कोरोना भाइरस: लकडाउनको बेलामा मदिरापान कसरी व्यवस्थित गर्ने

मदिरापान
तस्बिरको क्याप्शन, कोरोनाभाइरसको तनावबाट मुक्त हुन रक्सीको प्रयोग नगर्न डब्लु एच ओ ले सुझाएको छ
    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी न्यूज
  • Published

हामीले लकडाउनका बेला दिनहुँ घरैभित्र कैद हुनुपरेको अवस्थाबाट सिर्जित तनावसँग कसरी जुझ्ने? विश्वका एक चौथाइ मानिसहरू अहिले यही प्रश्नमा घोत्लीरहेका छन्।

कतिपय मानिसका निम्ति रक्सीसेवन एकान्तसँग जुझ्ने उपायको रूपमा देखा परेको छ।

अमेरिकाबाट प्राप्त आँकडा अनुसार सर्वेक्षण गर्ने निल्सनले मार्च २१ मा सकिएको एक साताको अवधिमा, अघिल्लो वर्षको सोही अवधिको तुलनामा, त्यहाँ रक्सीको विक्री ५५ प्रतिशतले बढेको पाएको थियो।

युके तथा फ्रान्सबाट प्राप्त आँकडामा पनि रक्सीको विक्री बढेको देखिएको छ। त्यसले मानिसहरूले मदिराको सहारा लिँदा स्वास्थ्यमा अन्य जटिलता बढ्ने चिन्ता बढेको छ।

मदिरा पसल
तस्बिरको क्याप्शन, अमेरिकामा रक्सीको विक्री बढेको छ

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले महामारीको बेला उत्पन्न हुने तनावसँग जुझ्ने बारे प्रस्ट सुझाव दिएको छ। उसले आफ्ना मनोभावनासँग जुझ्न मदिरापान वा चुरोट वा लागुऔषधको सहारा नलिन चेतावनी दिएको छ।

पूर्ण प्रतिबन्ध

दक्षिण अफ्रिका तथा भारतजस्ता देशले भने लकडाउनसँगै रक्सीको विक्रीमा पूर्ण प्रतिबन्ध लगाएका छन् ताकि मानिसहरू कतै हेलमेल नगरुन्।

त्यसले दक्षिण भारतीय राज्य केरलाका रतीश सुकुमारनजस्ता मानिसका सामु गम्भीर चुनौती खडा भएको छ।

"म नियमित रक्सी पिउँछु," रतीश भन्छन्। "तर रक्सी पिउन नपाउँदा र घर बाहिर निस्कन नपाउँदा म अप्ठेरोमा परेको छु।"

रतीश सुकुमारन
तस्बिरको क्याप्शन, रतीश सुकुमारनले प्रतिबन्धलाई रक्सी छाड्ने अवसरको रूपमा प्रयोग गर्ने बताएका छन्

फिल्म तथा टिभी उद्योगमा काम गर्ने ४७ वर्षीय यी लेखकले आफूलाई जँड्याहा ठान्दैनन्।

"तर बेलाबेला म रक्सी सम्झिरहेको छु," उनले भने।

छाड्ने अवसर

भारतको तीन हप्ता लामो लकडाउनले उनलाई आफू रक्सीमा कति निर्भर रहेको खुलाएको बताए।

उनले अब यसलाई रक्सीको कुलत त्याग्ने अवसरको रूपमा प्रयोग गर्ने निर्णय गरेका छन्।

रतीश केरलाको राजधानी तिरुवनन्तपुरममा बस्छन्। त्यहाँ खानेकुरा र औषधिका बाहेक अरू सबै पसल बन्द छन्।

गत पच्चीस वर्षदेखि नियमित रक्सी सेवन गर्दै आएका रतीशलाई अचेल नौलो अनुभव भइरहेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Línea

"कार्यदिनहरूमा म साँझ परेपछि पिउँथेँ। बिदाका दिनमा चाहीँ दिउसोदेखि पिउन सुरु गर्थेँ।"

गत ६ महिनामा धेरै आवतजावत गर्नुपरेकाले उनले दिनहुँ जस्तो रक्सी पिएका थिए।

"मैले कति रक्सी पिउँछु भन्ने चाहीँ साथीहरूमा भर पर्छ। सामान्यतया: पाँचदेखि छ पेग हुन्छ।"

अधिकांश भारतीय महिलाजस्तै उनकी श्रीमतीपनि रक्सी पिउँदिनन् र श्रीमानलाई घरमै पार्टी गर्न अनुमति दिन्नन्।

त्यसैले धेरैजसो रतीशले नजिकैका रेस्टुरेन्टहरूमा साथीभाइसँग रक्सी पिउँथे।

संयमताको परीक्षण

भारतमा रक्सी तोकिएका विक्रीकेन्द्रबाट मात्र विक्री गरिन्छ। जहिँतहिँ सुपरमार्केटमा मदिरा पाइँदैन।

रक्सी किन्दै ग्राहक
तस्बिरको क्याप्शन, प्रतिव्यक्ति रक्सी उपभोगमा भारतभरिमा केरला राज्य सबभन्दा अगाडि छ

प्रधानमन्त्री नरेन्द्र मोदीले कडा बन्देजका घोषणा गर्नासाथ रतीशका साथीहरू रक्सी किन्न गए।

रतीशले चाहीँ आफ्नो संयमको परीक्षण गर्ने निधो गरे।

"आधिकारिक घोषणापश्चात् पनि हाम्रो क्षेत्रका केही रक्सी पसल खुलेका थिए," उनले भने, "तर मैले नकिन्ने निर्णय गरेँ।"

सातदिन वित्दानवित्दै उनलाई आफ्नो प्रिय ब्र्याण्डीको याद आयो।

मद्दतका लागि अनुरोध

"मैले बीसजना जतिलाई मद्दतका लागि फोन गरेँ। रक्सी जसरी पनि घर ल्याउने योजना बनाएँ। तर केही सीप लागेन।"

रतीशले गरेको अनुभव विश्वभरि रक्सी त्याग्न खोज्ने मानिसहरूले गर्ने अनुभवसँग मिल्छ।

रतीश सुकुमारन
तस्बिरको क्याप्शन, रतीश अचेल समय कटाउन आफ्ना कुकुरहरूसँग खेल्छन्

युकेमा सरकारले रक्सी पसल बन्द गराएको छैन। बरू त्यसलाई पनि खुल्न नसक्ने आवश्यक सूचीका व्यापारमा राखिएको छ।

तर यो बेला त्यहाँ रक्सीको लतबाट छुटकारा लिन खोज्नेहरूका निम्ति परामर्श सेवा उपलब्ध छैन।

रक्सीको लत लागेकाहरूलाई सहयोग गर्ने अल्कोहल एनोनिमस जस्ता समूहले सामाजिक दूरी अवलम्बन गर्नुपरेकाले अनलाइन समूह बनाएका छन्।

उक्त समूहका अनुसा युकेमा मार्च यता उनीहरूको हेल्पलाइनमा आउने फोन २२ प्रतिशतले बढेको छ भने च्याट सेवाको उपयोगपनि एक तिहाइले बढेको छ।

अल्कोहल एनोनिमस समूह
तस्बिरको क्याप्शन, सामाजिक दूरीका कारण सहयोगी संस्थाहरूको कार्यशैली बदलिएको छ

छटपटी र बेचैनी

रतीशले भने विगतमा रक्सी त्यागेका आफ्ना केही साथीहरूलाई फोन गरे।

उनमा रक्सी पिउन उब्जिएको छटपटीलाई उनीहरूले स्वाभाविक भएको बताए। तर तिनको जबाफले पनि आफूमा चैन नआएको उनले बताए।

"यस्तो लाग्थ्यो मेरो शरीरलाई रक्सीको अत्यन्त जरुरत थियो। केहीमा मेरो ध्यान गएन। कुनै फिल्म हेर्न थालेपनि मन अन्तै पुग्थ्यो।"

जति कोसिस गरेपनि उनलाई झन् झन् गार्‍हो हुन थाल्यो।

"म रातभरि निदाउन सकिने। मानसिक बेचैनी कम भएन। बिहान भएपछि केही आराम अनुभाव हुन्थ्यो।"

उनका साथीहरूले सामाजिक सञ्जालमा रक्सी पिएर रमाएको तस्बिर राख्थे।

बियर
तस्बिरको क्याप्शन, चिकित्सकहरूले धेरै रक्सी पिउँदा रोग प्रतिरोधी क्षमता कम हुने बताएका छन्

"मैले त्यसप्रति आफ्ना प्रतिक्रिया लेखेँ।"

"कमेन्टमा गाली पनि गरेँ," उनले भने, "तिमीहरूलाई चट्याङ् परोस् भनेर समेत सरापेँ।"

रक्सी अचानक छाड्दा त्यसले धेरै किसिमका असर पार्छन् जस्तो छटपटी हुने, शरीर काँप्ने आदि।

रतीश भन्छन्, "मैले राम्ररी थाहा पाएँ। पिउने आसक्ती निकै बलियो रहेछ।"

डाक्टर र सरकार

केरलास्थित स्थानी सञ्चारमाध्यमहरूले रक्सी खान नपाउँदा केही मानिसले आत्महत्या गरेको विवरण पनि राखे।

त्यस्ता विवरण आएपछि राज्य सरकारले रक्सी पिउन नपाएर निकै बिरामी भएकालाई रक्सी पिउन अनुमति दिन पनि भन्यो।

"सरकारी आदेशपश्चात् कैयन् मानिस आफूहरूलाई त्यस्तो अनुमति दिलाउन चिकित्सक समक्ष पुगे। कतिपयले त्यस्तो अनुमति नदिए आत्महत्या गर्ने धम्की समेत दिए," सरकारी चिकित्सक संघका महासचिव डा जीएस विजयकृष्णन्ले बताए।

डा विजयकृष्णन्‌
तस्बिरको क्याप्शन, डा विजयकृष्णन्‌ले सरकारी आदेशले झनै समस्या निम्तिएको बताए

"कोरोनाभाइरससँग लड्नु पर्ने यो समयमा यस्ता सरकारी आदेशले झन् अप्ठेरो पारेको छ।"

चिकित्सा आचार

चिकित्सकहरूले रक्सी सेवनको अनुमति दिन अस्वीकार गरे। उनीहरूले केरला उच्च अदालतबाट त्यसविरुद्ध स्थगन आदेश पनि गर्न लगाए।

चिकित्सकहरूका अनुसार रक्सीको लत भनेको रोग हो र उनीहरूको आचार संहिताले त्यस्तो अनुमति दिन मिल्दैन।

"यो समस्या कसरी समाधान होला भन्ने त मलाई थाहा छैन," रतीशले भने।

रक्सी पसलहरू फेरि खुल्दा भिड लाग्ने पक्का छ। त्यसले महामारी नियन्त्रणका प्रयासमा ठेस लाग्नेछ।

Two men carry boxes of liquor
तस्बिरको क्याप्शन, लकडाउन अगाडि कतिपय भारतीयले रक्सी किन्न भागदौड गरेका थिए

अनलाइन किनमेल एउटा विकल्प हुनसक्छ तर रतीश भन्छन्, "धेरै मानिससँग इन्टरनेटको सुविधा नहुन सक्छ। हुनेखानेलाई यसले सघाउला।"

जहाँको तहिँ

विकल्प नभएपछि रतीश पुरानै लक्ष्यमा फर्किएका छन्।

"म अचेल दिनहरूलाई सकारात्मक रूपले उपयोग गर्न थालेको छु। मैले आफ्ना आसक्तिमाथि विजय पाउन सक्छु कि भनेर आफ्नै परीक्षण गरिरहेको छु।"

स्वमूल्याङ्कन अनुसार उनले विस्तारै समस्याबाट पार पाउँदैछन्।

"मलाई विश्वास लाग्न थालेको छ कि अब उपलब्ध नै भयो भने पनि म रक्सी विना बाँच्न सक्नेछु।"

तर रतीशलाई साथीभाइसँगको जमघट भने याद आइरहन्छ जहाँ "राजनीतिदेखि लिएर क्रिकेट, सिनेमा अनि यावत् विषयमा लामा गफ हुन्छन्।"

रतीश सुकुमारन
तस्बिरको क्याप्शन, लकडाउनपछि नौलो यात्राको आरम्भबारे रतीश आशावादी छन्

"जति धेरै साथी भेटिन्छ उती धेरै पिइन्छ। म जान्न चाहन्छु मलाई कुन चीजको बढी नियास्रो लाग्नेछ: रक्सी वा साथी?"

लकडाउनपश्चात् पनि यी परिवर्तन जारी रहनेमा उनी आशावादी छन्।

"म चाहन्छु साथीभाइसँग जमघटमा गएर पनि म नपिइकनै सामेल हुन सकौँ।"