'आर्टिमिस २'का अन्तरिक्षयात्रीहरू चन्द्रमाको आधा बाटो पुगे, खिचे पृथ्वीको 'शानदार' तस्बिर

    • Author, सोफिया फरेरा सान्तोस
  • पढ्ने समय: ४ मिनेट

'आर्टिमिस २'का अन्तरिक्षयात्रीहरूले चन्द्रमाको आधा बाटो पुगेपछि खिचेको पृथ्वीको 'शानदार' उच्च गुणस्तरको तस्बिरलाई नासाले सार्वजनिक गरेको छ।

पृथ्वीको सबभन्दा नजिकको खगोलिय छिमेकीतर्फको मार्गमा पुगेपछि उक्त अन्तरिक्ष अभियानका कमान्डर रिड वाइजमनले सो फोटो खिचेको नासाले बताएको छ।

आधा बाटो तय

शनिवार नेपाली समयानुसार करिब पौने बाह्रतिर नासाको ड्यासबोर्डमा उक्त ओरिअन अन्तरिक्षयान पृथ्वीबाट २,२८,५०० किलोमिटर पर पुगेको अनि चन्द्रमाबाट चाहिँ करिब २,१२,४०० किलोमिटरको दूरीमा रहेको देखिन्थ्यो।

अन्तरिक्षयात्री क्रिस्टिना कोखले पृथ्वीबाट गएको २ दिन, ५ घण्टा र २४ मिनेटपश्चात् आधा बाटो पुगेको जानकारी पाएपछि यानमा सवार सबैले 'खुसी' अभिव्यक्त गरेको बताइन्।

'हेलो, वर्ल्ड' नाम दिइएको पहिलो फोटोमा विशाल नीलो भाग देखिन्छ जुन आन्ध्र महासागर हो। त्यसमा पृथ्वीले सूर्यलाई छेकिदिँदा वायुमण्डलको तेज र दुई ध्रुवतिर हरिया अरोरा देखिन्छन्।

सो फोटोमा पृथ्वी उल्टो जस्तो देखिन्छ जसमा पश्चिम सहारा र आइबेरियन प्रायद्वीप बायाँपट्टि देखिन्छ भने दक्षिण अमेरिकाको पूर्वी भाग दायाँपट्टि देखिन्छ।

दायाँपट्टि तलतिर देखिने चम्किलो ग्रह बुध भएको नासाले पहिचान गरेको छ।

अन्तरिक्षयात्रीहरूले शुक्रवार 'ट्रान्स-लुनार इन्जेक्सन बर्न' प्रक्रिया सफलतापूर्वक गरेपश्चात् फोटोहरू खिचिएका हुन्।

उक्त प्रक्रियाले ओरिअन अन्तरिक्षयानलाई पृथ्वीको कक्षबाट हुत्याएर त्यसमा सवार चारजना अन्तरिक्षयात्रीहरूलाई चन्द्रमा तर्फ डोर्‍याएको छ।

अब 'आर्टिमिस २'ले यात्रीहरूलाई चन्द्रमाको टाढाको भागमा पुर्‍याउनेछ र फेरि फिर्ता ल्याउनेछ।

पचास वर्षपछिको घटना

यो अभियानअन्तर्गत सन् १९७२ पछि पहिलोपटक मानिसले पृथ्वीको कक्षभन्दा पर यात्रा गर्न लागेका छन्।

उक्त अन्तरिक्षयान अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो। अन्तरिक्षयात्रीहरू एप्रिल ६ को दिन चन्द्रमाको टाढाको भाग भएर गुज्रने छन् अनि एप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने छन्।

ह्युस्टनस्थित मिसन कन्ट्रोलसँग कुरा गर्दै अन्तरिक्ष यात्री तथा विज्ञ जेरेमी ह्यानसनले 'बर्न' प्रक्रिया सम्पन्न गरेपश्चात् यात्रीहरूले यानको झ्यालबाट हेरिरहेको अनि फोटोहरू खिचेको बताए।

"हामीले चन्द्रमाले परावर्तित गरेको प्रकाशबाट उज्यालो देखिएको पृथ्वीको अँध्यारो भागका सुन्दर तस्बिर पाइरहेका छौँ," उनले भनेका थिए।

पछि वाइजमनले ह्युस्टनस्थित मिसन कन्ट्रोलमा सम्पर्क गरेर यानको झ्याल कसरी सफा गर्ने भनेर सोधेका थिए। अन्तरिक्षको दृश्य हेर्ने उत्साहमा झ्यालमा झुम्मिएका कारण त्यो अलि फोहर भएको थियो।

कमान्डर वाइजमनलाई सुरुमा अन्तरिक्षयानबाट हाम्रो ग्रहको फोटो खिच्न कठिन भएको थियो किनभने त्यति धेरै टाढाको वस्तुको फोटो खिच्दा एक्सपोजर सेटिङ् मिलाउन गाह्रो हुन्छ।

"यो त तपाईँले आफ्नो घरबाट बाहिर निस्किएर चन्द्रमाको फोटो खिच्न खोजेजस्तै हो," उनले मिसन कन्ट्रोललाई भनेका थिए। "अहिले यस्तै अनुभव भइरहेको छ।"

तर पछि उक्त समस्या बाँकी रहेन।

वाइजमनले खिचेको अर्को फोटोमा पृथ्वी रात र दिनमा विभाजित देखिन्छ। प्रकाश र अन्धकारबीचको सिमानालाई टर्मिनेटर भनिन्छ।

पछि नासाले अर्को फोटो सार्वजनिक गर्‍यो जसमा पृथ्वी लगभग पूर्ण अन्धकारमा देखिन्छ, - केवल मानिसले प्रयोग गरेका बिजुली बत्तीका कारण केही चम्किएको जस्तो।

साथै उसले सन् १९७२ मा अपोलो १७ अभियानका टोलीले खिचेको र अहिले सन् २०२६ मा खिचिएको पृथ्वीको फोटो सँगसँगै राखेर तुलना गरेको छ।

"यो ५४ वर्षको अन्तरालमा हामीले लामो यात्रा गरेका छौँ तर एउटा चीज चाहिँ बदलिएको छैन: अन्तरिक्षबाट हेर्दा हाम्रो घर सुन्दर देखिन्छ!" उसले भनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।