क्यासिनोसँग घुस लिएको शङ्कामा जापानी सांसद पक्राउ

क्यासिनो
तस्बिरको क्याप्शन, जापानको पर्यटन उद्योग क्यासिनो खुलाउन दिनुपर्ने प्रयासमा छ
Published

जापानमा सत्तारूढ दलका एक सांसदलाई एक जुवाखाल सञ्चालकबाट ३४ हजार डलर घूस लिएको शङ्कामा पक्राउ गरिएको छ।

अक्टोबरसम्म प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषद्का एक सदस्यको रूपमा सुकासा आकिमोतोले क्यासिनो सञ्चालनसम्बन्धी सरकारी योजनाको जिम्मा सम्हालेका थिए।

ती ४८ वर्षीय सांसदले आफूले कुनै गल्ती नगरेको र कसैलाई फाइदा पुर्‍याउनेगरी काम नगरेको बताए।

संवाददाताहरूका अनुसार उनी पक्राउ परेपछि प्रधानमन्त्री आवेको विवादास्पद क्यासिनो नीतिमा झन् जटिलता थपिदिनेछ।

नीतिमा विवाद

आकिमोतोले क्यासिनो खोल्न खोजिरहेको एक नाम नखुलाइएका सञ्चालकका तीन कर्मचारीबाट पैसा लिएको आरोप अभियोजनकर्ताहरूले लगाएका छन्।

ती तीन कर्मचारीलाई पनि बुधवार पक्राउ गरिएको छ।

आकिमोतो पक्राउ परेको केही घण्टामै उनी सम्बद्ध रहेको लिबरल डेमोक्र्याटिक दलका अर्का सांसद ताकाकी सिरासुकाको कार्यालयमा पनि सोही विवादका सन्दर्भमा अधिकारीहरूले खानतलासी गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

जापानको सुस्ताएको अर्थतन्त्रलाई क्यासिनो खुलाउँदा सघाउ पुग्ने सरकारको भनाइ छ।

सन् २०१६ मा वर्षौँको बहसपश्चात् जापानको संसद्ले होटल तथा सभासम्मेलन आयोजनस्थलहरूभित्र क्यासिनो सञ्चालन गर्न दिने पक्षमा मत दिएको थियो।

जापानी समाजमा जुवालाई राम्रो मानिँदैन।

मतसर्वेक्षणहरूमा अधिकांश मानिस क्यासिनो खोल्ने कुराको विरोधमा रहेको पाइएका छन्।