अल्बर्ट आइन्स्टाइन: यी सर्वोत्कृष्ट वैज्ञानिकका सन्तान को थिए र उनीहरूलाई के भएको थियो?

सानो छँदा एडवार्ड र हान्स अल्बर्ट आइन्स्टाइन
तस्बिरको क्याप्शन, सानो छँदा एडुआर्ड र हान्स अल्बर्ट आइन्स्टाइन
    • Author, मार्गरिटा रोड्रिगेज
    • Role, बीबीसी न्यूज मुन्डो
  • Published

"आइन्स्टाइनका लागि छोराको असन्तुलित मानसिक अवस्था खेप्नु कठिन थियो,"आइन्स्टाइन पेपर्स प्रोजेक्टका सम्पादक तथा सहनिर्देशक जेएभ रोजेन्क्रान्जले भने।

आइन्स्टाइनका कान्छा छोरा एडुआर्डको बोलाउने नाम "टेटे" थियो।

उनको स्वास्थ्यलाई लिएर परिवार चिन्तित थियो। तर उनी वयस्क नहुँदासम्म उनको मानसिक स्वास्थ्यबारे कसैलाई थाहै भएन।

"उनको जीवन एकदमै वियोगात्मक थियो," रोजेन्क्रान्जले बीबीसीसँग भने।

अल्बर्ट आइन्स्टाइन र उनकी पहिली पत्नी मिलेभा मारिचका जम्मा तीन सन्तान थिए। जेठी छोरी लीजर्लबारे रहस्य अझै कायम छ। दोस्रा सन्तान हान्स अल्बर्ट पनि आफ्नो समयका प्रख्यात वैज्ञानिक हुन्।

"मलाई लाग्छ समस्याहरूप्रति उहाँको जिज्ञासा र समर्पणले नै मेरो बुवालाई असाधारण बनायो। कुनै गलत समाधानमा पुगे पनि उहाँ पटकपटक प्रयास गरिरहनुहुन्थ्यो," हान्स अल्बर्टले भनेका छन्।

"सायद उहाँले 'सक्दिनँ' भनेर छोडेको एउटै समस्या भनेको म नै हुँ। उहाँले मलाई सुझाव दिने कोसिस गर्नुभयो तर मेरो हठी स्वभावका कारण त्यो केवल समय खेर फाल्नु हो भन्ने छिट्टै बुझ्नुभयो," उनले थपे।

लीजर्लः प्रथम सन्तान

मिलेभा मारिच र अल्बर्ट आइन्स्टाइनको सन् १९०५ मा खिचिएको तस्बिर
तस्बिरको क्याप्शन, मिलेभा मारिच र अल्बर्ट आइन्स्टाइनको सन् १९०५ मा खिचिएको तस्बिर

मिलेभा मारिच र अल्बर्ट आइन्स्टाइनले बिहे गर्नुअगाडि नै सन् १९०२ मा जेठी छोरी लीजर्ल जन्मिएकी थिइन्।

"दुई वर्षको उमेरपछि उनलाई के भयो भन्ने हामीलाई थाहा छैन," रोजेन्क्रान्जले भने, "उनी इतिहासमै हराइन्।"

आइन्स्टाइन पेपर्स प्रोजेक्टका लागि रोजेन्क्रान्जले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उक्त परियोजनाले नोबल पुरस्कारबाट सम्मानित आइन्स्टाइनका हजारौँ सामग्री सङ्कलन, अनुवाद र प्रकाशन गरेको छ। क्यालिफोर्निया इन्स्टिट्यूट अफ टेक्नोलजीको यो परियोजनालाई अमेरिकास्थित प्रिन्सटन यूनिभर्सिटी र जेरुसलेमस्थित हिब्रू यूनिभर्सिटीको आर्थिक सहयोग छ।

आइन्स्टाइनका चिठी र कागजपत्रहरू उनलाई फरक ढङ्गाबाट हेर्न अमूल्य स्रोत बनेका छन्।

यिनै पत्रका कारण उनकी जेठी छोरी लीजर्लबारे हामीलाई थाहा भएको हो।

"उनी स्वस्थ छिन्? के उनी राम्ररी रुन्छिन्? उनका आँखा कस्ता छन्? उनी हामीमध्ये कोजस्ती देखिन्छिन्? उनलाई दूध कसले दिन्छ? उनी भोकाएकी छन्? उनको पूरै तालुखुइले हुनुपर्छ। मलाई उनीबारे थाहा छैन तर म उनलाई माया गर्न थालिसकेँ," आइन्स्टाइनले स्विट्जरल्यान्डबाट पत्रमा लेखेका थिए।

त्यतिबेला यो जोडी त्यहाँ बस्थ्यो। तर बच्चा जन्माउनका लागि मिलेभा आफ्नो जन्मभूमि सर्बिया पुगेकी थिइन्।

सन् १९३६ मा अल्बर्ट आइन्स्टाइन आफ्ना छोरा हान्स र नाति बर्नहार्डसँग
तस्बिरको क्याप्शन, सन् १९३६ मा अल्बर्ट आइन्स्टाइन आफ्ना छोरा हान्स र नाति बर्न्हार्डसँग

तर बच्चा जन्माउन उनी किन स्विट्जरल्यान्ड छोडेर सर्बिया गइन् त?

"आइन्स्टाइनकी आमा मिलेभासँग आफ्नो छोराको विवाह नहोस् भन्ने चाहन्थिन् र उनी [उनीहरूको सम्बन्धको] विपक्षमा थिइन्," भर्खरै प्रकाशित 'आइन्स्टाइन अन आइन्स्टाइन: अटोबायोग्राफिकल एन्ड साइन्टिफिक रिफ्लेक्शन्स'का सहलेखक हानोख गुटफ्रोयन्डले बीबीसीलाई भने।

गुटफ्रोयन्डले आइन्स्टाइनकी आमाले मिलेभासँग विवाह गरेर आफ्नो छोराले जीवन बिगार्न लागेको भन्ठानेकी थिइन्।

"उनले मिलेभा गर्भवती होलिन् भनेर पनि आइन्स्टाइनलाई सचेत गराएकी थिइन्। ती दिनहरूमा विवाह नगरी गर्भवती हुँदा ठूलो काण्ड हुन्थ्यो।"

'तिमीप्रतिको मेरो समर्पण'

अल्बर्ट र मिलेभा एकअर्कालाई प्रेम गर्थे र विवाह गर्न चाहन्थे
तस्बिरको क्याप्शन, अल्बर्ट र मिलेभा एकअर्कालाई प्रेम गर्थे र विवाह गर्न चाहन्थे

"सत्य के थियो भने उनीहरू दुईबीच गहिरो प्रेम थियो," गुटफ्रोयन्ड भन्छन्। उनीहरूबीच प्रेमसम्बन्ध सुरु हुँदा आइन्स्टाइन १९ र मिलेभा २३ वर्षका भएको ठानिन्छ।

यी दुई भौतिकशास्त्रीहरू जुरिक पोलिटेक्निक इन्स्टिट्यूटमा सहपाठी थिए। त्यतिबेला मिलेभा त्यो कक्षामा केवल एक छात्रा थिइन्।

गणित र भौतिकशास्त्रको पूरै शैक्षिक कार्यक्रम सक्ने उनी दोस्री महिला थिइन्।

'आइन्स्टाइन: हिज लाइफ एन्ड यूनिभर्स' पुस्तकका लेखक वाल्टर इज्याक्सनले आइन्स्टाइनका पत्रहरूबाट उनको मिलेभाप्रतिको प्रेमबारे जति थाहा हुन्छ त्यति नै उनकी आमाले बुहारी अस्वीकार गरेको पनि थाहा हुने बताए।

एउटा पत्रमा लेखिएको छ: "मेरो आमाबुवा म मरे जसरी बिलौना गर्नुहुन्छ। तिमीप्रतिको समर्पण देखेर मैले आफ्नो जीवनमा कलङ्क निम्त्याएँ भनेर बारम्बार गुनासो गर्नुहुन्छ। उहाँहरूलाई तिमी स्वस्थ छैनौँ भन्ने लाग्छ।"

तर आइन्स्टाइनले आफ्नो मनलाई सुने। मिलेभा गर्भवती भएका बेला उनले आफू राम्रो पति बन्ने वाचा गरे: "हामीले समाधान गर्नुपर्ने एउटै समस्या भनेको लीजर्ललाई कसरी हामीसँगै राख्ने भन्ने हो। म उनलाई त्याग्न चाहन्नँ।"

त्यतिबेलाको समाजमा "अवैध सन्तान" हुनु कति कठिन हो र खासगरी उनीजस्तो सम्मानित सार्वजनिक व्यक्तिलाई भन्ने उनलाई थाहा थियो।

लामो मौन

अल्बर्ट आइन्स्टाइन
तस्बिरको क्याप्शन, नोबल पुरस्कार विजेता उनले आफ्नी छोरीबारेको रहस्य कायमै राखे

आइन्स्टाइनले आफ्नो छोरीलाई कहिल्यै भेटेनन् भन्ने देखिन्छ। स्विट्जरल्यान्ड फर्किने बेलामा मिलेभाले छोरीलाई कुनै आफन्तकहाँ सर्बियामै छोडिन्।

इज्याक्सनले सम्भावनाबारे "रहस्यात्मक सङ्केत" गरेका छन्। सायद मिलेभाले आफ्नी छोरी आफ्नी मिल्ने साथीलाई रेखदेख गर्न दिइन्। तर यसै भन्न सकिने आधार छैन।

"हामीलाई उनीहरूको छोरीको बारेमा थाहा भएको भनेकै उनीहरूले प्रेमपत्रमा लेखेका पङ्क्तिबाट हो," गुटफ्रोयन्ड भन्छन्, "तर एउटा निश्चित बिन्दुपछि उनको बारेमा पत्रमा उल्लेख नै गरिएको छैन।"

"उनको बारेमा पत्ता लगाउन इतिहासकार तथा पत्रकारहरू सर्बिया पुगेका थिए। उनीहरूले कागजपत्रहरू खोजे, अभिलेखहरू केही छ कि भनेर खोजे तर असफल भए," रोजेन्क्रान्ज भन्छन्।

"अन्तिम पटक उनीबारे उल्लेख गरिएको भनेको उनी दुई वर्षकी हुँदा हो। उनलाई 'स्कार्लट फीभर' [एक किसिमको ज्वरो] भएको थियो। त्यसबाट उनी बाँचिन् कि बाँचिनन् हामीलाई थाहा छैन," विज्ञहरू भन्छन्।

यो तथ्यले धेरै अनुमान गर्ने दिएको छ: "उनलाई कसैलाई पाल्न दिइएको पनि हुनसक्छ वा उनको मृत्यु पनि भएको हुनसक्छ," रोजेन्क्रान्ज भन्छन्।

सन् १९५५ मा निधन भएका आइन्स्टाइनले आफ्नी छोरीबारे कसैसँग चर्चा नगरेको भन्ठानिन्छ।

मिलेभासँग भएको उनको पत्राचार फेला परेपछि आइन्स्टाइन पेपर्स प्रोजेक्टले पनि उनकी छोरी थिइन् भन्ने तथ्य सन् १९८६ मा मात्रै थाहा पाएको हो।

आफ्नै घर

बर्नमा रहेको आइन्स्टाइनको घर
तस्बिरको क्याप्शन, बर्नस्थित आइन्स्टाइनको परिवार बस्ने घरलाई सङ्ग्रहालय बनाइएको छ

सन् १९०३ सम्ममा बर्नमा आइन्स्टाइनको एउटा सुरक्षित जागिर भइसकेको थियो। मिलेभा पनि सर्बियाबाट फर्किइन् र उनीहरूले विवाह गरे।

त्यसकै एक वर्षपछि उनीहरूको दोस्रो सन्तान हान्स अल्बर्ट जन्मिए। उनीहरूको कान्छो छोरा एडुआर्ड सन् १९१० मा जन्मिए। त्यतिबेला उनीहरू जुरिक फर्किसकेका थिए।

"मेरी आमा घरमा व्यस्त हुँदा मेरा बुवाले आफ्नो काम थाती राखेर हामीलाई घुँडामा राखेर घण्टौँ खेलाउनुहुन्थ्यो। हामीलाई कथाहरू भनेको म सम्झन्छु र हामीलाई चुप लगाउन बेलाबेला भाईअलिन बजाउनुहुन्थ्यो," इज्याक्सनका अनुसार हान्स अल्बर्टले आफ्ना पितालाई यसरी सम्झिएका थिए।

एडुआर्ड: शारीरिक र मानसिक बिरामी

एडुआर्डको बाल्यकाल कष्टप्रद थियो। उनी प्रायः बिरामी भइराख्थे अनि हप्तौँसम्म ओछ्यान पर्थे।

सन् १९१७ मा उनको फोक्सोमा समस्या देखिँदा आइन्स्टाइनले आफ्ना साथीलाई पत्र लेखेका थिएः "मेरो कान्छो छोरोको अवस्थाले मलाई दिक्क लाग्छ।"

तथापि "उनी एक उत्कृष्ट विद्यार्थी थिए र उनको कलामा विशेष रुचि थियो। उनी कविता लेख्थे र पियानो बजाउँथे," उनीबारे 'एन आइन्स्टाइन इन्साइक्लोपिडि'या पुस्तकमा लेखिएको छ।

खासमा एडुआर्ड आफ्ना बुवासँग सङ्गीत र दर्शनबारे गहन छलफल गर्थे। त्यसबाट आफ्ना छोराले "जीवनका महत्त्वपूर्ण कुराबारे विचार गरेको" आफूले देखेको आइन्स्टाइन बताउँथे।

प्रेमको अन्त्य

अल्बर्ट आइन्स्टाइन र उनकी दोस्री पत्नी एल्जा
तस्बिरको क्याप्शन, मिलेभासँग रहँदारहँदै पनि अल्बर्ट आइन्स्टाइनले नातामा दिदी पर्ने एल्जासँग प्रेमसम्बन्ध थाले

विज्ञानसम्बन्धी अनुसन्धानात्मक काममा घोरिन थालेपछि आइन्स्टाइनको मिलेभासँगको सम्बन्ध नाटकीय रूपमा बिग्रँदै गयो। उनले नातामा दिदी पर्ने एल्जासँग प्रेमसम्बन्ध सुरु गरे। उनीहरूका आमाहरू सहोदर दिदीबहिनी थिए भने बुवाहरू नातामा दाजुभाइ पर्थे।

सन् १९१४ सम्म उनीहरू बर्लिनमै बसिरहेका थिए तर वैवाहिक सम्बन्धमा आएको तिक्तता र मिलेभाप्रतिको आइन्स्टाइनको तिरस्कारपूर्ण व्यवहारपछि उनी आफ्ना सन्तानसहित स्विट्जरल्यान्ड फिर्ता गइन्।

उनीहरूले सन् १९१९ मा सम्बन्धविच्छेद गरे। तर सन्तानसँगको बिछोड आइन्स्टाइनका लागि निकै कठिन भएको गुटफ्रोयन्ड बताउँछन्। त्यसैले उनले आफ्ना छोराहरूसँग निकट सम्बन्ध राख्ने यथासम्भव प्रयास गरे।

"उनी एकदमै मायालु पिता थिए," रोजेन्क्रान्ज भन्छन्।

पहिलो विश्वयुद्धताका आइन्स्टाइन उनीहरूलाई भेट्न जान्थे, घुमाउन लैजान्थे। ठूला भएपछि उनीहरूलाई आइन्स्टाइन बर्लिन बोलाउँथे।

आइन्स्टाइनको उनको सन्तानसँगको सम्बन्ध उनले लेख्ने पत्रहरूबाट थाहा पाउन सकिन्छ
तस्बिरको क्याप्शन, आइन्स्टाइनको आफ्ना सन्तानसँगको सम्बन्ध कस्तो थियो भन्ने उनले लेखेका पत्रहरूबाट थाहा पाउन सकिन्छ

"उनी आफ्ना दुवै छोरालाई पत्र पठाइरहन्थे। खासगरी कान्छो छोरालाई किशोरावस्थामा हुँदा उनलाई पत्र पठाउँथे।"

विज्ञहरूका अनुसार एडुआर्डसँगको पत्राचार निरन्तर हुन्थ्यो र त्यसमा उच्च बौद्धिक तहको कुरा हुन्थ्यो। दुवैले आफूलाई ठिक नलागेका धारणाबारे एकअर्काको खुलेर आलोचना गर्थे।

"आइन्स्टाइन छोराले आफूलाई पठाएको कुरा निकै रमाइलो मान्थे," छोराले पत्र पठाएको भनेर मात्रै होइन कि उसको विचारको गहिराइका कारण पनि प्रभावित थिए।

सन् १९३० मा आइन्स्टाइनले लेखेका छन्, "जीवन साइकल चलाए जस्तै हो। सन्तुलन कायम गर्न यसलाई चलिरहनुपर्छ।"

जेठो छोरा हान्स अल्बर्टसँग सम्भवतः उनको सम्बन्ध त्यति प्रगाढ थिएन। उनको व्यक्तित्व धेरै हदसम्म व्यावहारिक थियो," रोजेन्क्रान्ज भन्छन्।

"उनको रुचि व्यावहारिक, आविष्कार र प्राविधिक पक्षमा थियो।" बुवासँगको उनको सम्बन्धमा पनि त्यही प्रतिविम्बित हुन्थ्यो।

वर्षौँपछि आइन्स्टाइन छोरा हान्सलाई पत्र लेख्थे जसमा केवल उनको सिद्धान्त र त्यसलाई पुष्टि गर्ने प्रयास मात्रै हुँदैन थियो, पत्रमा जागिरबारे सुझाव पनि हुन्थ्यो।

रोगको निदान

अल्बर्ट आइन्स्टाइन
तस्बिरको क्याप्शन, आइन्स्टाइन कालान्तरमा अमेरिकामा बस्न थाले र उनले छोरा एडुआर्डलाई त्यसपछि कहिल्यै भेट्न पाएनन्

एडुआर्ड आइन्स्टाइन मनोचिकित्सक बन्न चाहन्थे र सिग्मन्ड फ्रोयडका सिद्धान्तमा रुचि राख्थे।

सन् १९३२ मा चिकित्साविज्ञान पढिरहेका बेला उनी स्विट्जरल्यान्डस्थित अस्पतालमा मनोचिकित्सा क्लिनिकमा भर्ना भए।

सन् १९३३ मा २२ वर्षको उमेरमा उनलाई 'स्किट्सफ्रीनीआ' भनिने एक किसिमको मानसिक समस्या देखियो।

"त्यसले आइन्स्टाइनलाई धेरै दुःखी बनायो," गुटफ्रोयन्ड भन्छन्।

"मेरा दुई छोरामध्ये ऊ बढी परिष्कृत थियो र म उसमा मेरै स्वभाव भएको ठान्थेँ, उसलाई निको नै नहुने मानसिक रोगले आक्रमण गर्‍यो," आइन्स्टाइनको एउटा पत्रमा लेखिएको छ।

नाजीहरूको उदयपछिको अवस्थामा सन् १९३३ मा आइन्स्टाइन जर्मनी छोड्न बाध्य भए।

"देश छोड्नुअघि आइन्स्टाइनले एडुआर्डलाई भेटे र त्यही नै उनीहरूको अन्तिम भेट बन्यो," आइन्स्टाइनको इन्साइक्लोपिडियामा भनिएको छ, "त्यसपछि बाबुछोराले एकअर्कालाई कहिल्यै देखभेट गर्न पाएनन्।"

एउटा दुःखद अन्त्य

आइन्स्टाइन आफ्ना सन्तानका लागि भायोलिन बजाउँथे
तस्बिरको क्याप्शन, आइन्स्टाइन आफ्ना सन्तानका लागि भाईअलिन बजाउँथे

मिलेभा छोरा एडुआर्डको स्याहारसुसार गर्थिन्। तर रोगले धेरै चापेको बेला वा मिलेभा बिरामी परेको बेला एडुआर्डलाई मनोचिकित्सागृहमा लगिन्थ्यो।

सन् १९४८ मा मिलेभाको निधन भएपछि आइन्स्टाइनले पैसा तिरेर एक कानुनी संरक्षकलाई एडुआर्डको स्याहारसुसारका लागि नियुक्त गरे।

"त्यो समयमा बाबुछोराबीच कुनै किसिमको पत्र आदानप्रदान भएको थियो जस्तो लाग्दैन," रोजेन्क्रान्ज भन्छन्।

इज्याक्सनका अनुसार एडुआर्ड उनको मानिसिक स्वास्थ्य समस्याका कारण अमेरिका जान पाउँदैन थिए।

उनले आफ्ना अन्तिम समय मनोचिकित्साको उपचार गर्ने क्लिनिकमा सीमित भएर बिताए। सन् १९६५ मा ५५ वर्षको उमेरमा उनको मस्तिष्काघातका कारण निधन भयो।

हान्स अल्बर्टः एक अग्रणी वैज्ञानिक

सन् १९२७ मा एउटा पुस्तकालयमा अल्बर्ट र हान्स
तस्बिरको क्याप्शन, अल्बर्ट आइन्स्टाइन र हान्स अल्बर्टको सम्बन्ध एकताका सहज थिएन

आइन्स्टाइनका दोस्रा सन्तान हान्स अल्बर्टले जुरिकस्थित स्विस फेडरल इन्स्टिट्यूट अफ टेक्नोलजीमा सिभिल इन्जिनियरिङ पढे।

"मेरो छोरा अल्बर्ट क्षमतावान् र इमान्दार व्यक्ति बनेको छ," सन् १९२४ मा आइन्स्टाइनले गौरव गर्दै लेखेका छन्।

सन् १९२६ मा हान्सले स्नातक सके। सन् १९३६ मा उनले विद्यावारिधि गरिसकेका थिए।

सन् १९३८ मा आफ्नो बुवाको परामर्शसहित उनी अमेरिका गए र 'सेडिमन्ट ट्रान्स्पोर्टेशन' मा अध्ययन जारी राखे।

प्रशंसनीय प्राध्यापक

अल्बर्ट आइन्स्टाइन र हान्स अल्बर्ट
तस्बिरको क्याप्शन, सन् १९३७ मा अल्बर्ट आइन्स्टाइन र हान्स अल्बर्ट - दोस्रो विश्वयुद्धपछि दुवैले आफ्नो पेसालाई अमेरिकामा निरन्तरता दिए

अमेरिकामा एक पटक हान्स अल्बर्ट कृषि विभागअन्तर्गत रहेको साउथ क्यारलाइनास्थित कृषि प्रयोग केन्द्र र क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लीमा हाइड्रोलिक इन्जिनियरिङ पढाउँथे।

"एकदमै प्रतिस्पर्धी वैज्ञानिक, उत्कृष्ट इन्जिनियर र उत्कृष्ट शिक्षकको दुर्बल संयोजन उनमा थियो," विश्वविद्यालय स्रोतले भनेको छ।

"समयको विषयमा प्राध्यापक आइन्स्टाइन एकदमै उदार थिए। स्नातक गरिरहेका विद्यार्थीलाई पढाउने कुरामा होस् कि विदेशी विश्वविद्यालयहरूमा छोटो समयका लागि पढाउने विषयमा वा सेडिमेन्टेशनका जटिल समस्याहरूको समाधानबारे देशहरूलाई सल्लाह दिने विषयमा होस्।"

सन् १९५४ को एउटा पत्रमा अल्बर्ट आइन्स्टाइनले आफ्ना छोराको प्रशंसा गरेका छन्।

उनले लेखेका छन्, "उसले मेरै व्यक्तित्वका मुख्य गुण पाएको छ। आफ्नो अस्तित्वबाट माथि उठेर अवैयक्तिक लक्ष्य हासिल गर्न आफ्नै क्षमताको उत्कृष्टताका लागि हठ गरेर निरन्तर समर्पित हुने गुण उसमा छ।"

असहमतिहरू

एल्सा र अल्बर्ट आइन्स्टाइन
तस्बिरको क्याप्शन, एउटा कुनै भ्रमणमा एल्जा र अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनको आफ्ना छोराहरूसँगको सम्बन्धमा आरोह-अवरोहहरू आएका थिए। केही पत्रमा उनको स्नेह झल्किन्छ भने केहीमा उनी असाध्यै आलोचनात्मक पनि देखिएका छन्।

"सबैको परिवारमा जस्तै उनीहरूको परिवारमा पनि कठिन समय थियो तर राम्रो समय पनि थियो," रोजेन्क्रान्ज भन्छन्। "हान्स अल्बर्टसँग उनको केही मतभिन्नता थियो।"

किशोरावस्थामा हान्स अल्बर्टले आफूले इन्जिनियरिङ पढ्ने निर्णय गरेको बताएका थिए, तर आइन्स्टाइन त्यसप्रति सन्तुष्ट थिएनन्।

वर्षौँपछि थप असहमतिहरू भए। "पहिला, आइन्स्टाइन उनले विवाह गर्न चाहेको केटीको विषयमा सहमत भएनन्।"

यो विषयमा मिलेभाले भने छोरासँग मत मिलाइन्। हान्स अल्बर्टले सन् १९२७ मा भाषावैज्ञानिक फ्रीडा नेश्टसँग विवाह गरे।

समय बित्दै जाँदा आइन्स्टाइनले छोराको निर्णय स्वीकार गरे र फ्रीडालाई स्वीकार गरे। उनीहरूले तीन सन्तान जन्माए।

गुटफ्रोयन्डका अनुसार उनीहरू एकअर्काको घरमा आउजाउ र सम्पर्कमै बस्ने भए पनि उनीहरू टाढा बस्थे। हान्स अल्बर्ट वेस्ट कोस्टमा बस्थे भने आइन्स्टाइन इस्ट कोस्टको प्रिन्सटनमा।

"अझ आइन्स्टाइनले एल्जासँग घरजम गरिसकेका थिए (एल्जाका पहिलो पतिबाट जन्मिएका दुई छोरी पनि उनीहरूसँगै बस्थे)," विज्ञहरूले भनेका छन्।

सन् १९५८ मा फ्रीडाको निधन भएपछि हान्स अल्बर्टले जीवरसायनशास्त्री एलिजावेथ रोबोजसँग विवाह गरे।

सन् १९७३ मा हृदयाघातका कारण ६९ वर्षको उमेरमा उनको निधन भयो।

अल्बर्ट आइन्स्टाइनको छोरा हुनुको उत्तरदायित्व

अल्बर्ट आइन्स्टाइनका कागजपत्रहरू हेर्दै हेब्रू विश्वविद्यालयमा प्राध्यापक गुटफ्रोयन्ड
तस्बिरको क्याप्शन, अल्बर्ट आइन्स्टाइनका कागजपत्रहरू हेर्दै हेब्रू विश्वविद्यालयमा प्राध्यापक गुटफ्रोयन्ड

इज्याक्सनका अनुसार आइन्स्टाइनले एक पटक पत्नी मिलेभालाई "आफ्नो आन्तरिक जीवनको उत्कृष्ट अंश आफ्ना दुई सन्तान भएको र उनको भौतिक शरीर नहुँदा पनि उनीहरू बाँचिरहने आफ्नो विरासत हुने" बताएका थिए।

एडुआर्ड आफैँले लेखेका थिए: "यति महत्त्वपूर्ण बुवा हुनु पनि कतिपय बेला कठिन हो, किनभने हामी आफूलाई महत्त्वहीन ठान्छौँ।"

आइन्स्टाइनको सापेक्षताको विशेष सिद्धान्त प्रकाशित हुनु एक वर्षअघि जन्मिएका हान्स अल्बर्टलाई एक पटक सोधिएको थियो, "एकजना चर्चित वैज्ञानिकको छोरा हुँदा कस्तो अनुभूति हुन्छ?"

"यदि बच्चैदेखि झिँझो लाग्दा मैले हाँस्न नसिकेको भए निराश भइन्थ्यो," उनले भनेका थिए। उनले आफ्ना बुवालाई के कारणले "असाधारण" बनायो भन्ने प्रश्नको उत्तर दिँदा त्यसो भनेका थिए।

आइन्स्टाइनका पत्रहरू अध्ययन गरेका गुटफ्रोयन्ड भन्छन्ः "एकजना मायालु बुवा र उनका सन्तानबीचको चाखलाग्दो र आकर्षक कुराकानी पत्रमा भेट्न सकिन्छ।"

समय बित्दै जाँदा भौतिकशास्त्री आइन्स्टाइनले पत्नी मिलेभाको उनका सन्तानप्रतिको "समर्पण" कस्तो थियो र उनले सन्तानलाई कति राम्रोसँग हुर्काएकी रहिछन् भन्ने बुझ्दै गए।

"उनी आफूलाई असल पतिका रूपमा हेर्थे भन्ने मलाई लाग्दैन। उनलाई पतिको भन्दा पिताको भूमिका आफूले 'राम्ररी निर्वाह गरेँ' भन्ने लाग्थ्यो होला," रोजेन्क्रान्जले भने।