मोनालिसा: विश्वविख्यात चित्रकलाको प्रतिकृति करोडौँ रुपैयाँमा लिलाम हुँदै

मोनालिसा हेकिङ
तस्बिरको क्याप्शन, रेमन्ड हेकिङले मोनालिसाको प्रतिकृति सन् १९५० को दशकमा एक कलाविक्रेतासँग किनेका थिए
Published

लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ।

उक्त कलाकृतिले तीन लाख पाउन्डसम्म अर्थात् झन्डै ४.९ करोड नेपाली रुपैयाँ मूल्य पाउने अपेक्षा गरिएको छ।

उक्त कृति दा भिन्चीका एक अनुयायीले अठारौँ शताब्दीको सुरुतिर बनाएको विश्वास गरिन्छ। पछि रेमन्ड हेकिङ नामक व्यक्तिको स्वामित्वमा पुगेकाले हिजोआज त्यो कृतिलाई "मोनालिसा हेकिङ" भनेर चिनिन्छ।

हेकिङको मृत्यु सन् १९७७ मा भयो। उनले अहिले लूभ्र सङ्ग्रहालयमा भएको मोनालिसाको चित्र वास्तविक नभएको आशङ्का व्यक्त गरेका थिए।

त्यति मात्र हैन उनले सङ्ग्रहालयलाई त्यहाँ भएको चित्रकला वास्तविक मोनालिसा भएको प्रमाणित गर्न चुनौती दिएका थिए।

यो प्रतिकृति प्यारिसस्थित क्रिस्टीज् लिलामघरमा विक्री हुनेछ।

क्यान्भासमा बनाइएको उक्त कला हेकिङले नीसस्थित एक कलाविक्रेतासँग सन् १९५० को दशकमा किनेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दृष्टिविहीन कलापारखीले यसरी मोनालिसाको मजा लिन्छन्

"यो कृति अनि यसको इतिहासले मोनालिसा र लिओनार्दो दा भिन्चीको गौरवप्रतिको रुचि देखाउँछन्," क्रिस्टीज्‌ले एउटा विज्ञप्तिमा भनेको छ।

ओल्ड मास्टर पेन्टिङ्सका अन्तर्राष्ट्रिय निर्देशक प्येअर एट्येनलाई उद्धृत गर्दै क्रिस्टीज्‌ले भनेको छः मोनालिसा हेकिङ "एक कलानुरागी व्यक्तिको सपना हो। त्यो ती व्यक्तिको आदर्श हो।"

"कला इतिहासकार र विश्वभरिको सञ्चारमाध्यममा रेमन्ड हेकिङ त्यसको (मोनालिसा हेकिङको) निष्ठावान् रक्षक थिए।"

लूभ्र सङ्ग्रहालयमा मोनालिसा
तस्बिरको क्याप्शन, केही महिना बन्द भएपछि खुलेको लूभ्र सङ्ग्रहालयमा मोनालिसा हेर्न कला पारखीहरू फेरि जान थालेका छन्

मोनालिसालाई संसारकै सर्वाधिक प्रसिद्ध चित्रकला मानिन्छ।

पुनर्जागरण कालका इटलीका कलाकार लिओनार्दो दा भिन्चीलाई अहिलेसम्मकै एक महान् चित्रकार मानिन्छ।

उनले उक्त कृति सत्रौँ शताब्दीमा बनाएका थिए।

चोरी

सन् १९११ मा मोनालिसा लूभ्र सङ्ग्रहालयबाट चोरी हुँदा संसारभरि ठूलो हल्लाखल्ला मच्चियो।

सङ्ग्रहालयका एक कर्मचारी उक्त कला चोर्न रातभरि दराजभित्र लुकेका थिए।

तर सन् १९१३ मा उनले पुरानो सामान सङ्कलन गर्ने एक व्यापारीलाई बेच्न खोज्दा मोनालिसा फेला पर्‍यो।

दुई वर्षअघि "अर्लिअर मोनालिसा" नामक एउटा चित्रकलाको स्वामित्वबारे ठूलो विवाद भयो।

उक्त कृति सन् १९६० को दशकमा लन्डनस्थित एउटा घरमा अगेनोमाथि भेटिएको थियो।

Short presentational grey line

कुन वास्तविक, कुन प्रतिकृति - चिन्न सक्नुहुन्छ?

यदि यो प्रश्न नदेखिए, यहाँ क्लिक गर्नुहोस्।

यो प्रश्नबाट बीबीसीले के सूचना सङ्कलन गर्छ? गोपनीयतासम्बन्धी जानकारी

Short presentational grey line