कसरी आफ्नो मुखबाट खेल्छन् यी विश्व-स्तरीय खेलाडीहरू

गेमर
Published

अप्रिय केही भएको महसुस गर्दै गर्दा न्यूयोर्कको लङ्ग आइल्याण्डमा क्रीस स्कट आकाशबाट खस्दै थिए।

अनुभवी स्काइडाइभीङ प्रशिक्षकसँग करिब ६ हजार छलाङको अनुभव थियो र यो पनि उनका लागि सामान्य दिन हुनुपर्ने थियो।

स्कटको छातीमा हार्नेसको सहाराले अर्का जम्पर ग्यारी मेसीना जोडिएका थिए जसका लागि यो हरेक वर्ष जन्मदिनका दिन गर्ने एउटा कार्यक्रम थियो।

तर १७५ फिटको उचाइमा पुग्दा उनीहरूको प्यारासुटमा समस्या आयो।

२६ वर्ष पुग्नु भन्दा एक दिनअघि बन्दी गृहमा काम गर्ने मेसीनाको जमिनमा बजारिएर मृत्यु भयो। स्कट भने बाँचे तर केही क्षण मै अचेत भए।

सन् २०१४ को अगस्टमा ११ दिनपछि होस आउँदा चिकित्सकहरूले उनको घाँटी भन्दा तलको भागमा पक्षाघात भएको बताए।

स्कट त्यसपछि न्यूयोर्कस्थित आफ्नो परिवार बस्ने भवनमै बस्न थाले। ह्विलचेअर चलाउन उनले मुखबाट जोएस्टीक चलाउन थाले। उनी नियमित रूपमा माउन्ट सीनाइ अस्पताल जान्थे।

सन् २०१९को मार्चमा त्यहाँ उनले डाक्टर डेभिड पुट्रीनोलाई भेटे। उनले विभिन्न तरिकाबाट बिरामीहरूको स्वास्थ्य सुधार गर्ने प्रयास गर्थे।

हाइ पर्फर्मेन्स एथलिटहरूलाई तालिम दिन प्रयोग गरिने विधिका साथै भर्चुअल रियालिटी जस्ता प्राविधिक हलको उनी प्रयोग गर्थे।

डाक्टर डेभिड पुट्रीनो र क्रिस स्कट
तस्बिरको क्याप्शन, डाक्टर डेभिड पुट्रीनो र क्रीस स्कट

स्कटले आफ्नो अवस्थासँग जुझिरहेका बेला यी दुईको भेट भयो। स्कटले अब आफ्नो जीवनको कुनै लक्ष्य नभएको महसुस गरिरहेका थिए र पुट्रीनोले उनको सहयोग गर्न सक्छन् की भनेर उनलाई सिफारिस गरिएको थियो।

"हामीले केहीबेर एक अर्कालाई हेरेरै बस्यौँ," पुट्रीनोले भने। "र त्यसपछि मैले सोधेँ: तिमीलाई के गर्न मन छ?"

स्कटले आफूलाई अरूसँग भिडिओ गेम खेल्न मन पर्ने बताए। पुट्रीनो आश्चर्यमा परे।

स्कट जस्तो पक्षाघात भएका व्यक्तिले अरूसँग प्रतिस्पर्धात्मक भिडिओ गेम खेलेको उनले देखेका थिएनन्।

क्रीस स्कट
तस्बिरको क्याप्शन, स्कटले विभिन्न किसिमका सेन्सर जडित जोएस्टीकको प्रयोग गरी गेम खेले

केही समयपछि उनीहरूले अस्पतालमै एनबीए टुके खेल प्लेस्टेसनमा लोड गरे।

स्कटले विभिन्न किसिमका सेन्सर जडित जोएस्टीकको प्रयोग गरी गेम खेले। हावा तानेर वा हावा फालेर त्यसबाट खेल नियन्त्रण गर्न सकिन्थ्यो।

स्कटले आफ्नो ओठको सहाराले जोएस्टीक सार्थे र बास्केटबल खेलाडीहरूलाई आफूले चाहे जसरी नियन्त्रण गर्थे।

"यो अविश्वसनीय रूपमा निपुण अनि कुशल थियो," पुट्रीनोले भने। "र एक्कासी उनले मलाई हाएल कायल पार्न थाले।"

यो अनुभवले ती दुबैलाई एउटा उपाय दियो। यी दुबैलाई इ-स्पोर्टसको बढ्दो बजारबारे जानकारी थियो।

स्कटको खेल्ने कला अनि पुट्रीनोको हाइ-पर्फमेन्स तालिमसम्बन्धी विशेषज्ञतालाई कुम भन्दा मुनीको भाग पक्षाघातबाट प्रभावित भएका खेलाडीहरूको इ-स्पोर्टस टोली बनाउन सके कस्तो हुन्थ्यो होला?

स्कटले अस्पतालका अन्य बिरामीहरूलाई यसबारे सोधे। "यो ठूलो परीक्षा थियो किनकि हामीलाई कसैले सम्पर्क गर्छ गर्दैन भन्ने थाहा थिएन," पुट्रीनोले भने।

तर उनीहरूले धेरै समय कुर्नु परेन।

Short presentational grey line

सम्पर्कमा आउने पहिलो केही मध्य एक थिए ब्लेक हन्ट। उनले बाल्यकाल देखिनै भिडिओ गेम खेल्ने गर्थे।

"म आफ्ना दाजुभाइहरूसँग निन्टेन्डो खेलेको सम्झन्छु," उनले भने। "जसले जित्थ्यो उसले दिनभर फुर्ती लगाउन पाउँथ्यो।"

ब्लेक हन्ट
तस्बिरको क्याप्शन, ब्लेक हन्ट

प्रतिभाशाली फुटबल खेलाडी हन्टको १७ वर्ष हुँदा विद्यालयका लागि खेल्ने क्रममा घाँटी भाँच्चिएको थियो।

त्यसपछि खुट्टा चलाउन नसके पनि पाखुरा अनि नाडी भने सार्न उनी सक्षम थिए। तर भिडिओ गेम खेल्न भने सहज थिएन।

हताश उनले निकै प्रयासपछि आफ्ना नाडी जोडिएपछि धकेल्दा विशेष रूपमा बनाइएको जोएस्टीकका बटन थिच्न सक्ने र सार्न सक्ने भए।

त्यसपछि उनले खेलेको पहिलो गेम कल अफ ड्युटी: ब्ल्याक अप्स थियो। पछि उनले अमेरिकन फुटबल खेले।

"त्यस बेला मैले के महसुस गरेँ भने म जो कोही सरह प्रतिस्पर्धी बन्न सक्छु," उनले भने।

क्वाड्स गड्स

केही समयपछि स्कट र पुट्रीनोले एउटा छलफल कार्यक्रम राखे र आफ्नो इ-स्पोर्टस टोलीबारे योजना सुनाए।

केही समयपछि पक्षाघात भएका आठ जनाको नियमित भेटघाट हुन थाल्यो। "र, त्यहाँबाट योजनाले उडान भर्न थाल्यो," हन्टले भने।

उनीहरूले खेलेको सुरुवाती केही गेममा लिग अफ लीजेन्ड्स पर्छ। यो खेलमा आपसी सहयोगको आवश्यकता पर्छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

सर्जीओ अकेभेडो आरामले खेल्न रुचाउने शान्त स्वभागका थिए भने रिचर्ड जेकब्स फुर्तिला व्यक्ति थिए। तनावका बेला हन्टले कहिलेकाहीँ गीत गाएको सुन्न सकिन्थ्यो।

"एक्लै खेल्दा कहिलेकाहीँ जित्न गाह्रो हुन्थ्यो," हन्टले भने। "तर जब हामी सँगे खेल्थ्यौँ हामीलाई जित्न निकै गाह्रो थियो।"

नीरी स्टीभन्स
तस्बिरको क्याप्शन, नीरी स्टीभन्स

नीरी स्टीभन्स समूहकी अर्की सदस्य थिइन्। ३० वर्षकी उनी आफ्नो मुखले साथीहरूको चित्र कोर्थिन।

१८ वर्षको उमेरमा घाँटीमा गोली लागेपछि भिडिओ गेम उनको जीवनको पनि महत्त्वपूर्ण पाटो बन्न पुग्यो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

उनीहरूले प्राय स्वस्थ मानिसहरूसँग खेल्थे। कहिलेकाहीँ उनीहरूका विपक्षीलाई कोसँग खेलिरहेको छु भन्ने समेत थाहा हुँदैन थियो।

तर ट्विच जस्ता स्ट्रिमिङ्ग प्लेटफर्मको लोकप्रियता बढिरहेको अवस्थामा खेलाडीहरूले एक अर्कालाई देख्न सक्छन्। नीरीलाई प्रतिस्पर्धीले आफूलाई देखेको मन पर्छ।

क्वाड्स गड्स

सन् २०१९मा उनीहरूको टोली प्रतिस्पर्धा गर्नका लागि तयार थियो। जुलाईमा उनीहरूले अर्को एउटा छलफल गरे।

पछि स्कटले पुट्रीनोलाई प्रतियोगिता जित्न सकिएला भन्ने प्रश्न गरेका थिए। जवाफमा पुट्रीनोले उनीहरूले जे गरिरहेका छन् त्यो नै जित रहेको बताए। स्टक मुस्कुराए र ह्वालिचेअरमा बाहिरिए।

त्यसको केही दिनपछि एउटा पिडादायी खबर आयो। छातीमा इन्फेक्सनका कारण स्कटको मृत्यु भयो।

"त्यो हाम्रा लागि ठूलो झट्का थियो," पुट्रीनोले भने।

पछि उक्त टोलीले स्कटले सुरु गरेको यो सिलसिलालाई अघि बढायो। उनीहरूको टोलीको नाम क्वाड गड्स राखियो।

रिचर्ड जेकब्स
तस्बिरको क्याप्शन, रिचर्ड जेकब्स

पहिलो प्रतियोगितामा ९९ टोली थिए। उनीहरू चौथो बने।

उनीहरूको टोलीबारे समाचार फैलिँदै गयो र उनीहरूले लगानीका अवसर समेत पाउन थाले।

उपकरण खरिद गर्न र इ-स्पोर्टस टोली भएर आधिकारिक रूपमा अघि बढ्न आवश्यक पर्ने रकम उनीहरूले प्राप्त गरे।

उनीहरूको लक्ष्य आगामी वर्षको इ-स्पोर्टस वर्ल्ड च्याम्पियनसिपमा राम्रो स्थान सुरक्षित गर्ने रहेको छ।

ओलिम्पिक्स कमिटीले सन् २०२४मा इ-स्पोर्टस्‌लाई समावेश गर्ने सम्भावना प्रबल छ।

वर्ल्ड र्याङ्कीङ्ग सुरक्षित गर्दै क्वाड् उक्त प्रतियोगिताका लागि योग्य बन्न चाहन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गृहिणीदेखि बडीबिल्डरसम्म