कोरोना भाइरस चीन: नयाँ सङ्क्रमण पुष्टि भएपछि बेइजिङमा सङ्क्रमणको दोस्रो लहरको त्रास

Police officer walks past Xinfadi market
तस्बिरको क्याप्शन, सिनफडि बजारमा काम गर्ने हजारौँ व्यक्तिको परीक्षण गर्ने बताइएको छ
Published

चीनको राजधानी बेइजिङमा पचास दिनयता फेरि केही मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि केही क्षेत्रमा कडा लकडाउन गरिएको छ।

सङ्क्रमणको प्रकोपलाई शहरको सबभन्दा ठूलो होलसेल बजारसँग जोडेर हेरिएको छ।

सिनफडि मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड- १९बाट सङ्क्रमित फेला परेका थिए।

उनीहरूमध्ये कसैमा पनि कुनै लक्षण देखिएको थिएन।

त्यसपछि उक्त बजार र वरिपरिका ११ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ।

Xinfadi market
तस्बिरको क्याप्शन, सिनफडि बजार बेइजिङको सबभन्दा ठूलो होलसेल बजार भएको बताइन्छ

अधिकारीहरूले पछिल्लो समयमा उक्त बजार पुगेकाहरू र वरिपरिको क्षेत्रका सबैको परीक्षण गर्न चाहेको बताएका छन्।

पचास दिनपछि बेइजिङमा पहिलोपटक यी सङक्रमितहरू भेटिएका हुन्।

नयाँ सङ्क्रमणबारे हामीलाई के थाहा छ?

बेइजिङको दक्षिण पश्चिमस्थित फेङटाइ जिल्लामा रहेको सिनफडि बजार गएका दुई पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त बजार शनिवार बिहानदेखि बन्द गरिएको छ।

बजारमा गरिएको थप परीक्षणमा ४५ जना पोजिटिभ पाइएका थिए।

जिल्लाका सरकारी अधिकारी चु जुनवेइले भने, "आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने सिद्धान्त बमोजिम हामीले सिनफडि बजार र वरिपरिको क्षेत्र बन्द गर्ने निर्णय गरेका छौँ।"

उनले त्यो जिल्ला "युद्धकालको जस्तो आपत्‌कालीन स्थितिमा राखिएको" बताए।

Banner

बीबीसीका चीन संवाददाता स्टेफन म्याकडोनेल भन्छन्-

चिनियाँ अधिकारीहरू बेइजिङको तरकारी र मासुको मागको ८० प्रतिशत उपलब्ध गराउने सिनफडि बजार कसरी नयाँ कोरोनाभाइरस प्रकोपको स्रोत बन्यो भन्नेमा निश्चित छैनन्।

पछिल्ला महिनाहरूमा चिनियाँ सरकारको रणनीति जुनसुकै शहरमा कोरोनाभाइरस सङ्क्रमण देखिएमा तत्काल उक्त शहरलाई पूर्ण रूपमा आइसोलेशनमा लग्ने अर्थात् अन्यबाट एक्ल्याउने रहेको छ।

यस्तो रणनीतिले काम गरेको जस्तो देखिएको छ। तर भाइरस आपत्‌काल नियन्त्रणमा आएको देखिएका बेला बेइजिङ पूर्ण रूपमा लकडाउन गर्ने काम भने अधिकारीहरूले हतारमा गरिहाल्ने जस्तो देखिन्न।

Banner

सैयौँ सुरक्षाकर्मीहरू लकडाउन गरिएको क्षेत्रमा प्रवेश गरेका छन्। नजिकैका यातायात सञ्जालहरू र विद्यालयहरू बन्द गरिएका छन्।

बेइजिङभरि नै खेलकुद कार्यक्रमहरू रद्द गरिएका छन् र मुख्य सार्वजनिक सेवा केन्द्रहरू बन्द गरिएका छन्।

राजधानीमा सङ्क्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ।

Staff at the market

वुहान शहरमा सबभन्दा पहिले कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता संसारकै कडा लकडाउन उपायहरू अपनाएर चीनमा कोरोनाभाइरस प्रकोप नियन्त्रणमा लिइएको थियो।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ४,६०० जना र संसारभर गरी ४,२६,००० भन्दा बढि मानिसहरूले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर