बीबीसी हन्ड्रेड विमिन २०२०: वुहान लकडाउन डायरीका लागि देशद्रोही ठहर गरिएकी चिनियाँ लेखिका

Chinese writer Fang Fang poses in red coat outside.
Published

उनले कोरोनाभाइरस महामारीको शुरूवाती दिनहरू अभिलेख गर्ने क्रममा तयार पारेको दैनिकीका कारण राष्ट्रवादीहरूबाट चर्को आलोचनाको सामना गर्नुपरेको थियो। तर चिनियाँ लेखिका फाङ फाङ भन्छिन उनी चुप लागेर बस्ने छैनन्।

“जब विपत्‌को समाना गरिन्छ, आफ्नो धारणा राख्नु वा आफ्नो तर्फबाट सुझाव दिनु निक्कै महत्त्वपूर्ण हुन्छ,” अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दुर्लभ अन्तर्वार्ता दिने क्रममा उनले बीबीसी चिनियाँ सेवालाई इमेलमा भनिन्।

गएको ज्यानुअरीको अन्त्यमा जब वुहान पूर्ण लकडाउनको अवस्थामा जाने विश्वको पहिलो ठाउँ बन्यो शहरका झण्डै १ करोड १० लाख मानिसहरूले फाङ फाङको अनलाइन दैनिकी पढेर आफूलाई सान्त्वना दिए।

उनले तयार गरेका दैनिकीले मानिसहरूलाई शुरूमा भाइरस देखा परेको शहरको चर्चा नगरिएका पाटोबारे पनि जानकारी उपलब्ध गरायो।

ट्विटरको चिनियाँ संस्करण मानिने चिनियाँ समाजिक सञ्जाल वाइबोमा ६५ वर्षीय लेखिकाले लकडाउनको समयमा एक्लै आफ्नो कुकुरसँग समय बिताउनुपर्दाको अनुभव साटेकी थिइन्।

वुहानमा भाइरस परीक्षण
तस्बिरको क्याप्शन, वुहानमा भाइरस परीक्षण

उनले अधिकारीहरूले जनाएको प्रतिक्रियाको अध्याँरोपक्षबारे पनि चर्चा गरेकी थिइन्।

शुरूमा त्यसलाई सकारात्मक रूपमा लिइएको भएपनि पछि कतिपयले उनको प्रयासलाई अराष्ट्रवादी काम भन्दै चर्को आलोचना गरेका थिए।

बीबीसी हन्ड्रेड विमिन २०२० सिजनका लागि कुरा गर्दै फाङ फाङले बीबीसीलाई निन्दाका बावजुद आवाज उठाएकोमा आफूलाई पश्चाताप नभएको बताइन्।

सजीव चित्रण

फाङ फाङ भन्छिन्, उनले आफ्नो मस्तिष्कलाई एक ठाउँमा केन्द्रित हुन सहयोग पुगोस् र लकडाउनको समयमा के के भयो भनेर पछि फर्केर हेर्न सकियोस् भनेर दैनिकी लेखेकी हुन्।

दैनिकी लेख्दा लकडाउनका बेला स्वस्थ रहन मद्दत गरेको फाङ फाङ बताउँछिन्
तस्बिरको क्याप्शन, दैनिकी लेख्दा लकडाउनका बेला स्वस्थ रहन मद्दत गरेको फाङ फाङ बताउँछिन्

बाँकी विश्वबाट अलग हुनुपर्दा कस्तो अनुभव हुन्छ भन्ने भावना आफ्ना दैनिकीमा कैद गरेकी उनले मृत्यु देख्दाको सामुहिक पीडा र निराशा बयान गरेकी थिइन्। उक्त सङ्कटलाई राम्रोसँग स्थानीय अधिकारीहरूले व्यवस्थापन नगर्दाको आक्रोश पनि उनले समावेश गरेकी थिइन्।

शुरूमा देशभित्र उनको डायरीको प्रशंसा गरिएको थियो र सरकारी सञ्चारमाध्यम चाइना न्यूज सर्भिसले ‘सजिव चित्रण, वास्तविक भावना र सिधा शैली’ भएकाले उनका पोष्टहरू प्रेरणादायी भएको उल्लेख गरेको थियो।

तर अन्तर्राष्ट्रिय स्तरमा ध्यान तान्न थालेपछि उक्त प्रतिक्रिया उल्लेख्य रूपमा बदलियो।

सो डायरीलाई अमेरिकी प्रकाशक हार्पर कोलिन्सले चिनियाँ भाषाबाट अङ्ग्रेजीमा अनुवाद गर्ने विवरणपछि आक्रोशको तह उच्च विन्दुमा पुगेको थियो।

उनले भनिन्, “महामारीको समयमा मैले लेखेका ६० वटा दैनिकीका कारण… मलाई राज्यका निकायहरूले शत्रुका रूपमा हेर्छन्।”

फाङका अनुसार चिनियाँ सञ्चारमाध्यमहरूलाई उनका कुनै पनि लेख प्रकाशन नगर्न आदेश दिइएको छ। र उनका नयाँ सहित कुनै पनि पुस्तक प्रकाशन वा पुनर्मुद्रण गर्न चिनियाँ प्रकाशकहरूले चासो दिइरहेका छैनन्।

“एक जना लेखिकाको लागि यो ज्यादै नै निर्दयी स्थिति हो,” उनले बीबीसीसँग भनिन्। “सम्भवत: मैले सरकारको प्रशंसा गर्नुभन्दा बढी साधारण मानिसहरू प्रति बढी सहानुभूति राखेँ त्यही भएर मलाई दोषी ठहर गरियो।”

दुर्व्यवहार

आइ फेनको चित्र
तस्बिरको क्याप्शन, आइ फेन वुहानमा कोभिड १९ बारे शुरूमा सचेत गराउने केही डाक्टरमध्ये एक हुन्

वास्तविक नाम वाङ फाङ भएकी फाङ फाङ भन्छिन्, "उनले बेहोरेको नोक्सानी सरकारी अस्वीकार्यतामा मात्रै सिमित छैन।"

आफूले ज्यान लिने धम्की सहितका दशौँ हजार गालीगलौजपूर्ण सन्देश प्राप्त गरेको उनी बताउँछिन्।

सामाजिक सञ्जालमा उनलाई देशद्रोही ठहर गरिएको छ र पश्चिमा विश्वसँग मिलेर चिनियाँ सरकार विरूद्ध षडयन्त्र गरेको आरोप लगाइएको छ। कतिपयले उनलाई अमेरिकी गुप्तचर निकायले ती डायरी लेख्न रकम दिएको आरोप लगाएका छन्।

फाङ फाङले ती आक्रमणहरूले आफूलाई आश्चर्य र अलमलमा पारेको बताएकी छन्।

ती आक्रमणले आफूलाई हिंसात्मक समूहले पश्चिमा विश्वसँग सम्बन्ध भएका सहित बौद्धिक र ‘वर्ग शत्रु’ लाई समाप्त गर्ने उद्देश्यले सन् १९६६ देखि सन् १९७६ सम्म भएको सांस्कृतिक क्रान्तिको सम्झना गराएको उनले बताइन्।

“सांस्कृतिक क्रान्तिका समयमा प्रयोग भएका शब्दहरू जस्तै ‘वर्ग संघर्ष’ र ‘सर्वहारा वर्गको अधिनायकत्व’ फेरि देखा परेका छन्। त्यसको अर्थ चीनमा भएका सुधार विफलता र प्रतिगमनतर्फ अघि बढ्दैछन्।”

लकडाउनको आवश्यकता

फाङ फाङ
तस्बिरको क्याप्शन, फाङ फाङले आइसोलेशनमा बस्नुपर्दा परेको मानसिक असरदेखि दैनिक जीवनका चुनौतीसम्म लेखेकी थिइन्

विश्वका सबै कुनामा कोरनाभाइरसको सङ्क्रमण फैलिएको देखेपछि फाङ फाङ भन्छिन्, "वुहानमा ७६ दिन लकडाउन लगाउने चिनियाँ सरकारको निर्णय सही थियो। त्यो त्यसबेलाको उनको दैनिकीमा पनि समावेश गरिएको छ।"

‘अहिले भाइरस बिना वुहानमा हिँडडुल गर्न हामीले चुकाएको महङ्गो मूल्य त्यो लकडाउन थियो।”

गएको एप्रिल यता वुहानमा स्थानीय सङ्क्रमणका घटना प्रकाशमा आएका छैन।

“यदि त्यस्तो कडा कदम नचालिएको हुँदो हो त वुहानको अवस्था नियन्त्रण भन्दा बाहिर जाने थियो। त्यही भएर म सबै रोग नियन्त्रणका लागि चालिएका कदमको समर्थन गर्छु।”

फाङ फाङले अरू देशहरूले पनि चीनबाट सिक्न सक्ने भन्दै महामारीको समयमा भेला हुन प्रतिबन्ध लगाइएका, मास्क लगाउन अनिवार्य बनाइएको र आवास कम्प्लेक्स प्रवेश गर्न स्वास्थ्य क्यू आर कोडको व्यवस्था गरिएको उल्लेख गरिन्।

सिकाइ

तर घरेलु रूपमा भाइरस नियन्त्रणका लागि चीनले प्राप्त गरेको सफलताले शुरूमा अधिकारीहरूले त्यसको व्यवस्थापनका लागि चालेका कदमबारे अनुसन्धान गर्न बाधा गर्न नहुने उनको तर्क छ।

पुस्तक पसलमा हस्ताक्षर गर्दै चिनियाँ लेखक फाङ फाङ
तस्बिरको क्याप्शन, फाङ फाङ लु सुन साहित्यिक पुरस्कार सहित अनेकौँ पुरस्कारबाट सम्मानित छन्

फाङ फाङ भन्छिन्, “माहामारी नियन्त्रणमा लिन किन यति लामो समय लाग्यो भनेर विस्तृत अनुसन्धान गरिएको छैन।”

उनले राष्ट्रिय स्वास्थ्य आयोगले किन भाइरस नियन्त्रण र रोकथाम गर्न सकिने धारणा राख्यो भनेर पनि प्रश्न गरिन्।

फाङ फाङका अनुसार चीनमात्र नभई पूरा विश्वले यो महामारीबाट शिक्षा लिन जरुरी छ।

“मानवको अज्ञानता र अहङ्कारले भाइरस यति व्यापक र यति लामो समयसम्म फैलिएको हो।”

भाइरस नियन्त्रणमा लिन वुहानमा कडा लकडाउन लगाइएको थियो
तस्बिरको क्याप्शन, भाइरस नियन्त्रणमा लिन वुहानमा कडा लकडाउन लगाइएको थियो

उनको दैनिकीलाई अङ्ग्रेजीमा उल्था गरेका प्राध्यापक माइकल बेरीले सही काम गरेको बोध भएकाले फाङ फाङ विचलित नभएको बताए।

“उनी बाहिरिया होइनन् र उनले सरकार ढाल्नुपर्छ भनिरहेकी छैनन्। उनी एक जना त्यस्ती व्यक्ति हुन् जसले आफूले वुहानको लकडाउनको समयमा जे देखिन् त्यसलाई दस्तावेजको स्वरूप दिइन्।”

तर त्यसो गर्ने क्रममा उनले महामारीको व्यवस्थापन बाहेक चिनियाँहरू आफ्ना लागि कस्तो समाज बनाउन चाहन्छन् भनेर प्रश्न गरेकी थिइन्।

वुहानमा लकडाउनको समयमा पनि साथ दिएको आफ्नो १६ वर्षको कुकुर मरेपछि फाङको व्यक्तिगत जीवनमा पीडा छाएको छ। तर उनी अझै अविचलित छन्।

आफूले लेखेका सामग्री आफ्नै देशमा छापिने अपेक्षा सहित उनी अझै लेखिरहेकी छन्।

फाङ फाङ भन्छिन्, "उनलाई कुनै पश्चाताप छैन्। “म सम्झौता गर्नेछैन र चुप लागेर बस्नुपर्ने अवस्था छैन।"