राजकुमार ह्यारी: वन्यजन्तुको तस्बिरबारे मेल पत्रिकालाई हालेको उजुरीमा पराजित

मेल पत्रिकाका अनुसार राजकुमार ह्यारीले इन्स्टाग्राममा तस्बिर खिचिएको हात्तीका पछाडिका खुट्टा बाँधिएको नखुलाएको जनाएको छ
तस्बिरको क्याप्शन, मेल पत्रिकाका अनुसार राजकुमार ह्यारीले इन्स्टाग्राममा तस्बिर खिचिएको हात्तीका पछाडिका खुट्टा बाँधिएको नखुलाएको जनाएको छ
Published

आफ्नो इन्स्टाग्राममा प्रेषित अफ्रिकी वन्यजन्तुका तस्बिरहरूबारे समाचारपत्र 'मेल अन सन्डे'ले प्रकाशित गरेको आलेखविरुद्ध राजकुमार ह्यारीले एउटा उजुरीमा पराजय बेहोरेका छन्।

ह्यारीले सामाजिक सञ्जालमा हालेका तस्बिरमा ती वन्यजन्तुलाई लट्ठ्याइएको र हात्तीलाई बाँधिएको विषय नखुलाएको मेलको भनाइ छ। पृथ्वी दिवसका अवसरमा राजकुमार ह्यारीले ती तस्बिर इन्स्टाग्राममा प्रेषित गरेका थिए।

आफूले संरक्षण योजनाअन्तर्गत तिनलाई अन्यत्र लग्न लागिएको उल्लेख गरेकाले त्यसो भनिराख्न आवश्यक नभएको उनको तर्क थियो।

सञ्चारमाध्यमका गतिविधि अनुगमन गर्ने निकाय इप्सोमा उनले त्यो समाचार यथार्थपरक नभको भन्दै उजुरी दिएका थिए।

गत वर्ष एप्रिलमा उक्त सामग्री प्रकाशित गर्दा उक्त पत्रिकाले सम्पादकीय अभ्यासको विधानको उल्लङ्घन गरेको ड्यूक अफ ससिक्सको दाबी थियो।

मेलको सामग्रीको शीर्षकको आशय थियो: "लट्ठ्याइएका र बाँधिएको... वन्यजन्तुका ती विस्मयकारी तस्बिर जसबारे ह्यारीले तपाईँलाई बताएनन्"।

पत्रिकामा प्रकाशित सामग्रीमा "गैँडा, सिंह र हात्तीका एकएकवटा तस्बिरले वास्तविकता वर्णन नगर्ने" उल्लेख थियो।

ससिक्स

पर्यावरण संरक्षण र जलवायु परिवर्तनका विषय बुझ्न र बुझाउन प्रत्येक वर्ष एप्रिल २२ का दिन विश्वभरि पृथ्वी दिवस मनाइन्छ।

उक्त पत्रिकाका अनुसार राजकुमार ह्यारीले ती तस्बिर खिचिएको परिस्थितिबारे बताएका थिएनन्।

सम्पादित तस्बिर राजकुमार ह्यारी दम्पतीले प्रयोग गर्ने इन्स्टाग्राम खातामा हालिएकाले 'ससिक्स रोयल'का फलोअरहरूले हात्तीका पछाडिका खुट्टामा बाँधिएको डोरी नदेखेको पत्रिकाले उल्लेख गरेको छ।

इन्स्टाग्रामको आवश्यकताअनुसार तस्बिर काटिएको ह्यारीको तर्क थियो, तर पत्रिकाले त्यसको प्रतिवाद गरेको छ।

इप्सोका अनुसार राजकुमार ह्यारीले कुन परिस्थितिमा हात्तीको तस्बिर खिचिएको थियो त्यो वर्णन नगर्दैमा सर्वसाधारणलाई आफूले नझुक्याएको तथा जानीजानी सम्पादित तस्बिर प्रेषित गरेर सर्वसाधारणलाई झुक्याउन खोजेको भन्ने पत्रिकाको दाबी असत्य भएको बताएका थिए।

ससिक्स

तर उक्त उजुरीमा निर्णय गर्दै इप्सोले यथार्थसम्बन्धी प्रावधानको उल्लङ्घन नभएको ठहर गरेको छ।

उजुरीकर्ताको इन्स्टाग्राममा सम्पादित तस्बिर हालेर पूरा विवरण नखुलाएको र कुन परिस्थितिमा ती तस्बिर खिचिएको थिए त्यो स्पष्ट नपारेको भन्ने विवरण छाप्नु आफूलाई भ्रामक नलागेको इप्सोले जनाएको छ।

पहिलो पटक हैन

ह्यारी र उनकी पत्नी मेगनले सञ्चारमाध्यमविरुद्ध कानुनी उपचार खोजेको यो पहिलो पटक हैन।

गत वर्ष अक्टोबरमा राजकुमार ह्यारीले फोन ह्याकिङ गरिएको विषयमा 'सन' पत्रिकाका मालिकहरू, अहिले अस्तित्वमा नभएको न्यूज अफ द वर्ल्ड र डेली मिरर पत्रिकाविरुद्ध मुद्दा हालेका थिए।

मेगनले मेल अन सन्डेमा आफ्नो निजी पत्र अवैधानिक रूपमा प्रकाशित गरिएको दाबीसहित छुट्टै कानुनी उपचार खोज्ने घोषणा गरेको केही दिनपछि ह्यारीले मुद्दा हालेका थिए।

अहिले क्यानडामा रहेकी मेगनका तस्बिरहरू केही पत्रिका र वेबसाइटमा प्रकाशित भएपछि ह्यारी र मेगनले गत हप्ता त्यसो नगर्न कानुनी चेतावनी प्रकाशित गरेका थिए।

केही हप्ताअघि उनीहरूले राजपरिवारको सक्रिय सदस्यता परित्याग गर्ने र यूके तथा क्यानडामा आफ्नो समय व्यतीत गर्ने घोषणा गरेका थिए।

ह्यारी र मेगन

सन् २०१६ मा आफ्नी त्यति बेलाकी प्रेमिका मेगनलाई सताएको भन्दै ह्यारीले सञ्चारमाध्यमको आलोचना गरेका थिए।

उनीहरूको विवाह मे २०१८ मा भएको थियो।