कोभिड: अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

पुनर्मिलन
Published

कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ।

एउटा सरकारी विज्ञप्तिमा भनिएको छः परिवर्तनहरूले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ।

सोमवार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ।

पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ।

कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो।

खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ।

सिड्नी
तस्बिरको क्याप्शन, लकडाउनका बेला सिड्नी

मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्।

सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए।

परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना भएको थियो।

तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि दिइएको छ।

अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ।