अमेरिकी निर्वाचन २०२०: के मतदान सकिएपछि मङ्गलवार राति नै नतिजा आउन सक्छ?

डेलवेअरमा बालबालिका
तस्बिरको क्याप्शन, डेलवेअरमा आयोजित चुनावी कार्यक्रममा बालबालिका
Published

मान्नुहोस यो अमेरिकामा निर्वाचन सम्पन्न भएको रात हो। तपाईँ १० घण्टादेखि टेलिभिजनमा आँखा गाडेर बसिरहनुभएको छ र सामाजिक सञ्जालमा आउने समाचारहरूमा ध्यान केन्द्रित गरिरहनुभएको छ। तर न त राष्ट्रपति डोनल्ड ट्रम्पले न त पूर्वउपराष्ट्रपति जो बाइडनले नै हार स्वीकारिरहेका छन्, कुनै दुःस्वप्नमा जस्तो एउटा चुनावी विवाद सुरु भएको छ।

पुनः मतगणना थालिन्छ, बदर मतबारे मुद्दा पर्छ अनि देशभरि नागरिक तनाव सुरु भइसकेको छ।

राष्ट्रपतिबारे टुङ्गो लगाउन चाँडै एउटा कानुनी अपील संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतसम्म पुग्छ।

यद्यपि यदि अमेरिकीहरूले चुनावी नतिजालाई कुर्ने हो भने यीमध्ये धेरै कुरालाई टार्न सकिन्छ। तर कति समय कुर्नुपर्ने हो? यो प्रश्न त्यति सजिलो छैन।

के कारण विलम्ब भइरहेको छ त?

हुलाकमार्फत्‌ भएको मतदानले।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत्‌ मतदान गरेका थिए।

मेरिल्यान्डमा हुलाकमार्फत् दिइएका मत प्रशोधन गरिँदै
तस्बिरको क्याप्शन, मेरिल्यान्डमा हुलाकमार्फत् दिइएका मत प्रशोधन गरिँदै

यस वर्ष कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो।

तर मात्र एक दिन बाँकी रहँदा थुप्रै राज्य दशकौँ पुराना कानुनमा सुधारका लागि सङ्घर्षरत छन् जुन कानुनले हुलाकमार्फत्‌ गरिने मतदान कति बेला आर्मभ गर्ने, प्रशोधित गर्ने र मतगणना गर्ने भन्ने कुरा निर्दिष्ट गर्छन्।

उदाहरणका लागि एउटा महत्त्वपूर्ण 'स्विङ' राज्य मिशिगनमा ३० लाख मानिसले हुलाकमार्फत् मतदान गर्ने अनुमान गरिएको छ।

तर बिहान ७ नबजी मतगणना सुरु नहुने भएपछि मिशिगनको नतिजा घोषणा हुन कैयौँ दिन लाग्न सक्छ। अनि त्यो पनि पुनः मतगणना नहुने हो भने मात्रै।

कोरोनाभाइरस महामारी र चुनावका कारण चिठी थुप्रिने गरेको अनुभवबीच राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानलाई आघात पुर्‍याउन सक्ने भन्दै अमेरिकी हुलाक सेवालाई दिने आपत्कालीन सहायता नै रोकिदिएका छन्।

विगतका मतदान र मत तथ्याङ्कलाई हेर्दा रिपब्लिकनले भन्दा बढी डेमोक्र्यारूले हुलाकमार्फत्‌ मतदान गर्ने देखिन्छ जबकि रिपब्लिकनहरू मतदानको दिन गएर मत खसाल्ने सम्भावना बढी देखिन्छ।

ओरेगनमा हुलाकमार्फत् दिइएका मत
तस्बिरको क्याप्शन, ओरेगनमा हुलाकमार्फत् दिइएका मत

दोस्रो समस्या मुद्दा हो।

नतिजा सार्वजनिक गर्ने समय घर्किँदै गर्दा धेरै मानिसमा के डर हुन्छ भने अस्वीकृत मतहरूलाई लिएर राज्यहरूले कानुनी चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ जसका कारण नतिजा आउन थप ढिला हुन सक्छ।

मत अस्वीकृत हुने सबैभन्दा एउटा साझा कारण भनेको गणनाका लागि हुलाकमार्फत्‌ ढिलोगरी मत प्राप्त हुनु हो।

अरू कारणमा नमिल्दो हस्ताक्षर अथवा दोस्रो गोप्य खाम नहुनु रहेका छन्।

के राति नै नतिजा आउन सक्छ?

छ। हुलाक सेवामा हुने विलम्बका बीच अहिलेको चुनावमा आधारित भई कुरा गर्दा सङ्ख्याको हिसाबले राति निर्णय हुन सम्भव छ।

तर दुवैमध्ये एक उम्मेदवारको सहज जितको अवस्थामा।

मिशिगनमा आयोजित चुनावी र्‍यालीमा सामाजिक दूरी कायम गरिरहेका बाइडन
तस्बिरको क्याप्शन, मिशिगनमा आयोजित चुनावी र्‍यालीमा सामाजिक दूरी कायम गरिरहेका बाइडन

ह्वाइट हाउस पुग्न जो बाइडन अथवा डोनल्ड ट्रम्पले २७० इलेक्टोरल मतको सीमा पार गर्नुपर्ने हुन्छ।

यो किनभने प्रत्यक्ष रूपमा मतदाताद्वारा राष्ट्रपति निर्वाचित नभई इलेक्टोरल कलेजबाट निर्वाचित हुन्छन्।

हरेक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको हुन्छ जुन केही हदसम्म राज्यको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ।

त्यहीँ भएर हरेक राज्यमा मानिसहरूले कसरी मतदान गर्छन् र ती इलेक्टोरल मत कसलाई जान्छ भन्ने कुराले अर्थ राख्छ।

चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत्‌ अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेका छन्।

पेन्सिल्भानियामा राष्ट्रपति डोनल्ड ट्रम्प
तस्बिरको क्याप्शन, पेन्सिल्भानियामा राष्ट्रपति डोनल्ड ट्रम्प

सुरुतिरै मतदानमा देखिएको यो वृद्धिको अर्थ सन् २०१६ को राष्ट्रपतीय चुनावमा जति मत खसेको थियो त्यसको आधाभन्दा बढी मत अहिल्यै खसिसकेको छ।

मिशिगन पेन्सिल्भेनिया र विस्कन्सिन महत्त्विपूर्ण 'स्विङ' राज्य हुन् जसले मत प्रशोधन तथा गणना गर्ने काम चुनावको दिन मात्रै गर्छन्।

यद्यपि आशा भएको राज्य फ्लोरिडा हो।

उनन्तीस वटा इलेक्टोरल मत भएको सबैभन्दा ठूलो सङ्ग्रामभूमि अर्थात् कडा प्रतिस्पर्धा हुने यो राज्यले चुनाव भएको रात कुन उम्मेदवारको विजय हुन्छ भन्ने सम्भावनालाई सङ्केत गर्नेछ।

नर्थ क्यारोलाइनामा सञ्चारमाध्यमसँग कुरा गर्दै जो बाइडन
तस्बिरको क्याप्शन, नोर्थ क्यारलाईनामा सञ्चारमाध्यमसँग कुरा गर्दै जो बाइडन

के अमेरिकी टीभीले चुनाव भएकै रात नतिजा भन्नेछन्?

चुनावको रात अमेरिकी सञ्चारमाध्यमको शक्ति भयानक हुन्छ।

विगतका चुनावहरूमा प्रमुख टेलिभिजन सञ्जालहरूले सबै मतहरू गणना हुनुअगावै नतिजा भनिसकेका दृष्टान्तहरू छन्।

मतदान सकिएपछि मत सर्वेक्षण गर्ने कम्पनीसँग सहकार्य गरेका टीभीका सञ्जालहरूले विजेता घोषणा गर्न प्रतिस्पर्धा गर्छन्।

सञ्चारमाध्यले नतिजाबारे घोषणा गरेपछि पराजित उम्मेदवारले सबै जना सुत्न जानुअघि हार स्वीकार गर्ने अपेक्षा गरिन्छ ताकि विजेताले त्यहीँ सञ्जालमा आफूलाई विजयी घोषित गर्न सकून्।

सन् २००० मा विजयी भएपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले फ्लोरिडामा उत्सव मनाउँदै
तस्बिरको क्याप्शन, सन् २००० मा विजयी भएपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले फ्लोरिडामा उत्सव मनाउँदै

सन् २०२० मा अमेरिका कोरोनाभाइरस महामारीसँग जुझिरहेको छ, 'ब्ल्याक लाइभ्स म्याटर'लाई लिएर विभाजित छ र अहिले आएर भावी राष्ट्रपति को हुनेछन् भन्ने कुराका लागि कुर्नुपर्ने सम्भावना रहेको छ।

Link box banner bottom