भारत-चीन सीमा विवादः भू-उपग्रहले खिचेका तस्बिरमा विवादित गलवान उपत्यकामा चीनले नयाँ संरचना बनाएको सङ्केत

जुन २२ मा भू-उपग्रहले खिचेको यो तस्बिरमा गलवान उपत्यकामा सीमाको वास्तविक नियन्त्रणरेखानजिकै सडक र अन्य संरचना निर्माण भएको देखिन्छ
तस्बिरको क्याप्शन, जुन २२ मा भू-उपग्रहले खिचेको यो तस्बिरमा गलवान उपत्यकामा सीमाको वास्तविक नियन्त्रणरेखानजिकै सडक र अन्य संरचना निर्माण भएको देखिन्छ
Published

भारतसँग जोडिएको हिमाली सीमानजिकै चीनले नयाँ भौतिक संरचना बनाएको सङ्केत भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूमा देखिएको छ।

उक्त क्षेत्र जुन १५ तारिखमा राति भारतीय र चिनियाँ सैनिकहरूबीच हिंसक भिडन्त भएको स्थाननजिकै छ।

उक्त घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चिनियाँ पक्षमा पनि मानवीय क्षति भएको भारतको दाबी छ। तर त्यसबारे बेइजिङले केही भनेको छैन।

गत महिना खाली देखिएको स्थानमा अहिले बङ्कर, पाल र सैन्य सामग्रीको भण्डार देखिन्छ।

भारत र चीनले यो विवाद मत्थर पार्ने प्रयास गरिहेका बेला ताजा तस्बिरहरू सार्वजनिक भएका हुन्।

ती तस्बिरहरू अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सरले जुन २२ मा खिचेको हो।

जुन महिनाको सुरुमा आकाशबाट खिचिएका तस्बिरहरूमा गलवान नदी देखिने क्षेत्रमा चीनले बनाएका संरचनाहरू नभएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

(तस्बिर तुलना गर्न माउसले <> भएको चिह्न दायाँ-बायाँ गर्नुहोस्)

यस विषयमा भारत र चीन दुवैले टिप्पणी गरेका छैनन्।

गलवान उपत्यकामा भएको भिडन्तपछि दुवै देशले आरोप-प्रत्यारोप गरे पनि स्थिति सामान्य बनाउने प्रयास गरिरहेका छन्।

तस्बिरमा के देखिन्छ?

भारतका रक्षा विश्लेषक अजय शुक्लले आफ्नो ट्वीटमा गलवान उपत्यकामा सीमा नियन्त्रणरेखाको १.५ किलोमिटर भारतपट्टि चीनको एउटा शिविर भएको उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमले भारतीय सेनाका स्रोतहरूलाई उद्धृत गर्दै जुन १५ पछि वरिष्ठ सैन्य अधिकारीहरूबीच वार्ता हुनुअघिको समयमा नयाँ संरचना बनेको हुनसक्ने जनाएका छन्।

मे महिनामा खिचिएको तस्बिरमा उक्त विवादित क्षेत्रनजिक कुनै संरचना देखिँदैन।

गलवान उपत्यका
तस्बिरहरूको तुलना गर्दा नयाँ संरचनाहरू जुन १५ को घटनापछि निर्माण गरिएको जस्तो देखिन्छ
तस्बिरको क्याप्शन, तस्बिरहरूको तुलना गर्दा नयाँ संरचनाहरू जुन १५ को घटनापछि निर्माण गरिएको जस्तो देखिन्छ
लद्दाखमा गस्ती गर्दै भारतीय सैनिकहरूको एउटा टोली
तस्बिरको क्याप्शन, लद्दाखमा गस्ती गर्दै भारतीय सैनिकहरूको एउटा टोली