अमेरिका निर्वाचन २०२०: जो बाइडन र डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा, कसले जित्दा नेपाली मूलका आप्रवासीमा कस्तो प्रभाव

बाइडन र ट्रम्प

तस्बिर स्रोत, Getty/EPA

Published

अहिले विश्वकै ध्यान मङ्गलवार नोभेम्बर ३ मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनले तानेको छ।

रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई भूतपूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका नेता जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

चुनावअघिका मत सर्वेक्षणहरूमा बाइडन अगाडि देखिन्छन्।

यसपालि ऐतिहासिक रूपमा करोडौँ मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गर्न पाउने सुविधाअन्तर्गत चुनावको दिन अगाडि नै मत दिइसकेका छन्।

नेपालमा पनि अमेरिकी चुनावलाई लिएर चासो छँदैछ, त्यसमाथि दशौँ हजार नेपाली मूलका अमेरिकीहरूको निम्ति त यो सोझो चासोको विषय बनेको छ।

नारायण श्रेष्ठ

तस्बिर स्रोत, NArayan Shrestha

यसै सन्दर्भमा अमेरिकाको बस्टनस्थित नेपाली पत्रकार नारायण श्रेष्ठको दृष्टिमा चुनावी वातावारण र अन्तिम परिणामका सम्भावित असरबारे गरिएको कुराकानीमा आधारित सामग्री यहाँ प्रस्तुत छ।

चुनावको पूर्वसन्ध्यामा कस्तो वातावारण?

अमेरिकाका ५० वटा राज्य र वाशिङ्टन डीसीमध्ये कतिपय स्थानमा चाँडो मत हाल्न पाउने सुविधाअन्तर्गत धेरैले मतदान गरिसकेका छन्।

अहिले नोर्थ क्यारलाईना, विस्कन्सिन, पेन्सल्भेनिया, मिशिगनजस्ता केही राज्यमा प्रचारप्रसार केन्द्रित देखिन्छन् किनभने तिनले नै चुनावको नतिजा कतापट्टि ढल्किन्छ भन्नेमा विशेष प्रभाव पार्ने ठानिन्छ।

चाँडो हालिएका मतपत्रहरू कसरी गणना गरिन्छ वा कति छिटो तिनको गणना हुन्छ भन्नेबारे पनि प्रश्नहरू उठेका छन्।

गणनापछि नतिजा चुनावको दिनलगत्तै आउँछ कि आउँदैन भन्नेमा पनि धेरै चासो देखिन्छ।

डोनल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल अर्को चार वर्षले थपिन्छ कि बाइडनले जित्नेछन् भन्नेबारे कताकता डर र चिन्ताको मानसिकता अमेरिकी मतदातामा देखिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आप्रवासी मतदाता जसले अमेरिकी निर्वाचनको छिनोफानो गर्न सक्छन्

कुन मुद्दामा धेरै केन्द्रित भएको छ यो चुनाव?

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित र मृत्यु भएको हुनाले यहाँ कोभिड-१९ नै यसपालि प्रमुख मुद्दा बनेको छ।

यसलाई वर्तमान प्रशासनले कसरी व्यवस्थापन गरेको छ अनि त्यो सही छ कि छैन भन्ने बहस भएका छन्।

कोभिडसँग जोडिएका स्वास्थ्यका अन्य मुद्दामा रिपब्लिकन र डेमोक्र्याटिक दलका अजेन्डा के छन् भन्ने पनि प्रमुख चासो बनेको छ।

कोभिडकै कारण निकै अप्ठेरोमा परेको अर्थतन्त्र दोस्रो प्रमुख चासोमा छ।

ट्रम्प

तस्बिर स्रोत, EPA

अर्को प्रमुख मुद्दा आप्रवासीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै छ। अमेरिका संसारकै सबभन्दा धेरै आप्रवासी आउने मुलुक पनि हो।

त्यसपछि धेरैले चासो राख्ने अर्को मुद्दा भनेको अमेरिकाको विश्वमञ्चमा प्रभाव र हैसियतको निरन्तरता पनि हो। ट्रम्पको कार्यकालमा अमेरिका प्यारिस जलवायु सम्झौताजस्ता बहुपक्षीय सम्झौताबाट अलग्गिएको थियो।

नेपाली मूलका अमेरिकी नागरिकको चासो कस्तो?

अमेरिकामा नेपाली र नेपालीभाषी भुटानी गरी लगभग पाँचलाख नेपालीभाषी भएको अनुमान छ। स्वभावैले अलि उदार मुद्दाहरूमा यो समुदायको केही बढी झुकाव देखिन्छ।

उदाहरणका लागि योभन्दा पहिले अमेरिकी नागरिक वा गैरनागरिक नेपालीहरूले पनि आफ्ना परिवारका सदस्यका लागि यहाँको स्थायी बसोबास सुविधा वा ग्रीनकार्ड लिँदाखेरि दुई-तीन पन्नाको निवेदन दिए पुग्थ्यो।

तर अहिले १२-१५ पन्ना भर्नुपर्छ। त्यो खालको अप्ठेरोदेखि लिएर विद्यार्थीहरूले कति घण्टा काम गर्न पाउने भन्ने जस्ता विषय यो समुदायको चासोमा परेका छन्।

अर्कोतिर साना व्यापार व्यवसाय गर्नेहरूका निम्ति चाहिँ सरकारले यो कोभिडका कारण परेको प्रभावबाट जोगिन के कस्तो राहत दिन सक्छ वा ऋणको ब्याजदर के हुन्छ भन्ने कुरामा ध्यान दिइरहेका छन्।

बाइडन

तस्बिर स्रोत, Reuters

ट्रम्पले वा बाइडनले जिते त्यसको अमेरिकामा र अन्यत्र कस्तो असर पर्ला?

अमेरिकाभित्र ट्रम्पको थप चारवर्षे कार्यकाल भयो भने रङ्गको आधारमा गरिने राजनीति सम्भवत: अझ बढी जब्बर भएर आउन सक्छ।

त्योबाहेक आप्रवासीहरूलाई हेरिने सवाल, अर्थतन्त्र र अमेरिकी-केन्द्रित रोजगारी प्रमुख भएर आउँछन् होला।

अन्तर्राष्ट्रिय सन्दर्भमा थप चार वर्षको ट्रम्प प्रशासनको अर्थ विश्वमा अमेरिकी उपस्थिति अझै फितलो र पातलो हुँदै अमेरिकी नेतृत्वको अवस्था परिवर्तन हुनसक्छ।

बाइडन राष्ट्रपतिमा चुनिए भने चाहिँ डेमोक्र्याटिक पार्टीले अँगाल्ने उदार नीतिहरू आप्रवासी तथा देशभित्रकै जातिय सवालमा मुखरित हुनसक्छ। अन्तर्राष्ट्रिय बहुपक्षीय साझेदारीमा अमेरिका फर्कन सक्छ।

अन्तर्राष्ट्रिय सन्दर्भमा चाहिँ बाइडन प्रशासनले शायद अमेरिकाको गुमेको साखलाई जोगाउने कोशिश गर्नेछन्।

(अमेरिकास्थित नेपाली पत्रकार नारायण श्रेष्ठसँगको कुराकानीमा आधारित। लेखमा उल्लिखित विचार लेखक स्वयंको हो)