इन्टरसेक्स: पुरुष भनेर वैधानिक रूपमा चिनिन गरिएको एउटा लामो सङ्घर्ष

अस्पष्टता
तस्बिरको क्याप्शन, इके जन्मिँदा महिला र पुरुष दुवैको प्रजनन अङ्गसहित जन्मिएका थिए
    • Author, रचापोन रिआनसिरी
    • Role, बीबीसी न्यूज थाइ
  • Published

"पूरै जीवन म गलत परिचयसहित बाँचेको छु। यदि उनीहरूले म को हुँ भनेर थाहा पाएको भए मलाई ठट्टाको विषय बनाउँथे र मेरो बदनाम गर्थे। मलाई अहिले पनि यो कुराले सताउँछ," इके (नाम परिवर्तन) ले भने।

उनी जन्मँदा महिलाको प्रजनन अङ्ग तर शारीरिक रूपमा पुरुषको गुण लिएर जन्मिए र जन्मिएपछि उनलाई सधैँ बालिकाको रूपमा व्यवहार गरियो।

हुर्किँदै गर्दा उनलाई आफ्नो महिलाको योनीभित्र पुरुषको प्रजनन अङ्ग छ भन्ने थाहा थिएन।

बालिकाको रूपमा हुर्किँदा उनी विद्यालय पनि जामा लगाएर जान्थे। तर केटी जस्तो देखिने कुरा आफूलाई मन नपर्ने गरेको उनी सम्झन्छन्।

उनी प्राय: अन्य केटा साथीहरूसँग खेल्थे र आफू केटा नै भएको भए हुन्थ्यो भन्ने सम्झन्छन्।

इके त्यतिबेला समाजले उनको इच्छाको सम्मान गरोस् भन्ने लामो यात्राको सुरुवाती दिनमा थिए।

अयोग्य

क्यामरा अगाडि उभिएका इके
तस्बिरको क्याप्शन, इकेले लामो समय आफूलाई पुरुषजस्तो महसुस गरे तर समाजले भने उनलाई महिलाका रूपमा हेर्थ्यो

उच्च शिक्षाका बेला उनको शरीर पुरुषजसरी बढेर आयो र उनले पुरुषको जस्तै शरीर विकसित गरे। यसले उनलाई जीवन परिवर्तन गर्ने अनुभव दियो।

उनी छिट्टै खेलाडी बने र १ सय मिटरको दौडमा राम्रो प्रदर्शन गरेर विद्यालयमा पहिलो भए।

उनले गृहनगरबाट प्रत्येक प्रतियोगितामा केटीको रूपमा प्रतिस्पर्धा गरे। पछि उनी थाइल्याण्डको प्रतिनिधित्व गर्ने अवस्थामा पुगेका थिए।

त्यही बेला उनको आकाङ्क्षा निष्फल भयो।

उनको लिङ्ग के हो भन्ने प्रमाणित गर्नका लागि उनीविरुद्ध उजुरी पर्‍यो।

परीक्षण गर्दा उनीसँग पुरुषमा हुने क्रोमोजोम भएको देखियो र यसैले गर्दा उनी प्रतिस्पर्धामा भाग लिन अयोग्य ठहरिए।

दुविधा

बाटोमा हिँड्दै इके
तस्बिरको क्याप्शन, इकेले वर्षौंसम्म आफ्नो लिङ्गको पहिचानलाई लिएर सङ्घर्ष गरे

"त्यो कुरा सुनेपछि मलाई मेरो सबै महत्त्वपूर्ण आधार नै गुमेजस्तो महसुस भयो। म पूरै जीवन महिला थिएँ र अन्य महिलाहरूको जस्तै मेरो पनि महिलाको प्रजनन अङ्ग थियो," इकेले भने।

"म को हुँ? म के भएँ? म एकदमै दुविधामा थिएँ र अपमानित महसुस गरेँ।"

यो समयसम्म उनलाई मन परेकी महिलाको साथले उत्तेजित बनाउने थाहा भएको थियो।

"मलाई मेरो भाग्य नै नभएको महसुस भयो। म महिला पनि थिइन र पुरुष पनि थिइन। मलाई यो संसारमा आफ्नो ठाउँ कहाँ हो भन्ने थाहा भएन। साथीहरूले जिस्काएको सहन नसकेर मैले कक्षाहरू छोड्न थालेँ। मेरो यो अवस्था मेरो परिवारलाई थाहा थियो तर उनीहरूले केही पनि गरेनन्।"

नयाँ जीवन

रजिष्ट्रारको कार्यालयमा इके
तस्बिरको क्याप्शन, इके आफू महिला नभइ पुरुष हो भन्ने परिचय परिवर्तन गर्नका लागि स्थानीय रजिष्ट्रारको कार्यालयमा गए

इके नयाँ जीवनको खोजी गर्न र जागिर खोज्नका लागि ब्याङ्कक गए।

त्यहाँ उनले महिलाकै रूपमा जागिर खोजे।

तर उनका सहकर्मीहरूले उनलाई पुरुषकै रूपमा हेर्थे र जब महिलाका रूपमा जागिर पाएको थाहा पाए उनीहरूले साथ छोडे।

विगतमा जिस्काउने महिला सहकर्मीले आफूहरूलाई समलिङ्गी भन्लान् भनेर इकेसँग कुरा गर्न छोडे।

'झुटो परिचय'

त्यसपछि उनले पुरुषका रूपमा जागिर खोजे र अधिकारीहरूले थाहा नपाउन् भनेर प्रत्येक तीन महिनामा जागिर परिवर्तन गरे।

केही वर्ष उनले यस्तै गरे र थुप्रै साथीहरू बनाए।

ती मध्ये एकजना महिला पनि थिइन् जसले उनको जीवनलाई नयाँ अर्थ दिइन्।

"उनी एकदमै धेरै सहयोगी थिइन् र सधैँ मेरै साथमा हुन्थिन्।"

त्यसपछि उनले कहिले किनमेल केन्द्रमा त कहिले इलेक्ट्रिसियनका रूपमा काम गरेर थप पैसा कमाउन थाले।

जीवन सहज हुँदै थियो तर उनलाई उनकी प्रेमिकाले केही नभनी छोडिन्।

सङ्कट

इके
तस्बिरको क्याप्शन, वैधानिक रूपमा उनको लिङ्ग पहिचान गर्नका लागि निकै कठिन थियो र उनले लामो सङ्घर्ष गरे

"मैले के गलत गरेँ र उनले छोडिन् होला भन्ने लाग्यो। उनको परिवारसँग सम्पर्क गर्दा पनि केही थाहा नभएको बताए। एक सातासम्म कुरेँ अनि मलाई एक्कासी अब मेरो जीवन राम्रो हुँदैन भनेर मर्ने जस्तो सोच आउन थाल्यो।"

उनले आत्महत्या गर्ने निर्णय गरे तर त्यही प्रयासका दौरान उनले झुक्किएर नजिकैको एटिएममा प्रहरीलाई बोलाउने अलार्म राखे।

प्रहरीले उनलाई चोरीको आरोपमा पक्राउ गर्‍यो र उनको आत्महत्या गर्ने प्रयास पत्याएन। अदालतले उनलाई ६ महिनासम्म जेलमा राख्न फैसला सुनायो।

जेलमा लैजाने बेला उनको पूरा उपचार भयो र त्यहाँका अधिकारी र डाक्टरहरूले उनी महिला हुन् कि पुरुष भनेर छुट्याउनका लागि लामो छलफल गरे।

उनलाई महिला कैदी रहेको कारागारमा पठाइयो।

"पुरुष राखिने कारागारमा पठाउँदा बलात्कार गर्न सक्छन् भन्ने डर उनीहरूलाई थियो।"

जेल जीवन

जेलमा बल्ल उनले पहिलोपटक जीवन राम्रो भएको महसुस गरे।

"उनीहरू मेरोबारे थाहा पाउन चाहन्थे, मसँग कुरा गर्थे र मलाई सन्तुष्ट पार्न खोज्थे। मैले जीवनमा कहिल्यै पनि यस्तो व्यवहार पाएको थिइनँ।"

कैद सजाय सकिएपछि उनलाई आपराधिक कार्यमा संलग्न भएको भन्दै जागिर पाउन गाह्रो भयो।

उनले फेरि जेल जानका लागि एटिएमको तार काट्ने काम गरेर जेल गए। तर केही समयमा छुटिहाले।

निकासको बाटो

साथीलाई अङ्गालो मार्दै इके
तस्बिरको क्याप्शन, उनलाई पुरुष भएको प्रमाणित गर्न अधिकारीहरूले उनका बाल्यकालका साथी बोलाएका थिए

उनले जेलमै भएका बेला एउटा गैरसरकारी संस्थाबाट इन्टरसेक्स शब्दावली पहिलोपटक सुने।

उनीहरूकै सहयोग र सुझावमा उनले आफ्नो महिलाको पहिचान त्यागेर पुरुषको पहिचान पाए।

त्यसका लागि उनले पाँच महिनासम्म स्वास्थ्यसम्बन्धी कागजात बनाउन प्रयास गरे।

त्यसपछि उनले जुन दिनका लागि एकदमै हताश भएर कुरेका थिए त्यो दिन आइपुग्यो।

आवश्यक सबै कागजात नपुग्ला भनेर उनी आत्तिएका थिए र दूर्भाग्यवश भयो पनि त्यस्तै।

उनको जन्मस्थलस्थित सरकारी अधिकारीले पुरुष हो भन्ने पहिचानका लागि उनका बुवाआमा वा बाल्यकालको साथी साक्षीको रूपमा चाहिने बताए।

परिचयपत्र
तस्बिरको क्याप्शन, आधिकारिक कागजातसहित इके

अर्को दिन जिल्ला कार्यालयमा उनकी आमा आइन् जो लामो समयदेखि उनको रहस्यबारे जानकार थिइन्।

कार्यालयमा रहेका अधिकारीहरूले त्यस्तो खालको असामान्य निवेदन पर्दा के गर्ने भनेर ब्याङ्ककका अधिकारीसँग सुझाव लिए।

केही बेरपछि इकेलाई उनको परिवर्तित परिचयसहितको पत्र दिइयो। तर त्यसका लागि उनको शरीरको जाँच गरियो र इन्टरसेक्स हो भन्ने व्याख्या गरिएको प्रमाणपत्रको हेरियो।

आफ्नो पुरुष स्वभाव बल्ल आफ्नो नाममा झल्काउन इके सफल भए।

"अब बल्ल मैले आफूलाई दु:खबाट मुक्त गर्न सक्छु। मेरो जीवनको नयाँ अध्याय सुरु भयो भनेर म चिच्याउन चाहन्छु। म गलत पहिचान त्याग्न सक्छु।"