'शत्रुको शिर, बन्दीको खप्पर...', ब्रिटिश उपनिवेशकालमा सङ्कलित बीभत्स सामग्री अक्सफर्डस्थित सङ्ग्रहालयबाट हटे

पिर रिजर्भ्स सङ्ग्रहालय
    • Author, पाब्लो उचोआ
    • Role, बीबीसी विश्व सेवा
  • Published

यूकेको अक्सफर्डस्थित पिट रिभर्स सङ्ग्रहालयमा केही सामग्रीहरूले ८० वर्षसम्म आगन्तुकहरूको ध्यानाकृष्ट गराए। मानिसहरू ती सामग्री देखेर जिब्रो टोक्थे।

त्यहाँ युद्धमा पराजित व्यक्तिका खप्पर र सुन्तलाको आकारजत्रो मानव शिरहरू प्रदर्शनीमा राखिएका थिए। युरोपेली खोजकर्ताले अमेरिका र भारतबाट ती सामग्री भेला पारेका थिए।

तर गएको सेप्टेम्बर २२ बाट ती सामग्री प्रदर्शनमा राख्न छोडिएको छ।

सङ्ग्रहालयले अङ्गीकार गरेको एउटा नीतिअन्तर्गत १२० वटा मानव अवशेष प्रदर्शनीबाट हटाइएको छ।

त्यसरी हटाइने सामग्रीमा "सान्सा" अर्थात् खुम्चिएका टाउकाहरू पनि छन्। एमजन क्षेत्रका आदिवासीहरूले आफ्ना शत्रुको टाउकोबाट त्यस्तो सामग्री बनाउँथे। अनि दक्षिण भारतका नागा आदिवासीले नियन्त्रणमा लिएका मानिसको खप्परबाट "विजयको चिह्न" बनाउँथे।

ती सामग्रीहरू सङ्ग्रहालयका मुख्य आकर्षण थिए। तर अन्य संस्कृतिबारे गहिरो ज्ञान दिनुभन्दा पनि तिनले ती समुदायहरू बर्बर, असभ्य र क्रूर थिए भन्ने पारम्परिक मान्यतालाई पक्षपोषण गरेको सङ्ग्रहालयका निर्देशकले बताइन्।

"हामीबाट केवल २०० मिटर पर धेरै कुरा भएको थियो। अङ्ग्रेज पुरुषहरूलाई घिसार्दै लगेर झुण्ड्याइएको थियो, तर हामीले त्यसलाई कहिल्यै पनि प्रदर्शनमा राखेनौँ। महिलाहरूलाई जिउँदै जलाइयो र हामीले त्यसलाई पनि देखाएनौँ," डा. लौरा भ्यान ब्रोइखोभनले बीबीसीलाई भनिन्।

"त्यसैले मानिसहरूले सोध्न सक्छन् किन सधैँ अरूको तथाकथित अत्याचारको संस्कृतिलाई मात्रै देखाउने र हाम्रै अत्याचार चाहिँ थोरैमात्रै देखाउने?"

सिकार र व्यापार

सान्साको इतिहास जटिल छ। एक्वडोर र पेरुको एमजन क्षेत्रमा बसोबास गर्ने शुआर आदिवासी समूहहरूले आफ्ना शत्रुको टाउकोबाट सान्सा बनाउँथे।

त्यसका लागि शरीरबाट टाउको निकालेर छाला खुम्चिउन्जेल उमालिन्थ्यो। त्यसपछि तातो ढुङ्गाले अनुहारको आकृति बनाइन्थ्यो र फेरि केश टाँसिन्थ्यो।

शुआर समुदायले बनाएको सान्सा
तस्बिरको क्याप्शन, शुआर समुदायले बनाएको सान्सा

उन्नाइसौँ शताब्दीमा युरोपेली अन्वेषकहरूले सान्सालाई अद्भुत वस्तुका रूपमा हेरेका थिए।

उनीहरू त्यसका लागि एउटा बन्दुकको मूल्यबराबर पैसा तिर्न राजी भए।

त्यसैले त्यतिबेला ती टाउकाहरू धनको प्रतीक नभए पनि व्यापारको वस्तु बने। समयक्रममा यो व्यापारले शुआर आदिवासीलाई शक्तिशाली बनायो र जातीय द्वन्द्व निम्तियो।

सिकारका लागि टाउको खोजी गर्दा त्यसले धेरै मानिसको हत्या भएको डा. भ्यान ब्रोइखोभनले बताइन्।

माग बढेसँगै युरोपमा बाँदर र स्लोथजस्ता जीवको टाउकोबाट पनि नक्कली सान्सा बनाउन थालियो।

पश्चिमा संस्कृतिमा एमजनका आदिवासीहरूलाई नृशंस, निर्मम र असभ्य मानिसको रूप किताब र चलचित्रमा चित्रण गरिन्थ्यो।

युरोपेली अन्वेषकहरू बन्दुक लिएर सान्सा लिन्थे
तस्बिरको क्याप्शन, युरोपेली अन्वेषकहरू बन्दुक लिएर सान्सा लिन्थे

डा. भ्यान ब्रोइखोभनका अनुसार मानिसका अवशेष सङ्कलन गर्ने कामलाई "उपनिवेशकालीन परियोजना अन्तर्गतको काम" भन्ने रूपमा हेरिन्थ्यो जसले मानिसहरूमा पश्चिमा विश्वको श्रेष्ठता र उपनिवेशवादलाई न्यायोचित देखाउँथ्यो।

पराजित मानिसका खप्पर

उत्तरी भारतको नागा समुदायका मानिसले पनि युद्धका बेला खप्पर सङ्कलन गर्थे भन्ने मान्यता छ।

नागा आदिवासीले मानिसको गुप्त शक्ति हुने विश्वास गर्थे र आफ्नो शत्रुको टाउको गिँडेर घर लैजान्थे
तस्बिरको क्याप्शन, नागा आदिवासीले मानिसको गुप्त शक्ति हुने विश्वास गर्थे र आफ्नो शत्रुको टाउको गिँडेर घर लैजान्थे

उनीहरू मानव शिरमा अदृश्य शक्ति हुन्छ भन्ने विश्वास गर्थे र योद्धाहरू शत्रुको खप्पर देखाउँदा त्यसले समृद्धि ल्याउने ठान्थे।

ब्रिटिश उपनिवेशकालीन विद्वान्‌हरूले नागालाई एक्लिएर बस्ने र "पिछडिएका" र "सभ्यतामा कम रहेका" भनी व्याख्या गर्थे।

अहिले पनि नागा समुदायलाई टाउकोका "भूतपूर्व सिकारी" भन्ने गरिन्छ
तस्बिरको क्याप्शन, अहिले पनि नागा समुदायलाई टाउकोका "भूतपूर्व सिकारी" भन्ने गरिन्छ

तर यस विषयमा विस्तृत अध्ययन गरेका टेजेन्लो थोङ भने नागाहरूले सिकारका लागि टाउकोको खोजी गर्थे भन्ने कुनै प्रमाण नरहेको बताउँछन्।

डा. भ्यान ब्रोइखोभन भन्छिन्, "इतिहासलाई तथ्यका रूपमा हेर्ने एउटा समूह पनि समाजमा छ। तर इतिहास त व्यक्तिले लेखेका हुन्।"

सन् १९६० को दशकसम्म युरोपेली सङ्कलकहरूले सबै सान्सा किनिसकेका थिए
तस्बिरको क्याप्शन, सन् १९६० को दशकसम्म युरोपेली सङ्कलकहरूले सबै सान्सा किनिसकेका थिए

'कठिन संवाद'

त्यसैले अहिलेको लागि सान्सा, नागाले राख्ने गरेका खप्पर र अन्य मानव अवशेषलाई पिट रिभर्सको भण्डार कोठामा थन्काएर राखिनेछ।

सङ्ग्रहालयले आदिवासीका प्रतिनिधिहरूसँग कसरी ती अवशेषलाई व्यवस्थित रूपमा देखाउने वा सम्बन्धित देशमै फर्काउने भन्ने विषयमा छलफल गर्दैछ।

भण्डार
उक्त सङ्ग्रहालयमा पाँच लाखवटा सामग्री छन्। तीमध्ये अधिकांश बृटिश उपनिवेशकालका बेला सङ्कलन गरिएका हुन्
तस्बिरको क्याप्शन, उक्त सङ्ग्रहालयमा पाँच लाखवटा सामग्री छन्। तीमध्ये अधिकांश ब्रिटिश उपनिवेशकालका बेला सङ्कलन गरिएका हुन्

मानवशास्त्र, नृवंशशास्त्र र पुरातत्त्वसम्बन्धी सामग्री राख्ने पिट रिभर्स विश्वको अग्रणी सङ्ग्रहालय हो जहाँ पाँच लाखभन्दा बढी वस्तुहरू छन्।

तीमध्ये झन्डै १० प्रतिशत मात्रै प्रदर्शनीमा राखिएको छ।

उक्त सङ्ग्रहालयमा प्रत्येक वर्ष करिब पाँच लाख मानिसहरू भ्रमणका लागि आउँछन्।