्यस क्षेत्रका अन्य जहाजमा सुट्चस्टाफेल (एसएस) का अधिकारीहरू सवार थिए भन्ने सुराकका आधारमा गरिएको बताइन्छ।

"हमलामा ३०० भन्दा कम मानिसहरू मात्र बाँच्न सफल भए। यस घटना युद्धमा झुक्किएर आफ्नै पक्षमाथि हुन गएको निकै खराब हमलाको रूपमा आजसम्म पनि इतिहासमा समेटिएको छ", उनी भन्छन्। उक्त समयमा थप अन्य दुई जहाजमा पनि हमला भएको थियो, जसले हताहत हुनेको सङ्ख्या बढेर ७,००० पुगेको थियो।

(यस ट्विटमा हवाई आक्रमण पश्चात् आगलागीमा परेको क्याप आर्कोना देखिन्छ।)

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यो निकै दुःखद छ कि जर्मनीले निःसर्त आत्मसमर्पण गर्नु र युरोपमा युद्ध सकिनु चार दिन अगाडि मात्र क्याप आर्कोना र अन्य जहाजहरू आक्रमणमा परे। अन्त्यमा उक्त 'नाजी टाइटानिक' डुबेर ज्यान गुमाएकाहरूको सङ्ख्या वास्तविक टाइटानिकको तुलनामा दोब्बर भन्दा धेरै हुन पुग्यो।