तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केपी शर्मा ओली: दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा 'चारवटा मिर्गौला'
सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण भइरहेको छ।
प्रक्रिया सुरु गर्नुअघि प्रत्यारोपण गर्ने टोलीका प्रमुख प्रा. डा. प्रेमराज ज्ञवालीले बीबीसीलाई पूर्वनिर्धारित योजनानुसार सबै काम हुने बताएका थिए।
बाह्र वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए।
अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन्। डा. ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन्।
"फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो," ज्ञवालीले भने।
"वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।"
ओलीलाई एक नातेदार महिलाले मिर्गौला दिन लागेको ओलीको सचिवालयले जनाएको छ।
प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ।
मङ्गलवार के भयो?
प्रधानमन्त्री ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम 'क्रस-म्याच' परीक्षण गरिएको थियो। उनी सोमवार अस्पताल भर्ना भएका थिए।
"हिजो हामीले सबै परीक्षण सम्पन्न गर्यौँ। रगत, पिसाब र ईसीजीजस्ता सबै परीक्षण गरिसकिएको छ," डा. ज्ञवालीले भने।
त्यसबाहेक प्रधानमन्त्री ओलीको हिजो डायालिसिस पनि गरिएको थियो।
प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित गर्ने लगायतका कार्य मङ्गलवार नै सम्पन्न गरिसकिएको र अन्य आवश्यक तयारी समेत पूरा भइसकेको डा. ज्ञवालीले बताए।
भारतबाट आएका चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्ने काम पनि मङ्गलवार नै भयो।
ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ भारतबाट आएका छन्।
तर शल्यक्रिया नेपाली चिकित्सकहरूले नै गर्ने र उनीहरूलाई तयारी अवस्थामा मात्रै राखिएको ज्ञवालीले बताए। "शल्यक्रिया गर्ने बेला उहाँहरू हामीसँगै रहनुहुनेछ," उनले थपे।
"शल्यक्रिया गर्ने हामीले नै हो। उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो। समस्या परे सहयोग लिन सकिन्छ," ज्ञवालीले भने।