राजकुमार ह्यारी र मेगनद्वारा छोरी जन्मिएको घोषणा

३६ वर्षिय ह्यारी र ३९ वर्षिय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए।
Published

ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगनले दोस्रो सन्तानको रूपमा छोरी जन्मिएको घोषणा गरेका छन्।

लिलिबेट "लिलि" डायना माउन्टब्याटन-विन्डसरको जन्म शुक्रवार बिहान अमेरिकाको क्यालिफोर्नियाको एक अस्पतालमा भएको थियो।

एक वक्तव्यमार्फत ह्यारी दम्पतीले आमा र शिशु दुवै स्वस्थ्य र सकुशल रहेको जनाएको छ।

बकिङ्घम दरबारले भनेको छ: "महारानी, प्रीन्स अफ वेल्स र डचिस अफ कोर्न्वल एवम् ड्यूक र डचिस अफ क्याम्ब्रिज उक्त खबर सुनेर प्रसन्न भएका छन्।"

नामको अर्थ

राजकुमार ह्यारी र मेगनले आफ्नी छोरीको लागि जिजुआमा महारानी एलिजाबेथको परिवारमा बोलाइने नाम लिलिबेट छानिएको बताएका छन्।

महारानीले तोतेबोली बोल्ने बेलामा आफ्नो वास्तविक नामलाई राम्ररी उच्चारण गर्न नसक्दा उक्त नाम दिइएको थियो।

बीचको नाम डायना भने उनकी स्वर्गीय हजुरआमा प्रिन्सेस अफ वेल्सको सम्मानमा राखिएको उक्त विज्ञप्तिमा जनाइएको छ।

स्थानीय समय अनुसार बिहानको ११ बजेर ४० मिनेट जाँदा जन्मिएकी उनको तौल झन्डै ३.४९ केजी रहेको र अहिले उनी घरमा रहेको बताइएको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले 'धेरै बधाई' र लेबर नेता सर केअर स्टारमरले 'गज्जबको खबर' भन्दै सन्देश दिएका छन्।

एक वर्षअघि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो।
तस्बिरको क्याप्शन, एक वर्षअघि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो

राजगद्दीको आठौँ क्रममा

लिलिबेट महारानीकी ११औँ पनातिनी हुन् र उनी राजगद्दीको क्रममा आठौँ नम्बरमा पर्छिन्।

यसको अर्थ सन् १९६० मा राजगद्दीको दोस्रो क्रममा जन्मिएका राजकुमार एन्ड्रिउ अब राजगद्दीको लहरमा नवौँ स्थानमा पुग्नेछन्।

३६ वर्षीय ह्यारी र ३९ वर्षीय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए।

उनीहरूले आफ्नी छोरीको कुनै तस्बिर भने सार्वजनिक गरेका छैनन्।

विवाहको एक वर्षपछि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, को हुन् मेगन मार्कल?