संवैधानिक परिषद् अध्यादेश प्रकरण: ओली र अन्य नेताको राजनीतिक योग्यताको परीक्षण भएको हो त?

प्रधानमन्त्री ओली
तस्बिरको क्याप्शन, नेकपाको स्थायी समिति बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने
Published
पढ्ने समय: २ मिनेट

बलियो बहुमतप्राप्त वर्तमान सरकार र पार्टीका नेताहरूका पछिल्ला गतिविधिलाई 'गम्भीर राजनीतिक अयोग्यता'को अवस्थाका रूपमा केही विश्लेषकहरूले टिप्पणी गरेका छन्।

राजनीतिशास्त्री कृष्ण खनालका बुझाइमा अहिले नेपालमा राजनीतिक सङ्कटको अवस्था छैन।

तर पार्टी नेतृत्वमा रहेका व्यक्तिको "अयोग्यता" ले राजनीतिक सङ्कटको स्थिति निम्त्याउन सक्ने देखिएको छ।

उनी भन्छन्, "व्यक्तिको अयोग्यता नै प्रणालीको सङ्कटको अवस्था हुन्छ भने त्यो भन्दा ठूलो दुर्भाग्य देशका लागि कुनै हुँदैन।"

उनी त्यसको एउटा उदाहरण गत वैशाखमा ल्याइएका अध्यादेशहरू कार्यान्वयन गर्न नसकी फिर्ता लिनुपरेको थाहा हुँदाहुँदै प्रधानमन्त्रीले सोही कदम दोहोर्‍याएका घटना हो भन्छन्।

"अघिल्लो पटक नै असफल भएको र आफू टिक्न नसक्ने कुरा दोहोर्‍याउने कार्य प्रधानमन्त्रीको राजनीतिक अयोग्यता मात्र हो," उनले भने।

खनालका बुझाइमा विचार नगरी प्रधानमन्त्रीले गरेका सिफारिसहरू सदर गर्नुले राष्ट्रपतिमाथि पनि नैतिक प्रश्न खडा हुन सक्छ।

राजनीतिक विश्लेषक झलक सुवेदी पनि आफ्नै दल, प्रतिपक्ष र संसद्‌लाई छल्न खोज्दा अध्यादेश प्रकरणमा प्रधानमन्त्रीमा "नेतृत्व क्षमताको अभाव" देखिन पुगेको बताउँछन्।

उनी भन्छन्, "प्रधानमन्त्रीको नेतृत्व क्षमतामा प्रश्न उठ्यो। कार्यकारीको नेतृत्व प्रदर्शन गर्नेमा या त उहाँमा क्षमता अभाव छ कि त इगोबाट प्रेरित हुनुभयो।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अन्य नेताप्रति पनि प्रश्न

खनाल वैधानिक तवरबाट प्रधानमन्त्रीलाई कस्न वा हटाउन नसक्नुले सत्ताधारी दलका अन्य नेताहरू पनि "अयोग्य रहेको" देखिएको बताउँछन्।

सुवेदीका अनुसार अहिलेको अवस्थाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेकपाका शीर्षस्थ नेताहरूको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठाएको छ।

"यस्तो गन्जागोल सिर्जनामा धेरै भूमिका ओलीको होला तर जिम्मेवारी त अन्य नेताको पनि छ नि!" सुवेदी भन्छन्।

राष्ट्रपति कार्यालय
तस्बिरको क्याप्शन, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्

'कार्यकारीको हात बाँध्ने व्यवस्था'

सुवेदीका विचारमा अध्यादेश प्रकरण घटित हुनुको कारण "कार्यकारीको हात बाँध्नेखाले संवैधानिक परिषद्‌को गठन" हुनु पनि हो।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै अङ्गका प्रमुख सदस्य रहने र विपक्षी दलको नेता पनि हुने परिषद्को गठनले पनि अहिलेको अवस्था निम्त्याएको हुनसक्ने उनको बुझाइ छ।

उनी भन्छन्, "हाम्रो संवैधानिक परिषद्को परिकल्पना कार्यकारीको हात बाँध्ने खालको रहेछ।"

संवैधानिक निकायहरूमा "भाग खोजेर" प्रमुख प्रतिपक्षी दलको नेता बैठकमै नजानुले प्रतिपक्षी दलको नेतृत्वमाथि पनि प्रश्न उठ्ने उनी बताउँछन्।

उनी भन्छन्, "प्रतिपक्षी दलले भाग खोजेर एक वर्ष बैठक बस्न नदिने कार्य गर्‍यो। प्रतिपक्षीले नियुक्तिमा भाग खोज्ने हो भने सत्तामा गए भइहाल्यो नि!"