नासामा प्रशिक्षार्थी भएको तेस्रो दिन नै नयाँ ग्रह पत्ता लगाउने १७ वर्षीय विद्यार्थी

वुल्फ कुकिअर
    • Author, हाना मोरिसन
    • Role, बीबीसी न्यूजबीट
  • Published
  • पढ्ने समय: २ मिनेट

भविष्यमा हुन सक्ने हाकिमहरूलाई प्रभावित पार्न के गर्न सकिन्छ?

अमेरिकी अन्तरिक्ष संस्था नासामा प्रशिक्षार्थीका रूपमा काम गर्न गएको तेस्रो दिन नै नयाँ ग्रह पत्ता लगाए कस्तो हुन्छ?

यसको उत्तर १७ वर्षीय युवा वुल्फ कुकिअरलाई थाहा छ।

उनी शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरू हेर्दै थिए जब उनले केही अनौठो देखे।

त्यो अनौठो वस्तु १,३०० प्रकाश वर्ष टाढा रहेको ग्रह रहेछ। यो समाचार नासाले भर्खरै पुष्टि गरेको छ।

यो YouTube पोस्ट छोड्नुहोस्
Google YouTube को सामग्रीलाई अनुमति छ?

यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

YouTube पोस्ट समाप्त

दुई महिना नासामा प्रशिक्षार्थी भएर काम गरी न्यूयोर्कस्थित आफ्नो विद्यालय फर्केका उनले बीबीसी रेडिओ वान न्यूजबीटसँग आफ्नो अनुभव बाँडेका छन्।

उनले विद्यालय बिदामा नासामा काम गर्न पाएका थिए।

उनको काम अन्तरिक्षमा हाम्रो सौर्य प्रणालीभन्दा बाहिर रहेका ग्रहहरू खोज्ने कार्य भएको भूउपग्रहका तस्बिरहरू हेर्नु थियो।

"मैले दुई तारालाई घुम्ने ग्रहहरू खोजिरहेको थिएँ," उनले भने।

उनले ताराहरूको उज्यालोपनमा आएको परिवर्तन हेर्नुपर्थ्यो किनभने ग्रहको छाया पर्दा ताराको उज्यालो कम हुन्थ्यो।

कामको तेस्रो दिन उनले दुईवटा ताराको उज्यालो छेकेको वस्तु देखे। त्यसलाई उनले आफ्नो पर्यवेक्षकलाई देखाए।

"हामीले ती ताराहरूको अन्य तथ्याङ्क हेर्यौँ र अरू बेला पनि प्रकाश कम भएको दख्यौँ। त्यसपछि त्यो ग्रह हुन सक्छ कि भनेर खोज्न थाल्यौँ।"

टीओआई १३३८ बी
तस्बिरको क्याप्शन, नयाँ ग्रहको स्वरूपको चित्र

उनको खोजले अन्य वैज्ञानिकको पनि ध्यान तान्यो र त्यो पृथ्वीभन्दा झन्डै ६.९ गुणा ठूलो ग्रह भएको पत्ता लाग्यो। त्यसको नाम? टीओआई १३३८ बी।

"मैले राखेको नाम होइन।"

टीओआई १३३८ बी सामान्य ग्रह होइन्, यो दुईवटा तारालाई परिक्रमा गर्ने ग्रह हो।

उनी भन्छन्: "त्यसैले त्यो ग्रहमा दुई पटक सूर्यास्त हुन्छ।"

तर त्यो बसोबासयोग्य ग्रह भने होइन किनभने 'त्यो ज्यादै तातो र शायद तरल पदार्थले भरिएको ग्रह' हो।

के उनको खोजले भविष्यमा उनलाई नासामा जागिर दिलाउँछ त?

"मलाई नासाको जागिर दिने प्रक्रिया थाहा छैन। तर यो कुरा बायोडाटामा राम्रै देखिन्छ," उनी भन्छन्।

उनका अनुसार नासा उनको कामले खुशी छ। उनी आजकल नासा लेखिएको लुगा लगाउँछन्।

तर त्यो नासाले दिएको उपहार भने होइन। उनी भन्छन्, त्यो उनले नासाको पसलमा छुटमा किनेका हुन्।

टीओआई १३३८ बी
तस्बिरको क्याप्शन, ग्रह पत्ता लगाउन ताराको प्रकाशमा आएको परिवर्तन हेरिन्छ

विद्यालय सकेपछि उनी भौतिकशास्त्र र खगोल भौतिकशास्त्र पढ्न चाहन्छन्।

"त्यसपछि अन्तरिक्षको अनुसन्धानको जीवन राम्रै देखिन्छ," उनले भने।

तर अहिलेका लागि उनी विद्यालयमा छन् जहाँ उनलाई रमाइलो भइरहेको छ।

"मैले गत चार दिनमा जति बधाई पाएँ त्यति त गएको दुई वर्षमा पनि पाएको थिइनँ। सबैजना निकै खुशी छन्। यो अलौकिक अनुभव हो।"