एमजनः सेवाग्राहीको डेटाको दुरुपयोग गरेको अभियोगमा साढे ८८ करोड डलर जरिबाना

एमजन

तस्बिर स्रोत, Getty Images

Published

एमजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको डेटा सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिबाना तिर्न भनिएको छ।

त्यस्तो जरिबाना लक्जेम्बर्गको डेटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो।

उक्त निकायले सो विशाल प्रविधि कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डेटाहरू प्रशोधन गरेको दाबी गरेको छ।

एमजनले भने तिर्नुपर्ने उक्त जरिबाना 'तथ्यमा आधारित नरहेको' बताउँदै आफूले 'जोडदार' रूपमा प्रतिरक्षा गर्ने जनाएको छ।

उक्त कम्पनीका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै 'डेटाको कुनै दुरुपयोग नभएको' बताएका छन्।

चासो

ईयूको साधारण डेटा सुरक्षासम्बन्धी निर्देशिकाले कम्पनीहरूले मानिसका स्वीकृतिमा मात्र उनीहरूको व्यक्तिगत विवरण लिन सक्ने वा चर्को जरिबाना सामना गर्नुपर्ने जनाउँछ।

सीएनपीडी भनिने लक्जेम्बर्गको डेटा सुरक्षा निकायले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको हो।

ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला त्यस्तो निर्णय आएको हो।

साना व्यवसायहरूले ठूला कम्पनीहरूले आफ्ना बजारको शक्तिलाई दुरुपयोग गरेको भन्दै उजुरीहरू समेत दिएका छन्।

जुन महिनामा द वालस्ट्रीट जर्नल पत्रिकाले ईयूको गोपनीयतासम्बन्धी कानुनका कारण एमजनमाथि ४२.५ करोड डलरसम्म जरिबाना हुन सक्ने लेखेको थियो।

एमजनले के भन्यो

एमजनकी एक प्रवक्ताले 'सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा' सुनिश्चित गर्नु आफूहरूको 'उच्च प्राथमिकता' भएको बताएकी छन्।

"त्यहाँ कुनै डेटाको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रोप क्षलाई दिइएको छैन," उनले भनिन्। "यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन्।"

उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वओकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताएकी छन्।

एमजन

तस्बिर स्रोत, AFP

एमजन र अमेरिकाका अन्य ठूला प्रविधि कम्पनीहरूले 'एकाधिकार' कायम गर्न खोजेको भन्दै उनीहरूको त्यस्तो शक्तिमा 'अङ्कुश लगाउनुपर्ने' आवाज उठ्ने गरेको छ।

यसअघि गुगल, ब्रिटिश एअरवेज, एचएन्डएम र मारिअट होटल्सजस्ता कम्पनीले कानुन मिचेको भन्दै युरोपेली सरकारहरूबाट जरिबाना खेपेका थिए।

तर तिनले तिरेको जरिबाना अहिलेको जस्तो विशाल परिमाणमा नभएर केही करोडमा थियो।

बीबीसीका व्यापार संवाददाता थेगो लेगेट भन्छन्, "यति धेरै जरिबाना तिर्नुपर्नेगरी एमजनले ठ्याक्कै के गरेको हो भन्ने हामीलाई थाहा छैन।"