ज्ञानेन्द्र शाहः पूर्वराजाको 'दशैँ सन्देश' ले तरङ्ग - कतै आलोचना कतै प्रशंसा

पूर्वराजा
Published

नेपालको वर्तमान राजनीतिक अवस्था तथा दलका क्रियाकलापको आलोचना गर्दै पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको एउटा सन्देशलाई विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गरेका छन् भने 'राजसंस्था पक्षधर'ले त्यसको प्रशंसा गरेका छन्।

समसामयिक राजनीतिका कैयौँ विषयमा भिन्न मत व्यक्त गर्ने गणतन्त्र पक्षधर विपक्षी दलका नेताले पनि ज्ञानेन्द्रको अभिव्यक्तिलाई उचित मानेका छैनन्।

कतिपय नेताले पूर्वराजाको अभिव्यक्ति "संविधानविरोधी" र "देशमा द्वन्द्व निम्तियोस् भन्ने मनसाययुक्त" भएको आरोप लगाएका छन्।

आफूलाई 'राजसंस्था'को प्रखर हिमायती मान्ने एउटा दलका अध्यक्षले चाहिँ पूर्वराजाले "देशको अहिलेको अवस्थाको यथार्थ चित्रण गरेको" र "उनलाई संविधानले नै त्यस्तो गर्ने अधिकार दिएको" बताए।

पूर्वराजा ज्ञानेन्द्रको सन्देशमा के छ?

पूर्वराजा शाहले शुक्रवार आफ्ना सचिव फणिराज पाठकमार्फत् दशैँको शुभकामना दिन एउटा भिडिओ सन्देश जारी गरेका हुन्।

उक्त सन्देशको सुरुमा उनले देशवासीलाई दशैँको शुभकामना दिएका छन्।

त्यसपछि पूर्वराजाले "… कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन" भन्दै राजनीतिक टिप्पणी गरेका छन्।

भिडिओ सन्देश जारी गर्दै पूर्वराजा
तस्बिरको क्याप्शन, भिडिओ सन्देश जारी गर्दै पूर्वराजा

ज्ञानेन्द्र शाहले सङ्गठित राजनीतिक दल र जनप्रतिनिधिबाट जनभावनाअनुरूप काम नभएको भन्दै प्रश्न उठाएका छन्।

उनले सन्देशमा भनेका छन्ः "पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधाभोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?"

"कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अङ्गभित्र उत्पन्न विवाद, विग्रह र विकृतिको आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ। यो अवस्थाले जनतामा उत्साह छैन।"

उनका भनाइमा मुलुकको भविष्यप्रति र भविष्य निर्माणप्रति कुनै भरोसा रहेको छैन।

पूर्वराजाले अहिलेको स्थितिबारे भनेका छन्, "दायित्व के? गर्ने के? गर्न नहुने के? न्यायिक मूल्य के हो? के होइन? यी सबै कुराको निराकरण कसले गर्ने, कोबाट हुने? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो।"

देशप्रति बफादार, जनताप्रति उत्तरदायी विधि, व्यवस्था, सङ्गठन एवं प्रतिनिधित्वको सही पात्र अहिले देशले खोजिरहेका उनको भनाइ छ।

उनले परम्परादेखि चल्दै आएको "सनातनी मूलभूत महिमा"लाई बिथोलेर, केही नामान्तर गरेर सुन्दर र नौलो नेपाल नबन्ने पनि उल्लेख गरेका छन्।

"पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतार्तफ धकेल्नु हुन्न भन्ने आमभावना रहेको छ," उनले भनेका छन्।

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले केलाई लक्ष्य गरेको हो?

शाहले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेकोतर्फ सङ्केत गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले सम्भवतः हालै विवादमा परेको नागरिकता विधेयकतर्फ सङ्केत गर्दै तर त्यसको नाम उल्लेख नगरी त्यसबारे पनि प्रतिक्रिया दिएका छन्।

ज्ञानेन्द्रले भनेका छन्, "एकातिर होनहार नागरिकहरू बाहिर गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ।"

पूर्वराजा ज्ञानेन्द्र शाह

उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको बताएका छन्।

पूर्वराजाले भनेका छन्, "डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्शनको अपरिहार्यता सिद्ध गरेको छ।"

"परराष्ट्रनीति असन्तुलित भइदिँदा राष्ट्रिय हित र सुरक्षा सङ्कटग्रस्त बन्दै गएको छ। व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ।"

"विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ।"

सन्देशको अन्त्यतिर उनले राजसंस्थाले देशको "अभिभावकीय" भूमिका लिनुपर्ने जनचाहना पूर्ति गर्नसक्ने सङ्केत पनि गरेका छन्।

सत्तारूढ दलका नेता के भन्छन्?

सत्तारूढ दल नेपाली कांग्रेसका एक नेता मीन विश्वकर्माले पूर्वराजाको अभिव्यक्ति "वर्तमान संविधान र व्यवस्थाप्रतिको विरोध" भएको बताए।

उनले भने, "यसलाई धेरै टिप्पणी गर्नु आवश्यक छैन। व्यवस्थाको स्थापनाका लागि गरिएको सम्झौता संविधान पनि हो।"

"त्यसको सबैले पालना गर्नुपर्छ। पूर्वराजाले पनि गर्नुपर्छ र व्यवस्थाविरुद्धको अभिव्यक्ति भनेको संविधानविरुद्धको अभिव्यक्ति हो।"

पूर्वराजा ज्ञानेन्द्र शाह

उनले नागरिकता विधेयकतर्फ सङ्केत गर्दै पूर्वराजाले गरेको टिप्पणी "यथार्थ धरातलभन्दा बाहिरको भएको" पनि बताए।

सत्ताधारी गठबन्धनकै नेकपा माओवादी केन्द्रका एकजना नेता देवप्रसाद गुरुङले पूर्वराजाको अभिव्यक्ति अहिलेको राजनीतिक प्रणाली विरोधी देखिएको बताए।

उनले शाहले "नागरिकका रूपमा बोल्न पाउने" भए पनि "गणतन्त्रलाई विस्थापित गर्छु भन्ने खालको अभिव्यक्ति दिनु" उपयुक्त नभएको बताए।

"उहाँका त्यस्ता अभिव्यक्तिले प्रणालीको विरोधका नाममा द्वन्द्व उत्पन्न हुनसक्छ," उनले भने।

"आवरणमा चाहिँ राष्ट्रिय अस्मिताको कुरा गर्ने तर वास्तवमा चाहिँ द्वन्द्व निम्त्याउने खालको कुरा गर्ने?"

गुरुङले उनका यस्ता अभिव्यक्तिले देशमा द्वन्द्व र अराजकता निम्तिएर अस्थिरता पैदा हुने र त्यसले अन्तत: बाह्य शक्तिलाई फाइदा पुग्ने दाबी गरे।

"त्यसले त विदेशीलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो हुन्छ," उनले भने।

के भन्छन् प्रतिपक्षी दलका नेता?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेता खगराज अधिकारीले पूर्वराजाका कतिपय असल अभिव्यक्तिप्रति आफूहरूको विरोध नरहेको बताए।

उनले शाहका "कतिपय असल अभिव्यक्ति" के हुन् भन्ने खुलाउन चाहेनन्।

यद्यपि अधिकारीले शाहले दिएका कतिपय अभिव्यक्ति संविधानअनुकूल नरहेको तर्क गरे।

ज्ञानेन्द्र

उनले भने, "संविधानको रक्षा उहाँबाट हुँदैन हामीले नै गर्ने हो, गरिरहेका छौँ।"

"उहाँले नागरिक हुँ भन्ने नबिर्सिए हुन्थ्यो। उहाँ नागरिक बाहेक अन्य केही होइन भन्ने जनतालाई थाहै छ।"

राजसंस्था पक्षधर के भन्छन्?

गणतन्त्रकालमा पनि निरन्तर राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजाको अभिव्यक्तिको प्रतिरक्षा गरे।

उनले भने, "यो सन्देशमा राजाबाट देशको अवस्थाबारे चिन्ता व्यक्त भएको छ। त्यो यथार्थ हो र हामीले पनि उठाइरहेका छौँ।"

"अहिलेका ठूला दल हुँ भन्नेले पनि कतिपय अवस्थामा स्वीकारेको अवस्था हो। यसलाई गम्भीरतापूर्वक लिएर सबैले कदम चाल्नु उपयुक्त हुन्छ।"

कतिपयले नागरिकता विधेयकप्रति सङ्केत गरेको भनिएको पूर्वराजाको अभिव्यक्ति नेकपा एमालेका कतिपय नेताको धारणासँग मिल्दो रहेको भनिरहेका बेला त्यसलाई त्यसरी जोड्नु उपयुक्त नहुने लिङ्देनको भनाइ छ।

उनले माओवादी नेता गुरुङको पूर्वराजाको अभिव्यक्तिले द्वन्द्व निम्तिन सक्छ भन्ने धारणाको पनि खण्डन गरे।

उनले भने, "द्वन्द्व निम्तिन्छ भन्ने भ्रम हो। द्वन्द्वको डर देखाएर आफ्नो गल्ती, कमजोरी छोप्ने र जनतालाई डरत्रास देखाएर सत्ता लम्ब्याउने तथा अकर्मण्यता ढाक्नछोप गर्ने कुरा हो।"

"यो संविधानले नै संविधानको आलोचना गर्ने र यसमा नमिलेनका कुरा मिलाउने अधिकार दिएको छ।"

यो पनि पढ्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ: डमरुको तालमा मालश्री बजाउने कीर्तिपुरका रामकृष्ण दुवाल
भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ: कसैलाई नयाँ नोट गन्न मज्जा आउने त कसैलाई रमाईलो हुने!