अमेरिकाद्वारा राष्ट्रसङ्घका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला

राष्ट्रसङ्घ

तस्बिर स्रोत, AFP/Getty

Published

संयुक्त राज्य अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार उनीहरूमाथि "अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न" रहेको आरोप छ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसङ्घको मुख्यालय रहेको म्यान्ह्याटनभित्रै रहनुपर्ने उल्लेख गरेको मोर्गन ओर्टागुसले बताए।

अमेरिकाले क्युबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे विस्तृत रूपमा उल्लेख गरेको छैन।

'अनुचित'

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले सो कदमलाई "स्पष्ट रूपमा अनुचित" भएको बताएका छन्।

स्पेनिश भाषामा गरेको ट्वीटमा उनले आफ्नो देशका कूटनीतिज्ञमाथि लगाइएका आरोप "अश्लील आरोप" भएको बताएका छन् र देशनिकालाको कदमले तनाव उत्पन्न गराएको उल्लेख गरेका छन्।

राष्ट्रसङ्घीय महासभाका लागि केही दिनमा विश्वका नेताहरू न्यूयोर्कमा भेला हुँदैछन्।

पछिल्लो देशनिकाला संयुक्त राज्य अमेरिका र कम्युनिस्ट मुलुक क्युबाबीचको ताजा कूटनीतिक मुठभेडको घटना हो।

अमेरिकी दूतावास

तस्बिर स्रोत, Reuters

गल जुलाई महिनामा क्युबाले एउटा अमेरिकी प्राज्ञिक अध्ययनलाई खारेज गरिदिएको थियो जसको निष्कर्ष थियो- क्युबामा काम गरेका अमेरिकी कूटनीतिज्ञहरूको मस्तिष्कमा समस्या देखिएको छ।

अमेरिकाले क्युबामाथि "सोनिक अट्याक" अर्थात् ध्वनि आक्रमणको आरोप लगाउँदै आएको छ।

त्यस्तो आक्रमणमा परेका अमेरिकी कूटनीतिज्ञहरूमा होस तथा श्रवण शक्ति गुम्ने समस्या देखिएको बताइन्छ।

दबाव

जर्नल अफ द अमेरिकन मेडिकल असोसिएशनमा प्रकाशित अध्ययनमा कूटनीतिज्ञहरूको मस्तिष्कमा ह्वाइट म्याटर भनिने क्षेत्र कम रहेको उल्लेख गरिएको थियो।

क्युबन न्यूरोसाइअन्स सेन्टरस्थित प्राज्ञहरूले अमेरिकी अध्ययनको नतिजा अस्पष्ट रहेको बताए थिए।

बिहीवार प्रकाशित एउटा क्यानेडियन अध्ययनमा क्युबामा कीराफट्याङ्ग्रा नियन्त्रणका लागि छर्किने कीटनाशकमा हुने न्यूरोटक्सिनको असर हुन सक्ने उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेयता क्युबामाथि दबाव बढाउँदै लगेका छन्।

अमेरिका

तस्बिर स्रोत, AFP/Getty Images

क्युबासँगको सम्बन्ध सामान्य बनाउने आफ्ना पूर्ववर्तीले लिएको नीतिमा परिवर्तन ल्याउँदै ट्रम्पले दबाव बढाएका हुन्।

गत जुन महिनामा ट्रम्प प्रशासनले क्यारबियन टापु मुलुक क्युबाको भ्रमण गराउने अमेरिकी ट्राभल कम्पनीहरूमाथि एउटा नयाँ प्रतिबन्ध लगाएको थियो।

अमेरिकी अर्थमन्त्री स्टीभन मनुशिनले प्रतिबन्धका कारण अमेरिकी डलर "क्युबाली सैनिक गुप्तचर र सुरक्षा निकायहरूको हातमा पुग्नबाट रोक्न सहयोग पुग्ने" बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यास्ट्रोपछिको क्युबा