दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन भारतीय महिलाले जु्म्ल्याहा जन्माइन्

भाग्यलक्ष्मीले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चा जन्माइन्
तस्बिरको क्याप्शन, भाग्यलक्ष्मीले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चा जन्माइन्
    • Author, पद्म मीनाक्षी
    • Role, बीबीसी तेलगु
  • Published

भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ।

जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्।

"मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने कसरी मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चा जन्मिन्छ," भाग्यलक्ष्मी भन्छिन्।

उनले सेप्टेम्बर १५ मा जुम्ल्याहा जन्माएकी हुन्। दुई वर्षअघि यही दिन उनले दुई छोरीहरू (तीन वर्षीया र डेढ वर्षीया) लाई डुङ्गा दुर्घटनामा गुमाएकी थिइन्। सो दुर्घटनामा उनका अन्य नातेदारको पनि मृत्यु भएको थियो।

"अनौठो कुरो त यी जुम्ल्याहा बेलुकी ८ बजेतिर जन्मिएका हुन्। दुई वर्षअघि त्यही समयमा मैले मेरी छोरीहरूले संसार छोडेको खबर पाएकी थिएँ।"

गीता वैष्णवी र धर्ती अनन्याले डुङ्गा दुर्घटनामा ज्यान गुमाए
तस्बिरको क्याप्शन, गीता वैष्णवी र धर्ती अनन्याले डुङ्गा दुर्घटनामा ज्यान गुमाए

'प्रार्थना सुनियो'

जुम्ल्याहाको जन्मले दुई छोरी गुमाउनुको पीडा बिर्साउने परिवारले आशा गरेको छ।

"भगवान्‌ले हाम्रो प्रार्थना सुनेर मलाई मेरा बच्चाहरू फिर्ता दिए," भाग्यलक्ष्मी भन्छिन्।

उनी गरिब परिवारकी हुन् र उनको विवाह कानुनले तोकेको १८ वर्ष उमेर पुग्नुअघि नै भएको हो।

उनको पति सिसाको सामान बनाउने काम गर्छन्। तर अहिले यी दुवै आफ्नो सबै समय जुम्ल्याहासँग बिताइरहेका छन्।

डुङ्गा दुर्घटनामा ६० जनाको ज्यान गएको थियो
तस्बिरको क्याप्शन, डुङ्गा दुर्घटनामा ६० जनाको ज्यान गएको थियो

दुर्घटना

भाग्यलक्ष्मीका छोरीहरूको दुर्घटना उनीहरूको घरबाट २५० किलोमिटर पश्चिममा भाद्रचलम मन्दिरको यात्रामा रहँदा भएको थियो।

घरका अन्य सदस्यसँग उनीहरू गएका थिए।

जब डुङ्गा डुबेको खबर भाग्यलक्ष्मीले पाइन्, उनले भगवान्‌को प्रार्थना गर्न थालिन्।

"भगवान्‌ले मेरो प्रार्थना सुनेनन्। मेरो संसार अँध्यारो भयो। मलाई असह्य भयो," उनी सम्झिन्छिन्।

सो दुर्घटनामा मृत्यु हुने ६० जना थिए।

दुर्घटनापछि भाग्यलक्ष्मीले छोरीहरू गुमाएको पीडामा एक्लो महसुस गर्न थालिन्।

"सहनै नसकिने दुःख थियो। एउटा दुर्घटनामा हामीले परिवारका नौ सदस्य गुमायौँ। यस्तो वियोग कसरी सामना गर्ने?"

भाग्यलक्ष्मी आफ्ना दुई छोरी र पतिका साथ
तस्बिरको क्याप्शन, भाग्यलक्ष्मी आफ्ना दुई छोरी र पतिका साथ

अन्य नातेदारले पनि परिवारका सदस्यले गुमाएका कारण सान्त्वना दिने पनि कोही थिएन।

"म खान, सुत्न र आराम गर्न पनि सकिनँ। मलाई उनीहरू मात्रै सम्झना आइरहन्थ्यो। आँखा चिम्लियो कि मलाई छोरीहरू र नातेदारको सम्झना आउँथ्यो।"

"म चुप भएँ। मेरो घर पनि सुनसान भयो," उनी भन्छिन्।

भाग्यलक्ष्मीको परिवार दैनिक कामकाजमा मेसिन जस्तै बने। चाडपर्व र उत्सवहरूको रहर रहेन।

भाग्यलक्ष्मी आफ्ना दुई छोरी र पतिका साथ

सहयोग

भाग्यलक्ष्मीले कान्छी छोरी पाएपछि परिवार नियोजन गरेकी थिइन्। त्यसैले उनलाई फेरि बच्चा पाउन सक्ने विश्वास थिएन।

भाग्यलक्ष्मीका देवरले एक पटक चिकित्सकसँग सल्लाह गर्न भनेपछि उनीहरूले डा. पद्मश्रीलाई भेटे।

"उनी सधैँ निरस, निरुत्साहित र जीवनमा रुचि नभए जस्तो देखिन्थिन्," डा. पद्मश्री सम्झिन्छिन्।

चिकित्सकले उनीहरूलाई आईभीएफ टेस्टट्यूब उपचार गरे बच्चा पाउन सकिने बताए।

"भाग्यलक्ष्मी युवा नै थिइन र मलाई विश्वास थियो कि उनी गर्भधारण गर्न सक्छिन्," डा. पद्मश्रीले भनिन्।

यसले दम्पतीलाई आशा दियो। भाग्यलक्ष्मीका पतिले दिनमा एक हजार रुपैयाँ कमाउँथे। तर उनीहरूले उपचारका लागि पैसा जम्मा गरे।

डा. पद्मश्रीका अनुसार उपचार सुरु गरेको एक महिनामै भाग्यलक्ष्मी गर्भवती भइन्।

भाग्यलक्ष्मीका पहिलो दुई छोरीहरू
तस्बिरको क्याप्शन, भाग्यलक्ष्मीका पहिलो दुई छोरीहरू

जुम्ल्याहा बच्चा

भाग्यलक्ष्मीको गर्भधारण कोभिड महामारीको दोस्रो लहरसँगै थियो। त्यसैले उनले धेरै समय कोठामा एक्लै बिताइन्।

"मलाई दिइएको समय अक्टोबर २० थियो। तर सेप्टेम्बर १५ मा मलाई दुख्यो र दिउँसो निकै गाह्रो भयो," उनी भन्छिन्।

उनलाई अस्पताल लगियो। डा. पद्मश्रीले शल्यक्रिया गरेको बच्चाहरूलाई जन्म दिइन्।

बच्चाहरू देखेपछि भाग्यलक्ष्मी खुशी भइन्।

"मलाई दुवै छोरी हुन्छन् भन्ने थाहा थिएन। त्यो मेरो हातमा थिएन, थियो त? मैले मेरो दुई छोरी गुमाएकै दिन दुई छोरी पाउनु अचम्म होइन त?"

भारतमा जन्मअघि बच्चाको लिङ्ग पहिचान गर्न पाइँदैन।

दुवै बालिका केही कम तौलको भए पनि चिकित्सकले उनीहरूलाई घर लैजान सुरक्षित भएको बताए।

चिकित्सकसँग भाग्यलक्ष्मीको परिवार

खुशीको माहौल

भाग्यलक्ष्मी जुम्ल्याहाहरू पहिलेका छोरीजस्तै भएका बताउँछिन्।

"मैले छोरीहरूका लुगा र गहना सबै सुरक्षित राखेकी छु। म त्यही लुगा र गहना यी छोरीहरूलाई दिन्छु।"

भाग्यलक्ष्मीको घरमा खुशी, हाँसो र उत्सव फर्किएको छ।

ती दुई बालिकाको नाम मृत छोरीहरूकै सम्झनामा राखिएका छन्: गीता र अनन्या।

अस्पतालबाट बिदाइ

"म उनीहरूले खुशी र अचम्म भएर हेर्छु। म उनीहरू हुर्किएको हेर्न चाहन्छु। उनीहरू हिँडेको, बोलेको, खेलेको र पढेको हेर्न चाहन्छु।"

"मसँग खुशी व्यक्त गर्ने शब्द नै छैनन्।"