डोरियन आँधी: बहामसमा क्याटेगोरी ४ को आँधी आउने अनुमान

In this NOAA GOES-East satellite image, Hurricane Dorian leaves the Caribbean Sea and tracks towards the Florida coast taken at 14:20 UTC August 29, 2019 in the Atlantic Ocean.
Published

"अति खतरनाक" आँधीले टापुहरूको राष्ट्र बहामसमा आइतवार हान्ने अमेरिकी न्याशनल हुरिकेन सेन्टर (एनएचसी)ले बताएको छ।

त्यसपछि उक्त आँधीले अमेरिकी पूर्वी तटीय क्षेत्र (इस्ट कोस्ट)मा हान्नेछ।

ग्र्यान्ड बहामाका बासिन्दाहरूले आफ्नो सबै काम एकातिर थन्क्याएर आँधीको बाटोबाट विस्थापित हुने तयारी गरिरहेका थिए।

फ्लोरिडा
तस्बिरको क्याप्शन, फ्लोरिडामा आँधीको प्रभाव कम पार्न पाता ठोक्दै कामदारहरू

अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गरेका छन् तर आइतवार मुख्य अन्तर्राष्ट्रिय विमानस्थल भने खुला राखिएको छ।

आँधी आइतवार बिहान बहामसदेखि १२५ माइल पूर्वतिर ग्रेट एबाको टापुबाट पश्चिमतिर १३ किमि प्रतिघण्टाको दरले अगाडि बढिरहेको थियो।

बहामसमा हानेपछि आँधीले अमेरिकाको फ्लोरिडा पुग्ने अनुमान गरिएपनि आँधीले बाटो परिवर्तन गरेपछि तत्कालका लागि समस्या टरेको बताइएको छ।

डोरियनको हावाको गतिका कारण पछिल्लो इतिहासमा यो आँधी सबभन्दा खतरनाक बनेको हो।

चेतावनी

मौसमविदहरूले डोरियन आँधी यो क्षेत्रको सन् १९९२ को क्याटेगरी ५को एन्ड्रु आँधी पछिको खतरनाक हुने चेतावनी दिएका छन्।

एन्ड्रु आँधीका कारण ६५ जनाको ज्यान गएको थियो भने ६३ हजार घर ध्वस्त भएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डोरियनलाई "अति खतरनाक" भन्दै ट्वीट गरेका थिए।

उनले पोल्याण्डको यस अघि निश्चित गरिएको योजना रद्द गर्दै आफ्नो सट्टा उप राष्ट्रपति माइक पेन्सलाई पठाइदिएका थिए।

फ्लोरिडा
तस्बिरको क्याप्शन, फ्लोरिडामा बालुवाका बोराले आफ्नो घर सुरक्षित बनाउन खोज्दै बासिन्दाहरू

मौसम भविष्यवाणीकर्ताहरूले डोरियन आगामी साताको मध्यतिर पूर्वतिर लाग्ने र त्यसले जर्जिया र साउथ क्यारोलाइनालाई खतरामा पार्ने बताएका थिए।

एनएचसीले भनेको छ- "जीवनलाई खतरामा पार्ने आँधी बन्दै गएको छ, तीब्र गतिको हावाले ध्वस्त पार्ने र मुसलधारे पानीले बाढी ल्याइदिन सक्छ"।

डोरियनको बाटो अनिश्चित छ तर दशौँ लाख मानिसहरू खतरामा छन्। आँधीबाट वाल्ट डिज्नी वर्ल्ड र राष्ट्रपति ट्रम्पको मार-आ-लागो रिसोर्ट पनि खतरामा रहेको बताइएको छ।