के लोप भएका प्राणीहरूलाई पुनर्जीवन दिन सम्भव छ?

एउटा अमेरिकी कम्पनीले थाइलसीन (बायाँ) र रौँ भएको हात्तीलाई पुन: अस्तित्वमा ल्याउने इच्छा व्यक्त गरेको छ
तस्बिरको क्याप्शन, एउटा अमेरिकी कम्पनीले थाइलसीन (बायाँ) र रौँ भएको हात्तीलाई पुन: अस्तित्वमा ल्याउने इच्छा व्यक्त गरेको छ
    • Author, पल ओर्गाना
    • Role, बीबीसी विश्व सेवा
  • Published

वैज्ञानिकहरूले लोप भएका केही प्रजातिका जीवलाई पुनः अस्तित्वमा ल्याउने प्रयास गरिरहेका छन्।

सन् २०२१ मा अमेरिकामा स्थापित एउटा स्टार्ट-अप कम्पनी अबको पाँचदेखि १० वर्षमा दुईवटा त्यस्ता प्रजातिलाई पुनर्जीवन दिन सम्भव रहेकोमा विश्वस्त देखिन्छ।

'जुरासिक पार्क'जस्ता चलचित्रमा त्यसो गर्नु सामान्य हो। तर वास्तविक जीवनमा त्यो त्यति सहज काम होइन।

कतिपयले उक्त कम्पनीले त्यसो गर्न सक्छ भन्नेमा विश्वास गरेका छैनन् र गर्न सक्ने भए पनि त्यसो गर्न नहुने धारणा राखेका छन्।

यहाँ हामीले के योजना बनाइएको छ र के साँच्चै नै त्यसरी लोप भइसकेका जीवलाई फेरि बिउँताउन सम्भव छ? भन्ने प्रश्नको उत्तर खोजेका छौँ।

के योजना गरिएको छ?

अमेरिकी अनुवंशविज्ञ जोर्ज चर्च
तस्बिरको क्याप्शन, अनुवंशविज्ञ जोर्ज चर्चले यसलाई साकार बनाउने लक्ष्य लिएका छन्

अमेरिकी अनुवंशविज्ञ जोर्ज चर्च र प्रमुख कार्यकारी बेन लामको नेतृत्वमा रहेको कलोसल बायोसाइन्सले सन् २०२७ सम्म रौँ भएको म्यामथ अर्थात् विशालकाय प्राचीन हात्तीलाई पुनर्जीवन दिने अपेक्षा गरेका छन्।

मेल्बर्न विश्वविद्यालयको सहयोगमा उनीहरूले ताज्मेनिअन टाइगर अर्थात् थाइलसीन बिउँताउने घोषणा गरेका छन्।

मार्सूपिअल वर्गको यो स्तनधारी जीवले पूर्ण रूपमा विकसित भइनसकेको बच्चा जन्माउँछ र माउको पेटबाहिर रहेको एउटा थैलोमा राखेर हुर्काउँछ।

उक्त जीव सन् १९३० को दशकमा लोप भएको थियो।

तर कसरी सम्भव छ?

एशियाली हात्तीको छावा
तस्बिरको क्याप्शन, एशियाली हात्तीको डीएनए रौँ भएको हात्तीसँग मिल्दोजुल्दो रहेको पाइन्छ

एउटा उपाय भनेको रिभर्स इन्जिनियरिङ हो।

त्यसमा वैज्ञानिकहरूले जीवित प्रजातिका स्टेम सेल जुन डीएनएसँग मिल्दोजुल्दो हुन्छ त्यसलाई लिन्छन् र जीन सम्पादन (आनुवंशिक परिवर्तन) गर्ने प्रविधिबाट लोप भएका प्रजातिलाई 'पुनर्जीवन' दिन्छन्।

रौँ भएको म्यामथको हकमा उसको अहिले अस्तित्वमा रहेको जीवमध्ये सबैभन्दा नजिकको नातेदार एशियाली हात्ती हो।

टास्मेनिअन टाइगर बिउँताउने प्रयासमा उनीहरूले थाइलसीनको छाउराको रक्षित शरीरबाट सङ्कलित डीएनए प्रयोग गर्न लागेका छन्। त्यो छाउरालाई उसकी आमाको पेटबाहिर रहेको थैलोबाट निकालेर मेल्बर्नको एउटा सङ्ग्रहालयमा रासायनिक विधिबाट संरक्षण गरेर राखिएको छ।

त्यसो गर्न किन ज्यादै कठिन छ?

ताजमेनिअन टाइगर
तस्बिरको क्याप्शन, ताजमेनिअन टाइगर सन् १९३० को दशकमा लोप भएको थियो

वैज्ञानिकहरूका लागि सबैभन्दा कठिन काम भनेको अक्षत डीएनए फेला पार्नु हो। लगभग सुरुकै अवस्थाको जस्तो सग्लो डीएनएले मात्रै त्यसरी कुनै प्राणीलाई बिउँताउन सहयोग गर्ने ठानिन्छ।

तर समस्या के हो भने जब प्राणीहरू मर्छन् तिनको डीएनए ससाना टुक्रामा खण्डित हुन्छ।

ती टुक्रालाई वास्तविक स्वरूपमा जोड्नु चुनौतीपूर्ण हुन्छ।

यसबाट के लाभ हुन्छ?

ताज्मेनिअन डेभिल
तस्बिरको क्याप्शन, अहिलेको अनुसन्धान र प्रविधिले सङ्कटमा परेको प्रजाति ताज्मेनिअन डेभिललाई पनि फाइदा पुग्न सक्ने बताइन्छ

कलसोलका सहसंस्थापक बेन लाम लोप भएका जीवलाई पुनर्जीवित तुल्याउँदा त्यसले जैविक विविधता संरक्षणमा सहयोग गर्ने, हराएको जीवनपद्धतिलाई फेरि ताजा बनाउने र विगतमा मानवले गरेका हानि सुधार्ने अवसर दिने बताउँछन्।

उनले भने, "रौँ भएको म्यामथ र थाइलसीन दुवैले आफ्नो पर्यावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।''

''लोप भएका यी जीवलाई पुन: अस्तित्वमा ल्याउँदा खस्किएको पारिस्थितिक प्रणाली र सो जीवको अनुपस्थितिले जैविक प्रणालीमा निम्तिएको रिक्ततालाई सम्बोधन गर्न सकारात्मक योगदान पुर्‍याउने सम्भावना हुन्छ।"

उनले आफ्नो अनुसन्धानले अरू प्रणालीहरूलाई लोप हुन नदिने विज्ञानलाई प्रोत्साहन गर्ने बताए।

उनले भने, "ताज्मेनिअन डेभिलले २० देखि ३० वटा बच्चा जन्माउँछ। तर केही मात्रै बाँच्छन्। हामीले थाइलसीन परियोजनाका लागि निर्माण गरिरहेको बाह्य थैलीले उनीहरूसँग काम गरिरहेका संरक्षणविद्हरूलाई सहयोग गर्छ।"

जोखिम के छ?

कृत्रिम गर्भ बोक्ने ढोईलाई कस्तो प्रभाव पर्छ र कसरी बच्चा म्यामथ जन्मिन्छ भन्ने अनुमान गर्न निकै गाह्रो छ
तस्बिरको क्याप्शन, कृत्रिम गर्भ बोक्ने ढोईलाई कस्तो प्रभाव पर्छ र कसरी बच्चा म्यामथ जन्मिन्छ भन्ने अनुमान गर्न निकै गाह्रो छ

न्याश्नल हिस्टरी म्यूजीअमकी क्रमविकास जीववैज्ञानिक भिक्टोरिया हेरिजका अनुसार रौँयुक्त म्यामथका छावा सिरजना गर्दा यदि जीनमा परिवर्तन गरिएको भ्रूण अर्को हात्तीमा राख्ने हो भने त्यसले अरू प्राणीका लागि जोखिम उत्पन्न गराउन सक्छ।

उनले भनिन्, "बाइस महिनासम्म कोखमा राखेर सन्तान जन्माउनु, आमालाई जोखिम उत्पन्न गराउनु र अरू नै प्रजातिलाई गर्भमा राख्नु यो पूर्णतया अतिक्रमणकारी प्रक्रिया हो।"

"केही गम्भीर अनैतिक व्यवहारबिना यो सम्भव छैन। पोथी हात्तीको कोखलाई प्रयोग गरेर त्यसरी गर्नु एकदमै खराब काम हो। त्यस्तो हुनै सक्दैन किनभने तपाईँले कृत्रिम गर्भको प्रयोग गरिरहनुभएको छ।"

तर बेन लामले कलसोलले उक्त समस्याको सम्बोधन गरेको बताए।

"एक्स-यूटेरो [माउको शरीरबाहिर हुने गर्भधारण] को साधन हेर्ने टोलीबाहेक हामीले जनावरहरूको पूर्ण स्याहार गर्ने टोली बनाएका छौँ जसले गर्भान्तरणको काम गर्नेछ।"

के यो नैतिक छ?

रौँ भएका हात्तीहरूको चित्र

कतिपय आलोचकहरू लोप भइसकेका प्राणीलाई पुनर्जीवित तुल्याउनु अनैतिक ठान्छन्। कसैलाई ४,००० वर्षअघि पृथ्वीमा विचरण गर्ने रौँ भएको विशाल हात्तीलाई अस्तित्वमा ल्याउँदा कस्तो असर पर्छ भन्ने थाहा छैन।

यदि यो प्रविधिले काम गर्‍यो भने वैज्ञानिकहरू कहाँ गएर रोकिन्छन् भन्ने प्रश्न पनि छ।

भिक्टोरियाले अहिले भनिएको विधिबाट सिर्जना गरिने पद्धति पहिला अस्तित्वमा भए जस्तो नहुने कुरा बुझ्नु महत्त्वपूर्ण हुने बताउँछिन्।

उनले भनिन्, "लोप भएका प्राणीलाई पुन: अस्तित्वमा ल्याउने भन्ने जस्तो केही हुँदैन। अब बन्ने चिज पूरै नयाँ हुनेछ। कुनै पनि चिज एक पटक लोप भइसकेपछि त्यो गयो, हरायो र तपाईँले त्यसको प्रतिलिपि जस्तो मात्रै बनाउने हो।"

तर बेन लाम मानवजातिले गरेका त्रुटि सच्याउनु महत्त्वपूर्ण रहेको बताउँछन्।

"हामीसँग लोप भएका प्रजातिलाई पुनः अस्तित्वमा ल्याउने कुरालाई सम्भव बनाउने र मानवजातिले गरेका त्रुटिलाई सच्चाउने स्रोतसाधनहरू छन्।"

यो परियोजनामा गरिएको आर्थिक र वैज्ञानिक अनुभवको लगानी हेर्दा हामी लोप भएका प्राणी बिउँतिएको देख्न सक्ने अवस्थाको निकै नजिक पुगे जस्तो देखिन्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो लोपोन्मुख जीव ३,००० वर्षपछि अस्ट्रेलियामा फर्किएको छ